प्रविधि विवादका कुरा

हेलो शुक्रबार

यो अंग्रेजी वर्षमा धेरै नयाँ ग्याजेट बजारमा आए, नयाँ प्रविधिको सुरुआत भए । तर यहाँ चर्चा गर्न खोजिएको नयाँ प्रविधिको नभई प्रविधिसम्बन्धी विवादको हो जसका कारण विश्व राजनीति प्रभावित भयो भने प्रविधि पनि जनसरोकारको विषय हो भन्ने स्थापित बन्यो । यो वर्ष त्यस्ता धेरै घटना भए जसका कारण प्रविधिबारे विश्वभर बहस नै भयो । 

प्रविधि विवादका कुरा


यो वर्षको सबैभन्दा ठूलो प्रविधिसम्बन्धी विवाद चिनियाँ कम्पनी हुवावे र अमेरिकी सरकारबीचको थियो । अमेरिकी सरकारले मे महिनामा हुवावेलाई कालोसूचीमा राख्ने निर्णय गरेपछि अर्को अमेरिकी कम्पनी गुगलले हुवावेलाई आफ्नो प्रविधि प्रयोग गर्न रोक लगाएको छ । गुगलको सेवाबिना पनि हुवावेले बजारमा आफ्नो उपस्थिति बलियो बनाउन हरसम्भव प्रयास गरिरहेको छ । र, फाइभजीमा हुवावेले विकास गरेको प्रविधि पनि प्रयोग नगर्न अमेरिकी मित्रराष्ट्रहरू लागिपरेको विषय पनि यो वर्ष सर्वाधिक चर्चाको विषय भयो ।
फेसबुकले सामाजिक सञ्जालबाहेक पनि अन्य काममा हात हाल्न लागेपछि त्यसको चर्चा नहुने कुरै छैन । त्यसैमध्येको एक हो फेसबुक लिब्रा । फेसबुकले आफूसहित प्रविधि कम्पनीको संलग्नतामा लिब्रा नामक क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने योजना बनाएपछि यसको चर्चा संसारभर भयो । फेसबुक दर्ता भएको देश अमेरिकी अधिकारीहरूले नै यसको चर्को विरोधपछि यो विवादित बनेको छ ।
लिब्राले बैंकिङ प्रणालीलाई धक्का पुर्‍याउने भन्दै यसको आलोचना पनि भएको छ जसका कारण लिब्रा निष्कासनका लागि फेसबुकलाई साथ दिने भनेको २ दर्जनमध्ये अधिकांश कम्पनीले योजनाबाट हात झिकेको घोषणा गरेका छन् । फेसबुकको विवाद यसमा मात्रै सीमित छैन । फेसबुकका मालिक मार्क जुकरवर्गले आफ्नो चर्चित प्लेटफर्म फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको म्यासेजिङ सुविधालाई एकीकृत गर्ने र जसले जहाँबाट पनि म्यासेज गर्न सक्ने सुविधा ल्याउने घोषणा गरेपछि पनि यसको चर्को आलोचना भयो । यसले प्रयोगकर्ताको गोपनीयता भंग गर्ने भन्दै आलोचना भएपछि तत्कालका लागि यो योजना स्थगित छ ।



योबाहेक सामाजिक सञ्जालमा राजनीतिक विज्ञापनहरू कत्तिको उपयुक्त हुन्छ भन्ने विषय पनि यो वर्षभरी चर्चामा रह्यो । चुनावको बेलामा अवफाह फैलाउन प्रयोग हुने भन्दै केही सामाजिक सञ्जाल कम्पनीले राजनीतिक विज्ञापन गर्न नदिने घोषणा गरे पनि फेसबुकले भने त्यसो गर्न नसकिने जनाएको छ । यसको कारण पनि कम्पनी केही समय विवादमा रह्यो ।
यस्तो विवादमा सामसङ पनि अछुतो छैन । संसारभर सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी कोरियन कम्पनीको लागि यो वर्ष केही लज्जास्पद पनि रह्यो । उसले केही वर्षदेखि
चर्चा गर्नै आएको पट्याउन मिल्ने फोन–फोल्डेबल फोन यो वर्ष सार्वजनिक गरेको थियो । अप्रिलमा बजारमा गएको फोन पहिलो दिनमै सबै बिक्री भएको थियो । सामसङले नयाँ प्रविधि भन्दै चर्चा गरेको करिब २ हजार डलर मूल्य पर्ने फोन पहिलो दिनमा सबै बिक्री हुनु त कम्पनीका लागि खुसीको खबर थियो तर प्रयोगकर्ताले चलाउन थालेको केही घण्टामै यसको स्क्रिन फुट्न थालेको खरबर संसारभर फैलियो । कम्पनीले अहिले सबै फोल्डेबल फोन बजारबाट फिर्ता लगेको छ र फेरि बजारमा पठाउने आँट गर्न सकेको छैन । यति ठूलो कम्पनीका लागि यो लज्जाको विषय पनि हो ।
आइफोन निर्माता कम्पनी एप्पलले आफूलाई प्रयोगकर्ताको गोपनीयताको सबैभन्दा बढी सम्मान गर्ने कम्पनीको रूपमा व्याख्या गर्ने गरेको छ । यो वर्ष त उसले नयाँ नारा नै बनायो— आइफोनमा जे हुन्छ, त्यो आइफोनमै रहन्छ । अर्थात्, आइफोन प्रयोगकर्ताको तथ्यांक आफ्नो फोनबाट कही जाँदैन । कम्पनीले यस्तो नारा बनाएकै वर्ष आइफोनको भिडियो च्याट गर्ने एप फेसटाइममा नयाँ समस्या देखा पर्‍यो जसले एक प्रयोगकर्तालाई अर्को प्रयोगकर्ताको आइफोनको क्यामेरासम्म पहुँच दिन्थ्यो । कम्पनीले यसको तत्काल समाधान गर्न नसकेर एप नै केही समयका लागि बन्द गर्नुपर्‍यो ।

प्रकाशित : मंसिर २०, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?