कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जनकपुर तीर्थ

प्रदेश २
अजित तिवारी

 
यो प्रदेशमा घुमफिरका लागि प्रख्यात मुगल शैलीको माता सीताको जानकी मन्दिर नै हो  । मन्दिरसँगै रहेको रामजानकी विवाहमण्डपले धेरैलाई आकर्षित पार्छ  ।

जनकपुर तीर्थ

यसको ऐतिहासिक र धार्मिक महत्त्व छ ।
जनकपुरको गंगासागरमा दिनहुँ साँझ हुने गंगा आरतीमा घन्टौं बिताउँदा आनन्द लाग्छ । शंखको एकनास ध्वनि र आरतीले त्यहाँ पुग्ने जो–कोही रोमाञ्चित महसुस गर्छन् । गंगासागरमा बोटिङको पनि सुविधा छ । गंगासागर नजिकै रहेको स्वर्गद्वारी पनि आकर्षक स्थल हो । जनकपुरमा नयाँ निर्माण भएको रेल्वे ब्रोडगेज प्लेटफर्म र न्यारोग्रेड रेल्वेको पुरानो इन्जिन र डब्बाले पनि पर्यटकलाई तान्ने गर्छ ।
जनकपुरमा सुविधासम्पन्न होटल, लज र धर्मशालाहरू छन् । जहाँ एक रातमा करिब १ हजारभन्दा बढी पर्यटक बसोबास गर्न सक्छन् । खानाका लागि सामान्य होटलदेखि भर्खरै खुलेका आधुनिक रेस्टुराँमा स्वादअनुसारको भोजन उपलब्ध छ । जनकपुरमा नेपाली, भारतीय, थकाली र अन्य परिकारको खाना पनि पाइन्छन् । यहाँको माछाका परिकार खुबै चलेको छ । बारा पुग्नेले झिर (खसीको सेकुवा), कटियाको मासु, पकौडा र मिठाईको स्वाद लिने गर्छन् । रिक्सा चढेर पनि सहरलाई फन्को लगाउन सकिन्छ ।
जनकपुरको भ्रमणपछि नछुटाउने अर्को धार्मिक स्थल हो, महोत्तरीको जलेश्वरधाम । धार्मिक आस्थाको केन्द्र जलेश्वरधाममा दर्शन गर्ने पर्यटकको संख्या बढ्दो छ । महोत्तरीको बर्दिवासमा धुर्मुस–सुन्तलीले बनाएको नमुना बस्तीले धेरैलाई आकर्षित गर्छ । दसैंको बिदामा सप्तरीको छिन्नमस्ता र कंकालिनी मन्दिरबाट धार्मिक यात्रा, भारतको जयपुर सहरको शैलीमा बसाइएको राजविराज ‘प्लान सिटी’ आकर्षक छन् । राजविराजको पान मुखै रसाउने खालको हुन्छ । लहान नजिकको फूलबारी सलहेश मन्दिरमा नयाँ वर्षको दिनमात्र फुल्ने फूलले पनि आकर्षण थपेको छ ।
धनुषाको धनुषाधाम मन्दिरको आफ्नै धार्मिक आस्था छ । सीतासँग विवाहका लागि रामले धनुष भाँच्दा एउटा टुक्रा धनुषाधाममा खसेको मान्यता छ । धनुषाधाम मन्दिरको परिसरमा रहेको धनुष आकारको माटोको ढिस्को हेर्न आउने बर्सेनि बढ्दो छ । धनुषाधामबाट २० मिनेटमै जनकपुर पुग्न सकिन्छ, जहाँ जानकी मन्दिर अवस्थित छ । मन्दिरको आलिसान र भव्य बनोटले सबैलाई मोहित पार्छ । मन्दिरको भव्य स्वरूपलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्नेको भीड लाग्छ ।

अरु ५ गन्तव्य
नाडिमन ताल
सर्लाहीको चन्द्रनगरमा रहेको नाडिमन ताल ५२ बिघामा फैलिएको छ, जहाँ बोटिङ गर्न सकिन्छ ।
नुनथर
चरे पहाडमा पर्ने रौतहटस्थित यस क्षेत्रमा घुम्न, पिकनिक खान र परिवारसहित टहलिन पुग्नेको ताँती नै लाग्छ ।
सिम्रौनगढ
बाराको ऐतिहासिक स्थल सिम्रौनगढमा इँटा, पोखरी, जलेको चामललगायत युद्धकालका अवशेष हेर्न पाइन्छ ।
पर्सा
हात्ती सफारी गर्दै पर्सा वन्यजन्तु आरक्षलाई नजिकबाट नियाल्न सकिन्छ ।
वीरगन्ज
यो पुरानो सहरमा घडिअर्वा पोखरी, भिस्वा डाँडाको गुम्बा, विन्दवासिनी मन्दिर, आईसीपी र सुक्खा बन्दरगाह रहेको छ ।

[email protected]

प्रकाशित : आश्विन १०, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?