कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जोकर फिनिक्स

फिल्म 'जोकर' निकै विवादित छ र यसलाई हेर्ने दृष्टिकोण फरक–फरक पाइन्छन् । यसमा ज्याकिन फिनिक्सको अभिनय भने बेजोड छ ।
हेलो शुक्रबार

सिनेमा निर्देशकको माध्यम हो  । सामान्यतया यो नियम सर्वमान्य हो  ।

जोकर फिनिक्स

तर, नियमहरू त बन्छन् नै तोडिनका लागि । कहिलेकाहीँ यस्ता कलाकार वा प्राविधिक आइदिन्छन् जसले निर्देशकको दृष्टिकोणलाई सघाउँदा सघाउँदै आफ्नो कलात्मकता र प्रतिभाले उसलाई पनि उछिन्न खोज्छन् ।
त्यस्तै एक अभिनेता हुन् ज्याकिन फिनिक्स । र, यसको उदाहरण हो– उनीद्वारा अभिनीत पछिल्लो फिल्म जोकर । फिल्मप्रेमीहरूलाई थाहा छ– जोकर यसअघि नै लोकप्रियताको उचाइमा पुगिसकेको चरित्र हो । ज्याक निकोल्सनदेखि हिथ लिजरसम्मका ओस्कर विजेता अभिनेताले यो चरित्रलाई अमर बनाइसकेका छन् । क्रिस्टोफर नोलानको ब्याटम्यानमा हिथ लिजरको जोकर हेर्नेलाई लागेको थियो– जोकरको उत्कर्ष
यही हो ।
तर, फिनिक्स त फिनिक्स हुन् । दुई वर्षअघि क्यान्समा ‘यु वेर नेभर रियल्ली हियर’ का लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका फिनिक्सले जोकरलाई अझै माथिल्लो तहमा पुर्‍याइदिए । उनको अभिनयले यो फिल्मलाई नै शानदार बनाइदिएको भन्न कन्जुस्याइँ गर्नुपर्दैन । जसरी ट्याक्सी ड्राइभरलाई रोबर्ट डि निरो, देयर विल वि ब्लडलाई ड्यानियल डे लुइसले शानदार बनाइदिएका थिए । फिनिक्सिलाई पछिल्लो समयको डि निरो र लुइसजस्तै ‘मेथड एक्टर’ मानिन्छ ।
ब्याटम्यान शृंखलाको खतरनाक भिलेन जोकर भिलेन कसरी बन्यो भन्ने कथा हो– जोकरको । ८० को दशकको सुरुवात । गोथाम सिटीमा एक युवा छ– आर्थर फ्लेक, मानसिक समस्या भोगिरहेको । एउटा पुरानो र सानो अपार्टमेन्टमा ऊ आफ्नी वृद्ध आमासँग बस्छ । टीभी टक शो होस्ट मुर्रे फ्र्यांकलिन (रोबर्ट डि निरो) को यो भक्त एक दिन प्रसिद्ध कमेडियन बन्ने सपना पालेर बसेको छ । सहरका स–साना क्लबमा हास्य शो गर्ने उद्देश्य भए पनि ऊ एउटा कम्पनीका लागि बिरामी र बच्चाहरू हँसाउने जोकरको जागिरमा छ । उसको एउटा समस्या छ– बेला कुबेला हाँसो छुट्ने । कुनै समस्या वा अप्ठेरो पर्दा त हाँसो झन् ठूलो हुने ।
फिल्मले मानसिक समस्या भएको एक्लो मान्छे, जसलाई सहरले पूर्णतः उपेक्षा गरेको छ, त्यो कसरी खतरनाक बन्न सक्छ भन्ने देखाउँछ । मानसिक स्वास्थ्यमा काम गरिरहेका डाक्टरहरूले यस्तो चित्रणको विरोध पनि गरेका छन् । र, सनकीहरू बन्दुकधारीहरूले निर्दोष सर्वसाधारणको ज्यान लिइरहेका बेला अमेरिकामा पनि यसको तीव्र विरोध भएको छ । यतिसम्म कि फिल्म निर्माण कम्पनीले आफ्नो उद्देश्य त्यस किसिमको प्रवृत्तिलाई समर्थन गर्नु नरहेको भन्दै प्रस्टीकरण विज्ञप्तिमार्फत नै जारी गर्नुपर्‍यो । बक्स–अफिसमा भने जोकरले कमाल गरिरहेको छ ।
यो फिल्मको गार्जियनले मात्रै चार वटा फरक समीक्षकका समीक्षा अनलाइनमा प्रकाशित गरेको छ । एउटा समीक्षामा यसलाई वर्षकै सबभन्दा निराश बनाउने फिल्म भनिएको छ भने अर्कोमा फिनिक्सको उम्दा अभिनयको प्रशंसा गर्दै चार स्टार दिइएको छ । यसबाटै बुझ्न सकिन्छ, यो फिल्म कति विवादित छ र यसलाई हेर्ने दृष्टि कति फरक–फरक छन् । फिनिक्सको अभिनयको सबैजसो समीक्षकले प्रशंसा गरेका छन् ।
४४ वर्षीय फिनिक्सलाई यही भूमिकाका लागि यस वर्ष ओस्कर अवार्डको प्रबल दावेदार मान्ने पनि छन् । तीनपटक ओस्करमा मनोनीत फिनिक्सले पहिलोचोटि ट्रफी उचाल्ने मौका पाउन पनि सक्छन् । हुन त अल पचिनोजस्ता अभिनेताले सातौं मनोनयनमा बल्ल ओस्कर पाएका थिए । फिल्मले चाहिँ यस वर्षको भेनिस फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड पाइसकेको छ ।
फिनिक्सले बाल कलाकारका रूपमा अभिनय थालेका हुन्– सेभेन ब्राइड्स फर सेभेन ब्रदर्स फिल्मबाट । यो त्यही फिल्म हो, जसलाई नक्कल गरेर बलिउडले सत्ते पे सत्ता बनाएको थियो । फिनिक्सले थुप्रै फिल्ममा सहायक भूमिकाहरूमा अभिनय गरेका छन् । रसेल क्रोले ओस्कर जितेको फिल्म ग्लाडियटरका लागि फिनिक्स सह–अभिनेतामा ओस्कर मनोनीत भएका थिए । त्यसयता दि भिलेज, वाक दि लाइन, रिजर्भेसन रोड, दि मास्टरजस्ता फिल्मबाट उनले आफ्नो अभिनय क्षमता प्रदर्शन गरे । जोकरलाई चाहिँ उनको अभिनय करिअरको अहिलेसम्मकै सबभन्दा उच्च विन्दु मानिएको छ ।

[email protected]

प्रकाशित : कार्तिक १५, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?