आविष्कार केन्द्रमा के हुँदै छ ?

महावीर पुनद्वारा सञ्चालित अभियानमा बनाइएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन अघिल्लो साता भयो । यहाँ काम भने त्यसअघि नै भइरहेको थियो ।
विजय तिमल्सिना

 महावीर पुन नेपालमा चिनाइराख्नुपर्ने नाम होइन  । राष्ट्रिय आविष्कार केन्द्रको अभियानले उनलाई पछिल्ला समय बढी चर्चामा ल्याएको छ  । देश–विदेशमा रहेका नेपालीहरूले केन्द्रलाई लगानी जुटाउनका लागि आफ्नो क्षमताअनुसारको सहयोग गरिरहेका छन् । सहयोगहरूको सूची दिनहुँ राष्ट्रिय आविष्कार केन्द्रले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरिरहेको छ । सहयोगीको सूचीले पनि केन्द्रलाई कति धेरैले माया गरिरहेका छन् भन्ने तथ्य खुल्छ । केन्द्रका अनुसार हालसम्म ८ करोड रुपैयाँ सहयोगस्वरूप प्राप्त भएको छ ।

आविष्कार केन्द्र दुई वर्षयता सक्रिय भए पनि गत साता यसको भवनको औपचारिक उद्घाटन भयो । केन्द्रलाई करिब डेढ करोड रुपैयाँ सहयोग गर्ने डेनमार्कका ८२ वर्षीय प्राध्यापक फ्लेमिङ टोप्सोले केन्द्रको औपचारिक उद्घाटन गरे । भर्खरै उद्घाटन भए पनि केन्द्रमै काम भने अलि अगाडिबाटै भइरहेको छ । हाल २१ वटा परियोजना चलिरहेको छ । यीमध्ये सबै नेपालमा विभिन्न क्षेत्र र वर्गका मानिसले भोगेको समस्या समाधान गर्ने खालका ‘अनुसन्धान’ छन् ।

केन्द्रका अनुसन्धानकर्ताहरूले गत वर्ष म्याग्दीमा पुगेर ड्रोनको सफल परीक्षण गरेको थियो । केन्द्रले हालसम्म तीन किसिमको ड्रोनको विकास र परीक्षण गरेको छ । ग्रामीण क्षेत्रमा बिरामीको रगत, खकारजस्ता नमुनाहरू संकलन गरी स्वास्थ्य केन्द्रसम्म परीक्षणका लागि बोकेर लैजाने उद्देश्यसहित यस्तो ड्रोनको विकास गरिएको हो । ड्रोनहरू बजारमा किन्न पाइने भए पनि केन्द्रले भने यहाँको भौगोलिक अवस्थिति सुहाउँदो र यहीको आवश्यकताअनुसारको ड्रोन आफैंले विकास गरेको हो ।

यसबाहेक हेर्दा सानो लाग्ने तर धेरैका लागि काम लाग्ने वस्तु पनि केन्द्रमा धमाधम विकास भइरहेको छ । केन्द्रमा एउटा समूहले सेलरोटी बनाउने मेसिनको विकास गरेका छन् । दैनिक सेलरोटी बनाउने वा कहिलेकाहीँ बनाउनेलाई पनि उपयोगी होस् भन्नका लागि यो मेसिन तयार पारिएको हो । यसलाई व्यावसायिक रूपमा तयार पार्ने काम भइरहेको केन्द्रले जनाएको छ ।


बाँदरले आफ्नो अन्नबाली खाने र घरमा आएर दुःख दिने समस्या समाधानका लागि पनि केन्द्रमा काम भइरहेको छ । केन्द्रमा बाँदर धपाउने मेसिनको नमुना तयार भएको छ । केही समयमै यसको फिल्ड परीक्षण गर्ने तयारी छ । दुर्गम क्षेत्रका स्वास्थ्य केन्द्र र सामुदायिक अस्पतालमा राख्ने उद्देश्यसहित ‘वेबी वार्मर’ पनि केन्द्रले तयार पारेको छ । अहिले यसको नमुना बनेको र यसको सुधार गर्दै वेबी इन्क्युबेटरसहित उपलब्ध गराउने लक्ष्य रहेको केन्द्रले जनाएको छ ।

कीर्तिपुरमा रहेको आविष्कार केन्द्रमा अनुसन्धानकर्ताको समूहले पानी फिल्टर गर्ने मेसिन पनि बनाएका छन् । झाडापखाला बढी फैलिने जाजरकोटजस्ता जिल्लामा यस्तो प्रभावकारी हुने केन्द्रको अनुमान छ । यस फिल्टरको नमुनाको परीक्षण भइरहेको छ । बढी झाडापखालाको प्रकोप फैलिने जिल्ला जाजरकोटबाट पानी ल्याएर परीक्षण गर्ने केन्द्रले तयारी गरेको छ ।


किसानले उत्पादन गरेको तरकारी टिपेको केही दिनमै प्रयोग नभए ओइलाएर जाने समस्या छ । देशभर केही कोल्ड स्टोरहरू भए पनि त्यहाँ किसानको पहुँच छैन वा महँगो पर्न जान्छ । केन्द्रमा ‘सब्जी कोठी’ नाम दिएर यस्तै समस्याको समाधानको उपाय तयार गरिरहेको छ आविष्कार केन्द्रमा । यसले तरकारी टिपेर राखेपछि ओइलाउन दिँदैन । हेर्दा सानो कोठाजस्तो यो सामान एक ठाउँबाट अर्को ठाउँमा सहजै लैजान सकिन्छ । सब्जी कोठीमा तरकारी वा फलफूलहरू १० देखि ४० दिनसम्म स्टोर गर्न सकिन्छ ।

आविष्कार केन्द्रअन्तर्गत रहेर कृषि तथा वन विश्वविद्यालय चितवनको चार विद्यार्थीले ‘ब्ल्याक सोल्जर’ जातका झिँगाको लार्भाबाट कुखुरा तथा माछाका लागि दाना बनाउने अनुसन्धानको काम गरिरहेका छन् । उनीहरूले गरेको अनुसन्धानमा विदेशबाट त्यस्ता जातका झिँगाको लार्भा मगाउने तयारी भएको केन्द्रले जनाएको छ । अर्का चार इन्जिनियरको समूहले डिजेल/पेट्रोलबाट चल्ने पुराना सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने गरी अनुसन्धान गरिरहेका छन् । यो परीक्षण सफल भए नेपालमा पनि बढी धूवाँ फाल्ने अवस्थामा रहेका पुराना सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गरी वातावरण मैत्री बनाउन सकिने केन्द्रको दाबी छ ।


अहिले नेपालमा धेरै सहरमा सडक बत्ती बाल्नका लागि सोलार उपयोग गरिन्छ । दिनभरि सोलार प्यानल घामबाट चार्ज हुने राति बत्ती बल्ने यो तरिका प्रभावकारी पनि छ । तर समस्या के छ भने सडकका धूलो अड्किएर धेरै सोलार प्यानलहरू चार्ज नहुने अवस्था आइपरेको छ । अग्लो स्थानमा राखिने यस्ता हरेक सोलार प्यानललाई सफा गर्नु पनि चुनौतीपूर्ण काम हो । आविष्कार केन्द्रअन्तर्गत रहेर धरान इन्जिनियरिङ कलेजका तीन विद्यार्थीहरूले स्वचालित रूपमा सडकमा रहेका सोलार प्यानल सफा गर्ने मेसिन तयार पारेका छन् ।


आविष्कार केन्द्रका एक इन्जिनियरले ग्रामीण क्षेत्रलाई लक्षित गरी सस्तो खालको वासिङ मेसिन तयार पारिरहेका छन् । सस्तो मूल्यमा उपलब्ध हुने गरी यसको अनुसन्धान भइरहेको छ । यो परीक्षण सफल भए कम आयस्रोत भएका घरपरिवारका लागि उपयोगी साधन हुनेछ ।

twitter : @bjtimalsina

प्रकाशित : कार्तिक १५, २०७६ ११:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

इन्टरनेटबिना आवाजलाई शब्दमा उतार्ने

कान्तिपुर संवाददाता

गुगलले गत साता सार्वजनिक गरेको फिक्सेल फोर सिरिजका स्मार्टफोनमा प्रयोगकर्ताले नयाँ सुविधा पाउने भएका छन् । पिक्सेल स्मार्टफोनको रेकर्डिङ फिचरले बिना इन्टरनेट बोलेको कुरालाई शब्दमा उतार्ने फिचर समेटेको छ । यो फिचर प्रयोगकर्ताको लागि नयाँ हुने जनाएको छ ।

यो फिचर स्मार्टफोनहरूमा रेकर्डिङ एपमा भएको सुविधाभन्दा फरक हो । केही थर्डपार्टी एपले आवाजलाई शब्दमा उतार्ने सुविधा दिने भए पनि इन्टरनेट आवश्यक पर्छ । पिक्सेलमा भएको रेकर्डरले भने प्रत्यक्ष रूपमा यस्तो सुविधा दिनेछ बिनाइन्टरनेट नै । कसैको आवाज रेकर्ड गर्दा सँगै त्यसको शब्द पनि प्रयोगकर्ताले आफ्नो मोबाइलमा पाउनेछन् ।

प्रकाशित : कार्तिक १, २०७६ ११:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT