गाउँघरको झल्को

पर्वत पोर्तेल

गाउँ–घरमा दैनिक कामकाजमा प्रयोग हुन्थे ढिकी–जाँतो, हलो–कोदालोहरू  । अहिले गाउँमै यस्ता साधन फेला पार्न गाह्रो छ  ।

झन् सहर–बजारको त कुरै छाडौ । तर, सुन्दै अनौठो लाग्ने, गाउँ–घर र नेपाली समाजवाटै लोप हुदै गएका यिनै ढिकी–जाँतो, हलो–कोदालो, पिर्का–गुन्द्रीहरू फेला पार्न सकिन्छ, झापा विर्तामोडको प्राचीन रेष्टुराँमा ।
परिसरभित्र पस्ने वित्तिकै पुराना अर्थात प्राचीन सामाग्रीको संग्रह देख्दा लाग्छ, यो संग्रहालय पो हो कि ! तर, झुक्किनु पर्दैन, यो रेष्टुराँ हो । पुराना कृषि सामग्री त छदैछ, रेष्टुराँको माहोल नै अर्कै लाग्छ । खासमा विर्तामोड प्रहरी कार्यालय पछाडीको यो जमीनमा स्थानीय युवा पाल्देन शेर्पाले सुधार गृह संचालनको योजना बुन्दै थिए । त्यही वेला भेटिए, अर्जुनधाराका नवीन उप्रेती (सिद्धार्थ) । उनी पनि व्यवसाय शुरु गर्ने तरखरमा थिए । तर, झापाकै ठूलो व्यापारिक केन्द्रमा अरु भन्दा फरक ढंगको व्यवसाय के गर्न सकिएला ? भन्ने सोच यिनमा थियो ।
यो जमीन देखेपछि नवीन लोभिए । तत्काल उनमा एउटा योजना फुर्‍यो । यहाँ पुराना शैलीको होटल वनाउँदा कस्तो होला ? योजना पाल्देनलाई सुनाए । पाल्देनलाई पनि उनको योजना मन पर्‍यो । अन्ततः सुधार गृह संचालन गर्ने पाल्देनको योजनामा वदलाव आयो । नवीन र पाल्देनको योजना सुनेपछि अर्का युवा चित्र राई टिममा जोडिए । तीन जनाको करिव ४० लाख रुपैयाँको लगानीमा प्राचीन रेस्टुराँ जन्मियो । ‘फेन्सी टाइपको रेस्टुराँको लगानी अलि महँगो होला भन्ठानेर यस्तो सुरु गर्ने सोच्यौं,’ नवीनले अनुभव साटे, ‘तर, बनाउँदै जाँदा फेन्सीभन्दा पनि महँगो भइदियो ।’
पुराना तस्बिरलगायतका वस्तुहरू जुटाउने र संग्रह गर्ने नवीनको पहिल्यैदेखिको बानी थियो । त्यसैले रेस्टुराँका लागि यी सामग्री जुटाउन उनलाई गाह्रो भएन । ‘अझै धेरै पुराना कुरा जुटाउँदै छौं,’ नवीनले भने, ‘पहिला त यो तीन कट्ठा जमिन नै ठूलो होला जस्तो भा’थ्यो । अहिले जमिनले नपुग्ला जस्तो भो ।’ रेस्टुराँको सजावटमा मात्रै हैन, खानपिनमा पनि भिन्न स्वाद पस्किने प्रयत्न गरेको छ, प्राचीनले ।
नवीन एसएलसी सक्नेबित्तिकै इन्जिनियरिङ पढ्न काठमाडौं उक्लिएका थिए । इन्जिनियर बन्ने सपना छाडेर उनी मिडियातिर लागे । विज्ञापन एजेन्सीमा पनि लामै समय काम गरे । त्यो बेला माओवादी द्वन्द्व उत्कर्षमा थियो । चन्दाका लागि धम्क्याउने क्रम जारी थियो । द्वन्द्वका कारण व्यवसाय थेग्न सक्ने अवस्था भएन । अन्ततः २००५ तिरै उनी विदेशिए । श्रीलंका, बैंकक, बेलायत र फ्रान्सजस्ता मुलुकमा उनले करिब ६ वर्ष बिताएर २०११ मा नेपाल फर्किए ।
पुरानो बिर्तामोडमा फर्किएका उनी यो पूर्वको सहरमा नयाँ परिवर्तन देखेर चकित भए । यिनले यहाँ असरल्ल देखे अवसरहरू । विदेश फर्किने गरी आएका उनलाई फर्किन मन लागेन । ‘बिर्तामोडको परिवर्तनले मेरो सोच नै परिवर्तन गरिदियो,’ नवीन भन्छन्, ‘विदेशमा गर्ने काम यतै गर्न सक्छु भन्ने आत्मविश्वास जाग्यो ।’
विदेश नफर्किने भएपछि नवीनले २००५ तिर अलपत्र पारेर हिँडेको ‘माइलाइफ’ नामक पत्रिकाको पुनः प्रकाशन सुरु गरे, त्यो पनि अंग्रेजी संस्करणमा । केही समय साप्ताहिक रूपमा प्रकाशित भयो । तर, अंग्रेजी पत्रिकाको सानो बजारसामु उनको केही लागेन । पत्रिका निकाल्नु रहर जस्तो मात्रै भइदियो । पत्रिका निस्किन छाडेपछि यिनी लगभग बेरोजगार बने । तर सिर्जनात्मक सोचका कारण यिनले केही न केही भने गरी नै रहे । बिर्तामोडमा पुस्तकालय र आर्ट ग्यालरीको परिकल्पना गरे । त्यसमा पनि असफल भए ।
केही समय लगभग निराशाको अवस्थामा गुज्रिएका नवीनको मुहारमा अहिलेचाहिँ चमक देखिन थालेको छ । किनकि आफूले सोचे मुताविकको रेस्टुराँ सञ्चालन गर्न पाएका छन् । उनले रेस्टुराँ परिसरमै आर्ट ग्यालेरीसमेत सुरु गरेका छन् । लाइब्रेरीको तयारी गर्दैछन् । ‘रेस्टुराँमा आउनेहरू खान मात्रै आउँदैनन्, घुम्न, पढ्न र रमाउन पनि आउँछन्,’ उनले थपे, ‘उपभोक्ताका यी तमाम माग पूरा गर्ने ध्याउन्नमा हाम्रो सिंगो टिम लागेको छ ।’



प्रकाशित : मंसिर ६, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ पुस्ताको शान

नेपाली टिमले जितेको पहिलो उपाधि हो– एभीसी सिनियर सेन्ट्रल जोन महिला भलिबल । ढाकामा हात पारेको उक्त उपाधिले १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली टिमको मनोबल उच्च पार्नेछ ।
कुशल तिमल्सिना

महिला राष्ट्रिय भलिबल टोलीले बंगलादेशमा माल्दिभ्सलाई पराजित गरी गत साता एभीसी सिनियर सेन्ट्रल जोन भलिबलको उपाधि जित्यो  । नेपाल भलिबल संघले राष्ट्रिय खेलको एतिहासिक उपलब्धिको खुसियाली मनाउन कुनै कसर बाँकी राखेन  ।

मनाउन नपर्ने कारण पनि त छैन, भलिबलको झन्डै ५० वर्षे अन्तर्राष्ट्रिय यात्राको इतिहासमा एसियाली स्तरको प्रतियोगिता जितेको छ ।
राष्ट्रिय खेलकुद परिषद्मार्फत सरकारबाट जनही ३ लाख, संघबाट जनही २५ हजार तथा अध्यक्ष मनोरञ्जन रमण शर्माले व्यक्तिगत रूपमा जनही १० हजार रुपैयाँ पुरस्कार दिने घोषणाबाट खेलाडीहरू उत्साहित छन् । स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा धिमे बाजासहितको सम्मान र त्यसै दिन रात्रिभोजको आयोजना । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सामुन्ने आएको पदक र यस सम्मानबाट खेलाडीहरूको मनोबल उच्च भएको हुनुपर्छ ।
निःसन्देह महिला टिमले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको हो । तर सहभागी अन्य टिमको अवस्था हेर्दा नेपाल प्रतियोगिता सुरु हुनुअघि नै विजेता बन्ने अनुमान लगाउन कठिन थिएन । एसियाली भलिबल फेडेरेसन (एभीसी) ले निर्धारण गरेको पाँच क्षेत्रीय संघहरूमध्ये सेन्ट्रल जोनल एसोसिएसनबाट तल्लो वरीयताका टिमहरू समावेश गरी आयोजना गरिएको प्रतियोगिता हो, त्यो । नेपालसहित किर्गिस्तान, अफगानिस्तान, बंगलादेश र माल्दिभ्सको सहभागिता थियो । नेपालले प्रतियोगितामा कुनै पनि सेट नगुमाई उपाधि जित्यो । किर्गिस्तानबाहेक अन्य टिमले नेपाललाई चुनौती पनि दिन सकेनन् ।
केही उदार मुलुकबाहेक मुस्लिम बाहुल्य देशहरूमा महिला खेलकुदको अवस्था दयनीय नै छ । सेन्ट्रल जोनमा सहभागी अफगानिस्तान, माल्दिभ्स र बंगलादेशमा पुरुष टिमको स्तर माथि छ । महिला भलिबल त्यहाँ सुरुआती चरणमै छन् । यो प्रतियोगिता नेपालका लागि भन्दा पनि ती टिमहरूका लागि एक्स्पोजर हासिल गर्ने अवसरका रूपमा देखियो, जसले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा माथि लैजाने प्रयास गरिरहेका छन् ।
नेपाली टिमको स्तर जहाँको तहीँ छ भन्न खोजिएको होइन । गत जेठ १४ गते भलिबल संघले नियमित कप्तान र उपकप्तानसहित चार जना अनुभवी र महत्त्वपूर्ण खेलाडीहरूलाई बाहिर राखेर युवा खेलाडी सम्मिलित टिम निर्माण गर्ने साहसिक निर्णय गरेको थियो । महिला भलिबलको २० वर्षे इतिहासमा यो पुस्तान्तरणको समय
रह्यो । विवादित बनेको त्यस कदमप्रति रक्षात्मक देखिएको भलिबल संघले दीर्घकालीन महत्त्वलाई हेरेर टिम निर्माण गरिएको तर्क प्रस्तुत गर्‍यो । खेलाडी छनोट समितिका सदस्यसमेत रहेका महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट त्यही निर्णयको प्रतिफल नै सेन्ट्रल जोनको उपाधि भएको दाबी गर्छन् । भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द पनि भट्टकै तर्कमा सहमत छन् ।
‘अपोजिट पोजिसन’ बाट आफूलाई सेटरमा रूपान्तरण गरेकी अरुणा शाहीलाई टिमको नेतृत्वमा ल्याइएको छ । टिममा १८ देखि २७ वर्षसम्मका खेलाडी छन् । टिमको औसत उमेर २३ वर्ष छ । चार महिनादेखि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूबीच उच्च सन्तुलन देखिएको छ । सेन्ट्रल जोनमा प्रशिक्षक भट्टले ६ जना खेलाडीलाई एकैपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गराए । त्यसअघि थाइल्यान्डमा तीन साताको प्रशिक्षणका क्रममा टिम निर्माणका लागि प्रशिक्षकलाई सहज भएको थियो ।
हरेक पोजिसनमा खेलाडीले आफूलाई सुधार गरिरहेको प्रशिक्षक भट्टको अनुभव छ । ‘नयाँ खेलाडीको क्षमता देखेरै टिममा ल्याइएको हो, चार महिना बन्द प्रशिक्षण, थाइल्यान्ड र बंगलादेशको तयारीबाट टिम मजबुत मात्र होइन आत्मविश्वासी पनि भएको छ, धेरै सुधार गरेका छौं, अझै बाँकी छ । उनीहरू सागका लागि तयार छन्,’ उनले भनेका छन् ।
नेपाल पुरुष र महिला दुवै टिमको परम्परागत समस्या ब्लक र रिसिभमै हो । यसबीचमा कमजोरी सुधारमै केन्द्रित रहेर पदक लक्षित तयारी भएको छ । कप्तान अरुणा शाहीका अनुसार कमजोर पक्षमा सुधार भएको छ । तर त्यो पर्याप्तचाहिँ छैन । नेपालले मंसिर १५ देखि २४ सम्म नेपालमा हुने सागमा भारत र श्रीलंकाजस्ता आफूभन्दा बलिया टिमहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । दक्षिण एसियाली स्तरमा यी टिमसँग नेपालले लगातार हार बेहोरेको छ । कप्तान अरुणाका अनुसार सर्भिस र रिसिभमा हामीले अझै सुधार गर्नुपर्छ । ‘भारत र श्रीलंकालाई पराजित गर्ने लक्ष्य लिने हो भने हामीले कुनै पनि पोजिसनमा आफूलाई कमजोर हुन दिनुहुन्न,’ उनले भनिन् ।
नेपालको बलियो पक्ष आक्रमण नै हो । प्रतिभा माली (सेन्ट्रल जोनकी सर्वोत्कृष्ट स्पाइकर), सरस्वती चौधरीको अनुभव, अपोजिटमा सोफिया पुनको जोस, मिडिलमा रेश्मा भण्डारीको सन्तुलन, सेटर कप्तान अरुणा शाहीको चलाखी र लिबेरो सलिना श्रेष्ठ (सेन्ट्रल जोनकी उत्कृष्ट लिबेरो) को छरितोपन सागमा स्वर्ण पदकको आशा जगाउने हतियार हुन् । सेन्ट्रल जोनबाट डेब्यु गरेकी मिडिल ब्लकर सुनीता खड्का, पुनम चन्दहरूका लागि पनि आफूलाई प्रमाणित गर्ने राम्रो अवसर हो १३ औं साग ।
भारत, श्रीलंकाजस्ता टिमहरूसँग प्रतिस्पर्धाका लागि योग्य बनाउन आफूभन्दा माथिल्ला स्तरका टिमसँग नेपालले प्रतिस्पर्धा गर्न पाएको छैन । मुख्य प्रशिक्षक भट्टले भने थाइल्यान्डमा प्रशिक्षणका क्रममा त्यहाँको यू–१८ टिमसँग प्रतिस्पर्धात्मक खेल खेलेकाले खेलाडीहरू ठूला टिमसँगको दबाब सामना गर्न सक्षम रहेको दाबी गर्छन् । ‘थाइल्यान्डको युवा टिम भारत, श्रीलंकाभन्दा बलिया छन्, एक्स्पोजरमा हाम्रा खेलाडीले गुनासो गर्ने ठाउँ नै छैन,’ उनले भने ।
सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदबाट नेपाली महिला भलिबलले अन्तर्राष्ट्रिय यात्राको सुरुआत गरेको थियो । पहिलो सहभागितामै कांस्य जितेको नेपालले त्यसयता त्योभन्दा ठूलो पदक जित्न सकेको छैन । सन् २००६ मा श्रीलंका र २०१६ मा भारतमा भएको क्रमशः १० औं र १२ औं सागमा पनि नेपाल कांस्यमै सीमित भयो । नेपाली अधिकारीहरू टिमको तयारीलाई लिएर १३ औं सागमा कम्तीमा श्रीलंकालाई पराजित गरी फाइनलमा पुग्ने दाबी गरिरहेका छन् । नेपाल फाइनलमै पुग्यो भने पनि त्यो सेन्ट्रल जोनभन्दा ठूलो सफलता मान्न सकिन्छ । त्यसैले नेपाली टिमका लागि अवसर र चुनौती दुवै हो– १३ औं साग ।

प्रकाशित : मंसिर ६, २०७६ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×