रिबुटको रन्को

हलिउडको सूत्रमा आधारित फिल्म हो– चार्लिज एन्जल्स । यसमा प्रायः सबैजसो घटना र सिक्वेन्सहरू बुझ्न नियमित फिल्म दर्शकलाई कत्ति गाह्रो पर्दैन ।
हेलो शुक्रबार

दुई हप्ता पहिले टर्मिनेटर हेरेका काठमाडौंका दर्शकका लागि यसपालि आइपुग्यो, चार्लिज एन्जल्स  । यी दुवै हलिउड फिल्मका केही समानता छन्  ।

रिबुटको रन्को

यी दुवै एक्सन फिल्म हुन् । चार्लिज एन्जल्स एक्सन–कमेडी भए पनि यसमा एक्सनको मात्रा निकै ज्यादा छ । यी दुवै पहिले नै बनिसकेका, चलिसकेका र दर्शकको दिमागमा स्थापित भइसकेका फिल्मका नयाँ शृंखला हुन् ।
टर्मिनेटरको कथा २८ वर्षपछि अघि बढेको थियो, चार्लिज एन्जल्सको कथा भने अघि बढे पनि नबढेजस्तै छ । त्यो भनेको के हो भने फिल्ममा केही पात्र फेरिएका छन्, लोकेसन अलग छन् तर मुख्य कथा र कथाको शैलीमा कुनै अन्तर छैन । सोनीले यसलाई रिबुट भनेको छ । अर्थात् यो पहिले नै हलबाट उत्रिएर निर्जीव भएको कथामा फेरि प्राण भरिएको । त्यसलाई फेरि सुरु गरिएको ।
क्यामरुन डियाज र ड्र्यु बेरिमोरको सट्टा यसमा क्रिस्टिन स्टुवार्ट, नावोमी स्कट र एला बलिन्स्काले मुख्य भूमिकामा अभिनय गरेका छन् । पहिले नै टेलिभिजन र ठूलो पर्दामा स्थापित भइसकेको कथा भएकाले रिबुट गरिएको भए पनि कथालाई जस्ताको तस्तै दोहोर्‍याइएको भने छैन ।
एक निजी जासुसी कम्पनीको कथा हो यो । कम्पनीको मुखिया चार्ली कहिल्यै पर्दामा देखिँदैन । तर उसका एजेन्ट (एन्जल्स) भने जतासुकै देखिन्छन् । फिल्ममा दुई एजेन्ट र उनीहरूका बोस (बोज्ली) । सेनामा लेफ्टिनेन्ट भनेजस्तो यो कम्पनीमा बोज्ली एउटा पद हो । एन्जल्सचाहिँ ट्रेन्ड कमान्डो ।
फिल्मको कथा सुरु हुन्छ, ह्यामवर्ग (जर्मनी) को एउटा पावर कम्पनीबाट । कम्पनीले उत्पादन गरेको एउटा डिभाइस छ, कोलेस्टो । इनर्जी कन्जरभेसन डिभाइस भए पनि यसलाई खतरनाक हतियारका रूपमा प्रयोग गर्न मिल्ने सम्भावना देखेपछि यसकी एक प्रोगामर (नाओमी स्कट) यसलाई रोक्ने प्रयत्नमा लाग्छिन् । तर कम्पनीमा उनका हाकिमहरूले यसलाई बेवास्ता गरेपछि उनी पुग्छिन्, चार्लिजका बोज्लीहरूसम्म । यो डिभाइसलाई बजारमा बेच्न हिँडेका मानिसलाई रोक्ने मिसनमा खटिन्छन्, एन्जलहरू । पूरै फिल्म यही मिसनको वरपर घुमेको छ ।
ब्राजिलको रियो दि जेनेरियोबाट सुरु भएको कथा जर्मनीको ह्यामवर्ग र बर्लिन हुँदै टर्कीको इस्तानबुल आइपुग्छ । फिल्ममा केही कमेडी र धेरै एक्सन छ । तर यी दुवै कुरामा नवीनताको निकै कमी छ । यी पात्रहरू पहिले नै स्थापित भएका कारण दर्शकको चासो यो फिल्मप्रति हुनु स्वाभाविक हो । तर कथा र स्वाद पनि उस्तै पाए भने दर्शकले मन पराउँदैनन् । यही कुरा यो रिबुटमा पनि लागू भएको छ ।


चार्लिज एन्जल्सले सोनी कम्पनीले सोचेजति व्यापार नगरेको रिपोर्ट अमेरिकी मिडिया भेराइटीले प्रकाशित गरेको छ । भेराइटीका अनुसार यस वर्ष टर्मिनेटर, म्यान इन ब्ल्याकजस्ता अरू रिबुटले पनि बक्स अफिसमा आगो बाल्न सकेका छैनन् । बरु निकै कम आकिएको जोकरले बक्स अफिसलाई तताइदियो । हलिउडको परम्परागत सोचलाई यसले एक हिसाबले चुनौती पनि दिएको छ । व्यापार गर्नका लागि चलेका ब्रान्डले मात्र हुँदैन । फ्रेन्चाइज वा सिक्वेल बनाउँदैमा दर्शक ओइरिन्छन् भन्ने सत्य होइन भन्ने यस वर्षको बक्स अफिसले देखाएको छ ।
ट्वाइलाइट सागादेखि थुप्रै फिल्ममा देखिएकी र कुनै बेला हलिउडकी सबभन्दा महँगी हिरोइन बनेकी क्रिस्टिन स्टुआर्ट यो फिल्ममा छन् । फिल्मलाई एलिजाबेथ ब्यांक्सले निर्देशन गरेकी हुन् । उनले यसलाई लेखेकी पनि हुन् र अभिनय पनि गरेकी छन् । यो हलिउडको सूत्रमा आधारित फिल्म हो । जसका प्रायः सबैजसो घटना र सिक्वेन्सहरू बुझ्न नियमित फिल्म दर्शकलाई कत्ति गाह्रो पर्दैन । न त यसले जीवनलाई नयाँ दृष्टिले हेर्छ न मनोरञ्जनका कुनै नयाँ पाटो नै खोल्छ ।
हलिउडले चलाएको यो रिबुटको रन्को बलिउडतिर पनि आइसकेको छ । तर जसरी हलिउडलाई यसले निराश बनाइरहेको छ, हेरौं बलिउडले कतिन्जेल यसलाई बिकाउन सक्छ ।

प्रकाशित : मंसिर ६, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?