२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

माथिमाथि उड्दै

जुमान्जी फ्रेन्चाइजको हलिउड फिल्म “जुमान्जी : द नेक्स्ट लेवल” साहसिक भिडियो गेमका पात्रहरूको कथा हो । दुई वर्षअघि झन्डै १ अर्ब डलर कमाएको “जुमान्जी : वेलकम टु द जंगल” को यो सिक्वेल कस्तो छ त ?
हेलो शुक्रबार

जुमान्जी फेरि फर्केर आएको छ  । अघिल्लो भाग हेर्दा यो एड्भेन्चरस भिडियो गेमको कथा यहीं सकियो जस्तो लागेको थियो  ।

माथिमाथि उड्दै

एउटा थोत्रो भिडियो गेमको डिभाइसको माध्यमबाट डरलाग्दो जंगलमा छिर्ने पात्रहरूको कथा हो जुमान्जी । भिडियो गेमजस्तै फेज–फेज गरी बनाइएको जुमान्जीको पहिलो फेजका पात्रहरू रोमाञ्चक यात्रा सम्पन्न गरी गेम जितेर त्यसबाट बाहिर निस्किएका थिए ।
वास्तविक दुनियाँमा फर्किंदा तिनको मनोभाव र विचार पहिलेजस्तै चाहिँ थिएन । भिडियो गेमभित्र भोगेका कुरा, गरेका संघर्ष र भएको मित्रताले उनीहरूले जीवनको नयाँ अर्थ बुझेका थिए । पहिलो भागमा एउटा पात्र त यस्तो थियो जो एक्लै गेमको लेभल पार गर्न नसक्दा २० वर्षदेखि भित्रै अड्किएको थियो । तर, उसलाई आफू यति लामो समयदेखि गेमभित्र छु भन्ने अनुमान थिएन ।
दोस्रो भागमा पात्र र कलाकार तिनै छन् । आम हलिउड सिक्वेलजस्तै यो गेम मुभीको पनि सिक्वेल त्यही सेटिङमा छ । गेमबाट मुस्किलले फर्किएर आएको मुख्य पात्र स्पेन्सर जीवनदेखि विरक्त छ । कलेजबाट छुट्टीमा आफ्ना वृद्ध हजुरबुबाको घर पुगेको स्पेन्सर त्यो विरक्तिमा एक्लै गेमभित्र प्रवेश गरिदिन्छ । जब यो कुरा थाहा पाउँछन्, उसका साथीहरू पनि गेमभित्र छिर्छन्, स्पेन्सरलाई बाहिर निकाल्न । किनभने, गेमभित्र दिइने टास्कहरू एक्लैले गर्न सक्ने खालका हुँदैनन् भन्ने उनीहरूलाई थाहा छ ।
उही गेम, गेमका उस्तै नियम र तरिका भए पनि यसपालि फिल्ममा निर्देशक जेक कास्दनले केही विविधता थपेका छन् । यसपालिको भागमा पात्रहरूलाई निकै कठिन एउटा टास्क दिइएको छ । आदिवासीहरूको एउटा गुल्जार बस्ती छ । मानिसहरू हाँसीखुसी छन् । अन्नबाली राम्रो सप्रिएको छ । यो गाउँ र क्षेत्रकै समृद्धिमा एउटा गहनाको भूमिका छ । बस्तीकी सबभन्दा वृद्ध महिलाले आफ्नो घाँटीमा लगाएको यो गहनाले घाम देखिन्जेल बस्तीमा उज्यालो छ, घाम लागेको छ । तर, एउटा अति क्रूर फौजीको समूहले एक दिन यो गहना लुटेर लान्छ र घाम नदेखिने ठाउँमा लगेर लुकाइदिन्छ । यसले पूरै बस्तीमा सुक्खा लाग्छ । अन्धकार हुन्छ । जनजीवन प्रभावित हुन्छ ।
खेलाडीहरूको टास्क त्यो गहना फिर्ता ल्याएर जुमान्जी बस्तीमा फेरि खुसी फर्काउनु हो । यसका लागि उनीहरू घरी जंगलमा भौंतारिन्छन् त घरी मरुभूमिमा अस्ट्रिचको फौजसँग भिड्छन् । घरी पहाडमा झुन्डिएका झलुंगाजस्ता पुलमा हिंस्रक जनावरसँग भिड्छन् ।



पहिलेको तुलनामा दोस्रो भागमा एड्भेन्चरहरू थपिएका छन् । यसमा पात्रको फेरबदल पनि रोचक छ । जस्तो पहिलो भागमा ड्वाइन जोन्सन, द रक बन्ने स्पेन्सर यो भागमा पकेटमार केटी बनेका छन् । जब अन्य पात्रले भिडियो गेममा किन छिरेको भनेर सोध्दा उसले भन्छ पनि, मलाई लागेको थियो म पहिलेजस्तै सबभन्दा बलियो बन्नेछु । एउटा पात्र त गेममा घोडाका रूपमा समेत पुग्छे ।
ड्वाइन जोन्सनले निर्माणसमेत गरेको यो फिल्म कमेडी एड्भेन्चर नै हो । जोन्सन, केविन हार्ट, ज्याक ब्ल्याक र करिन गिलानजस्ता हलिउडका स्थापित कलाकारहरू यसमा छन् । केविन हार्ट र ज्याक ब्ल्याकले कमेडीको कोटा पूरा गरेका छन् र जोन्सनले एक्सनको । जोन्सन पछिल्लो समय हलिउडको सबभन्दा धेरै कमाइ गर्ने हिरोमा पर्छन् । फास्ट एन्ड फ्युरियस र अन्य एक्सन सिरिजसँगै जुमान्जी पनि उनको ठूलो फ्रेन्चाइज बनिरहेको छ ।
हलिउडलाई अहिले फ्यान्टासी फिल्मले छपक्कै छोपेको छ । लगभग हरेक महिना दुई तीनवटा ठूला एनिमेसन फिल्महरू आइरहेका छन् । यिनका पनि शृंखला नै बनिरहेका छन् । अर्कातिर सुपरहिरो फिल्म छन् । एनिमेसन र सुपरहिरो फिल्मले कमाइ पनि निकै गरिरहेका छन् । लगत्तै स्टार वार आउँदै छ ।
यस्तोमा, मानवीय सम्बन्धका वास्तविक कथाहरू भन्ने काम सानो बजेटका फिल्महरूले गरिररहेका छन् । गत महिनाको फोर्ड भर्सेस फरारीजस्ता फिल्मलाई छोडिदिने हो भने हलिउडका पात्रमात्र होइन, पूरै हलिउड नै हावामा माथिमाथि उडिरहेजस्तो लाग्छ । जहाँ सामान्य मानिसका कथा तल कतै छुटिरहेका छन् ।

प्रकाशित : पुस ४, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?