ग्लाम मेटलका उत्कृष्ट

कान्तिपुर संवाददाता

कुनै समय थियो, जति बेला केही ठूल्ठूला नाम चलेका ब्यान्डका अधिकांश पुरूष सदस्यले पनि लामा लामा कपाल पाल्थे  । यस्तो भन्दा ठ्याक्कै सन् अस्सी वरिपरिको समयको सम्झना हुन्छ  ।

यस्ता ब्यान्डका संगीतबीच पनि एउटा समानता थियो र त्यो थियो, उनीहरुले पस्केको एक विशेषखाले मेटल संगीत । सन् अस्सीतिर त्यो खुबै लोकप्रिय पनि रह्यो । लामा–लामा कपाल पालेका सदस्य भएका ब्यान्डको संगीत भएको हुनाले यसलाई ‘हेयर मेटल’ पनि भनियो ।


खासमा यो ग्लाम मेटल थियो, अझ भनौं, पप मेटल । हार्डकोर मेटल संगीतका फ्यानका लागि यस्तो ग्लाम मेटल मन नपर्न पनि सक्छ, अझ भनौं उनीहरु यसका विरोधी पनि हुन सक्छन् । उनीहरुले ग्लाम मेटललाई मेटल संगीत नै होइन पनि भन्न सक्छन् । तर यस्तो संगीतको जबरदस्त प्रभाव रहेको तथ्यलाई भने नकार्न सकिन्न । सुरू सुरूमा एलिस कुपर, भ्यान हेलन जस्ताले यसलाई लोकप्रिय बनाए, पछि यसलाई डेभ लेपार्ड र बन जोभी जस्ता ब्यान्डले सफलताको शिखरमा पुर्‍याए ।
सन् नब्बेको सुरूको समयसम्मलाई ग्लाम मेटलको सबैभन्दा राम्रो समय मानिन्छ । यस्ता ब्यान्डमा सदस्यले लामो कपाल मात्र पाल्दैनन्, फेसनेबल लुगा पनि लगाउने गर्छन् । सन् नब्बेको सुरूसँगै यसको लोकप्रियतामा कमी आउन थाल्यो । अहिले आएर फेरि यसले लोकप्रियता कमाउन थालेको अनुभव गरिएको छ । यसैबीच संगीतसम्बन्धी लोकप्रिय पोर्टल ॅरोलिङ स्टोन’ ले ग्लाम मेटलका उत्कृष्ट एल्बमको सूची बनाएको छ, त्यसमध्ये शीर्ष पाँच यस्ता छन् र जसलाई अहिलेसम्मकै सदाबहार पाँच मान्न सकिन्छ ।


हिस्टेरिया, सन् १९८७
डेभ लेपार्ड


डेभ लेपार्डले सन् १९८७ मा हिस्टेरिया एल्बम जारी गर्दा यो खुबै लोकप्रिय सावित भयो । केहीले के पनि भने भने यो रक संगीत नै होइन तर यस एल्बमको प्रभाव खुबै रह्यो, त्यो समयमा र त्यसपछि पनि । त्यसको ‘लभ बाइट्स’ जस्ता गीत त्यति बेला सबैको मुखमा झुन्डिएको जस्तै थियो । अनि ‘पुल सम सुगर अन मी’ जस्ता गीत पनि धेरैले मन पराए । त्यसैले यो एल्बम दुई करोडभन्दा बढी बिक्री भयो । गितारिस्ट फिल कोलिनले भने जस्तै, यो माइकल ज्याक्सनको ‘थ्रिलर’ को हार्डरक भर्सन हो ।

लक ह्वाट द क्याट ड्रायग्ड इन, १९८६
पोइजन

पोइजनको डेब्यु एल्बम नै हो, लक ह्वाट द क्याट ड्रायग्ड इन । यो नै उनीहरूको सबैभन्दा लोकप्रिय र सफल एल्बम सावित भयो । यसका चार गीतले त्यति बेला खुबै धमाका मच्चाएको थियो र ती थिए, ‘टक डर्टी टु मी’, ‘आई वान्ट एक्सन’, ‘आई वन्ट फरगेट यु’ र ‘क्राई टफ’ । यसलाई ग्लाम मेटलमा विश्वकै सबैभन्दा बढी चलेको एल्बममा गनिन्छ । यो एल्बम कति धेरै राम्रो थियो भने यसपछि अमेरिकाको पेन्सिल्भानियाको यो ब्यान्डले दबाबमै अरू राम्रा सिर्जना गर्न सकेन ।


साउट एट द डेझिल, सन् १९८३
मोटली त्रुm


त्यसो त मोटली त्रुलाई हेभी मेटल ब्यान्ड भन्ने पनि छन् तर यसको तेस्रो एल्बम ‘साउट एट द डेभिल’ पक्कापक्की ग्लाम मेटलको
एउटा राम्रो उदाहरण हो । अझ यसमा रहेका दुई गीत ‘लुक ड्याट किल’ र ‘टु योङ टु फल इन लभ’ धेरैले मन पराए र यसलाई ग्लाम मेटल संगीतको राम्रो उदाहरण झन्न सकिन्छ । यही एल्बमले त हो खासमा मोटली त्रुलाई स्थापित गरेको । दुई सातामै यो एल्बम दुई लाख बिक्री भएको थियो र यसले पनि देखाउँछ, यो कस्तो छ भनेर ।


स्लिभरी ह्वेन वेट, सन् १९८६
बन जोभी


बन जोभी ब्यान्डको फ्यान हो भने सबैभन्दा मन परेको एउटा गीतमा पर्न सक्छ, ‘यु गिफ लभ अ ब्याड नेम’ । यो यही एल्बमको गीत हो । यसमा लगभग सबै गीत खुबै चले, जस्तो, ‘लिभिन अन ए प्लेयर’, ‘वान्टेड डेड अर अलाइभ’ । यो अमेरिकाको न्यु जर्सीको तेस्रो स्टुडियो एल्बम हो, भनिरहनु पर्दैन, सबैभन्दा सफल पनि । यसमा रिची साम्बोराले ‘राइज योर ह्यान्ड्स’ मा गितारबाट जस्तो प्रस्तुति दिएका छन्, त्यो सुन्दा अझै पनि आनन्द लाग्छ ।

स्किड रो, सन् १९८९
स्किड रो


स्किड रोले आफ्नो डेब्यु एल्बमको नाम पनि स्किड रो नै राखेको थियो । यसका लागि ब्यान्डले खुबै मिहिनेत पनि गरेको थियो । यसैको नतिजा हो, यो एल्बम उत्तिकै सफल पनि रह्यो । सुरुका दिनमा एरोस्मिथको कन्सर्टमा ओपनिङ एक्ट गर्ने ब्यान्ड थियो, यो । पहिलो एल्बमपछि भने यसलाई यस्तो काम गरिरहन आवश्यक परेन । यसका चार गीत खुबै लोकप्रिय रहे, ‘योङ गन वाइल्ड’, ‘एटिन एन्ड लाइफ’, ‘आइ रिमेम्बर यु’ र ‘पिस अफ मी’ ।

प्रकाशित : आश्विन ३, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्

सुनीताको साहस

विद्या राई

 व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र पास गरेकी उनलाई स्नातक सकेर बैंकको जागिरे बन्ने लक्ष्य थियो  । पढाइ नसक्दै विवाह भयो  ।

बच्चाकी आमा भइन् । आवश्यकता बढ्न थाले । उनका पति वैदेशिक रोजगारीका लागि कतार हानिए । उनी घर व्यवहार सम्हाल्न थालिन् । उनले चार वर्षअघि एसेसरिज बनाउनका लागि चाहिने सामग्री बेच्न क्रिस्टल पसल खोलिन् । स्याङ्जा, पुतलीबजारकी यिनै सुनीता क्षत्री अहिले उद्यमी भएकी छन् ।
गाउँमा तत्कालीन महिला बालबालिका कार्यालयबाट प्रवर्द्धित सहकारीका २० महिलाले क्रिस्टलको चुरापोते बनाउने तालिम पाए । उनीहरूबाटै हेरेर चुरापोते बनाउन थालिन् । पसल खोल्ने रहर जाग्यो । ऋणपान गरेर एक लाख जुटाएर क्रिस्टल पसल खोलेकी थिइन् । क्रिस्टलका हातले बनाइएका चुरा, माला, ब्रासलेट, टप, झुम्का, औंठी बनाएर बेच्न थालिन् । एक वर्षपछि गाउँमै धातुको चुरा बनाउने तालिम भयो । उनी पनि सहभागी भइन् । पसललाई प्रवर्द्धन गर्न त्यसले थप सहयोग
मिल्यो ।
गत माघमा उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट वित्तीय पहुँचको तालिम पाइन् ।
स्याङ्जा, पोखरा, काठमाडौंमा हुने व्यापार मेलामा स्टल राख्ने मौका पाइन् । तीन महिनायता पसललाई हस्तकला उद्योगमा परिणत गरेकी छन् । ‘वित्तीय पहुँचको तालिम पाएपछि उत्साहित भएर हस्तकला उद्यम सुरु गरें,’ आदर्श हस्तकला उद्योग खोलेकी २९ वर्षीया उनले भनिन्, ‘१० जना महिला दिदीबहिनीलाई जागिर दिएकी छु, सिक्ने रुचि भएका अरू दिदीबहिनीलाई निःशुल्क तालिम दिन्छु ।’ उद्योगमा क्रिस्टल, धातु र मोतीका माला उत्पादन गरिन्छ । टप, औंठी, पोते डिजाइन, कुसन र गुडिया बनाइन्छ । उद्योगका उत्पादित एसेसरिजको जिल्लामा मात्र होइन, बाहिर तथा काठमाडौंबाट समेत माग भइरहेको छ । गाउँका जाँगरिला अरू महिलालाई पनि काम दिएकी छन् । उनीहरूलाई कच्चा सामग्री दिएर एसेसरिज बनाउन लगाउँछिन् । त्यसबापत उनीहरूले ज्याला पाउँछन् । नजानेका कुरा युट्युबमा हेरेर अपडेट हुन्छिन् । नयाँ डिजाइन र बजारको मागलाई युट्युबको सिकाइअनुसार एसेसरिज उत्पादन गरेर पूर्ति गर्ने प्रयास गर्छिन् । ललितपुर, पोखरा र बेनी तथा जिल्लाका गरी ५ सय बढी महिलाहरूलाई तीन वर्षयता तालिम दिइसकेकी छन् । जिल्लाका १५ जना विशेष किसिमले योग्य र कैदीबन्दी ६ महिलालाई निःशुल्क तालिम दिइन् । काठमाडौं र ललितपुरमा पनि थुप्रै महिलालाई सिकाइसकेकी छन् । केही समयअघि राष्ट्रिय युवा परिषद्को उद्यम परियोजना प्रस्तावना लेखनमा जिल्ला, प्रदेश र केन्द्रमै प्रथम भइन् । केन्द्रले ५० हजार, प्रदेशले २० हजार र जिल्लाले ५ हजार पुरस्कार प्रदान गरेको थियो ।
सुनीताले काम र क्षमताको दायरा बढाउँदै गइन् । हाल इन्डोनेसियामा भइरहेको महिला उद्यमी तालिममा छनोट हुने उनी नेपालकी एक्ली हुन् । ‘बच्चाहरू हेरेर बसेको थिएँ, व्यवसायमा यत्तिकै हामफालें, यसले गर्दा विदेश जाने अवसर पनि मिल्यो,’ उनले खुसी हुँदै सुनाइन्, ‘पहिला त्यतिकै समय बिताइरहेकी थिएँ । युट्युब हेरेर एसेसरिज बनाउनेतिर आकर्षित भएँ र त्यो काम सुरु पनि गरिहालें । घर परिवारले पनि राम्रो सहयोग गरे । अब यसैलाई बढाउँदै लानेछु ।’
छोटो समयमै भए पनि उद्यमबाट राम्रै कमाइरहेकी उनले ८ वर्ष र ४ वर्षका छोराहरूलाई निजी स्कुल पढाउँछिन् । वैदेशिक रोजगारीमा गएका पतिलाई स्वदेश फर्काउने तयारीमा छिन् । दुवैले उद्योगलाई थप विस्तार गर्ने उनको लक्ष्य छ । उनले गाउँमा रहेर उदाहरणीय काम गरेकी भनेर समाजमा प्रशंसा भइरहेको हुन्छ । उनको रुचि, लगनशीलता र सफलता देखेर स्याङ्जाको प्राविधिक स्कुलले समेत हस्त निर्मित चुरा, माला, बाला, टप, झुम्का बनाउने विषयलाई समेट्ने तयारी गरिरहेको छ ।

bidhyaraee19@gmail.com

प्रकाशित : आश्विन ३, २०७६ ११:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्