१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

लिभरपुलको दम

म्यानचेस्टर सिटीविरुद्ध ३ अंक जोडेको लिभरपुल प्रिमियर लिग जित्न योग्य छ त ?
कुशल तिमल्सिना

इंग्लिस फुबटलमा ३० वर्षअघिसम्म लिभरपुलको राज थियो  । उसले १८ वर्षभित्र ११ पल्ट लिगको उपाधि जितेर बीसौं शताब्दीकै सफल टिमका रूपमा चर्चा कमाएको थियो  ।

लिभरपुलको दम

बिस्तारै ओरालो लागेको लिभरपुलले पुरानो विरासत सम्झाउने गरी अहिले पुनरुत्थान गरिरहेको छ । यो २–३ सिजनयता नै हो । गत सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको लिभरपुलले प्रिमियर लिगको उपाधिलाई सामरिक महत्त्व मानेको छ । गत सिजन म्यानचेस्टर सिटीसँग १ अंकले उपाधि गुमाएको बदला यस सिजनमा लिन आतुर छ लिभरपुल ।
चार वर्षअघि एन्फिल्डमा भित्रिएका जर्मन प्रशिक्षक योर्गेन क्लोप नै लिभरपुलको पछिल्लो सफलताको सूत्रधार हुन् । त्यसका लागि ७० प्रतिशत टिम निर्माण र ३० प्रतिशत रणनीतिलाई अनुसरण गरेका ५२ वर्षीय यी प्रशिक्षकले उत्तरपश्चिम इंग्ल्यान्डको गौरवका रूपमा रहेको लिभरपुलको टिममा आमूल परिवर्तन गरेका छन् । टिम व्यवस्थापन, खेलाडी र समर्थकलाई पनि नयाँ आशाको सञ्चार गरेका छन् । धेरैले भन्न थालिसके– ‘लिभरपुलको दिन फर्कियो ।’
सन् १९७० र ८० को दशकमा लिभरपुलले युरोपेली फुटबलमै तहल्का मच्चाएको थियो । त्यति बेला इयान क्यालागन, इयान रस, केन्नी डलगिस, एलन हान्सेन, ग्रिम सोनर र जोन बर्नसजस्ता महान् खेलाडीहरूलाई एन्फिल्डका सर्वकालीन महान् प्रशिक्षक विल स्यांक्ली र बब पेस्लेको मार्गदर्शन रहन्थ्यो । अहिले साडियो माने, मोहम्मद सालाह, भिर्गिल भान डाइकजस्ता विश्वस्तरीय प्रतिभाले भरिएको टिम क्लोपको प्रेरणामा प्रिमियर लिगको आधुनिक इतिहासकै पहिलो उपाधि जित्न योग्य बनेको छ ।
लिभरपुलले यो सिजन (२०१९–२०) सानदार प्रदर्शन गर्दै अपराजित यात्रालाई १२ औं खेलसम्म पुर्‍याएको छ । उसले शनिबार उपाधि होडको मुख्य प्रतिस्पर्धी एवम् डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीमाथि ३–१ को रवाफिलो जित रच्यो । उसले यसापालि ११ जित र १ बराबरीसँगै शीर्ष स्थानमा स्पष्ट ८ अंकको अग्रता बनाएको छ । र, यो सिटीभन्दा ९ अंक अगाडि हो । यो सिजन लिभरपुलले प्रतिखेल २.८२ को औसतमा गोल गरेको छ । यो तथ्यांक सन् १९७२ यताकै सबभन्दा राम्रो हो । तर सिजनको एक तिहाइ खेल पनि नसकिएको अवस्थामा यो आँकडालाई प्रस्तुत गरिहाल्नु प्रभावकारी नहोला ।
एस्टोन भिल्लामाथि २–१ को नाटकीय जितपछि सिजनभर अपराजित रहेर सन् २००३–०४ मा आर्सनलले बनाएको कीर्तिमान बराबरी गर्ने योजनाबारे दुई साताअघि सोधिएको प्रश्नमा प्रशिक्षक क्लोपले त्यो ‘असम्भव’ रहेको प्रतिक्रिया दिएका थिए । ‘हामीले यसरी गोल खाइरहन्छौं भने त्यो सफलता असम्भवजस्तै हो । एस्टोन भिल्लासँग हामीले नराम्रो खेलेका होइनौं तर हामीले चाहेजस्तो जितको मानसिकता त्यहाँ देखिएन,’ अन्तिम मिनेटमा हात पारेको सफलताबारे क्लोपले भनेका थिए, ‘वास्तवमा हामी अपराजित हुनेबारे सोच्दैनौं । हामी यो मात्र सोच्छौं कि अर्को खेल, त्यसपछि अर्को खेल... ।’
लिगको शीर्ष स्थानमा रहँदा पनि क्लोपलाई सिजनको अन्त्यसम्मै सफलता हात पार्न अझै सुधार गर्नुपर्ने आवश्यकता छ । उनको चिन्ता स्वाभाविक यसकारण पनि हो कि शीर्ष स्थानलाई नै सबैको लक्ष्य रहन्छ । कमजोरीबारे उनी बोले, ‘हामीले अझै पनि धेरै कुरा सिक्न र सुधार गर्नु जरुरी छ । कहिले हामी अगाडि हुन्छौं, कहिले पछाडि । स–साना कमजोरीमा पनि हामी हतोत्साही हुन्छौं । कमजोरी सुधार गरी खेलको लय मिलाउन धैर्य गर्न सक्नुपर्छ ।’

प्रकाशित : कार्तिक २९, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?