पानवालाको सगरमाथा सपना

जनकपुरका रञ्जित सिंह चार वर्षयता वर्षमा एक महिना साइकल यात्रा गरिरहेका छन् । उनी साइकल लिएरै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न चाहन्छन् ।
कुम्भराज राई

गत साता जनकपुरका एक पान व्यापारी युवा काँधमा हिरो साइकल बोकेर सगरमाथा आधारशिविर पुगेपछि एकाएक चर्चित भए । उनी थिए, जनकपुर उपमहानगरपालिका ४ का ३३ वर्षीय रञ्जित साह । पाँच वर्षयता साइकल यात्रा थालेका रञ्जित यसपटक आधारशिविर पुगेका हुन् । उनी वर्षको ११ महिना पान बेच्छन् । बाँकी एक महिना साइकल हााक्छन् ।

पानवालाको सगरमाथा सपना

आधारशिविरमा पाइला रञ्जितको छैटौं साइकल यात्रा हो । यसअघि जनकपुर–पशुपतिनाथ, जनकपुर–हलेसी, जनकपुर–मुक्तिनाथ, जनकपुर–अयोध्या, जनकपुर–पाथीभरा (ताप्लेजुङ) यात्रा गरिसकेका छन् । यसपटक जनकपुरदेखि मन्थली, चरिकोट, कालिञ्चोक, काठमाडौं, खुर्कोट, घुर्मी, ओखलढुंगा हुँदै सोलुखुम्बुको सगरमाथा आधारशिविर पुगेका हुन् ।
जनकपुरका रञ्जितलाई नेपालको झन्डासहित काँधमा हिरो साइकल बोकेर समुद्री सतहबाट ५,६४३ मिटर उचाइस्थित कालापत्थर र ५,३६४ मिटरमा रहेको सगरमाथा आधारशिविर पुग्दासमेत गाह्रो महसुस गर्नुपरेन । उनको नारा हो, ‘तराई, पहाड, हिमाल, हाम्रो मातृभूमि नेपाल, राष्ट्रिय एकता’ । रञ्जितले पर्यटन वर्ष २०२० को बोर्डलाई समेत बोकेर यात्रा गरेका हुन् । अब उनको सबैभन्दा ठूलो सपना साइकल लिएरै सगरमाथा चढ्ने हो ।
उनले सगरमाथा चढ्नकै लागि साइकल गोरक्सेपमा छोडेर जनकपुरसम्मै पैदल फर्किएका छन् । तराई, पहाड र हिमाल एकताको सन्देशसहित विश्वसामु आफूलाई चिनाउने उनको मूल लक्ष्य छ । रञ्जितले हालसम्म कसैबाट नगद लिनु नपरेको बताए । ‘कसैले दिइहालेमा लिनेबित्तिकै कुनै आशक्त, फरक किसिमले योग्य वा वृद्धाश्रममा पैसा थपेर सहयोग गरेको छु,’ उनले भने । ‘म जति सक्छु, आफ्नै पैसाले यात्रा गर्छु,’ रञ्जित भन्छन्, ‘मैले कोहीबाट सहयोग लिएर मेरो यात्रा र उद्देश्य पूरा गर्दिनँ । म सगरमाथा आफ्नै खर्चले चढ्ने तयारीमा छु । त्यसका लागि परिवारको उत्तिकै साथ छ ।’ कतिपयले अहिलेदेखि सगरमाथा चढ्नलाई प्रायोजन गरिदिने भन्न थालेका छन् तर उनले कसैलाई सहमति जनाएका छैनन् ।
बुवा केशरी साह र आमा सरस्वतीका कान्छा छोरा हुन् रञ्जित । दुई भाइ र तीन बहिनीमध्ये दाजुले बिहे गरेपछि अलग्गै बसेका छन् । दिदीको बिहे भइसक्यो । दुई बहिनी पढिरहेका छन् । रञ्जित अविवाहित छन् । उनले कक्षा सातसम्म मात्रै पढेका छन् । साइकल यात्राको प्रेरणा उनले मधेस आन्दोलनबाट पाएको बताए ।
२०७२ साल भदौमा मधेस बन्दका कारण उनले आफ्ना एक साथीलाई बर्दिवाससम्म साइकलमा लिन गएका थिए । साथीको तौल उनको भन्दा दोब्बर थियो । दोब्बर तौलका साथीलाई बर्दिवासबाट साइकलमा जनकपुरसम्म ल्याइदिए । त्यतिबेला साथीहरूले उनको साइकल चलाउने कलाको प्रशंसा गरे । त्यहीबेला उनलाई साइकल यात्रा गर्ने रहर पलायो । त्यसैले कतिपयले मधेस आन्दोलनले जन्माएको साइकल यात्री भन्ने पनि गरेका छन् । आन्दोलनबाट सुरु भएको साइकल यात्रा अब सगरमाथाको शिखरसम्म पुर्‍याउने उनको चाहना छ ।
सगरमाथा आरोहणको अनुमति सरकारले देला वा नदेला भन्ने उनलाई चिन्ता छ । हालसम्म साइकल बोकेरै सगरमाथा शिखरमा कोही पुगेका छैनन् । विश्व साइकल यात्री पुष्कर शाहले समेत सगरमाथाको शिखरमा साइकलको पाङ्ग्रामात्र बोकेर पुर्‍याएका थिए । यदि उनले साइकल लाने अनुमति पाए भने पुर्‍याउन सक्लान् या नसक्लान् भन्ने प्रश्न पनि उब्जिएको छ । रञ्जित भने आफ्नो आत्मबल र शक्ति दुवैका कारण पुर्‍याउन सक्नेमा ढुक्क छन् ।

[email protected]

प्रकाशित : कार्तिक १, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?