कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रिभेन्ज पोर्नको पीडा

जनकराज सापकोटा

सामाजिक सञ्जालबाट हुर्किएको प्रेम अनि विछोडपछि सामाजिक सञ्जाललाई नै हतियार बनाएर रिस साध्ने प्रवृत्ति  । प्रहरी परिसर काठमाडौंको साइबर शाखामा कार्यरत इन्स्पेक्टर बुद्धि सुवेदीले तन्नेरी पुस्तामाझ हुर्किंदो यस्तो प्रवृत्तिलाई नजिकबाट नियालेका छन्  ।

रिभेन्ज पोर्नको पीडा

प्रेम सम्बन्धमा रहँदाका गोप्य तस्बिर भिडियोको प्रयोग सम्बन्ध बिग्रेपछि प्रतिशोध साध्नका निम्ति प्रयोग गर्ने प्रवृत्ति नेपाली समाजका निम्ति नयाँ रहेन ।
महोत्तरीको गौशाला नगरपालिका ६ घर भई काठमाडौंमा बसेर पढ्दै गरेका फूलबाबु यादव फूलदास अधिकारी, म केटो बिन्दासजस्ता दुई तीनवटा फेसबुक आईडी चलाउँथे । फेसबुकबाटै उनले एउटी युवतीसँग प्रेम अंकुराएको थियो । प्रेममा रहँदा उनीहरूबीच स्वाभाविक शारीरिक आकर्षण रह्यो । उनले प्रेमिकासँगको चुम्बनदेखि अन्य गोप्य गतिविधिको फोटो खिचेर राखेका रहेछन् । जब प्रेमको यात्रामा खटपट सुरु भयो र सम्बन्धमा पूर्णविराम लाग्यो, उनले त्यही तस्बिरलाई प्रतिसोध साध्ने हतियार बनाए ।
प्रहरीका अनुसार फूलले केटीकै नामबाट नक्कली फेसबुक आईडी खोलेर सम्बन्धमा रहँदाको गोप्य तस्बिरहरू पोस्ट गरे । केटीका आफन्तहरूले सामाजिक सञ्जालमार्फत भएको यस्तो हर्कत थाहा पाए । प्रहरीमा उजुरी गरे । अनुसन्धानलगत्तै प्रहरी परिसर काठमाडौंले मंसिरको पहिलो साता फूलबाबुलाई पक्राउ गर्‍यो र साइबर अपराधमा मुद्दा चलायो । काठमाडौं जिल्ला अदालतको आदेशपछि डेढ लाख धरौटी बुझाएर उनी २३ मंसिरमा थुनामुक्त भए ।
प्रेम सम्बन्धको यात्रा टुंगिएको झोंकमा सम्बन्धमा रहँदाको तस्बिरहरूको दुरुपयोग गर्ने र केटीको सामाजिक चरित्रमाथि प्रहार गर्ने अपराध गर्ने फूलबाबु पहिलो पात्र होइनन् । मंसिरकै पहिलो साता प्रहरीले सिरहा सुखीपुर १ घर भई काठमाडौंमा बसेर इन्जिनियरिङ पढ्दै गरेका सुनीलकुमार चौधरीलाई पक्राउ गर्‍यो ।
सुनील पक्राउको कारण पनि उही सामाजिक सञ्जालको दुरुपयोगको घटनासँग जोडिएको थियो । प्रेम सम्बन्धमा रहेका सुनील तिनै युवतीसँग एक वर्षसम्म लिभिङ टुगेदरमा बसेका थिए । सम्बन्धको गति प्रेमको तापमा चलिरहेकै थियो । तर समय सधैं उस्तै रहेन । एक दिन सुनीलले आफ्नी प्रेमिकाको पहिलो पूर्वप्रेमीबारे थाहा पाए । शंका र आशंकाको दोहोरी सुरु भयो । उनीहरूको सम्बन्धमा पूर्णविराम लाग्यो ।
सम्बन्ध सकिएपछि पनि सुनील त्यत्तिकै चुप लागेनन् । उनले सम्बन्धमा रहँदाका केही निजी गतिविधिका फोटा र भिडियो खिचेका थिए । बदलाको भावनाले प्रेरित सुनीलले ती फोटा र भिडियो प्रेमिकाको आफन्तलाई पठाइदिए । सामाजिक सञ्जालको हतियार चलाएर चरित्रहत्याको खेलमा लागेपछि प्रेमिकाको परिवार प्रहरीमा पुग्यो । अनि सुनील पक्राउ परे ।
इन्स्पेक्टर सुवेदीको अनुभवमा प्रतिशोध साध्न सामाजिक सञ्जालको प्रयोग गर्ने प्रवृत्ति तन्नेरी पुस्तामा मौलाउँदो देखिन्छ । उनका अनुसार प्रेम सम्बन्ध टुटेपछि केटीको चरित्रहत्या गर्न गोप्य गतिविधि समेटिएको फोटो र भिडियोलाई हतियारको रूपमा प्रयोग गर्ने डरलाग्दो प्रवृत्ति देखिन्छ । उनले भने, ‘सामान्यदेखि सामाजिक हैसियत र छवि बनाएहरू पनि यस्तो चरित्रहत्याको खेलबाट पीडित भएका कैयन उदाहरणहरू छन् ।’
सम्बन्ध बिग्रिएपछि आफ्ना पूर्वप्रेमी–प्रेमिकाका गोप्य तस्बिरहरू सामाजिक सञ्जाल वा इन्टरनेटमार्फत सार्वजनिक गरेर रिस साध्ने समस्या नेपालको मात्रै होइन, विश्वभरकै हो । अंग्रेजी भाषामा यस्तो प्रवृत्तिलाई रिभेन्ज पोर्न भनिन्छ । रिभेन्ज पोर्नको सिकार संसारमा धेरै मानिस भएका छन् । कत्तिले आफ्नो गोप्य तस्बिर र भिडियो सार्वजनिक भएपछि आत्महत्याको गलत बाटो रोज्छन् भने कतिले कानुनी लडाइँमार्फत न्याय भेट्ने प्रयास गर्छन् ।
केही समय मात्रै दक्षिण कोरियाकी के–पप स्टारले पनि रिभेन्ज पोर्नकै कारण आत्महत्याको गलत बाटो रोजिन् ।
प्रेमीले गोप्य रूपमा आफ्नो भिडियो खिचेकोमा आपत्ति जनाउँदै त्यसविरुद्ध सार्वजनिक रूपमै लडिरहेकी कोरियाली के–पप स्टार गू हाराले गत साता आत्महत्या गरेकी हुन् । आफूलाई भएको अत्याचारबारे आवाज उठाएकै कारण अनलाइनमा उनको निकै धेरै आलोचना भएको थियो । दक्षिण कोरियामा अहिले गोप्य क्यामराको प्रयोग गरेर महिलाहरूको भिडियो बनाउने र त्यसलाई अनलाइनमा प्रसारण गर्ने होड नै चलेको छ । यसबाट सेलिब्रेटीदेखि आम मानिस सबै पीडित भएका छन् ।
यसबारे आवाज उठाइरहेकी के–पप स्टार गू हाराको आत्महत्याको खबर बाहिरिएसँगै महिलाहरूले यस्तो काम गर्नेमाथि झन् बढी सजायको माग गर्न थालेका छन् ।
गू हारा के–पपकी रानी नै थिइन् । उनी कोरियाली महिला समूह ‘कारा’ बाट चर्चाको शिखरमा पुगेकी थिइन् । तर पछिल्लो एक वर्ष भने उनी स्टेजमाथिभन्दा पनि स्टेजतलका गतिविधिका कारण चर्चामा थिइन् ।
गत सेप्टेम्बर महिनामा उनले आफ्नो प्रेमीविरुद्ध नै ब्ल्याकमेलिङको मुद्दा हालेकी थिइन् । प्रेमीले उनीहरू दुईबीच भएको शारीरिक सम्पर्कको भिडियो अनलाइनमा सार्वजनिक गरेर करिअर नै सकिदिने धम्की दिएको उनको आरोप थियो ।
अदालतले धम्कीबाहेकका अन्य आरोपलाई सही ठहर्‍याउँदै उनको प्रेमीलाई डेढ वर्ष जेल सजाय सुनाएको थियो । दक्षिण कोरियामा यो दुई वर्षमा मात्रै ११ हजार २ सय गोप्य क्यामराबाट खिचिएका भिडियोलाई प्रहरीकहाँ उजुरीहरू परेका छन् । यसविरुद्धका अभियन्ताहरूको दाबी मान्ने हो भने यो संख्या निकै माथि हुन सक्छ । किनभने दक्षिण कोरियाजस्तो पितृसत्तात्मक समाजमा अधिकांश महिला बोल्न डर मान्छन् ।

प्रकाशित : मंसिर २७, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?