गुगल डक्समा वर्ड काउन्ट

कान्तिपुर संवाददाता

गुगल डक्समा कति शब्द लेखियो हेर्न वर्ड फाइलमा जस्तो सजिलो छैन  । प्रयोगकर्ताले टुल मेनुमा पुगेर वर्ड काउन्ट अप्सन सेलेक्ट गरेपछि मात्रै आफूले कति शब्द लेखियो भन्ने थाहा पाउँछन्  ।

तर आगामी सातादेखि भने कति शब्द लेखियो भन्ने थाहा पाउन धेरै ठाउँमा क्लिक गर्नुपर्ने अवस्था अन्त्य हुने भएको छ ।
गुगलले आफ्नो डक्समा लाइभ वर्ड काउन्टको फिचर सुरु गर्ने भएको छ । यो सम्भवतः आगामी सातादेखि सबै प्रयोगकर्तालाई उपलब्ध हुनेछ । अहिले भने यो जीसुट प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ ।

प्रकाशित : आश्विन ३, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्

सुनीताको साहस

विद्या राई

 व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र पास गरेकी उनलाई स्नातक सकेर बैंकको जागिरे बन्ने लक्ष्य थियो  । पढाइ नसक्दै विवाह भयो  ।

बच्चाकी आमा भइन् । आवश्यकता बढ्न थाले । उनका पति वैदेशिक रोजगारीका लागि कतार हानिए । उनी घर व्यवहार सम्हाल्न थालिन् । उनले चार वर्षअघि एसेसरिज बनाउनका लागि चाहिने सामग्री बेच्न क्रिस्टल पसल खोलिन् । स्याङ्जा, पुतलीबजारकी यिनै सुनीता क्षत्री अहिले उद्यमी भएकी छन् ।
गाउँमा तत्कालीन महिला बालबालिका कार्यालयबाट प्रवर्द्धित सहकारीका २० महिलाले क्रिस्टलको चुरापोते बनाउने तालिम पाए । उनीहरूबाटै हेरेर चुरापोते बनाउन थालिन् । पसल खोल्ने रहर जाग्यो । ऋणपान गरेर एक लाख जुटाएर क्रिस्टल पसल खोलेकी थिइन् । क्रिस्टलका हातले बनाइएका चुरा, माला, ब्रासलेट, टप, झुम्का, औंठी बनाएर बेच्न थालिन् । एक वर्षपछि गाउँमै धातुको चुरा बनाउने तालिम भयो । उनी पनि सहभागी भइन् । पसललाई प्रवर्द्धन गर्न त्यसले थप सहयोग
मिल्यो ।
गत माघमा उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट वित्तीय पहुँचको तालिम पाइन् ।
स्याङ्जा, पोखरा, काठमाडौंमा हुने व्यापार मेलामा स्टल राख्ने मौका पाइन् । तीन महिनायता पसललाई हस्तकला उद्योगमा परिणत गरेकी छन् । ‘वित्तीय पहुँचको तालिम पाएपछि उत्साहित भएर हस्तकला उद्यम सुरु गरें,’ आदर्श हस्तकला उद्योग खोलेकी २९ वर्षीया उनले भनिन्, ‘१० जना महिला दिदीबहिनीलाई जागिर दिएकी छु, सिक्ने रुचि भएका अरू दिदीबहिनीलाई निःशुल्क तालिम दिन्छु ।’ उद्योगमा क्रिस्टल, धातु र मोतीका माला उत्पादन गरिन्छ । टप, औंठी, पोते डिजाइन, कुसन र गुडिया बनाइन्छ । उद्योगका उत्पादित एसेसरिजको जिल्लामा मात्र होइन, बाहिर तथा काठमाडौंबाट समेत माग भइरहेको छ । गाउँका जाँगरिला अरू महिलालाई पनि काम दिएकी छन् । उनीहरूलाई कच्चा सामग्री दिएर एसेसरिज बनाउन लगाउँछिन् । त्यसबापत उनीहरूले ज्याला पाउँछन् । नजानेका कुरा युट्युबमा हेरेर अपडेट हुन्छिन् । नयाँ डिजाइन र बजारको मागलाई युट्युबको सिकाइअनुसार एसेसरिज उत्पादन गरेर पूर्ति गर्ने प्रयास गर्छिन् । ललितपुर, पोखरा र बेनी तथा जिल्लाका गरी ५ सय बढी महिलाहरूलाई तीन वर्षयता तालिम दिइसकेकी छन् । जिल्लाका १५ जना विशेष किसिमले योग्य र कैदीबन्दी ६ महिलालाई निःशुल्क तालिम दिइन् । काठमाडौं र ललितपुरमा पनि थुप्रै महिलालाई सिकाइसकेकी छन् । केही समयअघि राष्ट्रिय युवा परिषद्को उद्यम परियोजना प्रस्तावना लेखनमा जिल्ला, प्रदेश र केन्द्रमै प्रथम भइन् । केन्द्रले ५० हजार, प्रदेशले २० हजार र जिल्लाले ५ हजार पुरस्कार प्रदान गरेको थियो ।
सुनीताले काम र क्षमताको दायरा बढाउँदै गइन् । हाल इन्डोनेसियामा भइरहेको महिला उद्यमी तालिममा छनोट हुने उनी नेपालकी एक्ली हुन् । ‘बच्चाहरू हेरेर बसेको थिएँ, व्यवसायमा यत्तिकै हामफालें, यसले गर्दा विदेश जाने अवसर पनि मिल्यो,’ उनले खुसी हुँदै सुनाइन्, ‘पहिला त्यतिकै समय बिताइरहेकी थिएँ । युट्युब हेरेर एसेसरिज बनाउनेतिर आकर्षित भएँ र त्यो काम सुरु पनि गरिहालें । घर परिवारले पनि राम्रो सहयोग गरे । अब यसैलाई बढाउँदै लानेछु ।’
छोटो समयमै भए पनि उद्यमबाट राम्रै कमाइरहेकी उनले ८ वर्ष र ४ वर्षका छोराहरूलाई निजी स्कुल पढाउँछिन् । वैदेशिक रोजगारीमा गएका पतिलाई स्वदेश फर्काउने तयारीमा छिन् । दुवैले उद्योगलाई थप विस्तार गर्ने उनको लक्ष्य छ । उनले गाउँमा रहेर उदाहरणीय काम गरेकी भनेर समाजमा प्रशंसा भइरहेको हुन्छ । उनको रुचि, लगनशीलता र सफलता देखेर स्याङ्जाको प्राविधिक स्कुलले समेत हस्त निर्मित चुरा, माला, बाला, टप, झुम्का बनाउने विषयलाई समेट्ने तयारी गरिरहेको छ ।

bidhyaraee19@gmail.com

प्रकाशित : आश्विन ३, २०७६ ११:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्