पुरानो फोन कसरी बेच्ने ?

कुनै बेला म्युजिक भिडियो र फिल्ममा अभिनय गर्न व्यस्त रहेकी बिना लामा अहिले रुबी भ्याली गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेकी छन् ।
हेलो शुक्रबार

 केही समय प्रयोग भएको फोन बिक्री गर्न निकै गाह्रो काम भएको छ  । पछिल्लो समय स्मार्टफोनको मूल्य सस्तो भइरहेको छ र उपभोक्ता पनि पुरानो फोन किन्नुभन्दा नयाँ फोन किन्नमै रूचि राख्छन्  ।

अहिले २० हजारदेखि ३० हजार रूपैयाँ मूल्यमा स्तरीय स्मार्टफोनहरु बजारमा उपलब्ध छन्, जसले फोटो खिच्नेदेखि चाहिएजति एपहरु मजाले चलाउने सुविधा दिन्छन् । यही मूल्यमा पाइने स्मार्टफोनमा भिडियो इडिट गर्दा पनि मजाले चल्छ भने सबै खालका गेमहरु खेल्न सकिन्छ । यही कारणले हुनुपर्छ पछिल्लो समय पुरानो फोन किनबेच हुने क्रम घटेको छ ।
सस्तोमै नयाँ फोन आउँछ भने पुरानो फोन कसले किन्छ ? तर केही महिना वा वर्ष चलाउँदैमा फोन कामै नलाग्ने हुने होइन, बरू त्यसका प्रयोगकर्तालाई नयाँ फोन किन्न मन लाग्ने मात्रै हो ।
पुरानो फोन नबिक्नु वा कसैले किन्न नखोज्नुको धेरै कारण छन् । जस्तो कि पुरानो फोनमा स्क्रिन वा बडी कोरिएको हुन सक्छ । यो हेर्दा आकर्षक नदेखिन सक्छ । तर केही समय प्रयोग गरेको फोन नयाँ नै देखिन्छ र स्पिड पनि राम्रो छ, नयाँ फोनभन्दा सस्तो मूल्य हुन्छ भने ग्राहक भेटिन सक्छ ।
पुरानो फोन किन्न सजिलै ग्राहक भेट्न सक्ने केही उपाय :

सुरुमा किन्दा दिइएको फोनको बक्स नफाल्ने
धेरैको बानी छ, फोन किन्दा फोनसँगै पाइने बक्स फाल्ने तर यसलाई जतन गरी राखे यसले पुरानो फोन बिक्री गर्दा धेरै फाइदा हुन्छ । पुरानो फोन बिक्री गर्दा बक्ससहित दिनु र खाली फोनमात्रै दिनुमा धेरै भिन्नता हुन्छ । बक्ससहित बिक्री गर्छु भन्दा किन्ने मानिसमा फोन नयाँ नै रहेछ वा फोन प्रयोग गर्ने व्यक्ति अनुशासित मानिस रहेको धारणा बन्छ । जसले फोनको राम्रो मूल्य प्राप्त गर्न पनि सघाउँछ ।

फोन किन्नेबित्तिकै प्रोटेक्सन ग्लास राख्ने
फोन किन्दा धेरैले स्क्रिन सुरक्षाका लागि प्रोटेक्सन ग्लास राखे पनि केही समय खल्तीमा राख्दा वा पानीमा भिज्दा उप्किन्छ तर धेरैको बानी हुन्छ, एकपटक सुरक्षाका लागि राखिएको स्क्रिन उप्किएपछि नफेर्ने । फोनको स्क्रिन बाहिर सुरक्षाका लागि अर्को स्क्रिन नराखे फोनको स्क्रिन कोरिन्छ । तर, फोनको स्क्रिन फेर्नु भनेको निकै महँगो खर्च हो । स्क्रिन गार्ड नराखी दुई महिना प्रयोग गरेको फोन पनि फोहोरी देखिन्छ, यसका स्क्रिन कोरिएका हुन सक्छन् । स्क्रिन कोरिएको फोन कसैले किन्न चाहँदैन ।

फोन कभर नछुटाउने
फोन किन्नेबित्तिकै फोन कभर राख्न छुटाउनु हुँदैन । यसले आफ्नो फोन आफूले बोकुन्जेल मात्रै होइन, पछि बिक्री गर्न मन लाग्यो भने पनि राम्रो मूल्य लिन सकिन्छ । हामी फोन प्रायःजसो खल्तीमा राख्छौं, खल्तीमा धूलो वा अन्य वस्तु हुन सक्छ जसले फोनको स्क्रिन र कभर कोरिदिन सक्छ । साथै, हामी बस्ने सहरमा धूलोको कमी छैन, यस्ता धूलोको कण स्क्रिन वा कभरमा बस्दा र त्यही रगडिँदा पनि फोनको बडी पुरानो र नराम्रो देखिँदै जान्छ । हेर्दा पुरानो र नराम्रो देखिएको फोनभन्दा पुरानै भए पनि हेर्दा नयाँ देखिने फोन किन्न मानिसले रुचाउँछन् । त्यसैले किनेदेखि नै फोनलाई कभरले सुरक्षित बनाउनुपर्छ ।

फोनको सफाइ
फोनको सफाइ अर्को महत्त्वपूर्ण पक्ष हो । फोनलाई नियमित रूपमा कुनै नरम कपडा वा कपासले पुछ्ने गर्दा यसको बाहिर टाँसिएको धूलो वा दाग हटाउन सकिन्छ । जसका कारण फोन सधैं नयाँ देखिन्छ ।

अपडेट
फोनमा प्रयोग भएको अपरेटिङ सिस्टममा नियमित रूपमा नयाँ–नयाँ अपडेट आइरहेका हुन्छन् । आफ्नो फोनको अपरेटिङ सिस्टमलाई अपडेट गर्दा यसको लुक्स नयाँ देखिन्छ । कतिपय अपडेटले फोनको स्पिडलाई पनि सुधारिरहेका हुन्छन् भने स्क्रिनको आकर्षणलाई बढाउँछन् । फोनलाई अप टु डेट राख्दा फोन नयाँ रहन्छ ।

पुरानो फोन बिक्रीबाट राम्रो आम्दानी गर्ने उपायहरू हुन् यी । फोन कहाँ र कसरी बिक्री गर्ने द्विविधामा छ भने फेसबुक उपयुक्त माध्यम हुन सक्छ । आफ्नो प्रोफाइलमा फोन बिक्रीको स्टाटस लेख्नुभन्दा सेकेन्ड ह्यान्ड फोन ‘बाई एन्ड सेल’ नाम राखिएको फेसबुक ग्रुप सर्च गरेर त्यस्ता ग्रुपमा बिक्रीको सूचना राख्दा बढी प्रभावकारी हुन्छन् ।

hellosukrabar@gmail.com

प्रकाशित : आश्विन ३, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्

सुनीताको साहस

विद्या राई

 व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र पास गरेकी उनलाई स्नातक सकेर बैंकको जागिरे बन्ने लक्ष्य थियो  । पढाइ नसक्दै विवाह भयो  ।

बच्चाकी आमा भइन् । आवश्यकता बढ्न थाले । उनका पति वैदेशिक रोजगारीका लागि कतार हानिए । उनी घर व्यवहार सम्हाल्न थालिन् । उनले चार वर्षअघि एसेसरिज बनाउनका लागि चाहिने सामग्री बेच्न क्रिस्टल पसल खोलिन् । स्याङ्जा, पुतलीबजारकी यिनै सुनीता क्षत्री अहिले उद्यमी भएकी छन् ।
गाउँमा तत्कालीन महिला बालबालिका कार्यालयबाट प्रवर्द्धित सहकारीका २० महिलाले क्रिस्टलको चुरापोते बनाउने तालिम पाए । उनीहरूबाटै हेरेर चुरापोते बनाउन थालिन् । पसल खोल्ने रहर जाग्यो । ऋणपान गरेर एक लाख जुटाएर क्रिस्टल पसल खोलेकी थिइन् । क्रिस्टलका हातले बनाइएका चुरा, माला, ब्रासलेट, टप, झुम्का, औंठी बनाएर बेच्न थालिन् । एक वर्षपछि गाउँमै धातुको चुरा बनाउने तालिम भयो । उनी पनि सहभागी भइन् । पसललाई प्रवर्द्धन गर्न त्यसले थप सहयोग
मिल्यो ।
गत माघमा उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट वित्तीय पहुँचको तालिम पाइन् ।
स्याङ्जा, पोखरा, काठमाडौंमा हुने व्यापार मेलामा स्टल राख्ने मौका पाइन् । तीन महिनायता पसललाई हस्तकला उद्योगमा परिणत गरेकी छन् । ‘वित्तीय पहुँचको तालिम पाएपछि उत्साहित भएर हस्तकला उद्यम सुरु गरें,’ आदर्श हस्तकला उद्योग खोलेकी २९ वर्षीया उनले भनिन्, ‘१० जना महिला दिदीबहिनीलाई जागिर दिएकी छु, सिक्ने रुचि भएका अरू दिदीबहिनीलाई निःशुल्क तालिम दिन्छु ।’ उद्योगमा क्रिस्टल, धातु र मोतीका माला उत्पादन गरिन्छ । टप, औंठी, पोते डिजाइन, कुसन र गुडिया बनाइन्छ । उद्योगका उत्पादित एसेसरिजको जिल्लामा मात्र होइन, बाहिर तथा काठमाडौंबाट समेत माग भइरहेको छ । गाउँका जाँगरिला अरू महिलालाई पनि काम दिएकी छन् । उनीहरूलाई कच्चा सामग्री दिएर एसेसरिज बनाउन लगाउँछिन् । त्यसबापत उनीहरूले ज्याला पाउँछन् । नजानेका कुरा युट्युबमा हेरेर अपडेट हुन्छिन् । नयाँ डिजाइन र बजारको मागलाई युट्युबको सिकाइअनुसार एसेसरिज उत्पादन गरेर पूर्ति गर्ने प्रयास गर्छिन् । ललितपुर, पोखरा र बेनी तथा जिल्लाका गरी ५ सय बढी महिलाहरूलाई तीन वर्षयता तालिम दिइसकेकी छन् । जिल्लाका १५ जना विशेष किसिमले योग्य र कैदीबन्दी ६ महिलालाई निःशुल्क तालिम दिइन् । काठमाडौं र ललितपुरमा पनि थुप्रै महिलालाई सिकाइसकेकी छन् । केही समयअघि राष्ट्रिय युवा परिषद्को उद्यम परियोजना प्रस्तावना लेखनमा जिल्ला, प्रदेश र केन्द्रमै प्रथम भइन् । केन्द्रले ५० हजार, प्रदेशले २० हजार र जिल्लाले ५ हजार पुरस्कार प्रदान गरेको थियो ।
सुनीताले काम र क्षमताको दायरा बढाउँदै गइन् । हाल इन्डोनेसियामा भइरहेको महिला उद्यमी तालिममा छनोट हुने उनी नेपालकी एक्ली हुन् । ‘बच्चाहरू हेरेर बसेको थिएँ, व्यवसायमा यत्तिकै हामफालें, यसले गर्दा विदेश जाने अवसर पनि मिल्यो,’ उनले खुसी हुँदै सुनाइन्, ‘पहिला त्यतिकै समय बिताइरहेकी थिएँ । युट्युब हेरेर एसेसरिज बनाउनेतिर आकर्षित भएँ र त्यो काम सुरु पनि गरिहालें । घर परिवारले पनि राम्रो सहयोग गरे । अब यसैलाई बढाउँदै लानेछु ।’
छोटो समयमै भए पनि उद्यमबाट राम्रै कमाइरहेकी उनले ८ वर्ष र ४ वर्षका छोराहरूलाई निजी स्कुल पढाउँछिन् । वैदेशिक रोजगारीमा गएका पतिलाई स्वदेश फर्काउने तयारीमा छिन् । दुवैले उद्योगलाई थप विस्तार गर्ने उनको लक्ष्य छ । उनले गाउँमा रहेर उदाहरणीय काम गरेकी भनेर समाजमा प्रशंसा भइरहेको हुन्छ । उनको रुचि, लगनशीलता र सफलता देखेर स्याङ्जाको प्राविधिक स्कुलले समेत हस्त निर्मित चुरा, माला, बाला, टप, झुम्का बनाउने विषयलाई समेट्ने तयारी गरिरहेको छ ।

bidhyaraee19@gmail.com

प्रकाशित : आश्विन ३, २०७६ ११:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्