उत्कृष्ट १३

१३ औं सागमा नेपालले हालसम्मकै उत्कृष्ट नतिजाको रूपमा ५१ स्वर्ण ६० रजत र ९७ कांस्य गरी २०६ पदक जित्यो  । आ–आफ्ना विधामा उत्कृष्ट प्रदर्शनले नै स्वर्ण दिलाउँछ  ।

स्वर्ण विजेतामध्ये पनि उत्कृष्ट प्रदर्शन गरेका नेपालका १३ खेलाडी :

गौरिका सिंह, पौडी
१३ औं सागमा गौरिकाले केही विशेष प्रदर्शन गर्ने अपेक्षाकृत नै थियो । तर १७ वर्षीया यी जलपरीले यति ठूलो सफलता पाउनेछिन् भन्नेमा स्वयम् उनैलाई विश्वास थिएन । आफू सहभागी सबै स्पर्धामा पदक जितेकी गौरिकाले सागको एकै संस्करणमा सबैभन्दा धेरै स्वर्ण जित्ने कीर्तिमान बनाइन् । त्यसबाहेक साग इतिहासमै सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमान पनि बराबरी गरिन् । अघिल्लो संस्करणको १ रजत र ३ कांस्यसमेत जोड्दा रियो ओलम्पिक–२०१६ की कान्छी खेलाडी गौरिकाको पदक संस्ख्या १३ पुगेको छ ।

सुभाष तामाङ, गल्फ
५ वर्षअघिसम्म सुभाष तामाङको परिचय बल ब्वाईको रूपमा थियो । १७ वर्षीय सुभाषले यसपल्ट आफ्नो विगत सधैंका लागि मेटाएका छन् र नयाँ पहिचान स्थापित गर्न सकेका छन्, ‘साग स्वर्ण विजेता’ । उनले ७२ होलको खेलमा १४ अन्डर २७४ स्कोर गरे । यो गोकर्ण गल्फ कोर्समा हालसम्मकै सबैभन्दा राम्रो स्कोर हो । उनले शुक्रबहादुर राई, टंकबहादुर कार्की र नीरज तामाङसँग मिलेर टिम इभेन्टमा पनि स्वर्ण जिते । साग इतिहासमा नेपाली खेलाडीले स्वर्ण जितेको यो पहिलोपल्ट हो ।

आयशा शाक्य, तेक्वान्दो
३२ वर्षीय आयशाका लागि २ सन्तानको आमा बनेपछि खेलमा पुनरागमन सहज थिएन । बलियो आत्मविश्वास र सबैको विश्वासका कारण उनले यस सागमा तेक्वान्दोको पुम्सेतर्फ एकल र युगल गरी २ स्पर्धामा स्वर्ण जितिन् । सन् २००६ को दसौं सागमा रजत, २०१० को ११ औं सागमा स्वर्ण र २०१६ को १२ औं सागमा पुनः रजत जितेपछि ग्योरोगीलाई बिदा गर्दै पुम्सेतर्फ मोडिएकी आयशाले २ स्वर्ण जितेर सागमा सफल महिला खेलाडीको रूपमा आफूलाई प्रस्तुत गरेकी छन् । उनले यसपल्ट आफूले जितेको २ स्वर्ण २ छोराहरूप्रति समर्पित गरिन् ।

मन्डेकाजी श्रेष्ठ, कराँते
सन् २०१० को ११ औं सागमा अन्तिम समयमा आफ्नो नाम काटिएपछि मन्डेकाजीले जुन पीडा भोगे त्यस्तै पीडा सन् २०१६ मा सम्पन्न १२ औं संस्करणमा कराँते समावेश नगरिनुले भएको थियो । यसपल्ट घरमै भएको प्रतियोगितामा मन्डे स्वर्णका लागि उत्साही थिए । हालै बंगलादेशमा सम्पन्न दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा पाएको सफलताबाट पनि उनले आफ्ना प्रतिस्पर्धीको हैसियत थाहा पाएका थिए । एकल काता र टिम कातामा गरी एकै संस्करणमा उनी २ स्वर्णको हकदार बने । महसुस तामाङ र प्रवीण मानन्धरसँग मिलेर उनले टिम कातामा स्वर्ण जितेका हुन् ।

सन्तोषी श्रेष्ठ, एथ्लेटिक्स
दक्षिण एसियाली खेलकुदको ३५ वर्षे इतिहासमा एथलेटिक्समा नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको थिएन । यसपल्ट सन्तोषी श्रेष्ठले कीर्तिमान रच्दै १० हजार मिटर दौडमा स्वर्ण पदक जितिन् । मिलिसेकेन्डको अन्तरमा स्वर्ण जितेकी उनले ३५ मिनेट ०७.९४ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण जितेपछि उनलाई विश्वास गर्न गाह्रो भइरहेको थियो । ५ हजार मिटरमा भने उनी सदक जित्न असफल रहिन् ।

अनु अधिकारी, कराँते
सागको छनोटका रूपमा लिइएको आठौं राष्ट्रिय खेलकुदमा कांस्यमा सीमित भएपछि अनु अधिकारीका लागि साग सपना अन्त्य भएजस्तो लागेको थियो । तर, संघले कांस्य जितेका खेलाडीसमेत समावेश गरी बृहत् छनोट प्रतियोगिता आयोजना गरेपछि अनुको आशा पलायो । उनी छनोट भइन्, राष्ट्रिय टोलीको प्रशिक्षण थालिन् । ५० केजीमुनि तौल समूहमा अनुले २ खेल खेलिन् र दुवैमा विपक्षीलाई एक अंकसमेत नदिई खेल आफ्नो पक्षमा पारिन् । सेमिफाइनलमा बंगलादेशकी फमिदा अख्तेर र फाइनलमा श्रीलंकाकी डान पाउलु बालाडगेलाई समान ८–० को नतिजामा हराइन् ।

सुनील बल, फुटबल
नेपाली पुरुष भलिबल टिमले स्वर्ण पदक रक्षा गर्दा फाइनलका नायक हुन् सुनील बल । थ्रीस्टारबाट क्लब फुटबल खेल्ने विंगर सुनीलले दोस्रो हाफमा विक्रम लामाको पासमा हेडमार्फत निर्णायक गोल गरेका थिए । विमल घर्तीमगर र अञ्जन विष्ट कारबाहीमा परेपछि अग्रपंक्तिमा सुनीलको जिम्मेवारी बढेको थियो । नेपाली टिमले अपराजित रहँदै स्वर्ण जित्न सक्यो । त्यसमा सुनीलले अग्रपंक्तिमा अविशेक रिजालसँगको तालमेलमा उत्कृष्ट प्रदर्शन गरे ।

वीरबहादुर महरा, तेक्वान्दो
वीरबहादुरका लागि सागमा स्वर्ण जित्ने सपना पूरा भएको छ । अघिल्लो संस्करणको फाइनलमा पराजित हुनुपर्दाको पीडाबाट उनले यसपल्ट बदला लिएका छन् । ६८ केजीमुनि तौलसमूहमा भारतका पृथ्वीराज चौहानलाई पराजित गरेपछि उत्साही बनेका वीरबहादुरले पाकिस्तानका मोहम्मद फाहिमलाई ४१–३६ को स्कोरमा पराजित गरेका हुन् । ब्लक र डिफेन्समा उल्लेख्य सुधार गरेका वीरबहादुरले फाइनलको पहिलो राउन्डमा पछि परेको स्थितिलाई उल्टाएका थिए ।

संगीता धामी, कुस्ती
१९ वर्षीय संगीता धामीका लागि १३ औं दक्षिण एसियाली खेलकुद भाग्योदयको रूपमा रह्यो । कञ्चनपुरको अति विपन्न परिवारको प्रतिनिधित्व गर्ने संगीताले कुस्तीको ५५ केजीमुनि तौलसमूहमा बंगलादेशी खेलाडीलाई पराजित गरी स्वर्ण जितिन् । यो स्वर्ण नेपाली कुस्तीको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो । आठौं राष्ट्रिय खेलकुदमा पहिलो राष्ट्रिय प्रतियोगिता खेलेकी उनले पहिलो अन्तर्राष्ट्रिष्य सहभागितामै ऐतिहासिक स्वर्ण जितेकी हुन् ।

सञ्जु चौधरी, भारोत्तोलन
नेपालगन्जकी १९ वर्षीया सञ्जु चौधरी भारत्तोलनमा प्रवेश गरेको धेरै भएको छैन । तीन वर्षअघि क्रिकेट छाडेर भारोत्तोलनमा लागेकी उनले १३ औं सागमा पहिलो स्वर्ण दिलाइन् । यो यस संस्करणको मात्र होइन भारोत्तोलन इतिहासमै महिला खेलाडीले जितेको पहिलो अन्तर्राष्ट्रिय पदक हो । उनले स्न्याचमा ७४ र क्लिन एन्ड जर्कमा ९७ गरी कुल १ सय ७१ केजी भार बहन गरी स्वर्ण जितेकी हुन् । यो राष्ट्रिय कीर्तिमान पनि हो ।

देविका खड्का, जुडो
यसपल्टको सागमा जुडो खेलले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । अपेक्षा गरेका खेलाडीहरू लगातार पराजित हुँदा देविका भने स्वर्ण जित्न सफल रहिन् । राउन्ड रोविन प्रणालीमा सञ्चालन हुने खेलमा उनले श्रीलंका, भारत र बंगलादेशी खेलाडीमाथि जित निकालिन् । दक्षिण एसियाली जुडोमा सबैभन्दा बलियो मानिएको भारतकी गायत्री टोकासलाई गोल्डेन स्कोरका आधारमा पराजित गरेपछि एक खेलअगावै उनको स्वर्ण निश्चित भएको थियो । झापाकी २९ वर्षीय देविकाले जुडो खेल्न थालेको लामो समय भइसके पनि १ दशकको राष्ट्रिय करिअरमा पहिलो अन्तर्राष्ट्रिय सफलता हो ।

भूपेन्द्र थापा, बक्सिङ
भूपेन्द्रले प्रतियोगिताअघि भन्ने गरेका थिए, ‘घरमै बसेर कुटाइ खानुहुन्न ।’ यही ईखले उनलाई रिङभित्र सजिलो भयो । उनले भारतका मनीष कौशिकलाई अंकका आधारमा पराजित गरी बक्सिङको ६४ केजीमुनि तौलसमूहमा स्वर्ण जिते । मनीष सन् २०१८ मा सम्पन्न कमनवेल्थ खेलकुदमा कांस्य विजेता खेलाडीसमेत हुन् । बलियो प्रतिद्वन्द्वीलाई पराजित गरी स्वर्ण जित्नु भूपेन्द्रका लागि बदला लिएजस्तो पनि भयो । यसअघि इन्डियन ओपनर बक्सिङ च्याम्पियनसिपमा उनी दुईपल्ट भारतीय खेलाडीसँग पराजित भएका थिए । १ दशकको बक्सिङ करिअरमा उनले दुईपल्ट एसियाली खेलकुदमा सहभागिता जनाएका छन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो ।

जुनी राई, उसु
१३ औं सागमा उसुको थाउलोमा नेपालले ४ स्वर्ण जित्यो । सान्सौतर्फ एक मात्र स्वर्ण जुनी राईले जितिन् । सन् २००६ को कोलम्बो सागपछि नेपाली खेलाडीले उसुको सान्सौतर्फ स्वर्ण पदक जितेको यो पहिलो अवसर थियो । त्यतिबेला राजकुमार रसाइलीले यो सफलता दिलाएका थिए । यसपल्ट जुनीले ५६ केजीमुनि तौलसमूहमा श्रीलंकाकी पीएमएम मधुमलीलाई पराजित गरी स्वर्ण जितेकी हुन् ।

प्रकाशित : मंसिर २७, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?