“वार” को करामत

हेलो शुक्रबार

ऋतिक रोशन र टाइगर श्राफबीच अनेक समानता छन् । दुवै स्टारकिड्स हुन्, गुड लुकिङ छन्, डान्समा पोख्त, एक्सन उस्तै दमदार । टाइगर त फिल्ममा आउनुको प्रेरणाको स्रोत बुबा ज्याकीभन्दा ऋतिकलाई ज्यादा मान्छन् । उनको आइडल नै ऋतिक । यता, ऋतिक पनि टाइगरको ऊर्जा र मेहनतसँग खुब प्रभावित छन् । यी दुई स्टारको क्रेज युवा पुस्ता र बच्चामा अधिक छ ।

“वार” को करामत

उनीहरू एकसाथ स्क्रिनमा देखिन लागेको चर्चा चल्न थालेको धेरै भयो । दुर्भाग्य के भइदियो भने टाइगरको उदय र ऋतिकको व्यक्तिगत जीवनमा उतारचढाव आउनु करिब एकै समयमा बन्यो । पत्नी सुजैन खानसँगको डिभोर्सको घाउमा कंगना रनावतसँगको लफडाले नुनचुक छर्‍यो । फिल्ममा फोकस हुनै पाएनन् । तर अहिले सबथोक बदलिएको छ । ऋतिकका लगातार दुई फिल्म आए, ‘सुपर ३०’ र ‘वार’ ।
‘वार’ चाहिँ त्यही फिल्म हो, जसमा ऋतिक र टाइगर पहिलोपटक सँगै देखिएका छन् । यो फिल्म आउनु नै उनका फ्यानका लागि खुसीको कुरा थियो, त्यसमाथि फिल्मले फ्यानमात्र होइन, बहुसंख्यक समीक्षकको पनि मन जितेको छ । एक्सन–थ्रीलर जनराको यस फिल्मले अढाइ घण्टा बाँध्ने सामर्थ्य राख्छ जोकोहीलाई । यही कारण हुनुपर्छ, बक्सअफिसमा कमाल गरेको । बलिउड व्यापारको आधिकारिक न्युजपोर्टल कोइमोई डटकमका अनुसार फिल्मले सुरुमै भारु ५३ करोड कमायो, एक साता बित्दा २३८ करोड पुग्यो । रफ्तार घटेको छैन । बलिउडका व्यापार विश्लेषक दाबी गरिरहेका छन्, ‘वार’ ले ‘कविर सिंह’ को रेकर्ड तोड्छ । यसको प्रत्यक्ष संकेत हो, ऋतिक र टाइगरको क्रेजलाई ‘वार’ ले थप फराकिलो बनाएको छ । भारु २ सय करोड बजेटको यस फिल्म हिन्दीसँगै तमिल र तेलगु भाषामा समेत रिलिज भयो, जसले कमाइ उकास्न भूमिका खेल्यो ।
‘वार’ का निर्देशक हुन्, सिद्धार्थ आनन्द । उनले यसअघि ऋतिकलाई लिएर ‘ब्याङ ब्याङ’ बनाएका थिए । हिट भए पनि प्रशंसा कमाएन । त्यही अभाव पूर्ति गरिदियो, ‘वार’ ले । वास्तविक जीवनमा झैं फिल्ममा पनि टाइगर (खालिद) को गुरु बनेका छन्, ऋतिक (कविर) । भारतमा आतंक मच्चाउनेलाई सिध्याउने मिसनमा हुन्छन् तर देशभक्त अफिसरको ख्याति बनाएका कविरले एकाएक धोका दिन्छन् । त्यसैले भारतीय खुफिया एजेन्सीबाट कविरलाई मार्ने जिम्मा पाउँछन्, खालिदले । कविरले धोका दिएर किन आफ्नै सहकर्मीलाई मार्दैछन्, खालिद आफ्नो ड्युटी पूरा गर्न सफल होलान् ? यी प्रश्नको जवाफ दिँदै फिल्म अगाडि बढ्छ । यसबीच खुफिया एजेन्सीभित्र हुने धोकेबाजी, स्वार्थको खेल, आतंककारीको सञ्जाल, एजेन्टको मनोविज्ञान र आन्तरिक द्वन्द्वजस्ता विविध पक्षलाई नियाल्न पाइन्छ । घरीघरी चक्मा दिने ट्वीस्ट अनि धमकेदार एक्सन सिक्वेन्सले मन अन्त डुल्नै दिँदैन । यसको एक्सन बलिउडकै लागि बेन्चमार्क मानिएको छ । यसका लागि हलिउड र दक्षिण कोरियाका नामी कोरियोग्राफर ल्याइएको थियो ।
नरेन्द्र मोदी र बीजेपीको लोकप्रियतासँगै बलिउडमा राष्ट्रभक्ति खुब बिकिरहेको छ । ‘उरी ः द सर्जिकल स्ट्राइक’, ‘मिसन मंगल’, ‘बाट्ला हाउस’, ‘भारत’ उदाहरण धेरै छन् । वार पनि राष्ट्रप्रेमले ओतप्रोत छ । त्यसैले यसको लोभलाग्दो व्यापारमा राष्ट्रप्रेमको मनोविज्ञानले पक्कै भूमिका खेलेको छ । तर त्यतिमात्र होइन, विषयवस्तु उठानदेखि त्यसको प्रस्तुतिसम्म रोचक छ । न त निर्देशकमा दुई स्टार लिएपछि फिल्म चलिहाल्छ भन्ने सोच नै देखिन्छ । व्यापार र ऋतिकसँगको सहकार्यका कारण मात्र होइन, अभिनय कुशलताको कोणबाट पनि टाइगरका लागि ‘वार’ सम्झनायोग्य छ । डान्स र एक्सनजस्तै उनको अभिनय पनि खारिएको छ । यसले ‘स्टुडेन्ट अफ द इयर’ को असफलताको चोट मत्थर पारिदिएको छ ।
ऋतिक त सदाझैं छँदैछन् । ‘सुपर ३०’ को गणितज्ञ आनन्द कुमार र वारको कविरबीच किञ्चित समानता छैन । तर दुवै भूमिकामा ऋतिक जीवन्त लाग्छन् । अभिनेतालाई दीर्घजीवी बनाउने गुण यही हो । तर उनको दिल कति ठूलो छ भने टाइगरको प्रशंसा गर्न रत्तिभर कन्जुस्याइँ गर्दैनन् । उनी निर्धक्क भन्छन्, ‘अबको ५० वर्ष टाइगरलाई छुन सक्दैन । उनी अनुशासन र ऊर्जाले भरिएका छन् ।’
ऋतिक–टाइगरको फ्यानलाई फुरुंग बनाउने अर्को खबर छ, निर्देशक सिद्धार्थ आनन्दले ‘वार’ को सिक्वेल बनाउने घोषणा गरेका छन् । यसलाई फ्रेन्चाइजकै रूपमा लैजाने सोच छ उनको ।
फिल्मको अन्त्यमा ऋतिक स्वयंले भनेकै छन्, ‘वार स्टिल अन ।’

[email protected]

प्रकाशित : कार्तिक १, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?