१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

काठमाडौंदेखि कन्याकुमारी

अभिनेता कर्मासहित चार राइडर्सले ४५ दिनमा भारतको १५ राज्य फन्‍को मारे । त्यही यात्राको रोचक कथा :
गोकर्ण गौतम

दुई वर्षअघि बर्दियामा बुलेट बाइक चलाउने देशभरका राइडर्स भेला भएका थिए  । कार्यक्रमको नाम थियो, नेपाल राइडर्स मिट  । राइडर्सद्वय रवि मोक्तान र रामकृष्ण प्रजापतिले त्यहीँ योजना बनाएका थिए, ‘के टु के’ अर्थात् काठमाडौंदेखि भारतको कन्याकुमारीसम्म बुलेट बाइकमा सयर गर्ने । तर कहिले समय मिलेन, कहिले समूह । बजेट पनि व्यवस्था गर्नैपर्‍यो । योजना तुहिएलाकी भन्ने चिन्ता बढेको थियो बीचमा । यतिबेला रवि र रामकृष्ण दंग छन्, ‘के टु के’ सपना साकार भएपछि ।

काठमाडौंदेखि कन्याकुमारी

उनीहरुसँगै अभिनेता कार्म र प्रशान्त जोशी पनि यो साहसिक यात्रामा सहभागी थिए । ४५ दिनमा भारतका विभिन्न १५ राज्य घुमे । प्रशान्त र रामकृष्णचाहिँ ३० दिनमा फर्किए । ५१ वर्षका रवि भन्छन्, ‘बुलेटमा धेरै घुमियो तर यो यात्राचाहिँ एकदमै सुनौलो र यादगार रह्यो । जीवनमा यस्तो मौका कमै पाइन्छ ।’ रविसँग अरुले पनि सही थापे ।

कर्माबाहेक अरु व्यवसायमा संलग्न छन् । रामकृष्ण त नेपालका पुराना बुलेट राइडर्समध्येमा पर्छन् । कर्मालेचाहिँ तीन वर्ष भयो, बुलेट चलाउन थालेको । पहिले पनि बाइकमा घुम्थे, बुलेट चढ्न थालेपछि यात्राको गति अझ बढ्यो । नेपालको त्यस्तो कुनै ठाउँ दुर्लभै होला, जहाँ यी चार मोटरसाइकल हाँक्दै नपुगेका हुन् ।रोचक त के भने उनीहरुलाई भेटाएको पनि बुलेट र यात्राले नै हो ।

रोयल इन्फिल्ड चलाउनेहरुबीच गज्जबको भाइचारा हुन्छ, भेट्ने, सँगै घुम्ने, सामाजिक कार्यमा साथ दिने, कसैलाई समस्या पर्दा सहयोग गर्ने गर्छन् । रविको पनि एउटा यस्तै क्लब छ, हिमालयन मोटरसाइकल एक्सपेरियन्स । यसले बर्सेनि ‘म्यांगो राइड’ आयोजना गर्छ, आँप खाने सिजनमा काठमाडौंबाट राइडर्स सप्तरी र हिलेसम्म पुग्छन् । त्यही क्रममा रवि र रामकृष्ण उत्तर–पूर्वी भारत पुग्दा अझ ठूलो स्केलमा राइड गर्न लालायित भएका थिए । रामकृष्ण भन्छन्, ‘हाम्रा लागि बाइकमा घुम्नु मेडिटेसन र थेरापी जस्तै हो । यसले दिने सन्तुष्टि र जीवन भोगाइ अमूल्य हुन्छ ।’

काठमाडौंबाट हिँडेपछि कार्मको समूहले विहारमा पहिलो रात बितायो । तेस्रो दिनमा त कोलकाता पुगिसकेका थिए । त्यसपछि उडिसा, आन्ध्र प्रदेश, चेन्नाई... । दिनमा १३–१४ घण्टासम्म बाइक दौडाउनुपर्ने, ढाड र पाखुरा दुख्थ्यो, लखतरान हुन्थे । तर मानसिक रुपमा पूरै तन्दुरूस्त । नयाँ ठाउँ, नयाँ दृश्य, नयाँ मान्छे, फरक संस्कृति, वेशभूषा, लवज, खानपान चाख्दै हिँड्दा थकान पूरै बिर्सने । कार्म भन्छन्, ‘यात्रालाई खुला विश्वविद्यालय भनिन्छ । मलाई यसपटक त्यस्तै लाग्यो, हरेक दिन नयाँ–नयाँ कुरा सिक्न र बुझ्न पाइयो । जुन किताब वा गुगलमा पाइन्न ।’ बाइक राइडिङ आफैंमा स्वतन्त्र यात्रा हो । निश्चित गन्तव्य त हुन्छ, तर त्यहाँ पुग्नै पर्छ भन्ने दबाब हुन्न । राम्रो ठाउँ र मान्छे भेट्यो भने त्यहीं रमाउन सकिने, कसैको दबाब र हतार नहुने । क्या काइदा !

बाइक मेसिन न हो, जति सर्भिसिङ गरे पनि बिग्रिहाल्ने । एउटा बिग्रियो भने त्यसको प्रभाव अरु साथीलाई पनि पर्ने तर प्रशान्त हाँस्दै सुनाउँछन्, ‘बाइक बिग्रेन भने त मज्जा नै हुँदैन नि ।’ भयो पनि त्यस्तै । रामेश्वरम पुगेपछि प्रशान्तको बाइकले धोका दिन थाल्यो । पाङ्ग्रामै समस्या आयो, गुड्नै गाह्रो । आइतबारको दिन, सबै वर्कसप बन्द । उनी सम्झन्छन्, ‘हामी नेपालबाट घुम्दै पुगेको र बाइक बिग्रिएको थाहा पाएपछि त्यहाँका स्थानीयले सहयोग गरे, अर्को दिन मज्जाले घुमियो ।’



रविसँग अझ तीतो अनुभव छ । बैंग्लोरबाट दुई सय किलोमिटर पर पुगिसकेका थिए, बाइकको स्टार्ट बन्द भयो, खुल्दै–खुलेन, आफूले बोकेको सामानले बनाउने प्रयास गरें तर अहँ, बनेन । वर्कसपमा देखाएँ, त्यहाँको मेकानिक्सले भनेछ, ‘यहाँ बन्दैन, बैंग्लोर नै जानुपर्छ ।’ भोलिपल्ट बिहानै गाडीमा बाइक लोड गरें, बैंग्लोरमा पनि दुई दिन लाग्यो, त्यसपछि फेरि उही बाटो फर्किएँ । रवि भन्छन्, ‘यस्तो बेला आत्तिने वा झन्झट मान्ने होइन, परिस्थिति सामना गर्ने हो ।’ उनले बाइक बनाइन्जेल कार्मचाहिँ एक्लै हम्पी घुमिरहेका थिए । आन्ध्र प्रदेशमा टाइफुनले भेट्यो, ज्यादै हिउँ परेपछि मनाली र सिमलाको यात्रा स्थगित गर्नुपर्‍यो । अभिनेतालाई भिन्न समाज/समुदायको सूक्ष्म अवलोकन अपरिहार्य हुन्छ । यस हिसाबमा कार्मलाई यो यात्रा अझ फलदायी भयो । भिन्न लवज र भेषलाई नियाल्न पाए । फरक पात्रसँग संगत भयो । अभिनेताका रुपमा उनका लागि यो ‘सम्पत्ति’ हो ।

रोयल इन्फिल्ड चढ्नको फाइदा अनेक छन् । ठूलामात्र हैन, साना सहरमा पनि यो बाइकको आधिकारिक वर्कसप भेटिने । बिग्रँदा बनाउन सजिलो हुने । योभन्दा प्रेमिल अनुभव अर्कै छ, त्यो हो, भारतका स्थानीय रोयल इन्फिल्ड राइडर्सको न्यानो आतिथ्यता ।

फेसबुकबाट स्थानीय राइडर्ससँग सम्पर्क हुन्थ्यो । सहर छिर्ने बेला उनीहरु बाटोमा स्वागत गर्न बसेका हुन्थे । कार्मका अनुसार कसैले घरमै लगेर बसाउँथे, कसैले होटलको इन्तजाम गरिदिन्थे । कार्म भन्छन्, ‘कहिले चिनजान नभएकाहरुबाट राइडर्स भएकै कारण त्यस्तो माया पाइयो । त्यसले हामीलाई छुट्टै ऊर्जा दिन्थ्यो ।’ उत्तर–पूर्वी भारतमा यो संस्कार अझ घनिभूत छ । नेपालमा पनि त्यस्तो भाइचारा छ तर भारत घुमेर फर्किएपछि यो समूहलाई लागेको छ, हाम्रो भाइचारा अझ पाको हुन बाँकी छ ।

प्रकाशित : पुस ११, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?