फरासिली प्रिया

मोडलिङ, कोरियोग्राफी, अभिनय र सौन्दर्य प्रतियोगितामा ११ वर्षयता निरन्तर सक्रिय रहेकी प्रिया रानी लामाको मिहिनेत र सफलताको कथा :
हेलो शुक्रबार

कुनै बेला थियो– घरमा पाहुना आएका बेला आमा चिया पकाउन लाग्नुभयो भने पनि किचेनबाट ननिस्किने  । उनलाई खुबै लाज लाग्थ्यो  ।

साइन्स पढ्न धरान पुगेकी यिनै प्रिया रानी लामा विजेताले स्कुटर पुरस्कार पाउने मोहमा ११ वर्षअघि मिस टिन धरानको तयारीमा लागेकी थिइन् । तर, मिस टिन स्थगित भयो ।
प्रियाको पाइला क्याटवाकतिर मोडियो । तीजको फेसन शोमा माला लिम्बूसँगै र्‍याम्पमा उत्रिइन् । त्यो डेब्युपछि उनी धरान र पूर्वका सहरका मेला–उत्सवमा बढेको फेसन शोमा निकै व्यस्त भइन् । मिस पूर्वाञ्चल २०१० आयो । राम्रै तयारी गरिन् । फस्ट रनरअप भइन् । तैपनि उनले ग्ल्यामरको क्षेत्रमै करिअर बनाउने सोचिनन् ।
‘स्कुटरका लागि मिस टिनमा सहभागी हुने योजनामा थिए तर इभेन्ट नै भएन,’ उनी सम्झिन्छिन्, ‘डाक्टर वा वैज्ञानिक बन्ने संकल्प गरेकी थिएँ । तर त्यही नभएको मिस टिनले मेरो जीवनको टर्निङ प्वाइन्ट बनिदियो । र्‍याम्प मोडलिङ गर्दै गएँ । ब्युटी प्याजेन्टप्रति आकर्षित हुन थालें ।’ मिस पूर्वाञ्चलमा फस्ट रनरअप भएपछि उनी मिस नेपाल २०१० मा सहभागी भइन् । जति बेला उनी १८ वर्षकी थिइन् । अलि परिपक्व भएर मिस नेपाल २०१५ मा पनि सहभागी हुन पुगेकी थिइन् ।
गोलबजार, सिरहाकी प्रिया रानीले मिस पूर्वाञ्चल २०११ मा कोरियोग्राफी गर्ने अवसर पाइन् । त्यसले उनलाई एउटा मोडलभन्दा पनि मोडलहरूलाई बाटो देखाउने कोरियोग्राफरको सिर्जनशील कामतिर आकर्षित गर्‍यो । आउने पुसमा मिस पूर्वाञ्चलको अर्को संस्करण हुँदै छ र यसमा उनको कोरियोग्राफी लगातार नवौंपल्ट हुँदै छ । एक समय टेलिभिजन प्रस्तोता, म्युजिक भिडियोकी अभिनेत्रीसमेत रहेकी उनले मिस जापान–नेपालमा पनि कोरियोग्राफी गरिसकेकी छन् । व्यस्त कार्यक्रम प्रस्तोता पनि हुन् । दुई साताअघि मलेसियामा भएको मिस कस्मोपोलिटन वर्ल्ड २०१९ मा मुख्य ताज पहिरिइन् । ३२ देशका युवतीहरूलाई उछिन्दै पाएको सफलतालाई उनी करिअरकै ठूलो मान्छिन् । मिस ट्यालेन्टमा दोस्रो भएकी उनले नेसनल कस्ट्युमको अवार्ड पनि जितिन् ।
ग्ल्यामर क्षेत्रमा ११ वर्षको अनवरत यात्राबारे प्रिया रानी भन्छिन्, ‘कहिल्यै यस क्षेत्रमा लाग्छु भन्ने थिएन । जब मोडलिङ गर्न थाले तब कोरियोग्राफीप्रति आकर्षित भए । मोडलिङमा मुख्य काम हो कोरियोग्राफी । यसमा कमाइ पनि राम्रो छ । मोडलिङमा अझै गाह्रो छ । राम्रो आम्दानीका लागि चर्चित मोडल नै हुनुपर्छ ।’ उनी राजधानी र विशेषगरी मोफसलका सौन्दर्य प्रतियोगिता र फेसन शोको कोरियोग्राफीमा व्यस्त हुन्छिन् । ‘टिन एजर्सलाई सिकाउन पाउँदा कामप्रति सन्तुष्ट हुन थाले । पैसा पनि आउन थाल्यो । अनि करिअर यसैमा बन्यो,’ २८ वर्षीया प्रिया रानीले भनिन् ।
कमलकुमारी स्याङ्बो र बेचन लामाकी तीन छोरीमध्ये जेठी उनलाई देखाउने दाँतजस्तो लाग्छ– मिडिया । ‘धेरै कुरा सिकें । सिकिरहेकी छु । धेरै सिक्न बाँकी नै छ,’ ६ वर्षयता राजधानीमा संघर्ष गरिरहेकी उनी गफिइन्, ‘हरेक दिन आँखा खोल्दा आफ्नो
काम र जिम्मेवारी देख्छु । त्यसैमा सकारात्मक सोचसहित मिहिनेत गर्छु ।’ पाँच फिट ७ इन्च अग्ली उनी जहिले पनि विकल्प सोच्ने गरेको बताउँछिन् । भन्छिन्, ‘जिन्दगी भनेको हाँस्ने, दुःखी हुनेमात्र होइन, उतारचढाव पनि भइरहन्छ । त्यसमा आफूलाई खुसी राख्ने प्रयास गर्छु ।’
संघर्ष र चुनौतीलाई उनी यसरी प्रस्ट्याउँछिन्, ‘यो मेरा लागि चुनौती छ भन्ने लाग्यो भने अवश्यै गाह्रो हुन्छ । यो मेरो दैनिकी हो भनेर सोचियो र अझ राम्रो गरौं भनेर लागियो भने काम सजिलो हुन्छ । त्यहाँ संघर्ष गर्नु पर्दैन र चुनौती महसुस पनि हुँदैन ।’ ग्ल्यामरको दुनियाँबारे उनको बुझाइ छ, ‘अनुहार र उचाइले मात्रै हुँदैन । परिस्थिति र समयअनुसार भूमिका निर्वाह गर्न सक्नुपर्छ, जसले सफल बनाउन सक्छ ।’
आफैं फेसनेबल भएकीले उनले नरेफाँट र थापागाउँमा क्लोथिङ स्टोर ‘रानीज कलेक्सन’ सञ्चालन गरिरहेकी छन् । यसले उनलाई फेसनेबल हुन सजिलो बनाइदिएको छ । गत वर्ष दिल्लीमा भएको ब्युटी इन्टरनेसनल २०१८ को शीर्ष २० मा रहेकी उनी भन्छिन्, ‘हरेकपल्ट विजेताभन्दा पनि केही सिक्न र अपडेट हुनका लागि सहभागी हुने गर्छु ।’ निरन्तरको मिहिनेतले नै हुन सक्छ, कुनै बेला किचेनबाट निस्कन नचाहने प्रिया रानी निकै फरासिली भएकी छन् ।

प्रकाशित : कार्तिक २९, २०७६ १०:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फेरि टर्मिनेटर

हालै रिलिज भएको हलिउड फिल्म ‘टर्मिनेटर : दि डार्क फेट’ कस्तो छ त ?
कान्तिपुर संवाददाता

हलिउडको एउटा अनुहार हो– टर्मिनेटर  । यसो किन भनिएको हो भने यसका सर्जक जेम्स क्यामरुन हलिउडी चरित्रका फिल्मका एक मास्टर माइन्ड हुन्  ।

यो स्थान र समयभन्दा परको कुनै शक्तिले अहिलेको जीवनलाई ध्वस्त पार्नका लागि हत्यारा पठाउने यो कथाको जनक उनै हुन् । उनैले एक दिन सपनामा देखें– रोबर्टजस्तो शक्तिले आफूलाई लखेटिरहेको । यही सपनाबाट जन्म भएको थियो ‘टर्मिनेटर’ को । जसको छैटौं शृंखला हालै प्रदर्शनमा आएको छ– ‘टर्मिनेटर : दि डार्क फेट’ ।
‘टर्मिनेटर’ बाहेक ‘टाइटानिक’ र ‘अवतार’ जस्ता आइकनिक फिल्म पनि क्यामरुनकै दिमागका उपज हुन् । साइन्स फिक्सन हलिउडको एउटा मुख्य विधा हो । र, त्यसका महारथी हुन्– क्यामरुन । जर्ज लुकास, स्टिवन स्पिलवर्ग, मार्टिन स्कोरसेजी, क्रिस्टोफर नोलानसँगै क्यामरुनजस्ता हस्तीहरू मिलेर हलिउडले एउटा आकार लिन्छ । जसरी थोपाथोपामा पग्लिएको धातु एक ठाउँमा जम्मा भएर मानव आकृतिका रूपमा उठ्दा ‘टर्मिनेटर’ ले आकार लिन्छ ।
‘टर्मिनेटर’ शृंखलाको छैटौं फिल्म भए पनि तेस्रो, चौथो र पाँचौंसँग डार्क फेटको खासै सम्बन्ध छैन भन्दा हुन्छ । ‘टर्मिनेटर–२’ जहाँ समाप्त हुन्छ, यसको कथा त्यहींबाट सुरु हुन्छ । यस्तो किन हुन्छ भने टर्मिनेटरको तेस्रो, चौथो र पाँचौं भाग पहिलेकै कथाका वैकल्पिक प्रस्तुतिहरू थिए । पहिलेकामा भन्दा कथा अर्कै बाटोमा हिँडे वा चरित्र अर्कै भइदिएको भए के हुन्थ्यो होला भन्ने कथनमा ती फिल्म बनेका थिए । योचाहिँ पक्का सिक्वेल हो ।
यसैले त यसमा सारा कार्नर (लिन्डा ह्यामिल्टन) को कथा छ । जसको छोरालाई मार्न र बचाउन खटिएका दुई सुपर शक्तिशाली व्यक्तिको भागदौडले ‘टर्मिनेटर’ लाई रोचक बनाएको थियो । यसमा पनि सारा कार्नर चरित्र नै मुख्य भूमिकामा छन् । पृथ्वीभन्दा बाहिरका शक्तिले पठाएका सयौंमध्येको एक टर्मिनेटर (आर्नोल्ड स्वार्जनेगर) ले उनको छोराको हत्या गरिसकेको छ । यसपालि टर्मिनेटर मेक्सिको सिटीकी एक युवती ड्यानीको हत्या गर्न भविष्यबाट आएको छ । यसलाई रोक्नका लागि एक सुपर ह्युमन युवती खटिएकी छन् । तिनैलाई मद्दत गर्न आइपुग्छिन्, सारा कर्नर । मेक्सिकोसिटीबाट भाग्दै उनीहरू कसरी अमेरिका छिर्छन्, भाग्दाभाग्दै कसरी पुरानो टर्मिनेटर (आर्नोल्ड) सँग भेट हुन्छ र सबै मिलेर टर्मिनेटरको कसरी सामना गर्छन् भन्ने नै डार्क फेटको कथा हो ।
यो फिल्मले भविष्यमा हुन सक्ने एउटा गम्भीर समस्यालाई खडा गर्छ । विज्ञान र प्रविधिको विकाससँगै मानिसले आफ्ना चमत्कार देखाउन तथा श्रम घटाउनका लागि विभिन्न किसिमका रोर्बटहरूको विकास गरिरहेको छ । रोबर्टहरूलाई झन् झन् शक्तिशाली र बुद्धिमान बनाउन मानिस लागिरहेको छ । के कुनै दिन मानिसले बनाएका यिनै रोबर्टसँग मानिसको युद्ध होला ? के यिनले मानव जातिमाथि नै हमला गर्लान् ? यदि त्यस्तो भयो भने कस्तो अवस्था होला ? के मेसिनसँग लडेर मानिसले जित्ला ? ‘टर्मिनेटर’ यसको पनि कथा हो ।
यो फिल्ममा मेसिनको मानवीयकरण पनि गरिएको छ । आर्नोल्डले अभिनय गरेको टर्मिनेटरको चरित्र सारा कार्नरको छोरा जोनको ग्वाटेमालामा हत्या गरेदेखि अमेरिकामा बसिरहेको छ । उसले एउटा परिवार बनाएको छ । मेसिनको शरीर भए पनि उसले आफूमा मानवीय गुणहरू भर्दै गएको छ । अन्ततः मेसिनसँग मानिसको युद्धमा उसले मानिसलाई साथ दिन्छ । मेसिनका रूपमा आफूले गरेका हत्याहरूप्रति उसले पश्चाताप पनि गर्छ ।
सन् १९९१ मा ‘टर्मिनेटर– २’ हेरेका दर्शकका लागि २८ वर्षपछि यो बोनस पाएझैं लाग्छ । फिल्ममा पात्रहरूलाई स्थापित गर्नमा धेरै समय लिए पनि यो रोचक छ । यसअघि ‘डेडपुल’ निर्देशन गरेका टिम मिलरले यसको निर्देशन गरेका हुन् ।
–एजेन्सीहरूबाट

प्रकाशित : कार्तिक २९, २०७६ १०:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×