अन्नपूर्णको उकालो

प्रदेश ४
भीम घिमिरे

 चाडपर्वका बिदामा पदयात्रा जान चाहनेका लागि अन्नपूर्ण आधार शिविर (एबीसी) उपयुक्त छ  । छोटो अवधिका लागि नेपाल घुम्न आएका विदेशीले यो रुट छिचोल्न छुटाउँदैनन्  ।

दसैं–तिहारताका वर्षा नहुने र जाडो पनि उति नबढेका बेला भएकाले यो क्षेत्रमा पाँच वर्षयता नेपाली पदयात्री थपिरहेका छन् । चलेको र सजिलो रुट पोखरा पुगेर पोखरा–बागलुङ मार्गको बिरेठाँटीबाट यात्रा सुरु हुन्छ । थोरै हिँड्न चाहनेका लागि बिरेठाँटी र नयाँ पुलबाटै जिप पाइन्छ । पोखराको हरिचोकबाट पनि जिप यात्रा गर्न सकिन्छ । गाडीले मत्क्युसम्म पुर्‍याउँछ । त्यहाँबाट सुरु हुन्छ हिँडाइ ।
नयाँ पुलबाट करिब तीन घण्टा पैदलमा घान्द्रुक पुगिन्छ । हरेक घुम्तीमा बास र खानाका लागि होटल, रेस्टुराँ छन् । विदेशी पर्यटकको योजना पहिला नै तय भइसकेको हुन्छ । गाइड लिन्छन् । चार–पाँच घण्टामा पुगिने ठाउँका होटलमा पहिल्यै कोठा बुकिङ गर्छन् । तुलनात्मक रूपमा नेपाली पदयात्रीका योजना व्यवस्थित नहुँदा बाटामा बास पाउन समस्या पर्छ । आफू पुगेको ठाउँका होटलमा सोधेर ३–४ घण्टापछि पुगिने गन्तव्यका होटल र गेस्ट हाउसमा सम्पर्क गरी बास निश्चित गरे दुःख पाइँदैन ।
घान्द्रुकबाट बढीमा ६ घण्टाको हिँडाइपछि छोमरोङ पुगिन्छ । त्यहाँ बास बसेर भोलिपल्टको दोभान, तेस्रो दिन देउराली हुँदै माछापुच्छ्र्रे बेस क्याम्प पुगिन्छ । माछापुच्छ्र्रे बेस क्याम्पबाट बढीमा डेढ घण्टाको दूरीमा पर्छ एबीसी । टुर गाइड हीरा मल्लका अनुसार पदयात्रीले बास बस्न पहिल्यै सूचित गर्दा एबीसी आसपासकै होटल तथा गेस्ट हाउसमा एक रात बिताउन सक्छन् । ‘हिँड्नेले मौसमको ख्याल गर्नुपर्छ,’ उनी भन्छिन्, ‘कुनै कुनै बेला मौसम खुल्दैन । मौसम खुलेका बेला भने आकर्षक फोटो खिच्न सकिन्छ ।’
एबीसी ट्रेक यतिबेला रमणीय छ । बाटामा धान लहलह झुलेका छन् । खोला र झरनामा पानी सफा देख्न सकिन्छ । जाँदा र फर्कंदा गरेर एक साताको योजनामा एबीसी यात्रा गर्न सकिन्छ । एबीसी यात्राको प्रबन्ध टुर अपरेटरहरूले सजिलै गरिदिन्छन् । काठमाडौं वा पोखराका होटल र ट्राभल एजेन्सीहरूले पनि यात्राको जानकारी दिन्छन् । पोखरा पुगेर योजना बनाउनु उपयुक्त हुने भए पनि इन्टरनेटको सहज पहुँच उपयोग गर्दै यात्रामा जान चाहनेले रुटका नक्सा हेर्न, पदमार्गका होटल, रेस्टुराँमा सम्पर्क गरेर जानु सजिलो हुन्छ ।
एबीसी ट्रेकमा जानेहरूले मन पराउने म्याग्दीका टाडापानी र पुनहिलको रुट छोमरोङबाट छुट्टिन्छ । जाँदाजाँदै उता पनि पुगेर आउने समय भए उपयोग गर्न सकिन्छ । बर्सेनि असोज दोस्रो साताबाट एबीसीमा विदेशी पदयात्री आउने क्रम सुरु हुँदा पहिल्यै योजना बनाएर गएकाहरूले पर्यटकको चापका बीच पनि खाना र बासको राम्रो आतिथ्य पाउन सक्छन् । यात्रा थालेर जता जे पाइन्छ, उतै खाने–बस्ने योजना बनाएकाहरूभन्दा पूर्वनिर्धारित योजनाअनुसार हिँडेकाहरूको यात्रा सुखद हुन्छ ।

अरु ५ गन्तव्य
बन्दीपुर
‘पहाडकी रानी’ को नामले चर्चित तनहुँको बन्दीपुरमा पुराना शैलीका घर, माछापुच्छ्र्रे र अन्नपूर्ण हिमशृंखला, मर्स्याङ्दी नदीको दृश्यावलोकन, हाइकिङ र साइक्लिङका लागि प्रख्यात छ ।
थोराङ्ला पास
समुद्री सतहबाट ५,४१६ मिटर उचाइको
थोराङ्ला पासको यात्रामा लमजुङको बेंसीसहरबाट मनाङ, थोराङ हुँदै मुस्ताङको मुक्तिनाथसम्म पुग्न सकिन्छ ।
तिलिचो ताल
मनाङमा ४,९१९ मिटरको उचाइमा अवस्थित यो हिमताल प्रकृतिप्रेमीका लागि मनोरम स्थल हो ।
घले गाउँ
लमजुङ जिल्लामा रहेको यो गाउँ गुरूङ संस्कृतिमा आधारित होमस्टे र अन्नपूर्ण चक्रीय पदमार्गका लागि प्रख्यात छ ।
पोखरा
गण्डकीको यो राजधानीका फेवा, बेगनास, रूपालगायतका तीन ठूलासँगै नौ ताल, महेन्द्र, चमेरे, गुप्तेश्वर गुफा, डेभिज फल्स, विश्व शान्ति स्तूप र सराङकोटमा पर्यटकको भीड हुने गर्छ ।

bhimphoto@gmail.com

प्रकाशित : आश्विन १०, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संगीत : राही, कार्की र फ्वाँ बागा रे

भीम घिमिरे

भारतको एक रेलवे स्टेसनमा सधैं भेटिने दृष्टिविहीनले गाएको सुनेपछि राहीले एउटा नाटकमा प्रयोग गरेको गीत उत्तराखण्डमा कालजयी भएको छ  ।

गत असार तेस्रो सातादेखि ‘टिकटक’ मा भाइरल कुमाउ–गढवालको गीत हो फ्वाँ बागा रे । साउनको महिनाभरि विरलै यस्ता दिन थिए, जुन दिन टिकटकका नेपाली प्रयोगकर्तामध्ये कसै न कसैले उक्त गीत बजाएर नाचेको संक्षिप्त भिडियो अपलोड गरेको नहोस् । संगीतलाई मानवताको भाषा भनिनु यहीँ चरितार्थ हुन्छ, भाषा नबुझे पनि धुन मन परे धेरैले सुनेकै हुन्छन् ।


कोरियन कलाकार साइको ‘गङनम स्टाइल’ होस् वा स्पेनिस–अमेरिकी भाषामा लुइस फोन्सी र ड्याडी यांकीले ल्याएको ‘डेस्पासिटो ।’ गीतहरू चर्चित हुनुका पछाडि संसारभरका संगीतप्रेमी भाषा होइन धुनको सम्मोहनमा परेको पुष्टि हुन्छ । यस्ता गीत जसमा कम्मर मर्काउन उपयुक्त छ, ती युट्युबमा धेरैपटक हेरिन्छन् । अब जे हेर्न र सुन्न खोजे पनि पाइन्छ भन्न सकिने अवस्था आइसकेको छ ।


भारत, उत्तराखण्डको क्यासेट कम्पनी नीलम उत्तराखण्डीले अपलोड गरेको ‘फ्वाँ बागा रे’ भिडियोविहीन छ । गीत र कलाकारका बारेमा पढ्न चाहनेका लागि अपलोडरले धेरै जानकारी दिएका छैनन् । ४ मिनेट ५६ सेकेन्डको गीत बजुन्जेल गीतकार चन्दरसिंह राही, गायक/गायिका पप्पु कार्की र सन्दीप सोनुको एउटै फोटो मात्रै देख्न सकिन्छ । भिडियो नभएकाले गीतमा नाच्न चाहनेका लागि बजाएर आफ्ना भावभंगिमा आफैं तय गर्ने छुट छ ।

गत बुधबारसम्ममा ९३ लाख ३८ हजार भ्युज पुगेको गीत भारतको उत्तराखण्डबाट नजिक सुदूरपश्चिम र कर्णाली हुँदै विभिन्न भूभागका नेपालीको ध्यानाकर्षण गरिरहेको छ । भाषा बुझ्नेहरू गढवाली उक्त भाकाको नयाँ भर्सनमा रमाएका छन्, नबुझ्नेहरू इन्टरनेटमा अर्थ खोज्न वेबसाइटका लिंकहरूका क्लिक गरिरहेका छन् । टिकटकमा रमाउनेहरू गीत बजाएर नाच्दै छोटो भिडियो दिनदिनै अपलोड गरिरहेका छन् ।

०००


‘फ्वाँ बागा रे’ को कान्छे भर्सन युट्युबमा अपलोड हुँदा त्यसका मुख्य गायक पप्पु कार्की ३४ वर्षको उमेरमै दिवंगत भएको वर्ष दिन र ७३ वर्षीय संकलक/सर्जक चन्दरसिंह राहीले भौतिक शरीर छाडेको तीन वर्ष बितिसकेको छ । गढवाली संगीतप्रेमीलाई गीतले पुनः दुवैलाई सम्झिरहन बाध्य पारेको छ । गीतमा कार्कीलाई बराबरीको साथ दिएका सन्दीप सोनु र कल्पना चौहान अहिले पनि उत्तराखण्डी गीत गाइरहेका छन् ।


गीतको चर्चा बढेसँगै विभिन्न अनलाइनहरूले ‘फ्वाँ बागा रे’ कसरी सिर्जना भएको हो भन्नेमा श्रष्टा चन्दरसिंह राहीले विभिन्न कार्यक्रममा बताएका प्रसंगलाई अनलाइनहरूले उल्लेख गरेका छन् । सन् ६०/७० को दशकमा दिल्ली–लखनउ हुँदै कोटद्धारको रेल स्टेसनमा एक दृष्टिविहीनले यो गीत गाउँथे । तिनको गीत सुनेकाहरूले आफूलाई त्यो रेलवे स्टेसन आउजाउ गरेको अपनत्व अनुभव गर्थे । संकलक एवं सर्जक राहीले केही वर्षअघिको एउटा अन्तर्वार्तामा भनेका छन्, ‘मैले उसैको मुखबाट सुनेको गीतलाई पूर्ण रूप दिएको हो ।’


कुमाउ–गढवालमा त्यो समय बाघको आतंक थियो । बाघ कसरी आउँछ, त्यसबाट कसले जोगाउँछ भन्ने दृष्टिविहीनले रेलवे स्टेसनमा यात्रीलाई गीतमा सुनाउँथे । गढवाली नाटककार राजेन्द्र धष्माणाको नाटक ‘अर्ध ग्रामेश्वर’ मा कोटद्धार रेलवे स्टेसनको दृश्य थियो । उनले राहीसँग सल्लाह गरे, नाटकमा स्टेसन कसरी देखाउने । त्यसको झल्को दिलाउने उक्त गीत राहीले मुम्बईमा मञ्चनका बेला प्रयोग गरे । त्यसयता सन् १९८५ देखि धेरैजनाले फ्वाँ बागा रे पटक पटक गाउँदै आएका छन् ।


युट्युबमै यसका थुप्रै भर्सन भेटिन्छन् । चर्चामा आएको पप्पु, सन्दीप र कल्पनाद्वारा स्वरबद्ध सबैभन्दा नयाँ भर्सन हो । जसरी झलकमान गन्धर्वका गीत नेपालीका नयाँ पुस्ता र अरू भाषाभाषीका कलाकारले गाएका भर्सन बेलाबेला युट्युबमा अपलोड गरिरहेका छन्, त्यस्तै छन् राहीद्वारा सिर्जना र संकलन भएका लोकगीतहरू । गीतले पुनः चर्चा पाउँदै गर्दा केही गढवालीले ब्लगमा लेखेका छन्— यो गीतले त्यो रेलवे स्टेसन र जमाना याद गराउँछ ।
०००


उत्तराखण्डको लोकसंगीत जगत्मा भीष्मपितामह भनिने चन्दरसिंह राही गढवालको गाउँमा जन्मिएका थिए । पहिलोपटक सन् १९६३ मार्च १३ मा अल इन्डिया रेडियोको देल्ही स्टेसनमा उनले ‘पर विना की’ गाए । कार्यक्रम भारतीय सैनिकका लागि थियो । उनको लोकप्रियता सन् १९७० मा एआईआरको नजिवावाद स्टेसनबाट गीत बज्न थालेपछि बढेको थियो ।

सन् १९८० ताका जन उनको गीत दूरदर्शनबाट प्रसारण भयो, लोकप्रियता अझ चुलियो । लोकभाका संकलन, सिर्जना र आफैं संगीत दिने उनी सरल स्वभावका थिए ।


गढवाली लवज उनको मोहक थियो । रेडियोमा गढवालीले उनको आवाज मन पराउँथे । सन् १९६६ मा उनले तयार पारेको ‘दिल को उमाल’ चर्चित छ । उनका प्रेरणाका स्रोत थिए गढवाली कवि कन्हैयालाल दान्द्रियल । चन्दरसिंह यात्रा गरिरहने भएकाले कन्हैयालालले नै उनलाई ‘राही’ को उपनाम दिएका थिए ।


राही गीत संकलन गर्थे, लेख्थे, धुन बनाउँथे र गाउँथे । उनका १४० वटा अडियो एल्बम छन् । जीवनकालमा उनले भारतका विभिन्न भागमा १५ सय हाराहारी सांगीतिक कार्यक्रममा प्रस्तुति दिएका थिए । उनले किताब लेखेका छन्, सामूहिक नृत्यका लागि धुन पनि बनाएका छन् । उनी ढोल, डमरु, दौर, थाली र हुरुकीजस्ता लोकबाजा पनि बजाउँथे । लोकसंगीतको विभिन्न आयामबारे उनका पुस्तक प्रकाशित छन् । उत्तराखण्डका विभिन्न भेगबाट उनले आफ्नो जीवनकालमा उनले करिब २५ सय हाराहारी लोकगीत संकलन गरेका थिए । युवावस्थामा कामको खोजीका लागि उनी दिल्ली पनि बसे । कमाइको बचत उनले घरपरिवार र अचल सम्पत्ति जोड्नको साटो उत्तराखण्डी लोकसंगीतमा लगाए । पैसा हुनेबित्तिकै उनी एल्बम रेकर्डिङ गर्थे ।
०००


‘फ्वाँ बागा रे’ बाट उत्तराखण्डबाहिर पनि चर्चा पाइरहेका पप्पु भनिने प्रवेन्द्रसिंह कार्कीका स्वरबद्ध तीन दर्जन गीत कुमाउ–गढवालमा सदाबहार छन् । गायन क्षेत्रलाई निरन्तरता दिनुअघि उनले निकै संघर्ष गर्नुपरेको थियो । घरको आर्थिक अवस्था नाजुक भएका उनी सन् २००३ देखि चार वर्ष नोकरीका लागि दिल्ली गएका थिए । त्यहाँ प्रिन्टिङ प्रेस र बैंकमा कार्यालय सहयोगीको काम गरेका थिए ।


पछि उत्तराखण्डको रुद्रपुर फिरेका उनी सन् २००६ को उत्तराखण्ड आइडलमा फर्स्ट रनरअप घोषित भए । त्यसपछि भने उनको सांगीतिक करिअर अघि बढ्यो । लगालग एल्बमहरू निकाले । सबैजसो हिट भए । उत्तराखण्डका विभिन्न सहरमा कन्सर्टका लागि व्यस्त भए ।

सानैदेखि लोकगीतको गायनमा रमाउने उनका थुप्रै गीत चर्चित छन् । नैनिताल महोत्सवमा आफ्नो प्रस्तुति दिएर चार साथीसँग हल्दवानी फिर्दै गर्दा भएको कार दुर्घटनामा सन् २०१८ जुन ९ मा उनको निधन भएको थियो । छोरा ७ वर्षीय दक्ष कार्कीले पिताको गीत आएको भिडियो पनि युट्युबमा छ ।


‘फ्वाँ बागा रे’ को नयाँ भर्सनमा कार्कीसँगै स्वर दिएका कल्पना चौहान र सन्दीप सोनु गढवाली लोकसंगीतका जमेका कलाकार हुन् । मुम्बईमा जन्मे–हुर्के पनि ५२ वर्षीया पिताको पुर्ख्यौली थलोको भाषा जान्दछिन् । गढवाली गीत नै गाउँछिन् । चौहानका पिता मुम्बई–गढवाल समाजका अध्यक्ष थिए ।
०००


राजनीतिक घटनाक्रम र शासन व्यवस्थाको फेरबदलले देशका भूगोलमा प्रभाव पारे पनि नेपालका साँध सिमाना वारिपारि परेर बसेकाहरूको पारिवारिक सम्बन्ध अझै पुरानै छ । सुदूरपश्चिम र कर्णालीका जिल्लाको उत्तराञ्चलसँगको पारिवारिक सम्बन्ध प्रगाढ छ । मुलुकको पश्चिमी सिमाना कञ्चनपुरको नाका नाघ्नेबित्तिकै सुरु हुने उत्तराखण्डको भूगोल सुदूरपश्चिमका पहाडी जिल्लाभन्दा पृथक् छैन । भाषा, वेशभूषा र रहनसहन मिल्ने भएकाले उताका लोकभाकामा सुदूरपश्चिम रमाउँछ, सुदूरका गीत संगीत कुमाउ–गढवालले चिन्छ।


(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित : भाद्र २८, २०७६ ०९:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT