शान्ति यात्रा

प्रदेश ५
दीपेन्द्र बडुवाल

 लुम्बिनीलाई विश्व शान्तिको मुहान मानिन्छ  । यहाँको बौद्ध धर्मावलम्बीका साथै स्वदेश र विदेशबाट वार्षिक लाखौं पर्यटक आउँछन्  ।

मुख्य आकर्षण मायादेवी मन्दिर र सम्राट अशोकले बनाएको अशोक स्तम्भ हुन् ।
मन्दिर परिसरभित्र बुद्धजन्म स्मारक शिला, मायादेवी मूर्ति, पुष्करणी पोखरी र स्तूपहरू रहेका छन् । लुम्बिनीलाई सबैको आस्था र धरोहरको केन्द्र बनाउन जापानी वास्तुकलाविद् केन्जो टाँगेले गुरुयोजना बनाएका थिए । यस गुरुयोजनाले ३ वर्ग माइल क्षेत्रफल ओगटेको छ । यसलाई प्रत्येक एक वर्ग माइलका ३ क्षेत्रमा विभाजन (पवित्र उद्यान, विहार क्षेत्र र नयाँ लुम्बिनी ग्राम) गरी पैदल बाटो र केन्द्रीय नहरले जोडेको छ ।
मुख्य आकर्षण दक्षिण भागमा अवस्थित पवित्र उद्यान हो, जहाँ मन्दिर रहेको छ । बगैंचा र सुन्दर पोखरीले यस क्षेत्रलाई मनमोहक र चित्ताकर्षक बनाएको छ । पूर्वी विहार क्षेत्रमा थेरबादी र पश्चिमतर्फ महायानी सम्प्रदायका लागि छुट्याइएको छ । उत्तरतर्फ नयाँ लुम्बिनी ग्राम बनिरहेको छ ।
लुम्बिनी विविधायुक्त बौद्ध संस्कृतिको सानो संसार हो । अर्थात् मिनी बौद्ध वर्ल्ड । सानो विश्वका मन्दिर विहार र गुम्बाका बनावट, कलाशैली उत्तिकै आकर्षक छन् । कुँदिएका कलाकृतिका शैली, परम्पराले उमंगित र रोमाञ्चित पार्छ । मन्दिरमा विविधतायुक्त कला र संस्कृति देखिन्छ । लुम्बिनी गएर मन्दिर विहार अवलोकन गरे विश्वका विभिन्न मुलुक घुमेको भान हुन्छ ।
पश्चिमतर्फ जर्मनीको द ग्रेट लोटस स्तूपा निकै आकर्षक छ । सरसफाइ, हरियाली र रंगीचंगी फूलले यहाँको वातावरणलाई मनमोहक बनाउँछ । यहाँ बुद्धको जीवनलाई मूर्तिमार्फत गर्भ प्रवेशदेखि महापरिनिर्वाणसम्म देखाइएको छ । युनाइटेड टुङ्ग्राम विहार, चीनको आफ्नै शैलीको जोङहुवा गुम्बा, भियतनामी विहार पनि आकर्षक छन् । गुम्बा, विहारमा बौद्ध चित्रहरूले पनि उत्तिकै मोहित पार्छ । अस्ट्रिया, फ्रान्स, दक्षिण कोरिया, जापान, क्यानडा र सिंगापुर, श्रीलंका, थाइल्यान्डद्वारा निर्मित विहार, मन्दिर मन छुने खालका छन् । चारैतर्फ प्रवेशद्वारमा दायाँबायाँ सुन्दरसुन्दरीको चित्र रहेको कम्बोडियाको मन्दिर र म्यानमारको गोल्डेन टेम्पलले आगन्तुकलाई निकै रोमाञ्चित पार्छ ।
लुम्बिनीमा सामान्यदेखि तारे होटलसम्म गरी ८० बढी छन्, जसमा १ हजार ५ सय कोठा छन् । यहाँ दैनिक ३ हजार बस्न सक्छन् । दसैंलक्षित गरी २ रात ३ दिनको लुम्बिनी–कपिलवस्तु प्याकेज पनि ल्याइएको छ ।


अरु ५ गन्तव्य
तिलौराकोट
राजकुमार सिद्धार्थले २९ वर्ष बिताएको शाक्यवंशीय राजधानीमा हरियाली र सुन्दर बगैंचासँगै ३ हजार वर्षअघिको दरबारको भग्नावशेष हेर्न सकिन्छ ।
रामग्राम
बुद्धको अस्तु रहेको विश्वास गरिने यो पुरातात्विक क्षेत्र पश्चिम नवलपरासीमा पर्दछ ।
स्वर्गद्वारी
यस प्राचीन मन्दिरलाई धार्मिकसँगै प्राकृतिक सौन्दर्यको संगम मानिन्छ र यहाँ परापूर्व कालमा ऋषिहरु र भगवान् ब्रह्माले तपस्या गरेको जनश्रुति रहेको छ ।
रानीमहल
कालीगण्डकी किनारमा रहेको रानीमहललाई प्रेमको प्रतीक मानिन्छ र यसको ऐतिहासिक महत्व रहेको छ ।
बर्दिया
बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघसँगै, गैंडा, हात्तीलगायत वन्यजन्तु, थुप्रै प्रजातिका पन्छी देख्न पाइन्छ ।

baduwal.dipp@gmail.com

प्रकाशित : आश्विन १०, २०७६ १२:१७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गर्मी छल्न पहाड

दीपेन्द्र बडुवाल

 सामाजिक सञ्जालमा खुबै चलेको छ ‘गर्मी से बेहाल, चलो नेपाल’  । यो भारतीयलाई लक्षित छ  ।

गर्मीको असर भारतमा मात्र छ त ? पक्कै छैन । हाम्रै तराईमा पनि गर्मीले आहात पारेको छ । जनजीवन प्रभावित छ । पंखाले धान्न छाडेको छ । यतिबेला जरूरीबाहेक कामले यहाँ कोही यात्रा गर्न मान्दैनन् । दिउँसो तातो हावा चल्ने भएकाले सर्वसाधारणको दैनिकी घरभित्र समेटिएको छ । उकुसमुकुस महसुस गर्छन् । समथर क्षेत्रका बासिन्दाका लागि नजिकका पहाडी भूभाग गर्मी छल्ने गन्तव्यमा परिणत भइरहेको छ । प्रदेश ५ मा पहाडी र तराईका ६–६ जिल्ला छन् । पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा र पश्चिम रुकुममा यतिबेला शीतल छ । तराईवासीहरु गर्मी छल्नका लागि उतै जान थालेका छन् । यसमा सीमावर्ती भारतीय पनि थपिएका छन् । गर्मीमा शीतल खोज्दै पुगिने प्रदेश ५ का मुख्य गन्तव्यहरु :

स्वर्गद्वारी
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गद्वारी बुटवलबाट पश्चिम प्यूठान जिल्लामा रहेको छ । यो प्रदेश ५ को प्रमुख पर्यटकीय स्थल हो । यहाँ बाह्रैमास दर्शनार्थी आउँछन् । गर्मीमा भने घुइँचो झनै बढ्छ । मन्दिर दर्शनले चिताएको पूरा हुने विश्वास गरिन्छ भने गर्मीमा शीतल पनि मिल्छ । त्यसैले यहाँ पर्यटक बढिरहेको छ । भारतबाट समेत पैदलै आउने गर्छन् । भारतीय तीर्थयात्रीले स्वर्गद्वारीलाई बढी महत्त्व दिने गरेका छन् ।

अग्लो पहाडी भेगमा भएकाले गर्मीमा मुलुकका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू स्वर्गद्वारी आउने गर्छन् । यहाँ स्थानीय गाईको दूध, दहीसँगै स्थानीय अर्ग्यानिक खानेकुरा पाइन्छ । उच्च पहाडी क्षेत्रको स्वच्छ हावापानीको मज्जा त छँदै छ । मुख्य मन्दिरसम्म सवारीसाधन चल्न दिइँदैन । खालसम्म गाडी चल्छ । त्यसपछि उकालो पैदल यात्रा गर्नुपर्छ । करिब आधा घण्टाको पैदल यात्रा गरेपछि मुख्य मन्दिर पुगिन्छ । अशक्त र वृद्धवृद्धालाई घोडाको सुविधा पनि छ ।
स्वर्गद्वारी पुग्ने दुईवटा बाटा छन् । एउटा पूर्वपश्चिम राजमार्गअन्तर्गत भालुबाङबाट प्यूठानको भिङ्ग्री हुँदै पुग्न सकिन्छ । भिङ्ग्रीसम्म कालोपत्रे सडक छ । भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्म कच्ची सडक पार गर्नुपर्छ । भिङ्ग्रीमा सुविधाजनक होटल र धर्मशालाको व्यवस्था छ । दाङ सदरमुकाम घोराहीबाट रोल्पाको होलेरी हुँदै पनि पुगिन्छ । घोराहीदेखि होलेरीसम्म कालोपत्रे सडक छ । होलेरीबाट स्वर्गद्वारीसम्म ग्राभेल सडकमा यात्रा गर्नुपर्छ । स्वर्गद्वारी–घोराही नियमित सार्वजनिक बस सञ्चालन हुने गर्छन् । सार्वजनिक बस या निजी गाडीबाट यात्रा गर्न सकिन्छ । घोराहीबाट होलेरी हुँदै वा भालुबाङबाट भिङ्ग्री हुँदै बढीमा तीन घण्टामा गाडीबाट स्वर्गद्वारी पुग्न सकिन्छ । घोराहीबाट ६ घण्टा पैदल हिँडेर पुग्ने पनि हुन्छन् ।


नरपानी
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलबाट ४७ किमि पश्चिम गोरुसिंगे रहेको छ । गोरुसिंगे–सन्धिखर्क सडक खण्डबाट ५० किमि यात्रा गरेर पुगिन्छ नरपानी । पहाडको खोचमा रहेको नरपानीमा यतिबेला थामी नसक्नु भीड लाग्ने गरेको छ । पछिल्लो समय घुमफिर गर्ने मात्रै त्यहाँ जाँदैनन्, संघसंस्था र सरकारी कार्यालयले समेत आफ्ना कार्यक्रम आवासीय रूपमा नरपानीमा सञ्चालन गर्न थालेका छन् । त्यसैले यहाँ चाप बढेको छ । तराईमा ४० डिग्री हाराहारीमा तापक्रम पुगेका बेला यहाँ ज्याकेट लगाउनुपर्ने अवस्था छ । यहाँको लोकल कुखुरा, ढिँडो, सागपात खुबै स्वादिलो हुन्छ । मौसमअनुसारका फलफूल यहाँ पाइन्छ ।
नरपानी नजिकै सुपा देउराली मन्दिर पर्दछ । गोरुसिंगे–सन्धिखर्क सडक किनारमा रहेको मन्दिर दर्शन र भाकल पूरा गर्न दैनिक सयौं दर्शनार्थी पुग्ने गरेका छन् । सीमावर्ती भारतका पनि भक्तालुहरू आउने गर्छन् । श्रद्धालु गर्मीमा रात बिताउन र बलि चढाएपछि प्रसाद खान नरपानी पुग्छन् । २०३२ सालसम्म नरपानीमा जिल्ला सदरमुकाम थियो । त्यसपछि सन्धिखर्क सारियो । त्यसैले लामो समय ओझेलमा परेको नरपानी तराईमा बढ्दो गर्मीसँगै फेरि गन्तव्यस्थल बनेको हो ।


श्रीनगर र रानी महल

रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका बासिन्दाका लागि सबभन्दा नजिकको ‘हिल स्टेसन’ पाल्पाको श्रीनगर डाँडा र ऐतिहासिक रानी महल हुन् । बिदाका बेला होस् या बन्दको समय । ती जिल्लाबाट व्यापारी, जागिरे, विद्यार्थी र सर्वसाधारण घुम्न पुग्ने गरेका छन् । श्रीनगर पाल्पा सदरमुकाम तानसेनको शिर हो । यहाँ छिनमै मौसम परिवर्तन भइरहन्छ । पानी पर्ने, कुहिरो लाग्ने र छिनमै घाम लाग्ने भएकाले रोमाञ्चक छ ।
श्रीनगरबाट हिमाली दृश्य अवलोकन गर्न सकिन्छ । त्यहाँ स्तरीय होटल रहेकाले रात बिताउन समस्या छैन । तराईका जिल्लामा बसाइँ सरेकाहरू अहिले गर्मी छल्न पुर्ख्यौली घर फर्कन्छन् । बुटवलबाट ४० किमिको यात्रामा पुगिन्छ तानसेन । तानसेनबाट १५ किमि नजिक छ रानीमहल । यसको ऐतिहासिक महत्त्व छ । कालीगण्डकी किनारमा अवस्थित रानी महलमा शीतल अनुभव गर्नुका साथ रमणीय दृश्यावलोकन गर्न सकिन्छ । रानी महललाई प्रेमको प्रतीक मानिन्छ । यहाँ आउनेमा युवा धेरै भेटिन्छन् । यहाँ होटल र होमस्टे सुरु भएको छ । क्याम्पिङ पनि हुन्छ । रानी महल क्षेत्रमै टेन्टमा रात बिताउन पाइन्छ । स्थानीय परिकार खाँदै रात बिताउन रानी महल पुग्ने बढेका छन् । लुम्बिनीलगायत बौद्धस्थलमा आएका पर्यटकलाई पहाडमा पुर्‍याउनका लागि प्रदेश सरकारले पहल गरिरहेको छ ।

प्रकाशित : असार १३, २०७६ ११:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×