राराको रूप

प्रदेश ६
राजबहादुर शाही

 
कर्णाली प्रदेशको मात्रै होइन, देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्छ, रारा ताल  । राराको रूप र सौन्दर्यको बखान नगर्ने को नै भेटिएका छन् र ? राजा महेन्द्रदेखि मुगुको जंगलभित्र रहेको ताल पुग्ने सबैले यस तालको सुन्दरताको मुक्तकण्ठले प्रशंसा गरेका छन्  ।

राराको रूप

यो ताल हेर्दै आनन्द लाग्छ । मन फुरुङ्गै पार्छ । जति हेरे पनि कम लाग्छ । यहाँबाट फर्किंदा मन खिन्न बनाउनुपर्ने हुन्छ ।
रारा ताल पुग्नका लागि हवाई र कर्णाली राजमार्ग छन् । नेपालगन्जदेखि जहाजमार्फत रारा विमानस्थल ओर्लेर तालसम्मै पुग्न गाडीमा आधा घण्टा र पैदल हिँडेर दुई घण्टा लाग्छ । काठमाडौंबाट नेपालगन्ज हुँदै गाडी वा बाइकबाट रारा पुग्न सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, नाग्मा सिञ्जाको मुटु चिढ्याउने बाटो छिचोल्नै रारा पुग्न तीन दिन लाग्छ ।
रातो मार्सी धानको भात, मास र सिमीको दाल, आलुको तरकारी मह, कोदो, गहुँको रोटी र फापरको विभिन्न परिकारले मुगु, जुम्लाको स्थानीय स्वाद दिन्छ । स्थानीय रूपमा उत्पादन हुने अन्न बाली नै पर्यटकलाई खुवाइरहेको भिलेज होटल रिसोर्टका व्यवस्थापक दीपक रावतले बताए । कागुनोको भात, खिरको स्वाद भिन्न अनुभव हुन सक्छ । कोदो र फापरको रोटीमा महको अचारले जिब्रो नै रसिलो बनाउँछ । रारा आउनले सिमी, स्याउ, मह कोसेली बोक्ने गर्छन् । चियामा हाल्ने यहाँको जडीबुटी पनि स्वादिलो हुन्छ । सिमी र मह बाह्रै महिना पाइन्छन् ।
रारा ताल समुद्री सतहदेखि २,९९० मिटरको उचाइमा पर्दछ । गहिराइ १६७ मिटर रहेको तालको १०.८ वर्ग किलोमिटरमा फैलिएको छ । विसं २०३२ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुञ्जभित्र रहेको यस तालमा तीन प्रकारका असला माछा, २२४ किसिमका वनस्पति, २७२ प्रजातिका चरा पाइन्छन् । ५१ प्रजातिका स्तनधारी, रातो पान्डा तथा गुच्ची च्याउ, पाँचऔंले कटुकीलगायतका जडीबुटीले पनि यस क्षेत्रको महत्त्व बढाएको छ ।
मुर्मा डाँडाबाट पूरा रारा हेर्न सकिन्छ । समयअनुसार फेरिने राराङको रङ आकर्षक हुन्छ । जुम्लाको नाग्मा र खलंगादेखि तालसम्म हुने रारा म्याराथन, मुर्मा डाँडाबाट मिलीचौरसम्म उडाइने प्याराग्लाइडिङले पनि यहाँ रोमाञ्च थपेको छ । यहाँ सात वटा बढी मठ–मन्दिर पनि छन् । यहाँ दुई वटामात्रै होटल भएकाले पर्यटकलाई तालनजिक बस्न समस्या हुन सक्छ । माझघट्टमा एक होमस्टे पनि छ ।


अरु ५ गन्तव्य
पताल झरना
कालीकोटको सदरमुकाम मान्मबाट एक दिनमा पुगिने यो झरना ३६४ मिटर अग्लो रहेको छ ।
सिञ्जा
जुम्ला जिल्लास्थित सिञ्जा खस भाषाको उद्गम स्थल हो र यस उपत्यका सांस्कृतिक विविधताले भरिपूर्ण छ ।
खार्पुनाथ त्रिवेणी
हुम्लामा पर्ने यस स्थानलाई शिवालय अवलोकनसँगै रोलिङ गुम्बा, चाङ्ला हिमाल पञ्चमुखीले पनि आकर्षक बनाएको छ ।
से–फोक्सुन्डो
डोल्पाको जुफाल विमानस्थलबाट करिब डेढ दिनमा पुगिने यो तालले नलोभ्याउने व्यक्ति सायदै भेटिँदैन ।
काँक्रे विहार
कर्णाली प्रदेशको राजधानीमा रहेको काँक्रे विहार ऐतिहासिक र पुरातात्विक हिसाबले नेपालको इतिहासमा निकै महत्वपूर्ण रहेको छ ।

[email protected]

प्रकाशित : आश्विन १०, २०७६ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?