फेरि टर्मिनेटर

हालै रिलिज भएको हलिउड फिल्म ‘टर्मिनेटर : दि डार्क फेट’ कस्तो छ त ?
कान्तिपुर संवाददाता

हलिउडको एउटा अनुहार हो– टर्मिनेटर  । यसो किन भनिएको हो भने यसका सर्जक जेम्स क्यामरुन हलिउडी चरित्रका फिल्मका एक मास्टर माइन्ड हुन्  ।

यो स्थान र समयभन्दा परको कुनै शक्तिले अहिलेको जीवनलाई ध्वस्त पार्नका लागि हत्यारा पठाउने यो कथाको जनक उनै हुन् । उनैले एक दिन सपनामा देखें– रोबर्टजस्तो शक्तिले आफूलाई लखेटिरहेको । यही सपनाबाट जन्म भएको थियो ‘टर्मिनेटर’ को । जसको छैटौं शृंखला हालै प्रदर्शनमा आएको छ– ‘टर्मिनेटर : दि डार्क फेट’ ।
‘टर्मिनेटर’ बाहेक ‘टाइटानिक’ र ‘अवतार’ जस्ता आइकनिक फिल्म पनि क्यामरुनकै दिमागका उपज हुन् । साइन्स फिक्सन हलिउडको एउटा मुख्य विधा हो । र, त्यसका महारथी हुन्– क्यामरुन । जर्ज लुकास, स्टिवन स्पिलवर्ग, मार्टिन स्कोरसेजी, क्रिस्टोफर नोलानसँगै क्यामरुनजस्ता हस्तीहरू मिलेर हलिउडले एउटा आकार लिन्छ । जसरी थोपाथोपामा पग्लिएको धातु एक ठाउँमा जम्मा भएर मानव आकृतिका रूपमा उठ्दा ‘टर्मिनेटर’ ले आकार लिन्छ ।
‘टर्मिनेटर’ शृंखलाको छैटौं फिल्म भए पनि तेस्रो, चौथो र पाँचौंसँग डार्क फेटको खासै सम्बन्ध छैन भन्दा हुन्छ । ‘टर्मिनेटर–२’ जहाँ समाप्त हुन्छ, यसको कथा त्यहींबाट सुरु हुन्छ । यस्तो किन हुन्छ भने टर्मिनेटरको तेस्रो, चौथो र पाँचौं भाग पहिलेकै कथाका वैकल्पिक प्रस्तुतिहरू थिए । पहिलेकामा भन्दा कथा अर्कै बाटोमा हिँडे वा चरित्र अर्कै भइदिएको भए के हुन्थ्यो होला भन्ने कथनमा ती फिल्म बनेका थिए । योचाहिँ पक्का सिक्वेल हो ।
यसैले त यसमा सारा कार्नर (लिन्डा ह्यामिल्टन) को कथा छ । जसको छोरालाई मार्न र बचाउन खटिएका दुई सुपर शक्तिशाली व्यक्तिको भागदौडले ‘टर्मिनेटर’ लाई रोचक बनाएको थियो । यसमा पनि सारा कार्नर चरित्र नै मुख्य भूमिकामा छन् । पृथ्वीभन्दा बाहिरका शक्तिले पठाएका सयौंमध्येको एक टर्मिनेटर (आर्नोल्ड स्वार्जनेगर) ले उनको छोराको हत्या गरिसकेको छ । यसपालि टर्मिनेटर मेक्सिको सिटीकी एक युवती ड्यानीको हत्या गर्न भविष्यबाट आएको छ । यसलाई रोक्नका लागि एक सुपर ह्युमन युवती खटिएकी छन् । तिनैलाई मद्दत गर्न आइपुग्छिन्, सारा कर्नर । मेक्सिकोसिटीबाट भाग्दै उनीहरू कसरी अमेरिका छिर्छन्, भाग्दाभाग्दै कसरी पुरानो टर्मिनेटर (आर्नोल्ड) सँग भेट हुन्छ र सबै मिलेर टर्मिनेटरको कसरी सामना गर्छन् भन्ने नै डार्क फेटको कथा हो ।
यो फिल्मले भविष्यमा हुन सक्ने एउटा गम्भीर समस्यालाई खडा गर्छ । विज्ञान र प्रविधिको विकाससँगै मानिसले आफ्ना चमत्कार देखाउन तथा श्रम घटाउनका लागि विभिन्न किसिमका रोर्बटहरूको विकास गरिरहेको छ । रोबर्टहरूलाई झन् झन् शक्तिशाली र बुद्धिमान बनाउन मानिस लागिरहेको छ । के कुनै दिन मानिसले बनाएका यिनै रोबर्टसँग मानिसको युद्ध होला ? के यिनले मानव जातिमाथि नै हमला गर्लान् ? यदि त्यस्तो भयो भने कस्तो अवस्था होला ? के मेसिनसँग लडेर मानिसले जित्ला ? ‘टर्मिनेटर’ यसको पनि कथा हो ।
यो फिल्ममा मेसिनको मानवीयकरण पनि गरिएको छ । आर्नोल्डले अभिनय गरेको टर्मिनेटरको चरित्र सारा कार्नरको छोरा जोनको ग्वाटेमालामा हत्या गरेदेखि अमेरिकामा बसिरहेको छ । उसले एउटा परिवार बनाएको छ । मेसिनको शरीर भए पनि उसले आफूमा मानवीय गुणहरू भर्दै गएको छ । अन्ततः मेसिनसँग मानिसको युद्धमा उसले मानिसलाई साथ दिन्छ । मेसिनका रूपमा आफूले गरेका हत्याहरूप्रति उसले पश्चाताप पनि गर्छ ।
सन् १९९१ मा ‘टर्मिनेटर– २’ हेरेका दर्शकका लागि २८ वर्षपछि यो बोनस पाएझैं लाग्छ । फिल्ममा पात्रहरूलाई स्थापित गर्नमा धेरै समय लिए पनि यो रोचक छ । यसअघि ‘डेडपुल’ निर्देशन गरेका टिम मिलरले यसको निर्देशन गरेका हुन् ।
–एजेन्सीहरूबाट

प्रकाशित : कार्तिक २९, २०७६ १०:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

लिभरपुलको दम

म्यानचेस्टर सिटीविरुद्ध ३ अंक जोडेको लिभरपुल प्रिमियर लिग जित्न योग्य छ त ?
कुशल तिमल्सिना

इंग्लिस फुबटलमा ३० वर्षअघिसम्म लिभरपुलको राज थियो  । उसले १८ वर्षभित्र ११ पल्ट लिगको उपाधि जितेर बीसौं शताब्दीकै सफल टिमका रूपमा चर्चा कमाएको थियो  ।

बिस्तारै ओरालो लागेको लिभरपुलले पुरानो विरासत सम्झाउने गरी अहिले पुनरुत्थान गरिरहेको छ । यो २–३ सिजनयता नै हो । गत सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको लिभरपुलले प्रिमियर लिगको उपाधिलाई सामरिक महत्त्व मानेको छ । गत सिजन म्यानचेस्टर सिटीसँग १ अंकले उपाधि गुमाएको बदला यस सिजनमा लिन आतुर छ लिभरपुल ।
चार वर्षअघि एन्फिल्डमा भित्रिएका जर्मन प्रशिक्षक योर्गेन क्लोप नै लिभरपुलको पछिल्लो सफलताको सूत्रधार हुन् । त्यसका लागि ७० प्रतिशत टिम निर्माण र ३० प्रतिशत रणनीतिलाई अनुसरण गरेका ५२ वर्षीय यी प्रशिक्षकले उत्तरपश्चिम इंग्ल्यान्डको गौरवका रूपमा रहेको लिभरपुलको टिममा आमूल परिवर्तन गरेका छन् । टिम व्यवस्थापन, खेलाडी र समर्थकलाई पनि नयाँ आशाको सञ्चार गरेका छन् । धेरैले भन्न थालिसके– ‘लिभरपुलको दिन फर्कियो ।’
सन् १९७० र ८० को दशकमा लिभरपुलले युरोपेली फुटबलमै तहल्का मच्चाएको थियो । त्यति बेला इयान क्यालागन, इयान रस, केन्नी डलगिस, एलन हान्सेन, ग्रिम सोनर र जोन बर्नसजस्ता महान् खेलाडीहरूलाई एन्फिल्डका सर्वकालीन महान् प्रशिक्षक विल स्यांक्ली र बब पेस्लेको मार्गदर्शन रहन्थ्यो । अहिले साडियो माने, मोहम्मद सालाह, भिर्गिल भान डाइकजस्ता विश्वस्तरीय प्रतिभाले भरिएको टिम क्लोपको प्रेरणामा प्रिमियर लिगको आधुनिक इतिहासकै पहिलो उपाधि जित्न योग्य बनेको छ ।
लिभरपुलले यो सिजन (२०१९–२०) सानदार प्रदर्शन गर्दै अपराजित यात्रालाई १२ औं खेलसम्म पुर्‍याएको छ । उसले शनिबार उपाधि होडको मुख्य प्रतिस्पर्धी एवम् डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीमाथि ३–१ को रवाफिलो जित रच्यो । उसले यसापालि ११ जित र १ बराबरीसँगै शीर्ष स्थानमा स्पष्ट ८ अंकको अग्रता बनाएको छ । र, यो सिटीभन्दा ९ अंक अगाडि हो । यो सिजन लिभरपुलले प्रतिखेल २.८२ को औसतमा गोल गरेको छ । यो तथ्यांक सन् १९७२ यताकै सबभन्दा राम्रो हो । तर सिजनको एक तिहाइ खेल पनि नसकिएको अवस्थामा यो आँकडालाई प्रस्तुत गरिहाल्नु प्रभावकारी नहोला ।
एस्टोन भिल्लामाथि २–१ को नाटकीय जितपछि सिजनभर अपराजित रहेर सन् २००३–०४ मा आर्सनलले बनाएको कीर्तिमान बराबरी गर्ने योजनाबारे दुई साताअघि सोधिएको प्रश्नमा प्रशिक्षक क्लोपले त्यो ‘असम्भव’ रहेको प्रतिक्रिया दिएका थिए । ‘हामीले यसरी गोल खाइरहन्छौं भने त्यो सफलता असम्भवजस्तै हो । एस्टोन भिल्लासँग हामीले नराम्रो खेलेका होइनौं तर हामीले चाहेजस्तो जितको मानसिकता त्यहाँ देखिएन,’ अन्तिम मिनेटमा हात पारेको सफलताबारे क्लोपले भनेका थिए, ‘वास्तवमा हामी अपराजित हुनेबारे सोच्दैनौं । हामी यो मात्र सोच्छौं कि अर्को खेल, त्यसपछि अर्को खेल...।’
लिगको शीर्ष स्थानमा रहँदा पनि क्लोपलाई सिजनको अन्त्यसम्मै सफलता हात पार्न अझै सुधार गर्नुपर्ने आवश्यकता छ । उनको चिन्ता स्वाभाविक यसकारण पनि हो कि शीर्ष स्थानलाई नै सबैको लक्ष्य रहन्छ । कमजोरीबारे उनी बोले, ‘हामीले अझै पनि धेरै कुरा सिक्न र सुधार गर्नु जरुरी छ । कहिले हामी अगाडि हुन्छौं, कहिले पछाडि । स–साना कमजोरीमा पनि हामी हतोत्साही हुन्छौं । कमजोरी सुधार गरी खेलको लय मिलाउन धैर्य गर्न सक्नुपर्छ ।’

प्रकाशित : कार्तिक २९, २०७६ १०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×