‘७०० क्लब’

कान्तिपुर संवाददाता

युरोपयन च्याम्पियनसिप २०२० को छनोटमा सोमबार युक्रेनले पोर्चुगललाई २–१ ले हरायो । त्यसमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ७२ औं मिनेटमा पेनाल्टीमा गरेको गोल सान्त्वनामै सीमित भयो । तर, व्यक्तिगत रूपमा रोनाल्डोका लागि भने त्यो गोलले ठूलै अर्थ राख्छ । यससँगै उनी ‘७ सय क्लब’ मा प्रवेश गरे अर्थात् उनी ७ सय गोल गर्ने छैटौं खेलाडी बने ।

ZenTravel

३४ वर्षीय रोनाल्डोले ९७३ औं खेलमा आएर ७ सय गोलको कोसेढुंगा पार गरेका हुन् । पोर्चुगलका लागि ९५ औं गोल गरेका उनी अन्तर्राष्ट्रिय फुटबलमा इरानका अली दाई (१०९ गोल) लाई पछ्याइरहेका छन् । उनले स्पेनी महारथी रियल म्याड्रिडका लागि ४५० गोल गरेका छन् । करिअर सुरु गरेको पोर्चुगिज क्लब स्पोर्टिङ सीपीका लागि ५ गोल गरेका उनले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा ११८ र इटालियन च्याम्पियन युभेन्ट्समा ३२ गोल गरेका छन् । उनलाई गोलको कीर्तिमानमा अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले चुनौती दिइरहेका छन् ।
विश्व फुटबलमा केही दशकअघिसम्म कसले कति गोल गरे भन्ने यकिन गर्न सकिने अवस्था छैन । तथ्यांक र दाबी गरिएका गोल संख्यामा भिन्नता पाइन्छ । त्यसैले सन् १९७० को दशकसम्मका तथ्यांक विवादित नै छन् । तर, फुटबलको तथ्यांकसम्बन्धी कार्यरत संस्थाहरू जोसेफ बिकानले सबभन्दा धेरै गोल गरेकामा सहमत छन् । चेकोस्लोभाकिया र अस्ट्रियाबाट खेलेका यी फरवार्डले देश र क्लबको लागि औपचारिक खेलहरूमा ८०५ गोल गरेको मानिन्छ । ‘७ सय क्लब’ का सदस्यहरू :

Meroghar

प्रकाशित : कार्तिक १, २०७६ ११:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गाउँको शिक्षण

दाङका सार्वजनिक विद्यालयहरूमा एक संस्थामार्फत हाल १३८ स्वयंसेवी शिक्षक गाउँको शिक्षण स्तर उकास्न सक्रिय छन् । चार युवाका कथा :
दुर्गालाल केसी

पञ्चकन्या गाउँपालिका ३ नुवाकोटकी सीता थापाले भारतको राजीव गान्धी स्वास्थ्य तथा विज्ञान विश्वविद्यालयबाट नर्सिङमा स्नातक गरिन् । पढाइ सकेर केही समय एपोलो अस्पतालमा काम गरिन् । त्यहाँ उनले सामान्य उपचारका लागि पनि धेरै पैसा तिर्दै गरेका बिरामीका आफन्तको अनुहार हेर्थिन् । ‘निकै नमीठो अनुहार लगाएर पैसा निकाल्थे । अनुहारमा दुःख प्रस्टै देखिन्थ्यो,’ उनले भनिन्, ‘त्यसपछि मलाई केही गरौं भन्ने लाग्यो ।’

नेपालमा ‘टिच फर नेपाल’ ले दुर्गम क्षेत्रमा स्वयंसेवी शिक्षकका रूपमा काम गर्न चाहने युवाहरूका लागि आवेदन आह्वान गरेको थाहा पाइन् । उनले अनलाइन फाराम भरिन् । विभिन्न परीक्षामा सफल हुँदै उनी स्वयंसेवी शिक्षक बन्न सफल भइन् । अनि पुगिन् दाङको तुलसीपुर उपमहानगरपालिका २ स्थित बालापुर मावि । उनले विज्ञान पढाउन थालिन् । स्वास्थ्य सेवा गर्ने उद्देश्यले नर्सिङ पढेकी २५ वर्षीया थापा १५ महिनायता शिक्षणमा रमाइरहेकी छन् ।
उनलाई दाइले गाली गरे । ‘उपलब्धिविहीन काममा लागिस् भने । यो कामबाट केही हासिल हुँदैन भने तर म यसैमा रमाएकी छु,’ उनले भनिन्, ‘अब यो काम छोड्ने दिन नआए हुन्थ्यो भन्ने लागेको छ । विद्यार्थी मेरा नजिकका साथी भइसकेका छन् । अब छोड्नै सकिँदैन ।’ टिच फर नेपालले एक जनालाई दुई वर्षका लागि मात्रै स्वयंसेवा गर्न दिने भएकाले उनी स्वयंसेवाबाट टाढिनुपर्ने दिन आउन थालेकामा दुःखी छिन् । यहाँबाट फर्कनुपरे पनि फेरि नर्सिङमै स्नातकोत्तर गरेर पढाउने योजना बनाएको उनले बताइन् ।


उनले विद्यालयको वातावरण नै परिवर्तन गरिदिएकी छन् । सुरुमा बोल्न, नमस्कार गर्न पनि अप्ठेरो मान्ने विद्यार्थी अहिले निकै फूर्तिला भएका छन् । उनी बिहान ६ बजेदेखि विद्यार्थीलाई विद्यालयमा बोलाउँछिन् । विद्यार्थीको ‘हेल्थ एन्ड फिटनेस क्लब’ बनाइदिएकी छिन् । उनीहरू हरेक दिन पालोपालो नाच्ने, बोल्ने, चित्र बनाउने, आत्मरक्षाको सीप सिक्ने, स्वास्थ्यसम्बन्धी जानकारी लिने, बैठक बसेर योजना बनाउने र विभिन्न सकारात्मक सोचसम्बन्धी कलाहरू सिक्ने गर्छन् । बेलुका पनि कमजोर विद्यार्थी जम्मा गरेर अतिरिक्त कक्षा लिन्छिन् ।


उनी दौड, बास्केटबल र खोखो पनि खेल्छिन्, विद्यार्थीलाई सिकाउँछिन् । विद्यार्थीले निःशुल्क कक्षा लिन पाएका छन् । विभिन्न क्षमता विकास गर्न पाएका छन् । बालबालिकाले विद्यालयमा एउटा छुट्टै कोठा पाएका छन् । त्यसलाई उनीहरूले क्लबको कक्ष बनाएका छन् । आफूले तयार पारेका विभिन्न विज्ञान सामग्री, चित्रकला र शैक्षिक सामग्रीले कोठा रंगाएका छन् । कोठालाई उनीहरूले ‘स्माइलिङ जोन’ अर्थात् ‘खुसीको क्षेत्र’ नाम दिएका छन् ।
‘हामी पहिले खुलेर बोल्न सक्दैनथ्यौं । अहिले हरेक क्रियाकलापमा सक्रिय सहभागी भएका छौं । विभिन्न रचनात्मक काममा सहभागी हुन पाएका छौं,’ १० कक्षा अध्ययनरत निशा शर्माले भनिन्, ‘पहिले ७ बजेसम्म सुतिन्थ्यो अहिले बिहान ५ बजे नै उठ्छौं । पढाइका अतिरिक्त अन्य विभिन्न ज्ञान हासिल गर्न पाएका छौं । निःशुल्क ट्युसन पढ्न पाएका छौं ।’ उनीहरू काठमाडौंका विभिन्न प्रतियोगितामा पनि सहभागी भएका छन् । एकले अर्कोलाई हौसला दिन्छन् । ताली बजाउँदा ठूलो आवाज आउने र अरूलाई डिस्टर्ब हुने भएकाले चुट्की बजाउने गरिन्छ ।

काठमाडौं लैनचौरकी आकृति डंगोल पहिलोपटक राजधानी बाहिर निस्किइन् । दाङको ग्रामीण भेगमा पुराना घरमा बास बस्न पुग्दा उनलाई छुट्टै संसारमा पुगे जस्तो लाग्यो । बीबीए सकेर स्वयंसेवी शिक्षणमा दाङ आएकी डंगोल तुलसीपुरको अम्बिकेश्वरी माविमा ६ महिनायता अंग्रेजी पढाइरहेकी छन् । बाल्यकालदेखि काठमाडौंमै बसेकी उनलाई गाउँले जीवन सोचेभन्दा धेरै फरक लाग्यो । पुराना माटाका घर, घरदेखि टाढा चर्पी, मन लागेको किन्न मिल्ने पसलको अभाव, इमेल, इन्टरनेटको पहुँचमा समस्या र भौतिक सुख सुविधाको अभाव । तैपनि उनी गाउँमै निरन्तर खट्न तयार भइन् । ‘भर्‍याङबाट लड्दा छोरी मानेर हेरचाह गर्छन् । काठमाडौंभन्दा धेरै सहयोगी पाएँ । सबैले सम्मान गर्छन्,’ उनले भनिन्, ‘सुरुमा हावापानी, बोली भाषा र रहनसहन शैलीमा निकै अन्तर भयो । तर विद्यार्थीहरूले गाउँमै बस्न प्रेरित गरिरहे ।’ पहिले घरबाट निस्कँदा डराउने बुबाआमा अहिले छोरीको कामबाट प्रभावित भएका छन् । उनले सामुदायिक विद्यालयको अवस्था अलि राम्रै होला भन्ने सोचेकी थिइन् तर त्यहाँ त्यस्तो पाइनन् । ७ कक्षामा पस्दा केही विद्यार्थी राम्रोसँग एबीसीडी जान्दैनथे । वाक्यहरू राम्ररी उच्चारण गर्न जान्दैनथे । उनलाई साह्रै अचम्म लाग्यो । उनले विभिन्न सामानहरू देखाउँदै अंग्रेजी शब्दहरू सिकाइन् । वाक्य बनाउन र बोल्न सिकाइन् । नसक्नेलाई अतिरिक्त कक्षा लिइन् ।


सुरुमा पुराना शिक्षक र अभिभावकलाई कुरा बुझाउन साह्रै कठिन भयो । बेलुका ४ बजेपछि पढाउन थाल्दा छोरी बिग्रन थाली भनेर गाउँभरि हल्ला भयो । केही अभिभावकले त अतिरिक्त कक्षामा पठाउन छोडे । शिक्षकहरूले पनि धेरै माया गरेर पढाउँदा विद्यार्थी बिग्रन्छन्, मात्तिन्छन् भनेर नयाँ शैली अपनाउन कठिन माने । अभिभावकलाई बुझाउन उनीहरू गाउँगाउँ पसे । बुटवलकी मनीषा डुम्रेले बैंङ्लोरबाट नर्सिङमा स्नातक गरिन् । काठमाडौंमा कलेज पढेकी २४ वर्षीया उनले केही समय अस्पतालमा काम गरिन् । १५ महिनायता तुलसीपुर १३ अम्बापुरस्थित अम्बिकेश्वरी माविमा पढाइरहेकी छन् । उनी पनि गाउँमै बस्छिन्, दिनभर विद्यालयमा पढाउँछिन्, साँझबिहान कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा लिन्छिन् ।


तुलसीपुर ६ हात्तीखौवाका २४ वर्षीय सन्तोष लम्सालले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट सूचना प्रविधिमा स्नातक गरे । केही समय काम गरे तर चित्त बुझेन । ग्रामीण भेगमा सूचना प्रविधिको अवस्था, आवश्यकता र सम्भावनाबारे जान्न मन लाग्यो । त्यसैका लागि उनी स्वयंसेवी शिक्षक बनेर आइपुगेका छन् तुलसीपुर २ स्थित बालापुर माविमा । यहाँ उनी गणित पढाइरहेका छन् । ‘मैले जीवन यही सिकिरहेको छु । बालबालिकालाई ज्ञान बाँड्न पाउँदा आनन्दको अनुभूति भएको छ । उनीहरूबाट समाज बुझ्न पाएको छु,’ सन्तोषले १५ महिनायताको अनुभव सुनाए । उनले विद्यालयमा आईटी ल्याब बनाएका छन् । विद्यालय प्रशासनलाई प्रविधिमा जोड्न सघाए ।
स्वयंसेवी शिक्षकहरूले सामान्य निर्वाह भत्ताका रूपमा मावि तहका शिक्षकको आधा तलब पाउँछन् । यसका लागि स्थानीय तह, बैंक र मानिसहरूले सहयोग गर्छन् । हाल सात जिल्लामा १ सय ३८ जना स्वयंसेवी शिक्षकले काम गरिरहेको टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले बताए । सामुदायिक विद्यालयको अवस्था सुधार्न २०७० वैशाखदेखि ३० जना स्वयंसेवी शिक्षकबाट यो अभियानको सुरुवात गरेको हो । एक सय ८१ जनाले शिक्षण पूरा गरिसकेका छन् । ६–६ महिनामा शिक्षक छनोट गरिन्छ । एकपल्ट ७० जनाको स्थानमा १ हजार ६ सयसम्मले आवेदान दिएका थिए ।

durgalalkc@gmail.com

प्रकाशित : कार्तिक १, २०७६ ११:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×