कस्ता छन् २०२० मा आउने बलिउड फिल्म ?

रीना मोक्तान

बलिउडले सन् २०१९ मा सामाजिक अनि राजनीतिक मुद्दाका विषय फिल्ममा राम्रैसँग उठायो  । चाहे त्यो सर्जिकल स्ट्राइक माथिको 'उरी’ होस् या दलित मुद्दामा ‘आर्टिकल १५’  ।

कस्ता छन् २०२० मा आउने बलिउड फिल्म ?

बलिउडले सन् २०१९ मा सामाजिक अनि राजनीतिक मुद्दाका विषय फिल्ममा राम्रैसँग उठायो । चाहे त्यो सर्जिकल स्ट्राइक माथिको ‘उरी’ होस् या दलित मुद्दामा ‘आर्टिकल १५’ । रोमान्स, कमेडी, बायोपिक र एक्सनका साथै राष्ट्रवादी फिल्मको पनि बलिउडमा बहार नै आयो । यस वर्ष बलिउडमा धेरै फिल्म सफल पनि भए । यसले सन् २०२० लाई लिएर दर्शकको अपेक्षा बढाएको छ । यो अपेक्षा कसरी पूरा गर्दै छ त बलिउडले । यस वर्षका प्रतीक्षित फिल्महरू :

छपाक, तानाजी र दरबार
नयाँ वर्ष २०२० को सुरुमै रिलिज हुने ‘छपाक’ प्रतीक्षित फिल्म हो । दुई वर्षअघि ‘राजी’ बनाएर प्रशंसा कमाएकी मेघना गुलजारको यो फिल्म ट्रेलर रिलिज भएदेखि नै चर्चामा छ । दीपिका पादुकोणले एसिड आक्रमणकी सिकार बनेकी युवतीको भूमिकामा यसमा अभिनय गरेकी छन् । यसअघि दिल्लीमा भएको आरुषी हत्याकाण्डमाथि ‘तलबार’ जस्तो प्रशंसित फिल्म बनाएकी मेघनाले ‘छपाक’ मा एसिड आक्रमणमा परेकी युवती लक्ष्मी अग्रवालको साँचो जीवनकथा उतारेकी छन् । फिल्ममा विक्रान्त मेसी पनि प्रमुख भूमिकामा छन् ।
‘छपाक’ सँग जनवरी १० मा एकै दिन आउँदै छ अजय देवगनको फिल्म ‘तानाजी’ । फिल्ममा काजोल र सैफअली खानको पनि मुख्य भूमिका छ । १७ औं शताब्दीका मराठा योद्धा तानाजीको कथामा बनेको यो फिल्मलाई ओम राउतले निर्देशन गरेका छन् । बलिउडका दुई ठूला स्टार अजय देवगन र दीपिकाको बक्सअफिसमा हुने भिडन्तका कारण पनि यी दुवै फिल्म प्रतीक्षित मानिएका छन् ।
यसै दिन अर्को फिल्म पनि आउँदै छ, जुन बलिउडको होइन तर यसले यी दुवै बलिउड फिल्मलाई टक्कर दिने मानिएको छ । यो फिल्म हो– रजनीकान्तको ‘दरबार’ । नयनताराको पनि प्रमुख भूमिका रहेको यो तमिल फिल्ममा रजनीकान्त प्रहरी अधिकारीको भूमिकामा देखिँदै छन् । फिल्म हिन्दीमा पनि डब गरी प्रदर्शन
गरिँदै छ ।

छलाङ
हंसल मेहता र राजकुरमा रावको जोडी बलिउडमा कलात्मक तथा यथार्थवादी फिल्मको पर्याय नै बनिसकेका हुन् । यी दुईका साहिद, सिटी लाइट्स, अलिगढ र ओमार्टाजस्ता फिल्म यसका प्रमाण हुन् । यो वर्ष फेरि हंसलको फिल्ममा राजकुमार देखिँदै छन् । फिल्म हो– छलाङ । फिल्ममा नुसरत बरुमचा पनि हुनेछिन् ।

पंगा
‘पंगा’ अर्थात् निहुँ । यसै पनि कंगना रनावतलाई सबैसँग निहुँ खोज्ने अभिनेत्री भनिन्छ । त्यसमाथि यो त फिल्मकै नाम ‘पंगा’ । उमेर ढल्किँदै गएकी एक आमाले फेरि आफ्नो खेल करिअरमा गर्ने संघर्षको कथा यसमा छ । कबड्डी खेलाडीका रूपमा कंगना रनावत देखिँदै छिन् । ‘नील बट्टे सन्नाटा’ र ‘बरेली कि बर्फी’ की निर्देशक अश्विनी ऐयर तिवारीले निर्देशन गरेको यो फिल्ममा कंगनाका साथ पंकज त्रिपाठी, ऋचा चड्ढा पनि देखिनेछन् ।

गुलाबो सिताबो
सुजित सरकार पछिल्लो समयमा मानवीय संवेदनामाथि खेल्न सक्ने निर्देशकमा हुन् । पहिलो फिल्म ‘यहाँ’ देखि ‘विक्की डोनर’, ‘पिकु’ हुँदै ‘अक्टोबर’ सम्ममा उनले आफ्ना क्षमता देखाएका छन् । यस वर्ष उनी बलिउडका दुई उम्दा अभिनेताहरू अमिताभ बच्चन र आयुष्मान खुरानालाई लिएर ‘गुलाबो सिताबो’ मा आउँदै छन् । केही अघि फिल्ममा अमिताभ बच्चनको लुक बाहिरिएको थियो ।

आज कल
भ्यालेन्टाइन डेलाई लक्षित गरेर निर्देशक इम्तियाज अलीले ‘आज कल’ निर्देशन गर्दैछन् । कार्तिक आर्यन र सारा अली खानको मुख्य भूमिका रहने यो फिल्म २००९ को ‘लभ आज कल’ को सिक्वेल हो । यसमा सैफअली खानले मुख्य भूमिका गरेका थिए । ‘आज कल’ मा उनकै छोरी सारा हिरोइन हुँदै छिन् । इम्तियाजको फिल्म ‘हाइवे’ बाट धेरैलाई प्रभावित बनाएका रणदीप हुडा पनि खास भूमिकामा देखिँदै छन् ।

थप्पड
बलिउड अभिनेतामा आयुष्मान खुरानाजस्तै अभिनेत्रीमा तापसी पन्नु र भूमि पेडनेकर राम्रा फिल्म मात्रै छानेर खेल्ने अभिनेत्रीमा गणना हुन थालेका छन् । गत वर्ष ‘बदला’ र ‘साँड कि आँख’ दुई प्रशंसित फिल्ममा देखिएकी तापसी पनु यस वर्ष ‘थप्पड’ मा देखिँदै छिन् । यसका निर्देशक हुन्– ‘आर्टिकल १५’ का अनुभव सिन्हा । लैंगिक असमाधानतासम्बन्धी फिल्ममा अर्जुन कपुर र सरमन जोशी पनि देखिनेछन् ।

रुही अफ्जा
दुई वर्षअघि हरर–कमेडी ‘स्त्री’ को निर्माण टिमले बनाएको ‘रुही अफ्जा’ मा पनि राजकुमार राव मुख्य भूमिकामा छन् । हार्दिक मेहताले निर्देशन गरेको फिल्ममा रावका साथ जान्हवी कपुर पनि देखिने छिन् । यसलाई ‘स्त्री’ को सिक्वेल भनिएको छ ।

सडक २
यो फिल्मसँगै महेश भट्ट बीस वर्षपछि निर्देशनमा फर्किंदै छन् । ९० को दशकको चर्चित फिल्म ‘सडक’ को दोस्रो भागका रूपमा यो आउनेछ । महेशले निर्देशन गरेको ‘सडक’ मा सञ्जय दत्त, पूजा भट्ट र सदाशिव अमरापुरकरले मुख्य भूमिकामा अभिनय गरेका थिए । पूजा महेशकी जेठी छोरी हुन् । ‘सडक २’ मा उनकी अर्की छोरी आलिया मुख्य भूमिकामा हुनेछिन् । आदित्य रोय कपुर पनि हुनेछन् ।

८३
‘गल्ली ब्वाई’ पछि रनवीर सिंह यो बायोपिकमा देखिनेछन् । र, साथमा हुनेछिन् श्रीमती दीपिका पादुकोण । ‘रामलिला’ र ‘बाजिराव मस्तानी’ पछि यो रियल–लाइफ जोडी तेस्रोपटक यसमा देखिँदै छन् । कवीर खानले निर्देशन गरेको ‘८३’ सन् १९८३ मा भारतले विश्वकप क्रिकेट जितेको कथामा आधारित छ । फिल्ममा रनवीरले त्यो टिमका कप्तान अलराउन्डर कपिल देवको भूमिका गर्दैछन् भने दीपिका कपिल देवकी श्रीमतीको भूमिकामा हुनेछिन् । फिल्ममा ताहिर भासिन, वोमन इरानी र पंकज त्रिपाठी पनि हुनेछन् ।

गंगुबाई
वर्षको अन्त्यतिर आउने प्रतीक्षित फिल्म हो– गंगुबाई । ‘पद्मावत’ पछि सञ्जयलिला भन्सालीले निर्देशन गरेको यो फिल्म धेरै कारणले चर्चामा छ । सलमान खानसँग फिल्म बनाउने घोषणा गरिसकेपछि भन्सालीले त्यो फिल्म रद्द गरी ‘गंगुबाई’ बनाउनतिर लागेका हुन् । मुम्बई अन्डरवर्ल्डका महिला डनबारेको यो फिल्ममा आलिया भट्ट गंगुबाई खतिवाडीको प्रमुख भूमिकामा हुनेछिन् । फिल्ममा अजय देवगन पनि हुनेछन् । भन्सालीले यसपछि ‘बैजुबावरा’ को रिमेक गर्ने घोषणा गरिसकेका छन् । यसमा अजय देवगन र रणवीर सिंह हुने बताइएको छ ।

आरआरआर, मैदान र भुज
यसै वर्ष ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको फिल्म ‘आरआरआर’ पनि आउने बताइएको छ । भारतका दुई स्वतन्त्रता संग्रामका योद्धाको यो कथामा दक्षिणका सुपरस्टार रामचरन र जुनियर एनटीआरले मुख्य भूमिकामा अभिनय गरेका छन् । यसमा आलिया भट्ट र अजय देवगन पनि हुनेछन् । अजय देवगनका यस वर्ष अरू दुई फिल्म आउनेछन्– मैदान र भुज । ‘मैदान’ भारतको फुटबल शिखरमा रहेको बेलाको कलकत्ताको कथा हो भने ‘भुज’ भारतीय राष्ट्रवादको गीत गाउने फिल्म ।

लालसिंह चड्डा
यस वर्ष आमिर खानको ‘लालसिंह चड्ढा’ प्रदर्शनमा आउनेछ । गत वर्षको ‘ठग्स अफ हिन्दुस्तान’ को असफलतापछि झस्किएका आमिर यस वर्ष ‘लालसिंह चड्ढा’ मा देखिनेछन् । टम
ह्याङ्क्सको फिल्म ‘फरेस्ट गम्प’ को यो रिमेकमा करिना कपुर पनि मुख्य भूमिकामा छन् । फिल्मलाई ‘सिक्रेट सुपरस्टार’ का निर्देशक अद्भत चौहानले निर्देशन गरेका छन् ।

सूर्यवंशी

बलिउडका नयाँ हिट मेसिन अक्षय कुमारका यस वर्ष पनि थुप्रै फिल्म लाइनमा छन् । 'लक्ष्मी बम', 'बच्चन पाण्डे', 'सूर्यवंशी' र 'पृथ्वीराज' घोषित छन् । 'सूर्यव‌ंशी'को त रिलिज डेट पनि फाइनल भइसकेको छ । रोहित शेट्टीले 'सिंघम'बाट सुरु गरेको पुलिस दुनियाँको नयाँ श्रृंखला सूर्यवंशीमा अक्षयका साथ कट्रिना कैफ पनि हुनेछिन् । र, यिनका साथमा हुनेछन् विशेष भूमिकामा 'सिंघम' अजय देवगन र 'सिम्बा' रणवीर सिंह ।


–एजेन्सीको सहयोगमा

प्रकाशित : पुस १८, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?