१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रविधिमा नयाँ ट्रेन्ड !

हेलो शुक्रबार

प्रविधि प्रदर्शनीको महाकुम्भ मानिने कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस) अमेरिकाको लस भेगासमा भइरहेको छ  । हरेक वर्षको जनवरीको पहिलोदेखि दोस्रो सातासम्म चल्ने यो मेलालाई विश्वकै सबैभन्दा ठूलो प्रविधि प्रदर्शनी मानिन्छ  ।

यही प्रदर्शनीमा राखिएका धेरै प्रविधिले वर्षभरि चर्चा पाउँछन् । सन् २०२० मा आर्टिफिसियल इन्टेलिजेन्स, फाइभजी, फोल्डेबल स्क्रिनजस्ता प्रविधिले फड्को मार्ने आकलन भए पनि स–साना प्रविधिले पनि मानिसको जीवन प्रभावित पार्ने र रुचि जगाउने सम्भावना धेरै छ । तीमध्ये केही :

मोक्सी
बाथरुमसम्बन्धी सामान निर्माता कम्पनी कोहलरले यो वर्ष सीईएसमा नयाँ खालको सावर राखेको छ । बाथरुममा प्रयोग हुने सावर भए पनि यसमा माइक्रोसफ्टको भर्चुअल असिस्टेन्ट एलेक्सा छ । जसका कारण प्रयोगकर्ताले आवाजकै भरमा यसलाई निर्देशन दिन सक्छ । नुहाउनका लागि आवश्यक पानीसहित यसमा स्पिकर र माइक्रोफोन पनि हुनेछ ।

स्मार्टप्यान
मानिसको दैनिक जीवनमा आवश्यक पर्ने हरेक चीजमा प्रविधिले फड्को मारे पनि किचनमा पाइने सामानमा भने आधुनिक प्रविधि धेरै पाइन्न । तर यो वर्ष सीईएसमा नयाँ खालको प्यान प्रदर्शनीमा राखिएको छ । जसलाई नाम दिइएको छ– स्मार्टप्यान । यो प्यानले सुरुमा प्रयोगकर्तालाई पकाउनुपर्ने खानाको तौल र त्यसको तापक्रमको अवस्थाबारे जानकारी दिन्छ । त्यसपछिको प्रक्रिया प्रयोगकर्ताले एपमार्फत निर्धारण गर्न सक्छन् । सीईएसमा राखिएको इभरिभ नामक ग्यास चुलोले पनि प्रयोगकर्तालाई आवाजमार्फत आगो कम र बढी गर्ने सुविधा दिन्छ ।

मान्छे चिन्ने क्यामेरा
क्यामेरा रोबोट कम्पनी अमार्लियोले एथेना नामक आफ्नो क्यामेरालाई सीईएसमा राखेको छ । व्यापारिक रूपमा उपलब्ध नभइसकेको यो क्यामेरा यसपालि प्रवर्द्धनका लागि राखिएको हो । यस क्यामेराले परिवारका सदस्य र बाहिरका मानिसलाई छुट्याउन सक्छ । सोहीअनुसार परिवारका सदस्यहरूलाई घरमा आएका नयाँ मानिसका बारेमा जानकारी दिन सक्छ । साथै, यसले आगलागी भएमा साइरनमार्फत सूचनासमेत दिन सक्छ ।

खेल्ने रोबोट
चीनको इलेफेन्ट रोबोटिक्सले सीईएसमा नयाँ खालको रोबोट सार्वजनिक गरेको छ । मार्सक्याट नाम दिइएको यो रोबोटको आकार हेर्दा बिरालोजस्तो हुन्छ । यसले परिवारका सदस्यहरूको आवाज चिन्न सक्ने कम्पनीको दाबी छ । यसले वास्तविक बिरालोसँग संवाद गर्न सक्ने र खेलौनाहरूसँग रमाएर खेल्न सक्ने बताइएको छ । यो बुढ्यौली उमेरमा भएकाहरूका लागि लक्षित गरी ल्याइएको हो ।

फेरिने जुत्ता
सीईएसमा राखिएको सानो तर चाखलाग्दो प्रविधिस्वरूप परिवर्तन हुने जुत्ता पनि हो । उहु नाम दिइएको यो जुत्ता मौसमअनुसार परिवर्तन हुन्छ । यसको सोल पनि मौसमअनुसार फेरिन्छ । दुवै खुट्टाको जुत्ताको आकार र प्रकार उस्तै हुने गरी फेरिने यसको विशेषता हो । हरेक मौसमका लागि पनि एउटै जुत्ता लगाउन मिल्ने गरी यसको डिजाइन गरिएको हो ।

स्मार्ट चस्मा
गुगलले धेरै अघि स्मार्ट चस्मा बनाउँदा फ्लप प्रोडक्डमा दरियो । तर यो पटक फिटबिटले सीईएसमा स्मार्ट चस्मा ल्याएको छ, जुन गुगलकै अनुसन्धानमा आधारित छ । स्मार्ट वाच निर्माता केही महिनाअघि गुगलले किनेको थियो । फिटबिटले ल्याएको चस्मामा कल गर्न सक्ने, म्याप हेर्न सक्ने, भिडियो खिच्न सक्ने र प्ले गर्न सक्ने सुविधा छ । यसको डिजाइन र फिचर हेर्दा यो प्रयोगकर्ताका लागि निकै उपयोगी सावित हुन सक्छ ।

प्रकाशित : पुस २५, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?