कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बक्स अफिसमा कमाल 

अक्षयकुमार धेरै फिल्म खेल्छन् । र, ती सबै हिट पनि हुन्छन् । यो कसरी सम्भव भइरहेको छ ?
कान्तिपुर संवाददाता

अक्षयकुमारको एउटा फिल्म हलबाट उत्रिसकेको हुँदैन, अर्को फिल्मको ट्रेलर आइसक्छ  । वर्षमा सरदर ४ फिल्म खेल्छन् नै  ।

योभन्दा अचम्मचाहिँ उनका सबै फिल्म हिट हुन्छन् । पछिल्लो फिल्म हाउसफुल ४ लाई छोड्ने हो भने अक्षय अभिनीत फिल्मले समीक्षकबाट प्रशंसा पाएका छन् । मिसन मंगल, केशरी, गोल्ड, प्याडम्यान आदि–आदि । बलिउड हंगामाका अनुसार सन् २०१९ मा उनका तीन फिल्मले भारतभित्र ५ सय ५१ करोड भारु कलेक्सन गरेको छ । यो कमाइले उनलाई बलिउड अभिनेतामध्ये शीर्ष स्थानमा राखेको छ । ऋतिक रोशन, सलमान खान, विक्की कौशलजस्ता स्टारलाई उछिनेका छन् । अघिल्लो वर्षचाहिँ दुई र रनवीर सिंह एक नम्बरमा थिए ।
बलिउडमा तीन खान (शाहरूख, आमिर र सलमान) को साम्राज्य डगमगाइहेको छ । शाहरूखको करिअर त साँच्चै संकटमा छ । लालसिंह चड्डाबाट आमिर साख फर्काउने प्रयासमा छन् । सलमानलाई भारतले राहत थियो । तर समकक्षी हिरो अक्षयचाहिँ संख्या र सफल दुवै हिसाबमा अग्रपंक्तिमा छन् । यही कारण हुनुपर्छ, यतिबेला उनलाई बलिउडमा ‘बक्सअफिस किङ’ को पगरी गुथाउन थालिएको छ । अक्षयप्रति आमदर्शकको प्रेम किन पनि घनीभूत हुँदै छ भने पहिले हल्का कमेडी र एक्सनमा मात्र सीमित हुन्थे, अहिले सार्थक सिनेमातिर फड्को मार्दै छन् । र, उनी आफैं पनि भन्न थालेका छन्, ‘बल्ल मैले चाहेकोजस्तो सिनेमा खेल्न पाउँदै छु ।’
अक्षयको संघर्ष नियाल्ने हो भने अहिलेको सफलताको बलियो हकदार लाग्छन् । तीस वर्षअगाडि ‘आज’ नामक सिनेमामा झुल्किएका थिए, पहिलोपटक । राज बब्बर र स्मिता पाटिलको मुख्य भूमिका रहेको यस फिल्मले उनलाई खास फाइदा दिलाएन । त्यसैले सौगन्धलाई उनको खास डेब्यु मानिन्छ । त्यसपछि केही फिल्म खेल्ने अवसर मिल्यो तर सबै फिल्ममा एक्सन भूमिका मात्र हुन्थ्यो । बलिउड फिल्ममेकरमा छाप बसिसकेको थियो, अक्षयले एक्सनबाहेक अरू रोल गर्नै सक्दैनन् । महेश भट्टजस्ता केही फिल्ममेकरले त मुखै फोरेर भनेका थिए, ‘एक्सन गराउनु छ भने अक्षयलाई लिनु, अभिनय गराउनचाहिँ नलिनु ।’ एक्सनकै कारण उनले टन्नै फ्यान त कमाए तर अभिनेताको रूपमा अनेक भूमिकामा आफ्नो अभिनय क्षमता देखाउन पाएनन् ।



बीचमा केही कमेडी फिल्मलाई बिर्सने हो भने लगभग पाँच वर्षअगाडिसम्म अक्षय एक्सनमै सीमित थिए तर रुस्तमले उनको अभिनय कौशलको नवीन पाटो उघारिदियो । नत्र यसअघि त सिंह इज ब्लिंक, गब्बर इज ब्याक, बोस, इन्टरटेनमेन्ट, तीस मार खानजस्ता एक्सन–कमेडी फिल्ममा सीमित थिए । जोली एलएलबी २ पनि उनको ख्याति बढाउन सहायक बन्यो । ट्वाइलेट ः एक प्रेमकथाले चाहिँ अक्षयको छवि पूरापूर बदलिदियो, त्यो भनेको उनका सिनेमाका कथा र उनको चरित्र समाजसँग नजिक हुन थाले, जुन पहिले उनीसँग अपेक्षा नै हुँदैन्थ्यो । शौचालय नभएकै कारण पति–पत्नीबीच फाटो आउने दर्दनाक कथा बोकेको यस फिल्मले ३ सय ११ करोड भारु कलेक्सन गर्‍यो । ‘हिरोजस्तो नलाग्ने’ चरित्रमा समेत अक्षयले आफूलाई जीवन्त बनाए ।
प्याडम्यान, गोल्ड, केशरी हुँदै मिसन मंगलसम्म आइपुग्दा अक्षयले वास्तविक कथालाई रोजे । उडन्तेभन्दा समाजमा भएकै घटनामाथि फिल्म खेल्न/बनाउन दिलचस्पी राख्न थालेका छन् । तर सत्यकथा भए पनि उनका फिल्ममा गीत हुन्छन्, ‘हिरोइन’ हुन्छन्, फाइट पनि हुन सक्छ । भनूँ न, बजारले खोज्ने तत्त्वलाई पनि उत्तिकै समेट्छन् । र, यसो किन गर्नुपर्छ भन्नेमा पनि स्पष्ट धारणा छ उनको । इन्डियावेस्ट डटकमसँगको कुराकानीमा भनेका छन्, ‘म डकुमेन्ट्री बनाउन चाहन्नँ । त्यसैले गीत, डान्स, ड्रामा सबै राख्छु । व्यावसायिक मूल्य मुख्य कुरा हो ।’
अक्षयको अब लगत्तै रिलिज हुने फिल्म हो, गुड्न्युज । त्यसपछि सूर्यवंशी, लक्ष्मी बम्ब र पृथ्वीराज क्रमैसँग आउनेछन् । यति धेरै फिल्म खेल्ने समय र ऊर्जा कहाँबाट आउँछ ? उनले बरोबर सामना गनुपर्ने सवाल हो यो । जवाफ पनि उस्तै हुनेगर्छ, ‘फिल्म खेल्नेबाहेक मेरो अर्को काम छैन । मेरा लागि फिल्म अझ कम भयो ।’
(एजेन्सीको सहयोगमा)

प्रकाशित : मंसिर २०, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्

मल्लाज जाने बाटो

जिजुबाजेले एक शताब्दीअघि बनाएको दरबारलाई उनैका पनातिले निजी खर्च र उपायबाट रेट्रोफिट गराएपछि मल्लाज बस्तीमा रौनक थपिएको छ ।
देवेन्द्र भट्टराई

संसारभर कुरियर ओसार्ने अन्तर्राष्ट्रिय कम्पनी डीएचएलका कन्ट्री–म्यानेजर मुकुन्द मल्लले १० वर्ष यो कम्पनीमा काम गरेपछि एक रात सपनामा देखे— मल्लाज  । के थियो मल्लाज ? कहाँ थियो मल्लाज ? उनी सपनामै कुदिरहे  ।

भोलिपल्ट बिहानै उठेर झोलीतुम्बा बोक्दै उनी आफ्ना पितापुर्खाको थलोको खोजीमा निस्किए । मल्लाजका बारे किंवदन्तीझैं सुनेको दर्गादिशाका आधारमा मुकुन्द धौलागिरीको पर्वत जिल्ला आइपुगे, बेनी बजारबाट झन्डै १ घण्टा लगातार पूर्वी डाँडो उक्लिएपछि बाबुबाजेको मल्लाज भेट्टाए, अनि यतै जरो गाड्ने सुरसार कसिहाले ।
मुकुन्दले देखेको मल्लाज–सपनाअघिको कुरा गरौं । यो जिजुबाजे समयको कुरा हो, झन्डै डेढ शताब्दीअघिको कुरा । पर्वतको मल्लाजमा जन्मे–हुर्केका तेजबहादुर मल्ल अलिक फराकिलो र उज्यालो संसार खोज्दै नेपाल (काठमाडौं) गएका थिए । खाइलाग्दो ज्यानका उनी नेपाली सेनामा भर्ती मात्रै भएनन्, कर्णेलको तहसम्म पुगे । नामकाम, वैभव र सम्पत्तिसमेत साथमा भएपछि तेजबहादुर फेरि मल्लाज फर्किए । तर, बूढ्यौली बिताउन सुविधायुक्त दरबार बनाउने सोच लिएर ।
तेजबहादुर गाउँ फर्कंदा आफ्ना दुई आर्किटेक्ट सालाहरू कुमार र केदारनरसिंह रानालाई भनेर एउटा दरबार स्टाइलको भवनको नक्सासमेत बनाई मागेर ल्याएका रहेछन् । नरसिंह रानाहरू सिंहदरबार, शीतलनिवासको डिजाइनमा समेत जानकार थिए । त्यो डिजाइनअनुसार काम गर्ने दक्षतायुक्त कामदार भक्तपुरबाट साथैमा ल्याएर र मल्लकालीन शैलीमा माटो, सुर्की, पोलेका इँटाका भरमा २ वर्षमा मल्लाज दरबार बनिएको रहेछ ।

गाउँ फर्किसकेका कर्णेल
तेजबहादुरलाई तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरले फेरि दार्चुलाको बडाहाकिम बनाएर पठाएका रहेछन् । उनी दार्चुला पुगे र उनको त्यतै निधन भयो । यसरी अनेक बलबुता र बर्गत खन्याएर दरबार उभ्याए पनि कर्णेल तेजबहादुरले यो दरबारमा बस्नै पाएनन् ।बाजे इन्द्रबहादुर मल्ल पनि केही वर्ष मात्रै यो दरबारमा बस्न पाए, बाबु जीवनबहादुरको पालादेखि त परित्यक्तझैं रह्यो । बितेको झन्डै ४० वर्ष दरबार बिनासुरक्षा–संरक्षण बस्यो । ११५ वर्षअघि बनेको र समय हिसाबमा ‘हेरिटेज’ भैसकेको यो सम्पत्तिमा न मल्ल परिवारका छोरानातिले ख्याल गरे, न गाउँले रखवाली कोही रहे । बीचको द्वन्द्वकालमा दरबारमा रहेका ऐतिहासिक सामान, बन्दुक, हातहतियार, भाँडाबर्तन सबै खोसाखोस भएको स्थिति रहेछ ।

गाउँ फर्क अभियान
भारतको चण्डीगढबाट मानविकीमा स्नातक मुकुन्दले काठमाडौं फर्केर केही वर्ष सोल्टी प्लाजामा बजार प्रबन्धक भएर काम गरेका थिए, लगत्तै उनी डीएचलको कन्ट्री–म्यानेजर बने । त्यसपछि स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) मा काम गरिरहेकै बेला मल्लाज–सपना देखेर उनी गाउँ फर्केका हुन् ।
‘सन् २०१२ देखि २ वर्षभन्दा बढी दिनरात एक बनाएरै यो दरबार रेट्रोफिटिङमा लागें । चण्डीगढदेखि कर्नाल सिंह भन्ने साथी बोलाएर छानो रिपेयरमा आइडिया लिएँ । सुरुमा मक्किइसकेको स्लेटको छत निकाल्ने र यूपीबीसीको प्रि–फ्याब हाल्ने काम भयो,’ मुकुन्द सम्झन्छन्, ‘नयाँ संरचना थप्नेभन्दा पुराना कुरा कसरी जोगाउने भन्ने ध्याउन्नले बढी दिमाग र समय खायो, निर्माणभन्दा संरक्षणमा बढी पैसा खर्चनुपर्‍यो ।’
आजको पुस्ता सहरमुखी र पैसाकेन्द्रित भैरहेका बेला मुकुन्द आफ्नो प्रतिष्ठाको काम, मनग्य आम्दानी र परिवार सहरमै छाडेर मल्लाज फिरेका छन् । २२ रोपनी क्षेत्रफलमा फैलिएको ‘द हेरिटेज एट मल्लाज’ को ३ तले दरबारमा अहिले स्वदेशीभन्दा विदेशी आगन्तुक सम्पदा हेर्ने पाहुना बनेर आइरहेका छन् । दरबार हेर्न दिनहुँ आउने विद्यार्थी, शिक्षक र अन्य आगन्तुकको संख्या पनि उत्तिकै देखिन्छ ।



मल्लाज गाउँभरि ढुंगाका छपनीले छाएका परम्परागत घरहरू भेटिन्छन् । नेपालमै कहलिएको सुन्तला खेतीको गाउँ बाँसखर्क यही मल्लाजको अर्को छेउमा भेटिन्छ । बेनी बजार, म्याग्दी तातोपानी वा मुस्ताङ जाने यात्रुहरू पनि मल्लाज दरबार हेर्न गाउँ उक्लने गरेका छन् । ‘पाल्पा दरबार भन्नेबित्तिकै खड्गशमशेरले सम्पूर्ण राष्ट्रिय स्रोतसाधन र शक्ति खर्चेर बनाएको दरबार हो । तर, यो भनेको एउटा मल्लाजवासी मल्ल कर्णेलले आफू र आफ्नो परिवार बस्न निजी हैसियतमा बनाएको दरबार हो,’ मुकुन्द भन्छन्, ‘आज मल्लकालीन सभ्यता, संस्कृति र सम्पदाको चिनारी दिने गरी यो दरबारको चिनारी बढेकोमा म आफू गाउँ फर्केकोमा धन्य ठानिरहेको छु ।’



मल्लाज गाउँको नाम अहिले बदलिएर जलजला गाउँपालिका बनेको छ । तर, चिन्नेहरू मल्लाज नामबाटै यो गाउँ र दरबारलाई चिनिरहेका भेटिन्छन् । आश्चर्य के छ भने आज गाउँ फिरेका अधिकांश मल्लाजवासी अफगानिस्तानदेखि इराकसम्म पुगेर अनेक कामकाजमा ‘अनुभवी’ बनेका भेटिन्छन् ।
गाउँको हकहित र प्रचारमा जुटेका अशोक खत्री मलेसियादेखि इराकसम्म बसेर घर फिरेका छन् भने गाउँमै होटल खोलेर बसेका राजेन्द्र जीसी पनि इराककै द्वन्द्वमाझ थोरतिनो कमाइ बोकेर आएका हुन् । मंसिरे दाईंको चटारोमा भेटिएका हरिबहादुर जीसी पनि ८ वर्ष संयुक्त अरबको दुबई बसेर घर फिरेका रहेछन् । यो क्षेत्रकै प्रसिद्ध मल्लाज कोतभगवती मन्दिर निर्माण समितिको अध्यक्ष रहेका क्याप्टेन टेकबहादुर घर्ती क्षत्री भारतीय गोर्खा सैनिकबाट अवकाश लिएर घर फिरेका रहेछन् तर उनको छोरो शेरबहादुर भने अहिले पनि अफगानिस्तमै कामकाजी रहेछन् ।
मल्लाज गाउँको सिद्धेश्वर शिवालयमा पुजारी रहेका ताप्लेजुङ, डुम्रिसेका पुरुषोत्तम अधिकारी पनि आफ्ना ३ छोराको वृत्तान्त टिपाउनमा उत्सुक भेटिए । उनका छोरामध्ये २ जना दुबई र एउटा ओमानमा थुप्रै वर्षयता रोजगारीमा जुटेका रहेछन् । सुन्तला बिक्रीका घरमा घरपरिवार धानिरहेका स्थानीय ज्योतिमण्डल माविका शिक्षक खेमबहादुर खत्रीको एउटा छोरो कोरिया र अर्को अस्ट्रेलियावासी बनेको रहेछ ।



‘बिदेसिने जे जति भए पनि आज यो गाउँ फर्कनेहरू पनि उसैगरी बढेका छन्,’ मल्लाज दरबारको आागनमा गफिँदै मुकुन्द भन्छन्, ‘मैले यो दरबार रेट्रोफिटिङ गर्दा स्काफोल्डिङदेखि अरू प्राविधिक कामसमेत यहीं गाउँकै केटाहरूबाट गराएँ । अरू जे जसो भए पनि सबै केटाले ‘स्किल’ सिकेर आएका रहेछन्, यो एकदमै खुसीको कुरा हो ।’
कर्पोरेट जीवनशैलीबाट वाक्क भएर मल्लाज फिरेका मुकुन्द मल्ल काठमाडौं छँदा बैंकर अनिल शाहदेखि सगरमाथा आरोही विनायक जे. मल्ल, धौलागिरी पस्मिनाका अग्रज शिवकुमार श्रेष्ठसम्मको संगतमा रहन्छन् । फेरि पनि सबैको उस्तै कर्पोरेट जीवन देखेर अनि सहरको कुदाकुद र धपेडीबाट दिक्क भएर दुई/चार दिनमै मल्लाज फिरिहाल्छन् । ‘राम्रो जीवनका लागि मेरो जिजुबाजे मल्लाजबाट काठमाडौं गएका थिए,’ उनी भन्छन्, ‘राम्रो जीवनकै लागि म भने काठमाडौंबाट मल्लाज फर्किएको छु ।’

प्रकाशित : मंसिर २०, २०७६ १०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×