अवसर खोज्दै भाइबर

विजय तिमल्सिना

फेसबुकको आफ्नै च्याट गर्ने एप छ, म्यासेन्जर । फेसबुककै अर्को म्यासेजिङ एप छ, ह्वाट्सएप । फेसबुक स्वामित्वको इन्स्टाग्राममा पनि प्रयोगकर्ताले च्याट गर्न मिल्ने सुविधा छ । अहिले सामान्य स्मार्टफोन प्रयोगकर्ताका लागि च्याट, भिडियो च्याट गर्न धेरै विकल्प छन् । यी विकल्पमा प्रयोगकर्ताले कसलाई रोज्लान् ?

फेसबुकजस्तो धेरै प्रयोगकर्ताको पहुँच भएको सेवालाई प्रयोगकर्ताले रोज्लान् वा भाइबरजस्तो विशुद्ध म्यासेजिङ एपलाई प्रयोग गर्न रुचाउलान् ? यो प्रश्नको उत्तर खोज्नु नै भााइबरजस्ता कम्पनीका लागि चुनौती हो । भाइबरका प्रमुख कार्यकारी अधिकृत जमैल अगाउवा भने सहजै जवाफ दिन्छन्, ‘अन्य देशमा एक जना प्रयोगकर्ताले औसत ३ वटा म्यासेजिङएप प्रयोग गर्छन् तर दक्षिण एसियाली प्रयोगकर्ता भने औसत ५ वटा एप चलाउँछन् । प्रयोगकर्ताको रोजाइमा हामी पनि पर्छौं ।’
उनका अनुसार फेसबुकजस्ता ठूला कम्पनीका प्रयोगकर्ता भए पनि भाइबरजस्ता म्यासेजिङएपका आफ्नै विशेषता छन्, जसलाई प्रयोगकर्ताले छाड्न चाहन्नन् । भाइबरको सबैभन्दा ठूलो विशेषता के हो ? प्रमुख कार्यकारी अधिकृत जमैल भाइबर अन्य एपको तुलनामा सबैभन्दा छिटो भएको दाबी गर्छन् । व्यक्तिगत रूपमा भाइबरबारे उनलाई मन पर्ने विशेषता पनि यही हो ।
यसबाहेक भाइबरको अर्को विशेषता गोपनीयता भएको जमैलको दाबी छ । भाइबरले डिफल्ट रूपमै आफ्नो एपमा इन्ड टु इन्ड इन्स्क्रिप्सन राखेको छ, जसका कारण एक प्रयोगकर्ताले पठाएको म्यासेज अर्को डिभाइसमा नभई बीचमा कसैले पढ्न वा ह्याक गर्न नसक्ने उनको दाबी छ । भाइबरले इन्स्क्रिप्सनलाई डिफल्ट बनाएको भए पनि चलनचल्तीमा रहेका अन्य धेरै एपले यो फिचर प्रयोगका लागि विकल्प छाडेका छन् । त्यसैले पनि भाइबर अन्य एपको तुलनामा फरक रहेको दाबी जमैलको छ ।
सामान्य प्रयोगकर्ताका लागि भाइबर म्यासेज गर्ने एप मात्रै हो । कर्पोरेट हाउस वा कम्पनीका लागि भने भाइबर व्यवसाय साझेदार पनि हो । नेपालमा पनि भाइबरले केही कर्पोरेट हाउससँग सहकार्य गरिरहेको छ । नेपालमा भाइबर बैंकिङ होस् वा कर्पोरेट हाउससँग ‘भाइबर कम्युनिटी’ निर्माणको साझेदारी भाइबरले यसलाई व्यावसायिक रूप दिने प्रयास जारी राखेको छ । ‘यस्ता व्यावसायिक सहकार्यले प्रयोगकर्तासँग पैसा नलिई पनि कम्पनी सञ्चालनमा सहयोग पुग्छ,’ जमैल भन्छन्, ‘आखिर अहिले पैसा तिरेर च्याट गर भन्दा कसले गर्छ र ?’
भाइबरले धेरै जनसंख्या भएको अन्य देशको तुलनामा नेपालमा किन आफ्नो बजार र प्रभाव विस्तारका लागि ध्यान दिइरहेको छ ? ‘नेपालजस्तो धेरै वैदेशिक रोजगारीमा जाने श्रमिक भएको देशका लागि भाइबर आफ्नो घरजस्तो हो,’ जमैल भन्छन्, ‘यसले नेपालमा रहेका र बाहिर रहेका मानिसबीच सम्पर्क स्थापित गराउन भूमिका खेलेको छ ।’
भाइबरले आफ्नो प्रयोगकर्तालाई ध्यानमा राखे पनि आम्दानीका लागि भने नयाँ बिजनेस मोडल स्थापित गरिरहेको जमैलको तर्क छ । ‘तर भाइबर प्रयोगकर्तामै केन्द्रित हुन्छ,’ उनी भन्छन्, ‘हामी कर्पोरेट हाउससँग व्यावसायिक रूपमा काम गरेर आम्दानीको मोडेल पहिल्याउँदै छौं ।’ यही प्रयासको परिणामस्वरूप भाइबर यो वर्षदेखि आफ्नो खर्च धान्न सक्ने गरी सक्षम भएको उनको दाबी छ । ‘हाम्रो आम्दानीको करिब आधा हिस्सा कर्पोरेटसँगको साझेदारीमार्फत आउँछ,’ उनले भने, ‘हामीले बनाएको कम्युनिटीबाट पनि ब्रान्ड र सेलेब्रिटीले धेरै मानिससँग सञ्चार गर्न सक्छन् ।’ संसारभरका टेलिकम कम्पनीहरूले इन्टरनेटमार्फत् निःशुल्क कल र म्यासेजको सुविधा दिने भाइबरजस्ता एपले आफ्नो आम्दानी घटाएको आरोप लगाइरहेका छन् । टेलिकम कम्पनीबाट सोझै कल गर्दा सञ्चार सम्पर्क महँगो हुने भएकाले प्रयोगकर्ताले भाइबरजस्ता एपलाई रोजेको उनको बुझाइ छ । ‘तर हामी टेलिकम कम्पनीका दुश्मन होइनौं,’ उनी भन्छन्, ‘धेरै टेलिकम सेवा प्रदायक हामीसँग सहकार्य गर्न चाहन्छन् ।’

twitter : @bjtimalsina

प्रकाशित : कार्तिक १, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

समूहकै वर्चस्व

नेपाली फिल्ममा केही वर्षयता ॅटिम–वर्क’ मा काम गर्नेहरू हाबी भइरहेका छन् । बजारमा पनि उनीहरूकै फिल्मले बढी व्यापार गरिरहेको छ ।
सुशील पौडेल

२०६८ साल पुसमा एउटा फिल्म रिलिज हुँदै थियो । कलाकारदेखि निर्देशक सबै नयाँ थिए । हिरोवाद हाबी भइरहेको त्यस समय नयाँ टिमको कामप्रति कमैको चासो थियो । आखिर नपत्याउने खोलाले बगायो । फिल्म थियो– लुट । त्यही फिल्मबाट कसैले वास्ता नगरेका सौगात मल्ल, दयाहाङ राईजस्ता कलाकार रातारात हिट भए । भर्खरै फिल्म कलेज पढेर आएका अल्लारे ठिटो निश्चल बस्नेत एकाएक सेलेब्रिटी निर्देशक बने । सानो बजेटमा नयाँ टिमले बनाएको लुट किन चल्यो ? धेरैले धेरै अर्थ लगाए ।

निश्चल लुट चल्नुको पहिलो श्रेय टिमलाई दिन्छन् । भन्छन्, ‘त्यो टिमअप नभएको भए लुट त्यत्तिको बन्दैनथ्यो ।’ उनले टिमका सबै सदस्यको व्यक्तिगत प्रयासकै उपज फिल्म गतिलो बनेको जिकिर गर्दै थपे, ‘निर्देशकका रूपमा त मैले सबैलाई चेक एन्ड ब्यालेन्स मात्रै गरेको हुँ ।’ तिनै निश्चल ठीक पाँच वर्षपछि सोही टिमसहित लुटको सिक्वेलसहित देखापरे । तर पनि फिल्म अपेक्षाकृत बन्न सकेन । चल्न सकेन । किन त ? निश्चल समीक्षात्मक बने, ‘सबैले फिल्म बनाउँदा टिमअप त गर्छन् नै । तर कस्तो टिम भन्ने कुराले फरक पार्दो रहेछ । त्यही टिम भए पनि हाम्रो काम लुटको बेलाजस्तो भएन । राम्रो फिल्म बन्न टिमको एक्स्ट्रा इफोर्टले अर्थ राख्दो रहेछ ।’ सिक्वेल बनाउँदा पैसादेखि चर्चा सबै भए पनि टिम सदस्यसँग राम्रो तयारीका लागि पर्याप्त समय नपाएको उनको गुनासो छ ।
‘लुट’ को सफलतापछि धेरै फिल्मकर्मीले त्यस्तै फिल्म बनाउन कोसिस गरे । छाडा संवाद हाबी त्यस्ता फिल्म चल्ने कुरै थिएन । चलेनन् । फेरि उनै निश्चलले नयाँ टिम बनाएर अर्को फिल्म ल्याए, ‘कबड्डी’ । निश्चल निर्माणमा बसे । रामबाबु गुरुङले निर्देशनको बागडोर सम्हाले । निश्चलले ‘कबड्डी’ को निर्माणमा टिमलाई समेत हिस्सेदार बनाए ।


सबैमा फिल्मप्रतिको अपनत्वले ‘कबड्डी’ लाई राम्रो बनायो । हिमाली भेगको थकाली समुदायको कथालाई मेनस्ट्रिम फिल्मका दर्शकले पनि रुचाइदिए । ‘एउटा राम्रो फिल्म बनाउन टिम चाहिन्छ । टिममा पैसाभन्दा सोचले बढी महत्त्व राख्छ,’ रामबाबु भन्छन्, ‘फिल्म देख्ने आँखाहरूबीचको तारतम्य मिल्नैपर्छ । सोच मिलेन भने टिम भए पनि फुट्छ ।’ टेलिभिजनको पर्दामा कमेडी सिरियल छ्यापछ्याप्ती थिए । चलेकै थिए । ‘तीतो सत्य’ का दीपकराज गिरीले फिल्म बनाउने भए । उनले फिल्म मात्रै बनाएनन्, त्यसताक पानी बाराबारको स्थितिमा रहेका हास्य कलाकारलाई एक ठाउँमा ल्याएर आफ्नै टिम पनि बनाए । छ वर्षअघि ‘छ एकान छ’ बनाएको उक्त टिमले अनवरत बर्सेनि फिल्महरू बनाइरहेको छ । सफलता चाख्दै आएको छ । दीपकको समूहको फिल्म चल्नुलाई धेरैले कमेडी रुचाइएको अड्कल काट्दै यस्तै प्रकृतिका फिल्म बनाउने लहड यतिबेला चलिरहेको छ । रामबाबु भने कमेडी चल्यो भन्ने बुझाइ गलत मान्छन् । भन्छन्, ‘कमेडी फिल्म मात्रै चलेको पनि हैन र कमेडी नभएको फिल्म चल्दै नचलेको पनि हैन ।’ दीपकराज आफ्ना फिल्म चल्नुको कडी टिमलाई नै दिन्छन् । ‘पहिलो कडी हाम्रो टिमवर्क नै हो’ दीपकले टिमकै कारण पटकथा र संवाद चुस्त र दर्शकअनुकूल बनाउन सकिएको ठान्छन् । राम्रो फिल्म बनाउने चक्करमा कला थोपर्नुमा पनि दोष देख्ने दीपक कला र मनोरञ्जनको सही तालमेल मिलाउन सकेमा मात्रै दर्शकले रुचाउने धारणा राख्छन् ।


‘हाम्रोमा समूहगत मिहिनेत छ । एक जना क्याप्टेन भए पनि उसलाई मात्रै सबै कुरा निर्णय गर्ने अधिकार हुँदैन । सल्लाह गर्दै फिल्म बनाउँछौं । झगडा गर्छौं, मुख रातो पनि बनाउँछौं तर प्रेमपूर्वक,’ उनले टिममा हरेक सदस्यको भूमिका महत्त्वपूर्ण रहेको जिकिर गर्दै थपे, ‘हाम्रो टिममा कमेडीको पाटो माग्ने बूढा (केदार घिमिरे) को काँधमा छ । पटकथा मेरो, प्राविधिक पाटो दीपा (निरौला) जी र जितु नेपाल जी सबै पाटोमा काम गर्नुहुन्छ ।’
निर्देशनमा ठूलो आशा देखाएका भए पनि निश्चलले तीन वर्षयता फिल्म निर्देशन गर्न सकेका छैनन् । गतिलो टिमअप हुन नसकेकैले फिल्म बनाइहाल्न आँट्न नसकेको स्वयं निश्चल स्विकार्छन् । यतिबेला उनीसँग न ‘लुट’ को टिम छ, न त ‘कबड्डी’ मा नै उनी छन् । ‘सुरुमा जुन टिम बनाएर काम गरियो, सफल पनि भयौं । त्यसपछि सबैजना आ–आफ्नो काममा गए । त्यसपछि अर्को नयाँ टिममा जोडिएर काम गरें । उहाँहरू पनि स्थापित हुनुभयो । फेरि आ–आफ्ना काममा लाग्नुभयो ।
मैले समूह फेरिरहेको छु, टिमवर्क त्यही खोजिरहेको छु,’ निश्चलले सुनाए ।
निश्चल फिल्म राम्रो बन्न निर्देशकको सोचअनुरूप चल्न सक्ने टिमको खाँचो देख्छन् । भन्छन्, ‘खासमा निर्देशकले फिल्म सोच्ने हो । तर उसको सोचअनुसार हरेक पक्षका अरू सदस्यले काम गर्नुपर्छ । त्यसका लागि अरू सदस्य अब्बल हुनुपर्छ । निर्देशकले आफ्नो सोचअनुरूप हरेकबाट काम आएको छ वा छैन हेर्छ । यही प्रक्रियाबाट बनेका फिल्म राम्रो हुन्छ ।’
उनले फिल्म संघर्षको चरणमा नै राम्रो बन्ने गरेका सुनाउँछन् । उनले त्यो बेला फिल्मभन्दा बाहेक अरूमा ध्यान नहुने तर स्थापित हुँदै जान थालेपछि बिजनेस गर्न थाल्ने टिप्पणी गरे । ‘अहिले हामी फिल्म बनाएर बिजनेस गरिरहेका छौं । मैले बनाएको फिल्मले यति बिजनेस त गर्नैपर्छ भन्ने सोच आइसक्यो । हामी व्यापारी भइसक्यौं । अहिले प्राय: चलेका फिल्मका निर्देशक नै निर्माता छन्,’ उनले ‘लुट २’ को अनुभवसमेत जोडेर भने, ‘म स्क्रिप्ट फाइनल भइसकेपछि टिमका सबैसँग बसेर त्यसको विश्लेषण गर्ने गर्छु । तर त्यो मौका ‘लुट २’ मा पाइनँ । उत्तरपुस्तिकामा नै गलत लेखिएको छ भने नतिजा राम्रो आउनेवाला त छैन । पाइला नै गलत चालिसकेपछि सही गन्तव्यमा पुगिन्छ भन्ने आशा गर्नु नै बेकार हो ।’
रामबाबुलाई अहिलेका अधिकांश दर्शकले ब्रान्ड र टिम हेर्न थालेको मान्छन् । भन्छन्, ‘यो टिमले बनाएको वा ब्यानरले बनाएको, यो कलाकार भएको फिल्म हेर्न लायक हुन्छ भन्ने सोच दर्शकमा आउन थालेको छ ।’ दीपक टिमवर्क गतिलो भएमा गतिलो पटकथामा गतिलो काम हुने र राम्रो फिल्म बन्ने ठान्दै भन्छन्, ‘कसैले मीठो भात पकाएको छ भने हामी केवल कुन चामल हो भनेर मात्रै दौडिने कि त्यसलाई कसरी पकाएर मीठो भएको होला भनेर पाककलातर्फ पनि ध्यान दिने ?’


दीपकराज समूह


छ एकान छ ( सन् २०१४)
निर्देशन : दीनेश डिसी
निर्माता, पटकथा : दीपकराज गिरी
कलाकार : दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे
वडा नं. ६ (२०१५)
निर्देशन : उज्ज्वल घिमिरे
निर्माता, पटकथा : दीपकराज गिरी
कलाकार : दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे
छक्का पन्जा सिरिज (२०१६, ०१७, ०१८)
निर्माता : दीपकराज गिरी
निर्देशन : दीपाश्री निरौला
कलाकार : दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे
छ माया छपक्कै (२०१९)
निर्माता, पटकथा : दीपकराज गिरी
निर्देशन : दीपेन्द्र लामा
कलाकार : दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी


निश्चल समूह


लुट सिरिज (२०१२ र ०१५)
निर्देशन, पटकथा : निश्चल बस्नेत
कलाकार : सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा

कबड्डी (२०१४)
निर्देशन : रामबाबु गुरुङ
निर्माता, कलाकार : निश्चल बस्नेत
कलाकार : दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ

टलकजंग भर्सेस टुल्के (२०१४)
निर्देशन : निश्चल बस्नेत
पटकथा : निश्चल बस्नेत र खगेन्द्र लामिछाने
कलाकार : खगेन्द्र लामिछाने, दयाहाङ राई, ऋचा शर्मा

रामबाबु समूह


कबड्डी सिरिज (२०१३, ०१५, ०१९)
निर्देशन, पटकथा : रामबाबु गुरुङ
कलाकार : दयाहाङ राई, माओत्से गुरुङ, मेनुका प्रधान, प्रियंका कार्की

पुरानो डुंगा (२०१६)
निर्देशन, पटकथा : रामबाबु गुरुङ
कलाकार : दयाहाङ राई, माओत्से गुरुङ, मेनुका प्रधान, प्रियंका कार्की

साइँली (२०१९)
निर्देशन, पटकथा : रामबाबु गुरुङ
कलाकार : दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान, माओत्से गुरुङ

प्रकाशित : कार्तिक १, २०७६ ११:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्