कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वीर वीरबहादुर

राम्रो खेलेर पनि तीन वर्षअघि फाइनलमा चुकेका तेक्वान्दो खेलाडी वीरबहादुर महराले १३ औं सागमा आएर स्वर्णपदक जित्ने सपना पूरा गरेका छन् ।
कुशल तिमल्सिना

भारतमा तीन वर्षअघि सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) वीरबहादुर महराको अन्तर्राष्ट्रिय डेब्यु थियो  । तैपनि उनले राम्रो गर्ने आशा थियो  ।

वीर वीरबहादुर

गर्दै थिए पनि । फाइनलमा अफगानिस्तानी खेलाडी थोरै अंकले अगाडि थिए । तर, ती अफगान चोटग्रस्त भइसकेका थिए । उनलाई उभिनै गाह्रो थियो । खुट्टा टेक्ने अवस्थामै थिएनन् । तर, रेफ्रीले खेल रोकेनन् । वीरले अंक थप्न पनि सकेनन् र डेब्युमै स्वर्ण चुम्ने मौका चुकाए ।
स्वर्ण चुम्ने त्यो अधुरो सपनालाई उनले १३ औं सागमा आएर स्वदेशमै पूरा गरेका छन् । उनले यसपालिको फाइनलमा पाकिस्तानी प्रतिद्वन्द्वीमाथि वीरता प्राप्त गरे । पुरुष ६८ केजीमुनि तौलसमूहमा वीरबहादुरको पहिलो खेल नै भारतका पृथ्वीराज चौहानसँग थियो । बलियो प्रतिस्पर्धीविरुद्धको पहिलो राउन्डमा उनको सुरुआत राम्रो भएन । पहिलो राउन्डमा ११–९ ले पछि परे । नेपाल पुलिस क्लबका यी २४ वर्षे खेलाडीले सानदार पुनरागमन गरे । दोस्रो र तेस्रो राउन्डमा क्रमस ः १२–६ र ११–७ स्कोरसहित चौहानलाई उनले समग्रमा ३२–२४ ले पराजित गरे । र, फाइनलमा प्रवेश गरे ।
अब उनका प्रतिद्वन्द्वी थिए पाकिस्तानका मुहम्मद फाहिम । जसले सेमिफाइनलमा श्रीलंकाका थारंगा लक्मललाई एकपक्षीय रूपमा हराएका थिए । सिलोङमा अधुरो रहेको सपना पूरा गर्नका लागि अग्ला कदका फाहिमलाई पराजित गर्नु वीरका लागि चुनौती बन्दै थियो । तर दुईपल्ट पछाडि परेर पनि उत्कृष्ट पुनरागमन गरेका उनले आफ्नो आत्मविश्वासलाई अन्तिमसम्म
डगमगाउन दिएनन् ।
पहिलो राउन्ड १५–१३ ले जितेका उनी दोस्रो राउन्डमा १३–८ को आरामदायी अवस्थामा पुगे । तेस्रो राउन्डको अन्तिम १ मिनेट ४१–२७ को अग्रतामा रहेका वीरले रक्षात्मक बन्ने प्रयास गर्दा फाहिमले फाइदा उठाए । स्कोरमा अधिक अन्तर भएका कारण वीरलाई उछिन्न सकेनन् । वीरले समग्रमा ४१–३६ को स्कोरसहित मंगलबार सागमा स्वर्ण सपना पूरा गरे ।
‘१२ औं सागमा मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । फाइनलमा पराजित भएपछि अर्कोपल्ट जित्छु भन्ने सोच बनाए,’ स्वर्ण विजेता वीरले भने, ‘यसपल्ट घरमै प्रतियोगिता हुँदै थियो, स्वर्ण पदक सोचेर खेलेको थिएँ, भनेजस्तै भयो ।’ वीरले यो पदक आफूलाई सफलताको हकदार बनाउने सबैसँग बाँड्न चाहेको सुनाए ।



फाइनलमा भन्दा सेमिफाइनलमा भारतीय खेलाडीसँगको प्रतिस्पर्धा कठिन भएको वीरले अनुभव गरे । ‘सुरुमै भारतका खेलाडी थिए । उनी मेरा लागि नयाँ थिए । मैले उनको खेल देखेको थिइनँ, त्यसैले सुरुमा गाह्रो भयो । तर दोस्रो राउन्डपछि मैले उनको कमजोरी पत्ता लगाए र त्यसैको फाइदा उठाएर जित निकाल्न सकें,’ फाइनलबारे वीरले भने, ‘पाकिस्तानका खेलाडी पनि मेरा लागि नयाँ थिए । तर मैले सेमिफाइनलमा श्रीलंकासँग उनको खेल हेर्न पाएको थिएँ । त्यही खेलपछि बनाएको रणनीति सफल भएको हो ।’
वीरको आक्रामक खेलशैली नयाँ होइन । उनको यही शैलीले नै यहाँसम्मको यात्रा गराएको हो । नेपाली तेक्वान्दोकै परम्परागत समस्या ब्लक र डिफेन्स हो । फाइनलमा उनले धेरै हदसम्म आफ्नो कमजोरी सुधार्ने प्रयास गरे । ‘मैले ब्लकमा राम्रो गरेँजस्तो लागेको छ । सबै किकहरू ब्लक गर्न त सकिँदैन । सकेजति राम्रो गर्ने प्रयास गरेँ,’ वीरले थपे ।
वीरको अबको लक्ष्य ओलम्पिक छनोट हो । त्यसका लागि यतिको तयारीले पुग्दैन भन्ने उनलाई थाहा छ । ‘२०२० को ओलम्पिकमा छनोट हुने लक्ष्य राखेको छु । त्यसका लागि यति तयारीले पुग्दैन । हामीले धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने र नियमित स्तरीय प्रशिक्षण गर्नुपर्छ । त्यसले अनुभव र आत्मविश्वास दुवै बढ्छ,’ १३ औं सागको सफलताको आधारबारे उनले थपे, ‘हामीले १ महिना चीनमा विशेष प्रशिक्षणका साथै २ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पायौं, यसले हामीमा धेरै सुधार भएको थियो । घरेलु समर्थकको साथ त छँदै थियो ।’
कञ्चनपुरका उनले १०/११ वर्षको उमेरदेखि नै तेक्वान्दो खेल्न थालेका हुन् । आफ्नै प्रदेशका दीपक विष्टको सफलता उनको करिअरमा मागदर्शन बन्यो । राष्ट्रिय टिममा परेदेखि नै दीपकबाटै प्रशिक्षित छन् र एकपछि अर्को प्रतियोगितामा राम्रो गर्दै गइरहेका छन् । २०७० सालमा पुलिसमा अनुबन्ध भएपछि वीरको करिअरले उचाइ लियो । सातौं कोरियन एम्बासडर, सातौं र आठौं राष्ट्रिय खेलकुद, राखेप च्याम्पियनसिपमा उनले स्वर्ण जितेका छन् । यसको अर्थ उनी ६ वर्षयता आफ्नो स्पर्धामा अविच्छिन्न राष्ट्रिय च्याम्पियन हुन् ।

प्रकाशित : मंसिर २०, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?