कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

शान्ति यात्रा

प्रदेश ५
दीपेन्द्र बडुवाल

 
लुम्बिनीलाई विश्व शान्तिको मुहान मानिन्छ  । यहाँको बौद्ध धर्मावलम्बीका साथै स्वदेश र विदेशबाट वार्षिक लाखौं पर्यटक आउँछन्  ।

शान्ति यात्रा

मुख्य आकर्षण मायादेवी मन्दिर र सम्राट अशोकले बनाएको अशोक स्तम्भ हुन् ।
मन्दिर परिसरभित्र बुद्धजन्म स्मारक शिला, मायादेवी मूर्ति, पुष्करणी पोखरी र स्तूपहरू रहेका छन् । लुम्बिनीलाई सबैको आस्था र धरोहरको केन्द्र बनाउन जापानी वास्तुकलाविद् केन्जो टाँगेले गुरुयोजना बनाएका थिए । यस गुरुयोजनाले ३ वर्ग माइल क्षेत्रफल ओगटेको छ । यसलाई प्रत्येक एक वर्ग माइलका ३ क्षेत्रमा विभाजन (पवित्र उद्यान, विहार क्षेत्र र नयाँ लुम्बिनी ग्राम) गरी पैदल बाटो र केन्द्रीय नहरले जोडेको छ ।
मुख्य आकर्षण दक्षिण भागमा अवस्थित पवित्र उद्यान हो, जहाँ मन्दिर रहेको छ । बगैंचा र सुन्दर पोखरीले यस क्षेत्रलाई मनमोहक र चित्ताकर्षक बनाएको छ । पूर्वी विहार क्षेत्रमा थेरबादी र पश्चिमतर्फ महायानी सम्प्रदायका लागि छुट्याइएको छ । उत्तरतर्फ नयाँ लुम्बिनी ग्राम बनिरहेको छ ।
लुम्बिनी विविधायुक्त बौद्ध संस्कृतिको सानो संसार हो । अर्थात् मिनी बौद्ध वर्ल्ड । सानो विश्वका मन्दिर विहार र गुम्बाका बनावट, कलाशैली उत्तिकै आकर्षक छन् । कुँदिएका कलाकृतिका शैली, परम्पराले उमंगित र रोमाञ्चित पार्छ । मन्दिरमा विविधतायुक्त कला र संस्कृति देखिन्छ । लुम्बिनी गएर मन्दिर विहार अवलोकन गरे विश्वका विभिन्न मुलुक घुमेको भान हुन्छ ।
पश्चिमतर्फ जर्मनीको द ग्रेट लोटस स्तूपा निकै आकर्षक छ । सरसफाइ, हरियाली र रंगीचंगी फूलले यहाँको वातावरणलाई मनमोहक बनाउँछ । यहाँ बुद्धको जीवनलाई मूर्तिमार्फत गर्भ प्रवेशदेखि महापरिनिर्वाणसम्म देखाइएको छ । युनाइटेड टुङ्ग्राम विहार, चीनको आफ्नै शैलीको जोङहुवा गुम्बा, भियतनामी विहार पनि आकर्षक छन् । गुम्बा, विहारमा बौद्ध चित्रहरूले पनि उत्तिकै मोहित पार्छ । अस्ट्रिया, फ्रान्स, दक्षिण कोरिया, जापान, क्यानडा र सिंगापुर, श्रीलंका, थाइल्यान्डद्वारा निर्मित विहार, मन्दिर मन छुने खालका छन् । चारैतर्फ प्रवेशद्वारमा दायाँबायाँ सुन्दरसुन्दरीको चित्र रहेको कम्बोडियाको मन्दिर र म्यानमारको गोल्डेन टेम्पलले आगन्तुकलाई निकै रोमाञ्चित पार्छ ।
लुम्बिनीमा सामान्यदेखि तारे होटलसम्म गरी ८० बढी छन्, जसमा १ हजार ५ सय कोठा छन् । यहाँ दैनिक ३ हजार बस्न सक्छन् । दसैंलक्षित गरी २ रात ३ दिनको लुम्बिनी–कपिलवस्तु प्याकेज पनि ल्याइएको छ ।


अरु ५ गन्तव्य
तिलौराकोट
राजकुमार सिद्धार्थले २९ वर्ष बिताएको शाक्यवंशीय राजधानीमा हरियाली र सुन्दर बगैंचासँगै ३ हजार वर्षअघिको दरबारको भग्नावशेष हेर्न सकिन्छ ।
रामग्राम
बुद्धको अस्तु रहेको विश्वास गरिने यो पुरातात्विक क्षेत्र पश्चिम नवलपरासीमा पर्दछ ।
स्वर्गद्वारी
यस प्राचीन मन्दिरलाई धार्मिकसँगै प्राकृतिक सौन्दर्यको संगम मानिन्छ र यहाँ परापूर्व कालमा ऋषिहरु र भगवान् ब्रह्माले तपस्या गरेको जनश्रुति रहेको छ ।
रानीमहल
कालीगण्डकी किनारमा रहेको रानीमहललाई प्रेमको प्रतीक मानिन्छ र यसको ऐतिहासिक महत्व रहेको छ ।
बर्दिया
बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघसँगै, गैंडा, हात्तीलगायत वन्यजन्तु, थुप्रै प्रजातिका पन्छी देख्न पाइन्छ ।

[email protected]

प्रकाशित : आश्विन १०, २०७६ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?