कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

टिकटकको पालो !

प्रयोगकर्ताको सक्रियता, मिहिनेत र उमेर समूहमा लोकप्रियताका हिसाबले टिकटक अहिले सबैभन्दा उज्ज्वल भविष्य भएको सामाजिक सञ्जाल बनेको छ ।
विजय तिमल्सिना

फेसबुकको आन्तरिक बैठकमा यसका मालिक मार्क जुकरवर्गले आफ्ना कर्मचारीहरूलाई भनिसकेका छन्– टिकटक जसरी लोकप्रिय भइरहेको छ, यो रोचक छ  । अब हामीले टिकटक नपुगेको ठाउँमा यस्तै खालको एप परीक्षण गरेर टिकटक लोकप्रिय भएको बजारमा जानुपर्छ  ।

टिकटकको पालो !

गत जुलाईमा भएको दुई घण्टा लामो उक्त बैठकमा मार्क जुकरवर्गले बोलेको अडियो प्रविधिसम्बन्धी वेबसाइट दि भर्जले सार्वजनिक गरेको थियो । आफ्नो दुई घण्टे भाषणमा केही मिनेट खर्चेर जसरी जुकरवर्गले टिकटकलाई आफ्नो प्रतिस्पर्धीका रूपमा अर्थ्याएका छन्, त्यसले संसारकै ठूलो सामाजिक सञ्जाल कम्पनीलाई सबैभन्दा ठूलो डर कुन प्रतिस्पर्धीबाट छ भन्ने प्रस्ट हुन्छ ।
फेसबुक जस्तो लामो यात्रा टिकटकले तय गरेको छैन तर यो छोटो अवधिमै जसरी लोकप्रिय भइरहेको छ, त्यसले फेसबुकसहित सबै प्रविधि कम्पनीलाई चकित पारेको छ । सन् २०१७ मा सार्वजनिक भएको छोटो भिडियो सेयर गर्ने प्लेटफर्म टिकटकले यति छोटो अवधिमै ५० करोड बढी प्रयोगकर्ता बनाइसकेको छ । यो सन् २०१८ मा संसारमा सबैभन्दा बढी डाउनलोड हुने एपको सूचीमा चौथो स्थानमा थियो । र, अहिले पनि संसारका सबैभन्दा बढी जनसंख्या भएको चीन र भारतसहितका एसियाली देशमा सम्भवतः सबैभन्दा बढी प्रयोगकर्ता कमाइरहेको एप हो ।
टिकटकको कथा त्यति लामो छैन, जति फेसबुक र अन्य सामाजिक सञ्जालको छ । यसले धेरै टाढाको यात्रा पनि गरेको छैन तर प्रयोगकर्ताको सक्रियता, मिहिनेत र उमेर समूहमा लोकप्रियताका हिसाबले यो अहिले सबैभन्दा उज्ज्वल भविष्य भएको सामाजिक सञ्जाल हो । यसका ५० करोड बढी प्रयोगकर्तामध्ये अधिकांश २० वर्ष हाराहारी उमेरका छन् । यसरी भनौं, १३ वर्षभन्दा माथि र ३० वर्षभन्दा कम उमेर समूहका प्रयोगकर्ताले टिकटकलाई मन पराएका छन् ।
प्रयोगकर्ताले टिकटकमा गर्ने मिहिनेत अन्य सबै सामाजिक सञ्जाल कम्पनीको लागि ईर्ष्या लाग्ने विषय हो । टिकटक छोटो भिडियो अपलोड गर्ने प्लेटफर्म भनिए पनि अधिकांश प्रयोगकर्ताले यसलाई चल्तीमा रहेको गीतमा लिपसिङ (गाएको नक्कल) गर्ने प्रयोजनका लागि प्रयोग गरिरहेका छन् ।
नेपालमा पनि सेलेब्रिटी हुन् वा सामान्य प्रयोगकर्ता, टिकटकले उत्तिकै लोकप्रियता कमाएको छ । कलाकार प्रियंका कार्की त्यसैमध्येकी एक उदाहरण हुन् । टिकटकमा उनको पौने चार लाख फलोअर्स छन् ।
प्रियंकाले अनेक भावभंगी बनाएर टिकटकमा राखेको धेरै भिडियोले करिब एक लाखसम्म लाइक कमाएका छन् । उनै प्रियंकाको इन्स्टाग्राममा पौने ९ लाख फलोअर्स छन् तर उनले इन्स्टाग्राममा राखेको फोटो र भिडियोले औसतमा ५० हजार हराहारीमा लाइक पाएका छन् । यो तथ्यबाट पनि टिकटकको प्रयोगकर्ता थोरै भए पनि सक्रिय रहनेको संख्या अधिक रहेको देखाउँछ ।
अर्की कलाकार केकी अधिकारी भने टिकटकलाई आफ्नो फिल्म प्रवर्द्धनका लागि प्रयोग गर्ने गरेको भए पनि हालसम्म अन्य सामाजिक सञ्जाललाई यसले नउछिनेको धारणा राख्छिन् । टिकटकमा उनको १ लाख १५ हजार फलोअर्स छन् भने इन्स्टाग्राममा साढे चार लाख ।



आफूलाई मन परेको गीतमा गाएको अभिनय गर्दै भिडियो बनाउनु, मन पर्ने फिल्मको संवादमा अभिनय गर्दै भिडियो तयार पार्नु, जानेको सीप प्रदर्शन गर्दै भिडियोमा ढाल्नु स्मार्टफोन प्रयोगकर्ताका लागि बढी मिहिनेत पर्ने काम हो, जसलाई फेसबुकमा स्टाटसका रूपमा हाल्न वा इन्स्टाग्राममा फोटो अपलोड गर्न जत्ति सजिलो हुन्न । टिकटकका अधिकांश प्रयोगकर्ताले यही गाह्रो र बढी समय लाग्ने काममा आफ्नो मिहिनेत देखाइरहेका छन् । एउटा कम्पनीका लागि आफ्नो प्रयोगकर्ताले देखाउने प्रतिबद्धता यहाँभन्दा कति हुन्छ ?
दुई वर्षअघि चीनबाट सुरु भएको टिकटकको यात्रा भारत र एसियाली देश हुँदै अहिले युरोप र अमेरिकासम्म फैलिएको छ । अमेरिकामा मात्रै टिकटकका २ करोड ६० लाख सक्रिय प्रयोगकर्ता छन् । स्थापना भएकै वर्ष टिकटकको मालिक बाइटडान्सले उस्तै प्रकृतिको अर्को चिनियाँ कम्पनी म्युजिकल्लीलाई किनेर आफूमा गाभेको थियो । टिकटक सुरु भएको दुई वर्षमै यसको मालिक मातृ कम्पनीको बजार मूल्य ७८ अर्ब अमेरिकी डलर पुगेको छ । यो नेपालको कुल अर्थतन्त्रभन्दा दुई गुणा बढी हो । कम्पनीको मूल्यांकन मात्रै होइन, विज्ञापनबाट हुने आम्दानीमा पनि टिकटकको प्रगति लोभलाग्दो छ । गत वर्षको ६ महिनामा मात्रै कम्पनीले ७ अर्ब डलर बढी आम्दानी गरेको अनुमान छ । स्थापनाको एक वर्षमै यति रकम आम्दानी हुनु चानचुने उपलब्धि होइन ।
स्थापनाको छोटो समयमै लोकप्रियता कमाएको टिकटक पछिल्लो साता भने अर्कै कारणले चर्चामा छ । सन् २०१७ मा टिकटकको मातृ कम्पनी बाइटडान्सले उस्तै प्रकृतिको अर्को एप म्युजिकल्लीलाई १ अर्बमा किनेको थियो । सांघाईमा हेडक्वार्टर रहेको म्युजिकल्लीको अमेरिकामा पनि कार्यालय थियो । म्युजिकल्ली चीन र अमेरिका दुवै देशमा दर्ता थियो ।
बाइटडान्सले चिनियाँ कम्पनी मानेर म्युजिकल्लीलाई आफूमा गाभेको भए पनि दुई वर्षअघिको कारोबार अहिले फेरि सतहमा आएको छ । उक्त म्युजिकल्ली किन्दा बाइटडान्सले अमेरिकी सरकारी निकायको स्वीकृति नलिएको दाबी सार्वजनिक भएको छ ।



टिकटकमाथि अमेरिकाको कमिटी अन फरेन इन्भेस्टमेन्ट इन दि युनाइटेड स्टेटले अनुसन्धान गरिरहेको छ । यो निकायसँग अमेरिकामा दर्ता भएको कम्पनी बिनास्वीकृति बिक्री भए र त्यसले राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउने जोखिम भए उक्त बिक्री उल्ट्याउन सक्नेसम्मको अधिकार छ ।
अब टिकटकले अमेरिकी निकायलाई आफू सुरक्षाका लागि खतरा नभएको प्रमाणित गर्न नसके उसले साढे दुई करोड अमेरिकी प्रयोगकर्ता गुमाउनुपर्ने हुन सक्छ । टिकटक अर्को कम्पनीलाई बिक्री गर्ने वा चीनबाट नभई अन्यत्रबाट सञ्चालित हुनुपर्ने नियम पनि लागू हुन सक्छ । यो अवस्थालाई किन पनि नकार्न सकिन्न भने अमेरिकी यही निकायले अर्को चिनियाँ कम्पनीलाई यस्तै बाध्यकारी निर्णय गराउन बाध्य पारिसकेको छ ।
तेस्रोलिंगीमाझ लोकप्रिय डेटिङ एप ग्रिन्डरलाई केही अघि चिनियाँ कम्पनी कुलुनले किनेको थियो । तर ग्रिन्डरसँग धेरै अमेरिकी सैनिकहरूको तथ्यांक रहेको र चिनियाँ कम्पनीले किन्दा राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै अमेरिकी सरकारी निकायले प्रतिबन्ध लगाउने भएपछि कुलुन अन्य प्रविधि कम्पनीलाई ग्रिन्डर बिक्री गर्न राजी भएको छ । उसले सन् २०२० मा कम्पनी बिक्री गर्ने सहमति जनाएको
छ ।
–एजेन्सीको सहयोगमा

प्रकाशित : कार्तिक २९, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?