छालको रोमाञ्च

सप्तकोसीको चतराघाटदेखि सिम्लेसम्मको २१ किमिमा चलिरहेको जेटबोटको यात्राबारे विद्या राई लेख्छिन् :
कान्तिपुर संवाददाता

बिहानीको पारिलो घाम  । सप्तकोसी किनारमा टक्क अडिएको नेपाली ध्वजावाहक जेटबोट  ।

टिकट काटेर पालो कुरिरहेका यात्रुलाई जेटबोटका ‘क्रु’ ले किनारतिर बोलाए । उनले जेटबोटको अघिल्लो भागमा टेकेर बिस्तारै प्रवेश गर्न निर्देशन दिए ।
त्यही भागको सानो ढोका हुँदै पालैपालो भित्र छिर्‍यौं । ‘सेफ्टी’ का लागि जेटबोटभित्र राखिएका ‘लाइफ ज्याकेट’ लगाउँदै सिटमा बस्यौं । ठ्याक्कै गाडीको याद दिलाउने सिट र झ्याल भएको जेटबोट । पानीको छाल जेटबोटभित्र छिर्ने भन्दै ‘क्रु–मेम्बर’ ले ढोका र पारदर्शी झ्याल बन्द गरे । ‘क्याप्टेन’ ले ‘स्टेरिङ’ घुमाए, जेटबोट चल्यो ।
सप्तकोसी किनारदेखि रुट लिने बेला ढुंगामा ठोक्किएर जेटबोट सुरुमै नमज्जाले हल्लियो । म झस्किएँ । थोत्रो बस पछाडि बसेर पहाडका कच्ची सडकमा यात्रा गर्दाको उफ्राइ बिर्साउने त्यो हलचल एक हिसाबले रमाइलो र साहसिक पनि थियो । बन्द झ्यालबाट पानीको बहाव र छाल प्रस्टै देखिन्थ्यो । कोसीको दुवैतर्फ दुई ठूला अजंगका पहाड ।
जेटबोट सप्तकोसीको बहावविपरीत चतराघाटदेखि अरुण नदीतर्फ अघि बढ्यो । पानीमाथिको जेटबोट सयर र रहरलाग्दा पानीका छालले मन्त्रमुग्ध पार्‍यो । डर क्रमशः हट्यो । जेटबोट चल्दा निस्कने आवाज, यात्रुहरूलाई मनोरञ्जन दिन बजाइएको गीत र पानीको छाल एकैचोटि आउँदाको अनुभूति नै बेग्लै । एकनासले सरर अघि बढ्दै गरेको जेटबोट छाल र ढुंगामाथि फेरी ठोक्किँदा जेटबोट निकै हल्लिन्थ्यो, मन उसैगरी झस्किन्थ्यो ।
बराहक्षेत्र धाम पुग्ने बेला जेटबोट ठूलो खुवालुङ (ढुंगो) माथि ठोक्कियो । पानीको छालको वेगले जेटबोट आधाजसो डुब्यो । सबै आत्तियौं । एकातिर डर । अर्कोतिर त्यत्तिखेर आएको पानीको सेताम्मे छालको रोमाञ्च । त्यो छालसँग लोभियौं । र्‍याफ्टिङ गरेजस्तै भिज्न पाए हुन्थ्यो भन्ने लाग्यो । बराहक्षेत्र धामको दर्शन जेटबोटबाटै गर्‍यौं । तीर्थयात्री भने यहीँ ओर्लिए ।
अघि बढ्यौं । झ्याल खोल्न पाइयो । कोसीको सिरिरि चिसो हावा झ्याल हुँदै अनुहारमा ठोक्कियो । पानीको छाल र चिसो हावासँग रमाउन थालें । पानीको छाल घरीघरी झ्यालबाट छिरेर शरीरमा पर्दा त्रिशूलीको र्‍याफ्टिङको याद आउँथ्यो । यी दुवै यात्रा साहसिक भए पनि अनुभव र मज्जा बेग्लै छ । र्‍याफ्टिङ पानी बहावसँगै अघि बढ्छ । प्याडल खियाउनुपर्छ । पानीको छालसँग ठोक्किँदा शरीर भिज्छ । पानीको बहाव विपरीत पनि चल्न सक्ने जेटबोटमा र्‍याफ्टिङ गरेजस्तै भिज्नु पर्दैन । जेटबोट चालकले हाँक्छन् । यात्रुले सिटमा बसेर आनन्दसँग यात्रा गर्न पाउँछन् । डर र रमाइलो मिसिएको त्यो साहसिक यात्रा सिम्ले (भोजपुर र धनकुटाको सिमाना) पुगेर टुंगियो । हामी ओर्लेर आ–आफ्नो गन्तव्यतर्फ लाग्यौं ।



नदीको चिसो अनि सिरिरि हावा र पानीको छालसँग रमाउँदै जेटबोटमा सयर गर्न पाउँदा जोसुकैको मन लोभ्याउँछ । जेटबोटको स्पिड र कोसीका कुइनेटाहरूमा घुम्दा यात्रुहरूको मुहार छिनछिनमै फेरिन्छ । एकनासले हुइँकिँदा भने सेल्फी खिच्ने र तस्बिर लिने धुनमा हुन्छन् । कतिपय भने चतराघाट–सिम्ले खण्डको दृश्यावलोकनमै रमाउँछन् । पहाडदेखि तराई झर्न सप्तकोसीको तीरैतीर, अक्करको भीरैभीर २ देखि ४ घण्टा जोखिमपूर्ण पैदल हिँड्नुपर्ने बाटोलाई जेटबोटबाट १५ मिनेटमै पार गरिन्छ । जसले जोखिमपूर्ण यात्रा गर्न बाध्य भोजपुर, धनकुटा र उदयपुरवासीलाई सहज बनाएको छ भने आगन्तुकका लागि साहसिक पर्यटनको आकर्षण बनेको छ ।
सप्तकोसीमा ५० वर्षअघि नै जेटबोट चलेको थियो । तेन्जिङ नोर्गे शेर्पासँगै पहिलोपल्ट सगरमाथा आरोहण गरेका न्युजिल्यान्डका एडमण्ड हिलारीले यहाँ जेटबोट चलाएका थिए । उनको टोलीले सन् १९६८ मा चतरादेखि दोलालघाटसम्म १७५ किमि जेटबोटमा यात्रा गरेका थिए । त्यसलाई आइडी भिन्तेजको भिडियो हेर्न पाइन्छ । यसबारे हिलारीले आफ्नो किताब ‘फ्रम द ओसन टु द स्काई’ मा पनि लेखेका छन् । अहिले २१ किलोमिटर दूरीमा जेटबोट सञ्चालन हुन्छ ।
सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा गरी चार कम्पनीले सप्तकोसीमा ६ वटा जेटबोट चलाइरहेका छन् । १८ जनादेखि ६० जनासम्म अट्ने दुई किसिमका जेटबोट छन् । पार्किङ स्टेसन चतराघाट हो, जहाँ धरानबाट एक घण्टाको बस वा टेम्पो यात्राबाट पुग्न सकिन्छ । चतराघाटको नयाँ पुल अर्को मार्ग हो ।
सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसनका सञ्चालक राजेन्द्र कार्की घुम्ने र नियमित यात्रु गरी दैनिक एक हजारले जेटबोट चढ्ने बताउँछन् । सार्वजनिक बिदामा धरान, इटहरी, विराटनगरलगायत पूर्वका सहरबाट आउनेहरूको भीड बढ्छ । यहाँ २०६५–६६ बाट जेटबोट फेरि चल्न थालेको हो । व्यावसायिक रूपमा चलेको भने तीन वर्ष मात्रै भयो । सुरक्षाका कारण वर्षायाम (असार, साउन र भदौ) मा जेटबोट बन्द हुन्छ ।

प्रकाशित : कार्तिक २९, २०७६ १०:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

टिकटकको पालो !

प्रयोगकर्ताको सक्रियता, मिहिनेत र उमेर समूहमा लोकप्रियताका हिसाबले टिकटक अहिले सबैभन्दा उज्ज्वल भविष्य भएको सामाजिक सञ्जाल बनेको छ ।
विजय तिमल्सिना

फेसबुकको आन्तरिक बैठकमा यसका मालिक मार्क जुकरवर्गले आफ्ना कर्मचारीहरूलाई भनिसकेका छन्– टिकटक जसरी लोकप्रिय भइरहेको छ, यो रोचक छ  । अब हामीले टिकटक नपुगेको ठाउँमा यस्तै खालको एप परीक्षण गरेर टिकटक लोकप्रिय भएको बजारमा जानुपर्छ  ।

गत जुलाईमा भएको दुई घण्टा लामो उक्त बैठकमा मार्क जुकरवर्गले बोलेको अडियो प्रविधिसम्बन्धी वेबसाइट दि भर्जले सार्वजनिक गरेको थियो । आफ्नो दुई घण्टे भाषणमा केही मिनेट खर्चेर जसरी जुकरवर्गले टिकटकलाई आफ्नो प्रतिस्पर्धीका रूपमा अर्थ्याएका छन्, त्यसले संसारकै ठूलो सामाजिक सञ्जाल कम्पनीलाई सबैभन्दा ठूलो डर कुन प्रतिस्पर्धीबाट छ भन्ने प्रस्ट हुन्छ ।
फेसबुक जस्तो लामो यात्रा टिकटकले तय गरेको छैन तर यो छोटो अवधिमै जसरी लोकप्रिय भइरहेको छ, त्यसले फेसबुकसहित सबै प्रविधि कम्पनीलाई चकित पारेको छ । सन् २०१७ मा सार्वजनिक भएको छोटो भिडियो सेयर गर्ने प्लेटफर्म टिकटकले यति छोटो अवधिमै ५० करोड बढी प्रयोगकर्ता बनाइसकेको छ । यो सन् २०१८ मा संसारमा सबैभन्दा बढी डाउनलोड हुने एपको सूचीमा चौथो स्थानमा थियो । र, अहिले पनि संसारका सबैभन्दा बढी जनसंख्या भएको चीन र भारतसहितका एसियाली देशमा सम्भवतः सबैभन्दा बढी प्रयोगकर्ता कमाइरहेको एप हो ।
टिकटकको कथा त्यति लामो छैन, जति फेसबुक र अन्य सामाजिक सञ्जालको छ । यसले धेरै टाढाको यात्रा पनि गरेको छैन तर प्रयोगकर्ताको सक्रियता, मिहिनेत र उमेर समूहमा लोकप्रियताका हिसाबले यो अहिले सबैभन्दा उज्ज्वल भविष्य भएको सामाजिक सञ्जाल हो । यसका ५० करोड बढी प्रयोगकर्तामध्ये अधिकांश २० वर्ष हाराहारी उमेरका छन् । यसरी भनौं, १३ वर्षभन्दा माथि र ३० वर्षभन्दा कम उमेर समूहका प्रयोगकर्ताले टिकटकलाई मन पराएका छन् ।
प्रयोगकर्ताले टिकटकमा गर्ने मिहिनेत अन्य सबै सामाजिक सञ्जाल कम्पनीको लागि ईर्ष्या लाग्ने विषय हो । टिकटक छोटो भिडियो अपलोड गर्ने प्लेटफर्म भनिए पनि अधिकांश प्रयोगकर्ताले यसलाई चल्तीमा रहेको गीतमा लिपसिङ (गाएको नक्कल) गर्ने प्रयोजनका लागि प्रयोग गरिरहेका छन् ।
नेपालमा पनि सेलेब्रिटी हुन् वा सामान्य प्रयोगकर्ता, टिकटकले उत्तिकै लोकप्रियता कमाएको छ । कलाकार प्रियंका कार्की त्यसैमध्येकी एक उदाहरण हुन् । टिकटकमा उनको पौने चार लाख फलोअर्स छन् ।
प्रियंकाले अनेक भावभंगी बनाएर टिकटकमा राखेको धेरै भिडियोले करिब एक लाखसम्म लाइक कमाएका छन् । उनै प्रियंकाको इन्स्टाग्राममा पौने ९ लाख फलोअर्स छन् तर उनले इन्स्टाग्राममा राखेको फोटो र भिडियोले औसतमा ५० हजार हराहारीमा लाइक पाएका छन् । यो तथ्यबाट पनि टिकटकको प्रयोगकर्ता थोरै भए पनि सक्रिय रहनेको संख्या अधिक रहेको देखाउँछ ।
अर्की कलाकार केकी अधिकारी भने टिकटकलाई आफ्नो फिल्म प्रवर्द्धनका लागि प्रयोग गर्ने गरेको भए पनि हालसम्म अन्य सामाजिक सञ्जाललाई यसले नउछिनेको धारणा राख्छिन् । टिकटकमा उनको १ लाख १५ हजार फलोअर्स छन् भने इन्स्टाग्राममा साढे चार लाख ।



आफूलाई मन परेको गीतमा गाएको अभिनय गर्दै भिडियो बनाउनु, मन पर्ने फिल्मको संवादमा अभिनय गर्दै भिडियो तयार पार्नु, जानेको सीप प्रदर्शन गर्दै भिडियोमा ढाल्नु स्मार्टफोन प्रयोगकर्ताका लागि बढी मिहिनेत पर्ने काम हो, जसलाई फेसबुकमा स्टाटसका रूपमा हाल्न वा इन्स्टाग्राममा फोटो अपलोड गर्न जत्ति सजिलो हुन्न । टिकटकका अधिकांश प्रयोगकर्ताले यही गाह्रो र बढी समय लाग्ने काममा आफ्नो मिहिनेत देखाइरहेका छन् । एउटा कम्पनीका लागि आफ्नो प्रयोगकर्ताले देखाउने प्रतिबद्धता यहाँभन्दा कति हुन्छ ?
दुई वर्षअघि चीनबाट सुरु भएको टिकटकको यात्रा भारत र एसियाली देश हुँदै अहिले युरोप र अमेरिकासम्म फैलिएको छ । अमेरिकामा मात्रै टिकटकका २ करोड ६० लाख सक्रिय प्रयोगकर्ता छन् । स्थापना भएकै वर्ष टिकटकको मालिक बाइटडान्सले उस्तै प्रकृतिको अर्को चिनियाँ कम्पनी म्युजिकल्लीलाई किनेर आफूमा गाभेको थियो । टिकटक सुरु भएको दुई वर्षमै यसको मालिक मातृ कम्पनीको बजार मूल्य ७८ अर्ब अमेरिकी डलर पुगेको छ । यो नेपालको कुल अर्थतन्त्रभन्दा दुई गुणा बढी हो । कम्पनीको मूल्यांकन मात्रै होइन, विज्ञापनबाट हुने आम्दानीमा पनि टिकटकको प्रगति लोभलाग्दो छ । गत वर्षको ६ महिनामा मात्रै कम्पनीले ७ अर्ब डलर बढी आम्दानी गरेको अनुमान छ । स्थापनाको एक वर्षमै यति रकम आम्दानी हुनु चानचुने उपलब्धि होइन ।
स्थापनाको छोटो समयमै लोकप्रियता कमाएको टिकटक पछिल्लो साता भने अर्कै कारणले चर्चामा छ । सन् २०१७ मा टिकटकको मातृ कम्पनी बाइटडान्सले उस्तै प्रकृतिको अर्को एप म्युजिकल्लीलाई १ अर्बमा किनेको थियो । सांघाईमा हेडक्वार्टर रहेको म्युजिकल्लीको अमेरिकामा पनि कार्यालय थियो । म्युजिकल्ली चीन र अमेरिका दुवै देशमा दर्ता थियो ।
बाइटडान्सले चिनियाँ कम्पनी मानेर म्युजिकल्लीलाई आफूमा गाभेको भए पनि दुई वर्षअघिको कारोबार अहिले फेरि सतहमा आएको छ । उक्त म्युजिकल्ली किन्दा बाइटडान्सले अमेरिकी सरकारी निकायको स्वीकृति नलिएको दाबी सार्वजनिक भएको छ ।



टिकटकमाथि अमेरिकाको कमिटी अन फरेन इन्भेस्टमेन्ट इन दि युनाइटेड स्टेटले अनुसन्धान गरिरहेको छ । यो निकायसँग अमेरिकामा दर्ता भएको कम्पनी बिनास्वीकृति बिक्री भए र त्यसले राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउने जोखिम भए उक्त बिक्री उल्ट्याउन सक्नेसम्मको अधिकार छ ।
अब टिकटकले अमेरिकी निकायलाई आफू सुरक्षाका लागि खतरा नभएको प्रमाणित गर्न नसके उसले साढे दुई करोड अमेरिकी प्रयोगकर्ता गुमाउनुपर्ने हुन सक्छ । टिकटक अर्को कम्पनीलाई बिक्री गर्ने वा चीनबाट नभई अन्यत्रबाट सञ्चालित हुनुपर्ने नियम पनि लागू हुन सक्छ । यो अवस्थालाई किन पनि नकार्न सकिन्न भने अमेरिकी यही निकायले अर्को चिनियाँ कम्पनीलाई यस्तै बाध्यकारी निर्णय गराउन बाध्य पारिसकेको छ ।
तेस्रोलिंगीमाझ लोकप्रिय डेटिङ एप ग्रिन्डरलाई केही अघि चिनियाँ कम्पनी कुलुनले किनेको थियो । तर ग्रिन्डरसँग धेरै अमेरिकी सैनिकहरूको तथ्यांक रहेको र चिनियाँ कम्पनीले किन्दा राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै अमेरिकी सरकारी निकायले प्रतिबन्ध लगाउने भएपछि कुलुन अन्य प्रविधि कम्पनीलाई ग्रिन्डर बिक्री गर्न राजी भएको छ । उसले सन् २०२० मा कम्पनी बिक्री गर्ने सहमति जनाएको
छ ।
–एजेन्सीको सहयोगमा

प्रकाशित : कार्तिक २९, २०७६ १०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×