१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

'कबड्डी' यार

हेलो शुक्रबार

 
अनामनगरमा मण्डला नाटकघरको जग हालिँदै थियो, छेवैमा बसेर रामबाबु गुरुङ र उपेन्द्र सुब्बा फिल्मको स्क्रिप्ट लेखिरहेका थिए  ।

'कबड्डी' यार

बुद्धि तामाङ र विजय बराल भवन बनाउन दिलो ज्यान दिएर लागिपरेका थिए, मण्डलाका अध्यक्ष दयाहाङ राईलाई पनि भ्याइनभ्याई हुन्थ्यो । दयाहाङ मोटरसाइकल हाँक्न नजान्ने, कतै जानुपर्दा विजयको साथ चाहिने । बुद्धि पनि बाइक चलाउन जान्दैनथे । उनीहरूको दोस्तीको बिजारोपण मण्डलामै भएको थियो । छोटै समयमा फस्टाएको यो आत्मीयता निर्देशक/लेखक रामबाबुको नजरमा परेको थियो । फिल्मको नाम राखे, ‘कबड्डी’ । मुख्य भूमिकामा काजी अर्थात् दयाहाङ । उनका दुई यार हुन्छन्, बिके र छन्त्याल । रामबाबुले स्क्रिप्ट लेख्दा नै बिकेको भूमिकामा विजय सम्झिएका थिए, छन्त्यालमा बुद्धि । भयो
पनि त्यस्तै ।


नाटकघर ठडियो । केही वर्षपछि ‘कबड्डी’ बन्यो । गुरुकुल भत्किएपछि सुस्ताएको नेपाली रंगमञ्चलाई मण्डलाले नयाँ जीवन दियो । मौलिक स्वाद र शैलीको कथा पस्किएर ‘कबड्डी’ ले नाम र दाम कमायो । मण्डला बनेको एक दशक भयो, ‘कबड्डी’ चाहिँ ६ वर्ष । यतिबेला मण्डलामा ‘महाभोज’ नाटक मञ्चन भइरहेको छ । विजय, दयाहाङ र बुद्धिले अभिनय गरेका छन् । शुक्रबारबाटै देशभर ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज भएको छ । यसमा उनीहरू नै मुख्य भूमिकामा छन् । दयाहाङ भन्छन्, ‘चिनजान भएदेखि व्यक्तिगत र व्यावसायिक रूपमा हामी सँगसँगै छौं । सबभन्दा ठूलो कुराचाहिँ हाम्रो सम्बन्धले एकअर्कालाई ऊर्जा दिइरहेको हुन्छ ।’


तीनमध्ये दयाहाङ सिनियर हुन् । विजय त उनलाई गुरु नै मान्छन् । विजय र बुद्धिले चिन्दा दयाहाङ ‘लुट’ बाट स्टार भइसकेका थिए । विजय र बुद्धिको अनुभव एउटै छ, ‘तर दया दाइले कहिल्यै ठूलो हुँ भन्नेजस्तो व्यवहार देखाउनु भएन । न लोकप्रिय कलाकार हुनुको कुनै घमण्ड नै छ । हिजो जति सरल हुनुहुन्थ्यो, आज पनि उस्तै । त्यसैले पनि उहाँप्रति ज्यादै सम्मानभाव छ ।’ उनीहरूको करिअरले गति पाउन दयाहाङको प्रभावकारी भूमिका रहेछ । जस्तो– मण्डलाकै सुरुवातकर्ता हुन्, दयाहाङ । जहाँबाट विजय र बुद्धिले रंगकर्मको छहारी पाए । उनले निर्देशन गरेको नाटक ‘डिग्री माइला’ मा विजय–बुद्धिले अभिनय गरेका छन् । ‘कबड्डी’ अगावै ‘साँघुरो’ मा एकसाथ अभिनय गरेका थिए । संयोग कस्तो भने यो फिल्ममा पनि उनीहरू साथी–साथी हुन्छन् । बुद्धि मुस्कुराउँछन्, ‘हामी मिलेको देखेर हुनुपर्ला, रोल पनि साथीकै पाइन्छ ।’ ‘कबड्डी’ दयाहाङका लागि ‘लुट’ पछि थप ‘माइलेज’ दिने फिल्म बन्यो भने विजय र बुद्धिलाई त ठूलो पर्दामा स्थापित गर्‍यो ।


रंगमञ्चमा खारिएका यी तीन कलाकारलाई ‘कबड्डी’ मा औधी रुचाइयो । फिल्मको आकर्षक पक्षमध्ये उनीहरूको दोस्ती पनि एक हो । काजीको एकोहोरो प्रेम सफल बनाउन बिके र छन्त्याल मरिमेटेर लागि पर्छन्, काजीलाई कहिल्यै एक्लो हुन दिँदैनन् । काजीसँग दोस्ती गाँस्न पाउँदा बिके र छन्त्याल पनि दंग किनभने गाउँमा शान बढ्छ । पर्दामा देखाइएको उनीहरूको मित्रता सामाजिक सञ्जालमा हिट छन् ।‘कबड्डी’ को सफलतापछि सिक्वेल बन्यो, ‘कबड्डी कबड्डी’ । यसमा पनि उनीहरूको सम्बन्ध उत्तिकै प्रगाढ हुन्छ, बिके र छन्त्याल काजीको वरपर हुन्छन् । यसको अन्त्यमा दयाहाङ र विजयले बिहे गराइदिएर बुद्धिलाई अन्तै पठाइदिन्छन् । त्यसैले तेस्रो सिक्वेलमा उनीहरूलाई एकसाथ देख्न पाइएला ? विजय भन्छन्, ‘हामी दूरीले टाढा भए पनि भावनात्मक रूपमा उत्तिकै नजिक हुन्छौं । पातलो भए पनि भेटचाहिँ भइरहन्छ । दर्शकले हामीलाई अझ परिपक्व रूपमा पाउनुहुन्छ ।’


‘कबड्डी’ सिरिजबाहेक ‘मिस्टर झोले’ मा यो ग्याङले एकसाथ काम गरेको छ । यसमा पनि दयाहाङ र बुद्धि साथी नै हुन्छन्, विजयचाहिँ फिरन्ते गुन्डा । उनीहरूको अर्को फिल्म दयारानी प्रदर्शनको संघारमा छ । यसबाहेक मण्डलाकै ‘र...माइलो’ नाटकमा सँगै काम गरेका छन् । व्यस्तता र लोकप्रियतालाई नियाल्दा दयाहाङ अगाडि छन् । बुद्धिलाई पनि फिल्ममा भ्याइनभ्याई छ । विजय नाटक र फिल्ममा समान रूपमा सक्रिय छन् । उनीहरूलाई एकअर्काको अभिनय कस्तो लाग्ला ?


दयाहाङलाई विजय ‘भर्सटायल एक्टर’ लाग्दोरहेछ । उनको अभिनयप्रतिको अनुशासन, ऊर्जा र इमानदारिताबाट प्रभावित छन् । बुद्धिचाहिँ एकदम मेहनती र हरेक चरित्रलाई न्याय दिन सक्ने सामर्थ्य राख्ने कलाकार लाग्दोरहेछ । विजयको नजरमा दयाहाङ जटिल चरित्रलाई सरल बनाउन सक्छन् । आफूमात्र होइन, को–एक्टरले पनि राम्रो काम गर्नुपर्छ भन्ने सोच राख्छन् र त्यस्तै वातावरण बनाइदिन्छन् । बुद्धिमा चरित्रलाई चिन्ने र सोही अनुरूप आफूलाई ढाल्न सक्ने क्षमता छ । त्यस्तै, सामान्य पात्रलाई विशेष बनाउने दयाहाङको कुशलता र सिक्न खोज्ने विजयको बानीबाट बुद्धि प्रभावित रहेछन् ।


विजय र दयाहाङलाई एउटै चिन्ता के रहेछ भने बजारले थिचेका कारण बुद्धि ‘हैट’ चरित्रमा खुम्चिएका छन्, जबकि उनी गम्भीर प्रकृतिका भूमिकालाई पनि जीवन्तता दिन सक्छन् । यस्तै हो त ? बुद्धि भनिहाल्छन्, ‘हो नि, मलाई पनि यस्तै लाग्छ । सधैं उस्तै खालको भूमिकाको अफर आउँछ । चाहेर पनि बाहिर निस्कन सकेको छैन । तर नयाँ काम गर्न सधैं भोको छु ।’

प्रकाशित : आश्विन ३, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?