२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

राजधानीमै कटियाको स्वाद

रौतहटमा माटोको भाँडोमा पकाइने खसीको परिकार काठमाडौंमा पनि लोकप्रिय हुन थालेको छ ।
विद्या राई

काठमाडौंमा लोकल र अर्ग्यानिक भनेपछि जोकोही हुरुक्कै हुन्छन् । अझ खानेकुराका परिकारमा सौखिनहरू त लोकल र अर्ग्यानिक भनेपछि खोजीखोजी नै पुग्छन् । रौतहटको कटियाले यतिबेला काठमाडौं सहरमा नयाँ स्वाद थपेको छ । तीनकुनेस्थित गैरीगाउँको लेकाली किचन एन्ड कटिया हाउसले कटियाको स्वादमा मौलिकता र फरकपना दिएको छ ।

राजधानीमै कटियाको स्वाद

‘हामीले रौतहटकै स्वाद दिन स्थानीय स्रोतसाधनलाई प्राथमिकता दिएका छौं, यसकारण स्वादमा नयाँपन र रौतहटकै मौलिकता दिन सकेका छौं,’ कटिया हाउसका सञ्चालक मधुसूदन ढकालले दाबी गरे । यहाँ कटिया बनाउन प्रयोग हुने खसी स्थानीय प्रजातिको छ । पेप्सीकोलाको उदयपुर्या मासु पसलको खोरमा पालिएका स्थानीय जातका खसी सञ्चालक आफैंले छनोट गर्छन् । काट्न र सफा गर्न लगाएर सिंगै खसी कटिया हाउसमा ल्याउँछन् । करिब २० किलो खसीको मासु दैनिक खपत गर्छन् ।
कटिया माटोबाट बनाइएको भाँडो हो । त्यसैमा पकाइने भएकाले मासुको परिकार नै कटिया नामले चिनिएको छ । सुरुमा कटियामा काटेको प्याज, जिराको दाना, लसुनको पोटी, नुन, बेसार र सुकेको खुर्सानी आवश्यकताअनुसार राखिन्छ । भुटेको तोरीको तेलमाथि टुक्रा पारिएको खसीको मासु राखिन्छ ।
एउटा कटियामा ३ सय ग्राम मासु राख्ने बताइन्छ जसमा १२ टुक्रा हुन्छ । त्यसपछि कटियालाई प्लेटले छोपेर कोइलाको रागमाथि राखिन्छ ।
कटिया हाउसमा दाउराबाट बनाइएको कोइला प्रयोग गरिन्छ । कटियामा पकाउँदा मासुलाई बेला–बेला चलाइरहनुपर्छ । पाक्ने बेलामा जिरा, धनियाँ, सुपारी, सुक्मेल, ल्वाङ, तेजपत्ता, जाइफल, जाइपत्री, अलैंची, मरिच, पिप्ला, सोठी, दालचिनी गरी १३ प्रकारका मसलाको धूलो राखिन्छ । कटिया डेढदेखि दुई घण्टासम्ममा तयार हुन्छ । कटियामा प्रयोग हुने मसला रौतहटबाटै ल्याइन्छ । कटिया ग्यास चुलोमा पनि बनाउन सकिन्छ तर कोइलामा पकाएजस्तो स्वादिलो हुँदैन ।
कटिया सेटमा कटिया, भुजा, अचार हुन्छ । प्रतिकटिया ७ सय रुपैयाँ पर्छ । ६ महिनाअघि सुरु भएको कटिया यतिबेला काठमाडौंमा ब्रान्ड नै बनेको छ । सुरुमा दैनिक २५–३० वटा बिक्री हुने गरेको कटिया पछिल्लो समय कम्तीमा पनि ५०–६० वटा बिक्ने गरेको बताउँछन् । शुक्रबार र शनिबार ग्राहकको घुइँचो बढ्छ । अर्का सञ्चालक राज अर्याल भन्छन्, ‘सुरुमा त रौतहटको स्थानीय स्वाद सहरले मन नपराइदेला भनेर डराएका थियौं । अब कटिया बिस्तारै–बिस्तारै सहरको स्वाद बन्दै र बढ्दै छ ।’
कटिया बढी पिरोलाई स्वादिलो मानिन्छ । मौलिक र अर्ग्यानिक स्वाद दिन सकेकै कारण कटिया ग्राहकको रोजाइमा परेको बताउँछन् । ‘हामी रौतहटकै गाउँमा पाइने थरीथरीका मसला प्रयोग गर्छौं, ‘कुक’ उतैबाट ल्याएका छौं,’ मधुसूदनले भने । कटिया रौतहटको स्थानीय परिकार हो । रौतहटको गौर कटियाका लागि प्रसिद्ध मानिन्छ ।
कटिया हाउसले खानाकै माध्यमबाट हिमाल, पहाड र तराईलाई जोड्ने प्रयास गरेको छ । रौतहटको कटिया भनेजस्तै दाङको बदिया (खसी पारिएको भाले कुखुराको मासुको परिकार), मुस्ताङको थकाली खाना, च्याङ्ग्रा सुकुटी र पहाडको कालिजको मासु यहाँका विशेष परिकार हुन् । मधुसूदन र राजसहित पाँच जना युवा मिलेर एक करोड रुपैयाँ लगानीमा कटिया हाउस सञ्चालनमा ल्याएको हो । पछिल्लो समय लगानीअनुसारको प्रतिफल पाउँदै गएको उनीहरू बताउँछन् ।
त्रिभुवन विमानस्थल र चक्रपथले गर्दा कटिया हाउस रहेको स्थान पनि उपयुक्त छ । सञ्चालकहरूका अनुसार नेता, कार्यकर्ता, कलाकार, समाजसेवी सबैखाले र सबै उमेर समूहका ग्राहक कटियाका पारखी भएका छन् । कटिया हाउसमा २ सय जना अट्ने क्षमता छ । पारिवारिक भेटघाट, बैठक, गोप्य कुराकानीका लागि व्यवस्था गरिएका बेग्लै कोठा र क्याबिनमा रहेर कटियाको स्वाद लिन सकिन्छ । ‘थ्री डी पेन्टिङ’ ले सजाइएका भित्ता र क्याम्प फायर गर्न सकिने रुफटपले पनि कटिया हाउसमा कटियाका पारखी बढाएको छ ।

[email protected]

प्रकाशित : कार्तिक १, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?