हिउँ खेल्ने मौसम

विमल खतिवडा

पहिला हिमाली जिल्लाहरू हिउँदमा सेताम्य बन्थे, जहाँ हिउँ हेर्न र खेल्न जान कठिन हुन्थ्यो  । विशेषतः बाटो र बासको समस्या हुन्थ्यो  ।

हिउँ खेल्ने मौसम

पर्यटकीय चहलपहलसँगै यस्तो समस्या हट्न थालेको छ । पर्यावरणीय परिवर्तनसँगै हिउँ पर्ने क्रम पनि घट्दो छ । हिउँ पर्नासाथ त्यहाँ रमाउन जानेहरू बढेका छन् । यसले आन्तरिक पर्यटक बढाएको छ । हिउँ खेल्नका लागि चर्चित सात स्थानबारे विमल खतिवडा लेख्छन् :

दामन
मकवानपुरको दामन २,३२२ मिटर उचाइमा पर्छ । यहाँ यसपालि हिउँ पर्न बाँकी नै छ । मौसम खुलेको छ । हिमाल छर्लंग देखिन्छन् । यहाँ माघ–फागुनमा हिउँ पर्ने भएकाले रमाउन जानेको ठूलै भीड लाग्छ । हिउँ परेको थाहा पाएपछि आउनेहरू धेरै हुन्छन् । यहाँबाट हिमशृंखलालाई नजिकबाट नियाल्न सकिन्छ । हिउँ परेका बेला प्रायः होटल बुकिङ भइसकेको हुन्छ । यो ठाउँमा ६ वटा होटल छन् । ‘यसपालि हिउँ पर्न बाँकी नै छ,’ होटल व्यवसायी शिवराम केसी भन्छन्, ‘हिउँ परेका बेला डाँडापाखा सेताम्य हुन्छ । हिउँ खेल्न आउनेको भीड थामीसाध्य हुँदैन ।’


रारा
मुगु जिल्लाको रारा ताल आसपास हिउँले सेताम्य छ । मंसिर अन्तिममा परेको हिउँ पग्लिसकेको छैन । रारा किनारमा हिउँ खेल्दै रमाउनेहरूले दिन बितेको पत्तो पाउँदैनन् । हिउँ खेल्न र घुम्नका लागि बढी मात्रमा चितवन, काठमाडौं, पोखराबाट आन्तरिक पर्यटक रारा पुग्छन् । तालमा बोटिङ गरेर रमाउनेको जमात छुट्टै छ । यसपालि हिउँ चाँडै परेकाले भीड बढेको छ । विगतमा यहाँ पुस अन्त्यतिर हिउँ पर्थ्यो ।
रारामा होटल व्यवसाय गर्दै आएका राजु कार्कीका अनुसार चितवन, काठमाडौं र पोखराका टोलीले पुस महिनासम्मलाई होटल बुकिङ गरिसकेका छन् । यो सिजन यहाँ हिउँ खेल्नकै लागि आउन चाहन्छन् । दुई–तीन दिनसम्म यहाँ बस्ने धेरै हुन्छन् । उनीहरू मुर्मा टपसम्म उक्लिने गर्छन्, जहाँबाट रारा ताल पूरै देखिन्छ । रारा गाडी, मोटरसाइकलमा पनि पुगिन्छ । अर्को विकल्प हवाई मार्ग हो । काठमाडौंबाट नेपालगन्ज र त्यहाँबाट ताल्चा विमानस्थल ओर्लेर रारा पुगिन्छ । समुद्री सतहबाट २,९०० मिटर उचाइमा रहेको रारा प्राकृतिक छटाले भरिपूर्ण छ ।

मर्दी

मर्दी हिमाल कास्की जिल्लामा पर्छ । यसबेला यहाँ पर्यटकको भीड बाक्लो छ । यसमा स्वदेशी धेरै छन् । भैरहवा, बुटवल, नारायणगढ, काठमाडौं र पोखराबाट आउने धेरै हुन्छन् । मर्दी हिमालको फेदीमा बास बसेर हिउँ खेल्ने धेरै छन् । धेरैले ३,५५० मिटर उचाइसम्मको यात्रा गर्छन् । केही आँटिलाहरू ४,५०० मिटरसम्म पुग्छन् । मर्दीको फेदीबाट माछापुछ्रे, मर्दी, अन्नपूर्ण, मनास्लुलगायत हिमशृंखलाको दृश्यावलोकन गर्न मिल्छ । यसपालि त्यति बाक्लो हिउँ परेको छैन । त्यसैले पातलो हिउँ खेल्दै उक्लिन रमाइलो हुन्छ । यस पदमार्गमा जता हेरे पनि हिमाल देखिन्छन् । मौसमले साथ दिएको अवस्थामा मर्दी घुमेर ३–४ रातमै पोखरा फर्कन सकिन्छ । ट्रेकिङ गाइड सुरज अर्यालका अनुसार यहाँ चैतसम्मै हिउँ पर्छ ।

मुक्तिनाथ

मुस्ताङमा प्रायः सबै ठाउँमा हिउँ पर्छ । सबैले देख्ने र भेट्ने हिउँ भनेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुग्दा नै हो । ३,८०० मिटरको उचाइमा अवस्थित यो ठाउँमा बाक्लो हिउँ पर्दा पुग्न कठिन छ । किनभने बाटो बन्द नै हुन्छ । धेरै हिउँ नपरेको अवस्थामा मात्रै मन्दिरसम्म पुगिन्छ । बाक्लो हिउँ पर्दा घासाबाटै हिउँ खेलेर फर्किनुपर्ने हुन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का संरक्षण अधिकृत सन्तोष शेरचनका अनुसार यस क्षेत्रमा मंसिरदेखि फागुनसम्मै हिउँ पर्छ । कहिलेकाहीँ असोज र वैशाखमा पनि हिउँ पर्छ । यसपालि मंसिर अन्त्यबाटै हिउँ पर्न थालेको छ । मुक्तिनाथ मन्दिर क्षेत्र हिउँले ढाकिएको छ ।

कालिञ्चोक

समुद्री सतहबाट ३,८४२ मिटर उचाइमा रहेको कालिञ्चोक मन्दिर दोलखा जिल्लामा पर्छ । यहाँ बर्सेनि हिउँ पर्छ, जुन यसपालि मंसिर अन्तिम साता सुरु भयो । न्यु इयर मनाउन आउनेहरूलाई हिउँले थप रमाइलो गराउने स्थानीय होटल व्यवसायी हरि ओली बताउँछन् । उनका अनुसार यहाँका डाँडापाखा सेताम्य भइसकेका छन् । यहाँ काठमाडौं, तराईवासीमात्र होइन, भारतबाट समेत हिउँ खेल्न आउने गर्छन् । यहाँ शुक्रबार र शनिबार होटल प्रायः खाली हुँदैनन् । गत वर्षबाट सञ्चालनमा आएको केबुलकारले पनि यहाँको आकर्षण बढाएको छ । गौरीशंकर, जुगललगायत हिमाललाई नजिकबाट नियाल्न मिल्ने यहाँ ‘क्याम्प फायर’ खुबै जम्ने गर्छ ।

गुफापोखरी

संखुवासभाको चैनपुर नगरपालिका १ मा पर्छ– गुफापोखरी । २,९०० मिटर उचाइमा अवस्थित यो ठाउँमा शेर्पा जातिको बाक्लो बसोबास छ । यहीँको मेन्छ्यामबाट पूर्वका १६ वटा जिल्ला हेर्न सकिन्छ । यहाँको सूर्योदयले खुबै लोभ्याउँछ । स्थानीय होटल व्यवसायी हिमा खनालका अनुसार मंसिरमै हिउँ झर्न थाल्यो । हिउँ खेल्न गाडी र बाइकमा आउँछन् । यहाँ गत वर्ष वैशाखमा पनि हिउँ परेको थियो । मकालु, कञ्चनजंघालगायत हिमाली मनोरम दृश्य पनि यहाँबाट देखिन्छ । धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे–मिल्के–जलजले क्षेत्रमा रहेको यहाँ चिसो सिरेटो बहने गर्छ ।

सन्दकपुर

इलामको सबैभन्दा अग्लो ठाउँ हो सन्दकपुर । ३,६३६ मिटर उचाइमा रहेको सन्दकपुर पुग्न इलाम बजारबाट ३६ किमि यात्रा गर्नुपर्छ । सीमावर्ती क्षेत्रमा रहेकाले यहाँ हिउँ खेल्न भारतबाट समेत ठूलै संख्यामा आउने गर्छन् । यहाँ कात्तिकदेखि वैशाखसम्म हिउँ पर्छ । सन्दकपुर सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात छ । त्यसैले हिउँ खेल्दै सूर्योदयको दृश्यलाई क्यामरामा कैद गर्न सकिन्छ । यहाँबाट सगरमाथा, कञ्चनजंघा लगायत हिमाल टलक्कै टल्किएको देख्न सकिन्छ । पर्यटन व्यवसायी पेम्बा शेर्पाका अनुसार सन्दकपुरमा आन्तरिक पर्यटकको भीड बढेको छ ।

प्रकाशित : पुस ११, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?