मनमोहक लाङटाङ

विमल खतिवडा

राजधानी काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य हो लाङटाङ उपत्यका  । यस क्षेत्रको यात्राका लागि उपयुक्त मौसम यही नै हो  । अर्थात् दसैं छेका । फोटो र भिडियोको सौखिनहरूका लागि यो जति उपयुक्त समय अर्को नहोला । पुग्नलाई समस्या छैन । काठमाडौंबाट १७० किमिको स्याफ्रुबेंसीसम्म बस पाइन्छ । मौसम राम्रो भयो भने जिपमा थाङजिमसम्मै पुगिन्छ । बालाजु बसपार्कबाट यहाँसम्म पुग्न करिब आठ घण्टा लाग्छ ।

मनमोहक लाङटाङ

धेरैले स्याफ्रुबेंसीलाई पहिलो दिनको गन्तव्य बनाउँछन् । यहाँ बस्ने–खानेको समस्या हुन्न । लाङटाङका व्यवसायी तेम्बा लामा थाङजिममा बास बस्नु राम्रो मान्छन् । ‘थाङजिङको प्राकृतिक दृश्यले लोभ्याउँछ । गाउँ साह्रै रमाइलो छ’ उनले भने । लाङटाङ, गणेशलगायत हिमालहरूले मोहित बनाउँछ । तिब्बततर्फको हिमशृंखला लोभलाग्दा छन् । चिलिमे हाइड्रोपावर रहेको यस क्षेत्रमा पैदल घोडतबेला पुग्न सकिन्छ । त्यसको अर्को दिनमात्र लाङटाङ पुगिन्छ । लाङटाङ राष्ट्रिय निकुञ्ज नुवाकोट, सिन्धुपाल्चोक र रसुवा जिल्लामा फैलिएको छ । तामाङ र शेर्पा जातिको संस्कृतिलाई यहाँ नजिकबाट चिन्न सकिन्छ ।

‘राजधानीबाट सबभन्दा नजिक र छोटो दूरीको गन्तव्य भनेकै लाङटाङ हो, जहाँ हिमाल र हिमनदीले सबैको ध्यान तान्छ,’ पर्यटन व्यवसायी लामा भन्छन्, ‘एक दिनको गाडी र दुई दिनको पैदलबाट लाङटाङ पुगिन्छ ।’ महाभूकम्पले ध्वस्त बनाएर फेरि उठेको लाङटाङको बस्तीमा करिब १५ वटा होटल छन् । यसमा करिब ३ सय पर्यटक अटाउने उनले बताए । एक जनालाई दैनिक २ हजारदेखि २५ सय रुपैयाँ खर्चले पुग्छ ।

यहाँको दालभातको स्वादै बेग्लै लाग्छ । ढिँडो, शेर्पा सुप, लोकल आलुको स्वाद नयाँ लाग्न सक्छ । समुद्री सतहबाट ३,५०० मिटरको उचाइमा अवस्थित लाङटाङमा हिमनदी, झरना र आकर्षक बस्तीले यात्राको थकानलाई बिर्साइदिन्छ । लाङटाङबाट करिब तीन घण्टामा पुगिने ३,९८० मिटरस्थित क्यान्जिङ गुम्बाको महत्त्व र यहाँका बौद्ध कलाकृतिको बेग्लै महत्त्व छ । यहाँबाट दृश्यावलोकन गर्नुको अनुभव बिछट्टै हुने गर्छ । यहाँ पनि तामाङ जातिकै बाक्लो बस्ती छ ।

लाङटाङ क्षेत्र घुम्नलाई एक साता पर्याप्त हुन्छ । दसैंका बेला विदेशी पर्यटक धेरै हुन्छन् । धेरै यात्रु स्याफ्रुबेंसीबाटै हिँड्ने गर्छन् । यो क्षेत्र पद यात्राकै लागि चर्चित पनि हो । यस क्षेत्रको आम्दानीको मुख्य स्रोत पनि हो पर्यटन । लाङटाङ निकुञ्जमा चितुवा, हाब्रे (रेडपान्डा), कस्तूरी, मृग, हिमाली भालु, थार, घोरललगायत वन्यजन्तुसँगै विभिन्न प्रजातिका वनस्पति र चराचुरुंगी पाइन्छन् ।

अरु ५ गन्तव्य
कालिञ्चोक
दोलखास्थित कालिञ्चोकमा केबलकार चढ््दै गौरीशंकरसहितको हिमाली दृश्यलाई नजिकबाट हेर्न सकिन्छ ।
सौराहा
चितवन राष्ट्रिय निकुञ्जको एकसिंगे गैंडा, बाघ, गोही, चराचुरूंगी हेर्दै थारु संस्कृति बुझ्न र जंगल सफारीका लागि प्र्रसिद्ध क्षेत्र हो, सौराहा ।
चित्लाङ
मकवानपुरको चित्लाङ हाइकिङका लागि लोकप्रिय छ र यहाँ टेन्ट, होम स्टेमा रहेर स्थानीय र अर्ग्यानिक खानेकुराको स्वाद लिन सकिन्छ ।
भोटेकोसी
सिन्धुपाल्चोक जिल्लास्थित भोटेकोसी नदीको पुलमा बन्जी र स्वीङ गर्नु तथा र्‍याफ्टिङ, कायकिङ, कनोइङलगायत साहसिक पर्यटकका लागि राम्रो विकल्प हो, यो ।
सुकुटे
सिन्धुपाल्चोकस्थित सुनकोसी किनारको मनोरम दृश्य नियाल्ने यस क्षेत्रमा र्‍याफ्टिङ, कायकिङ तथा बिच भलिबल, फुटबल खेल्न सकिन्छ ।

[email protected]

प्रकाशित : आश्विन १०, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?