विज्ञानमा विमर्श

गोविन्द पोखरेल

 गत वर्षको ग्लोबल इनोभेसन इन्डेक्समा नेपाल १०८ औं स्थानमा थियो  । सन् २०१९ मा आएर एक स्थान तल झर्‍यो  ।

छिमेकी चीन र भारत क्रमशः १४ औं र ५२ औं स्थानमा छन् । नेपाल नवप्रवर्तन सूचकांकमा निकै नै पछि परेको छ । उसो त सरकारले २०७६/०७७ को कुल बजेटको १०.९७ प्रतिशत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको छ । मन्त्रालयलाई दिइएको बजेटको करिब ०.२५ प्रतिशत मात्र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले पायो । विज्ञान र प्रविधि क्षेत्रमा कमै बजेट छुट्याइने गरिन्छ ।
सरकारले यस क्षेत्रबाट धेरै अपेक्षा लिने तर बजेट न्यून दिँदा सोचेअनुसारको काम हुन नसकिरहेको नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठ बताउँछन् । नास्टले यिनै विषयलगायत विभिन्न १८ वटा क्षेत्रसँग सम्बन्धित ‘समृद्धिका लागि नवप्रवर्तन’ नाराका साथ गत साता राजधानीमा पहिलो अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सम्पन्न गर्‍यो । नेपालमा पहिलोपल्ट आयोजित यस सम्मेलनले सुविधा सम्पन्न केन्द्रीय प्रयोगशाला निर्माण गर्नुपर्ने संकल्पसहित १२ बुँदे घोषणापत्र जारी गर्‍यो ।
सम्मेलनले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा विशिष्टीकृत अनुसन्धान केन्द्रहरू निर्माण गर्न पहल गर्नेसमेत निर्णय गर्‍यो । यसमा जलवायु परिवर्तन अध्ययन गर्ने, जडीबुटी अनुसन्धान केन्द्र, रसायन, भौतिकशास्त्रलगायत विज्ञानका अन्य विषयगत क्षेत्रका अनुसन्धान केन्द्रहरू निर्माण गर्ने आवश्यकता औंल्याएको हो । सम्मेलनले केन्द्रीय मानक प्रयोगशालाको आवश्यकतासमेत औंल्याएको छ । विभिन्न प्रयोगशालाहरूमा गरिएको अनुसन्धानको पुनः परीक्षण मानक प्रयोगशाला रेफ्रेन्स ल्याबका रूपमा प्रयोग गर्न सकिन्छ । प्रयोगशाला निर्माणका लागि सरकारलाई आग्रह गर्ने बताइएको छ ।


नास्टसहित राष्ट्रिय युवा परिषद् र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संयुक्त रूपमा तयार गरिएको संकल्प पत्रमा अनुसन्धान र नवप्रवर्तनका लागि अनुसन्धान कोष स्थापना गर्ने उल्लेख छ । कोषमार्फत अनुसन्धानात्मक गतिविधिहरू गर्न सकिने र यो प्रभावकारी हुने बताइएको छ । मुलुकको अनुसन्धान प्रणाली कस्तो हुने, कुन क्षेत्रमा प्राथमिकता दिनेलगायत अनुसन्धानको क्षेत्रका लागि प्राथमिकता निर्धारण गर्न विज्ञ सम्मिलित कार्यदल स्थापना, विदेशी विश्वविद्यालयहरूसँग सहकार्य र समन्वय गरेर पाठ्यक्रम निर्माण गर्न सरकारलाई
आग्रह गर्ने निर्णय पनि भयो । सम्मेलनले संस्थागत सुधारका लागि कार्यदल बनाउने, सरकारलाई विज्ञान वर्ष घोषणा गर्न, युवा वैज्ञानिकहरूलाई मञ्च तथा फोरमहरूमा उपस्थिति बढाउनका लागि पहल गर्ने, संस्थागत सुधारका लागि कार्यदल बनाउने घोषणापत्रमा उल्लेख छ ।
नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नास्टको ४२ औं प्राज्ञसभामा अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन गर्ने घोषणा गरेका थिए । नवप्रवर्तनसम्बन्धीको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनले समृद्धि हासिल गर्न मद्दत पुग्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । सम्मेलनमा विभिन्न मुलुकमा रहेका नेपाली वैज्ञानिकहरूको उपस्थितिका साथै १५ जना विदेशी वैज्ञानिक पनि सहभागी थिए । यसअघिका सम्मेलनभन्दा यसपालि विशेष रहेको नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले बताए । यसअघिका सम्मेलनहरूमा कुनै निश्चित क्षेत्र तोकिने गरेका थिएनन् । यसपटक नास्टले १८ वटा क्षेत्रलाई लक्षित गरेको थियो ।


समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन, संस्थागत संरचना कसरी गर्ने, विज्ञानमा लगानी, विज्ञान र प्रविधिको विकासका लागि भौतिक निर्माण, स्रोतको पहिचान, उपयोग, सुरक्षाका लागि विज्ञान, दिगो विकासको लक्ष्य हासिल गर्नका लागि विज्ञान, विज्ञान कूटनीति, विज्ञान र प्रविधिको क्षेत्रमा हुनुपर्ने ऐन तथा प्रावधानसहितका कानुन, सरकार र विज्ञान, उद्योगसँग विज्ञानलगायतका विषयहरूमा अन्तरक्रिया भएको थियो । विज्ञानलाई उद्योगसँग नजोडिँदा विभिन्न समस्याहरू आउने गरेको नास्टका उपकुलपति श्रेष्ठले बताए । मौलिक र परम्परागत सीपको संरक्षणका लागि पनि विज्ञान आवश्यक रहेको विषय सम्मेलनमा छलफल भएका थिए ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय भौतिक विज्ञान क्याम्पसका उपप्राध्यापक एवं युवा परिषद्का सदस्य खिम पन्थीले भने, ‘नेपालको विज्ञानलाई अब अगाडि बढाउनुपर्छ भनेर विभिन्न फोरमहरूमा वैज्ञानिकहरूले उठाउँदै आएका थिए । के गर्दा विज्ञान प्रविधिको प्रवर्तन हुन्छ भन्ने विषय यो सम्मेलनले दिएको छ । यसबाट अनुसन्धानको प्राथमिकता क्षेत्र आएको छ ।’ उनले थपे, ‘भारतले चन्द्रयान बनायो भनेर हामी त्यता जान सक्दैनौं । हामीले अलग्गै नेपाली परिवेशका विषय र अनुसन्धानको क्षेत्र प्राथमिकतामा राख्नुपर्छ ।’


समाजका लागि विज्ञान भन्ने विषयमा प्रस्तुति दिएका विश्व वैज्ञानिक परिषद्का सदस्य एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का
प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल भन्छन्, ‘विकसित मुलुकहरू विज्ञानलाई समाजसँग जोडेर आएका हुन् । विज्ञानले समाजलाई के दिन सक्छ भन्ने कुरा समाजले बुझेपछि मात्र वैज्ञानिकहरूलाई समाजले विश्वास गर्छन् । नेपालको हकमा अब वैज्ञानिक समूहहरू धेरै क्षेत्रगत आयामिक अध्ययनमा हुनुपर्छ ।’


रिसर्च इन्स्टिच्युट अफ बायो साइन्स एवं बायोटेक्नोलोजीकी वैज्ञानिक डा. प्रतिभा पाण्डेले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा तालमेल आवश्यक रहेको बताइन् । यही विषयमा प्रस्तुति दिएकी उनले अब शैक्षिक संस्था, सरकार र उद्योगबीच विज्ञानको समन्वय आवश्यक रहेको बताइन् । उनले नीति निर्माण तहहरूमा महिला वैज्ञानिकहरूलाई बोलाउन थालिएको पनि बताइन् ।


करिब ८ वर्ष पाकिस्तानस्थित इन्टरनेसनल सेन्टर फर केमिकल एन्ड बायोलोजिकल साइन्समा अध्यापन गरेर नेपाल फर्केका डा. अच्युत अधिकारीले सम्मेलन नेपालका लागि कोसेढुंगा हुने मान्छन् । उनले नेपाली डायस्पोरा दसैं–तिहारमा घर आउने र त्यही मौकामा सम्मेलन आयोजना गरिनुले सकारात्मक सन्देश गएको बताए । प्राकृतिक स्रोत साधनसम्बन्धी प्रस्तुति दिएका उनले नेपालको प्राकृतिक स्रोत साधनको व्यवस्थापनसँगै यसबाट आम्दानी गर्न सकिने बताए ।


जापानस्थित मे विश्वविद्यालयकी उपप्राध्यापक डा. आस्था तुलाधरले काठमाडौंमा कौसी बगैंचाको अवधारणा ल्याउँदै यसबाट आयआर्जन गर्न सकिने बताइन् । यसबाट आम्दानी तथा रोजगारीका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउन सक्नेमा उनको अनुसन्धान केन्द्रित थियो । सम्मेलनमा हरेक सेसनमा १० मिनेट युवा वैज्ञानिकको कुरा सुनिसकेपछि त्यही क्षेत्रमा कार्यरत थिमेटिक स्पिकरले सम्बन्धित विषयमा प्रस्तुति दिएका थिए । आआफ्ना अनुभवलाई वैज्ञानिकहरूले बाँडेका थिए ।


सम्मेलनमा वैज्ञानिक कुराहरूको तथ्यांक निर्माण, मौलिक कुरा र परम्परालाई संरक्षण, विज्ञानका विभिन्न आयामहरूलाई समावेश गरिएको थियो । यस्तै, वैज्ञानिक पर्यटन, सुरक्षामा विज्ञानलगायतमा छलफल भएको थियो । सम्मेलनले नेपालमा नवप्रवर्तनको क्षेत्रमा कानुन निर्माण तथा विज्ञान प्रविधिको विकासका लागि आधारशिला एवं महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ ।

govindapokhrel90@gmail.com

प्रकाशित : कार्तिक १५, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सन्दीपको छलाङ

कान्तिपुर संवाददाता

चितवनका युवा क्रिकेटर सन्दीप लामिछानेले करिअर सुरु गरेको धेरै भएको छैन  । अन्तर्राष्ट्रिय क्रिकेटको तीनवर्षे यात्रामा उनी निकै व्यस्त रहे, राष्ट्रिय टिम र विदेशमा फ्रेन्चाइज क्रिकेट खेल्नका लागि  ।

छोटो अवधिमै लेगस्पिनमार्फत आफ्नो बेग्लै पहिचान बनाएका उनलाई पछिल्लो समय भारत, अस्ट्रेलिया, इंग्ल्यान्डलगायत क्रिकेटका लागि चर्चित प्राय: सबै देशमा भइरहेका छोटो संस्करणको प्रतियोगिता (टी–१० र टी–२०) मा लिइरहेका छन् । त्यसैले उनले विश्व क्रिकेटको माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्नेसँगै आकर्षक आम्दानी गर्ने अवसर पनि पाइरहेका छन् । फ्रेन्चाइज टिमहरूको प्रतियोगितामा १९ वर्षीय सन्दीपको यात्रा :


हङकङ ब्लिज
मे २०१६
टिम : काउलोन क्यान्टोन्स
अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको सहयोगमा पहिलोपल्ट विदेशी फ्रेन्चाइज क्रिकेटमा सहभागी
खेल : १ विकेट : ०

बंगलादेश प्रिमियर लिग
२०१७
टिम : सिलेट सिक्सर्स
राष्ट्रिय टिमको खेल जुधेकाले खेल्न नपाएको

इन्डियन प्रिमियर लिग
२०१८
टिम : दिल्ली डेरडेभिल्स
पारिश्रमिक : भारु २० लाख
खेल : ३ विकेट : ५

क्यारेबियन प्रिमियर लिग
२०१८
टिम : सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स
पारिश्रमिक : ५ हजार डलर
खेल : ५ विकेट : ७

ग्लोबल टि–२० लिग क्यानडा
२०१८
टिम : मोन्ट्रियल टाइगर्स
पारिश्रमिक : ३० हजार अमेरिकी डलर
खेल : ५ विकेट : ८

अफगानिस्तान प्रिमियर लिग
२०१८
टिम : नान्ग्राहर लियोपार्ड्स
पारिश्रमिक : १५ हजार अमेरिकी डलर
खेल : १ विकेट : २

बिग बास लिग (अस्ट्रेलिया)
२०१८
टिम : मेलबर्न स्टार्स
पारिश्रमिक : ५० हजार अस्ट्रेलियन डलर
खेल : ८ विकेट : ११

पाकिस्तान सुपर लिग
२०१८
टिम : लाहोर कलान्दर्स
पारिश्रमिक : ६० हजार अमेरिकी डलर
खेल : ७ विकेट : ११

टी–१० लिग (अबुधाबी)
२०१८
टिम : केरला नाइट्स
पारिश्रमिक : ३० हजार अमेरिकी डलर
खेल : ६ विकेट : ६
बंगलादेश प्रिमियर लिग
२०१९
टिम : सिलेट सिक्सर्स
पारिश्रमिक : ५० हजार अमेरिकी डलर
खेल : ६ विकेट : ४

इन्डियन प्रिमियर लिग
२०१९
टिम : दिल्ली क्यापिटल्स
पारिश्रमिक : भारु २० लाख
खेल : ६ विकेट : ८

ग्लोबल टिम–२० लिग क्यानडा
२०१९
टिम : टोरोन्टो नेसनल्स
पारिश्रमिक : ६० हजार अमेरिकी डलर
खेल : ४ विकेट : ५

क्यारेबियन प्रिमियर लिग
२०१९
टिम : बार्बाडोस ट्राइडेन्ट्स
पारिश्रमिक : ६५ हजार अमेरिकी डलर
खेल : ६ विकेट : ८

अबुधाबी टी–१० लिग
२०१९
टिम : कर्नाटक टस्कर्स
पारिश्रमिक : ४५ हजार अमेरिकी डलर
प्रतियोगिता हुनै बाँकी

बिग बास लिग
२०१९
टिम : मेलबर्न स्टार्स
पारिश्रमिक : सार्वजनिक नभएको
प्रतियोगिता हुनै बाँकी


द हन्ड्रेड (इंग्ल्यान्ड)
२०२०
टिम : ओभल इन्भिन्सिवल्स
पारिश्रमिक : १ लाख पाउन्ड
प्रतियोगिता हुनै बाँकी


घरेलु
प्रतियोगिता
धनगढी प्रिमियर लिग
२०१७
टिम : विराटनगर किङ्स
पारिश्रमिक : रु. ६० हजार
खेल : ७ विकेट : १२

एभरेस्ट प्रिमियर लिग
२०१७
टिम : ललितपुर प्याट्रियट्स
पारिश्रमिक : रु. १ लाख ७५ हजार
खेल : ७ विकेट : ९

पोखरा प्रिमियर लिग
२०१८
टिम : विराटनगर टाइटन्स
पारिश्रमिक : रु. ३ लाख (कम्तीमा)
खेल : ५ विकेट : १०

एभरेस्ट प्रिमियर लिग
२०१८
टिम : ललितपुर प्याट्रियट्स
पारिश्रमिक : रु. १ लाख ७५ हजार
खेल : २ विकेट : ५

प्रकाशित : कार्तिक १५, २०७६ ११:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT