कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वर्गभूमि खप्तड

प्रदेश ७
चित्रांग थापा

 
जीवनमा एकपटक पुग्नै पर्ने ठाउँ रहेछ– खप्तड  । पहिलोपटक सुदूरको एकान्त कुनामा रहेको भूस्वर्गको उपमा पाएको खप्तड पुगेर फर्कने जो कोहीले पनि भन्ने गर्छन्  ।

स्वर्गभूमि खप्तड

खप्तडको पाटनमा पाइला टेक्नेबित्तिकै यहाँको प्राकृतिक सौन्दर्यबाट मन्त्रमुग्ध हुन्छन् । बाटोको कष्टप्रद यात्रालाई पनि मनोरम दृश्यले भुलाइदिन्छ । चारैतिर हरियाली रहेको पाटनमा छिनछिनमै कुहिरोको घुम्टोमा लुक्ने खप्तडको घुमघामलाई ‘मौका मिले फेरि आउने’ भन्दै पर्यटक फर्कने गर्छन् ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड वास्तवमै अलौकिक र अनुपम लाग्छ । सुदूरका तीन पहाडी जिल्ला डोटी, बझाङ र अछामको भूभाग छुने खप्तड समुद्री सतहबाट २,४०० देखि ३,७०० मिटरसम्म फैलिएको छ । जैविक विविधताले भरिपूर्ण यस क्षेत्रको संरक्षण खप्तड राष्ट्रिय निकुञ्जले गर्छ ।
खप्तडका २२ पाटन हिउँदे याममा हिउँले पुरिएका हुन्छन् भने अन्य मौसममा फूलले ढकमक्क देखिन्छन् । ४ रैथानेसहित १३५ किसिमका फूल फुल्छन् । गुराँसमात्रै १४ प्रकारका पाइन्छन् । रंगीविरंगी फूल ढाकिने विशाल चौरलाई पाटन भनिन्छ । खप्तड पुग्दाको थकाइ यिनै पाटनमा टहल्दा मेटिँदै जान्छ । यहाँ नौलो जोस, ऊर्जा र कौतुहलता जाग्न थाल्छ । यहाँ साना–ठूला गरी ५३ ताल रहेका छन् । विभिन्न किसिमका २२४ प्रजातिका वनस्पति पाइन्छन् ।
एकान्तप्रेमीका लागि खप्तड जति रमाइलो छ, त्यत्तिकै वन्यजन्तु, वनस्पति र दुर्लभ जडीबुटीमा शोध गर्नेहरूका लागि विश्वविद्यालयजस्तै हो । नेपालमा पाइने ७ सय जडीबुटीमध्ये यहाँ २२४ थरीको पाइने अनुसन्धानले देखाएको छ । खप्तडमा करिब १२० प्रजातिका पुतली छन् । यहाँ पर्याप्त अनुसन्धान बाँकी नै छ ।
धार्मिक दृष्टिकोणले पनि खप्तड महत्त्वपूर्ण छ । जेठमा लाग्ने गंगा दसहरा मेलामा विभिन्न जिल्लामात्र होइन, विदेशबाट तीर्थालु आउँछन् । ५० वर्षसम्म खप्तड बाबाका नामले प्रसिद्ध स्वामी सच्चितानन्द सरस्वतीले ध्यान गरेको क्षेत्र हो यो । उनको कुटीको बेग्लै आकर्षण छ । यहाँका खप्तड बाबा कुटी, सहस्रलिंग, सिद्धिविनायक, नागढुंगा, केदारढुंगा, खप्तड दह, जगन्नाथ मन्दिर र त्रिवेणीधाम पर्यटकीय आकर्षण हुन् । खप्तडका प्रायः सबै ठाउँबाट साइपाल, अपी, गुर्लामान्धाता, मडुग्रा, इंगलद्वारलगायत हिमालहरू देखिन्छन् । बझाङको बाटोबाट खप्तड पुग्नुअघि नै मनमोहक हिमाली दृश्यले थकाइ मेटिदिन्छ ।
खप्तडका लागि सुदूरपश्चिम बाहिरकाले ५–७ दिनको प्याकेज बनाउनुपर्छ । धनगढीबाट डोटी, खप्तड हुँदै बझाङ वा बझाङबाट खप्तड हुँदै डोटी झर्न सकिन्छ । डोटीबाट यात्रा गर्न चाहनेहरूले खप्तडको फेदी झिग्रानासम्म गाडी र त्यसपछि पैदल वा घोडाको सहयोगमा खप्तड पुग्न सकिन्छ । यस बेला यात्रा गर्ने हो भने कच्ची सडक वर्षाले बिगारेकाले डोटीदेखि खप्तडसम्म धेरै ठाउँमा पैदल हिँड्नुपर्छ । पहिला नै बाटोमा बास, खानपान, औषधि र मौसम बुझेर यात्रा गर्नु उत्तम हुन्छ ।


अरु ५ गन्तव्य
शुक्लाफाँटा
पश्चिम तराईको यो निकुञ्ज क्षेत्रफलका हिसाबले सानो भए पनि बाघ र बाह्रसिंगाको घना बासस्थानका कारण प्रसिद्ध छ ।
कैलाली–कञ्चनपुर
राना थारु कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको, जहाँ उनीहरुको जीवनशैली र संस्कृति रोचक लाग्न सक्छ ।
भादा–भीमदत्त
कैलालीको भादा र कञ्चनपुरको भीमदत्त नगरपालिकाको होमस्टेमा रहेर डगौरा थारुको संस्कृति नजिकबाट नियाल्न सकिन्छ ।
टीकापुर
यहाँको पार्क, कर्णाली पुल र चिसापानीमा पाइने विभिन्न माछाका परिकार आकर्षक लाग्न सक्छ ।
चाँदनी–दोधारा पुल
चाँदनी–दोधारा जोड्ने झोलुंगे पुल घुम्ने आन्तरिक पर्यटक बढिरहेका छन् ।

[email protected]

प्रकाशित : आश्विन १०, २०७६ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?