'कबड्डी' यार

हेलो शुक्रबार

 अनामनगरमा मण्डला नाटकघरको जग हालिँदै थियो, छेवैमा बसेर रामबाबु गुरुङ र उपेन्द्र सुब्बा फिल्मको स्क्रिप्ट लेखिरहेका थिए  ।

बुद्धि तामाङ र विजय बराल भवन बनाउन दिलो ज्यान दिएर लागिपरेका थिए, मण्डलाका अध्यक्ष दयाहाङ राईलाई पनि भ्याइनभ्याई हुन्थ्यो । दयाहाङ मोटरसाइकल हाँक्न नजान्ने, कतै जानुपर्दा विजयको साथ चाहिने । बुद्धि पनि बाइक चलाउन जान्दैनथे । उनीहरूको दोस्तीको बिजारोपण मण्डलामै भएको थियो । छोटै समयमा फस्टाएको यो आत्मीयता निर्देशक/लेखक रामबाबुको नजरमा परेको थियो । फिल्मको नाम राखे, ‘कबड्डी’ । मुख्य भूमिकामा काजी अर्थात् दयाहाङ । उनका दुई यार हुन्छन्, बिके र छन्त्याल । रामबाबुले स्क्रिप्ट लेख्दा नै बिकेको भूमिकामा विजय सम्झिएका थिए, छन्त्यालमा बुद्धि । भयो
पनि त्यस्तै ।


नाटकघर ठडियो । केही वर्षपछि ‘कबड्डी’ बन्यो । गुरुकुल भत्किएपछि सुस्ताएको नेपाली रंगमञ्चलाई मण्डलाले नयाँ जीवन दियो । मौलिक स्वाद र शैलीको कथा पस्किएर ‘कबड्डी’ ले नाम र दाम कमायो । मण्डला बनेको एक दशक भयो, ‘कबड्डी’ चाहिँ ६ वर्ष । यतिबेला मण्डलामा ‘महाभोज’ नाटक मञ्चन भइरहेको छ । विजय, दयाहाङ र बुद्धिले अभिनय गरेका छन् । शुक्रबारबाटै देशभर ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज भएको छ । यसमा उनीहरू नै मुख्य भूमिकामा छन् । दयाहाङ भन्छन्, ‘चिनजान भएदेखि व्यक्तिगत र व्यावसायिक रूपमा हामी सँगसँगै छौं । सबभन्दा ठूलो कुराचाहिँ हाम्रो सम्बन्धले एकअर्कालाई ऊर्जा दिइरहेको हुन्छ ।’


तीनमध्ये दयाहाङ सिनियर हुन् । विजय त उनलाई गुरु नै मान्छन् । विजय र बुद्धिले चिन्दा दयाहाङ ‘लुट’ बाट स्टार भइसकेका थिए । विजय र बुद्धिको अनुभव एउटै छ, ‘तर दया दाइले कहिल्यै ठूलो हुँ भन्नेजस्तो व्यवहार देखाउनु भएन । न लोकप्रिय कलाकार हुनुको कुनै घमण्ड नै छ । हिजो जति सरल हुनुहुन्थ्यो, आज पनि उस्तै । त्यसैले पनि उहाँप्रति ज्यादै सम्मानभाव छ ।’ उनीहरूको करिअरले गति पाउन दयाहाङको प्रभावकारी भूमिका रहेछ । जस्तो– मण्डलाकै सुरुवातकर्ता हुन्, दयाहाङ । जहाँबाट विजय र बुद्धिले रंगकर्मको छहारी पाए । उनले निर्देशन गरेको नाटक ‘डिग्री माइला’ मा विजय–बुद्धिले अभिनय गरेका छन् । ‘कबड्डी’ अगावै ‘साँघुरो’ मा एकसाथ अभिनय गरेका थिए । संयोग कस्तो भने यो फिल्ममा पनि उनीहरू साथी–साथी हुन्छन् । बुद्धि मुस्कुराउँछन्, ‘हामी मिलेको देखेर हुनुपर्ला, रोल पनि साथीकै पाइन्छ ।’ ‘कबड्डी’ दयाहाङका लागि ‘लुट’ पछि थप ‘माइलेज’ दिने फिल्म बन्यो भने विजय र बुद्धिलाई त ठूलो पर्दामा स्थापित गर्‍यो ।


रंगमञ्चमा खारिएका यी तीन कलाकारलाई ‘कबड्डी’ मा औधी रुचाइयो । फिल्मको आकर्षक पक्षमध्ये उनीहरूको दोस्ती पनि एक हो । काजीको एकोहोरो प्रेम सफल बनाउन बिके र छन्त्याल मरिमेटेर लागि पर्छन्, काजीलाई कहिल्यै एक्लो हुन दिँदैनन् । काजीसँग दोस्ती गाँस्न पाउँदा बिके र छन्त्याल पनि दंग किनभने गाउँमा शान बढ्छ । पर्दामा देखाइएको उनीहरूको मित्रता सामाजिक सञ्जालमा हिट छन् ।‘कबड्डी’ को सफलतापछि सिक्वेल बन्यो, ‘कबड्डी कबड्डी’ । यसमा पनि उनीहरूको सम्बन्ध उत्तिकै प्रगाढ हुन्छ, बिके र छन्त्याल काजीको वरपर हुन्छन् । यसको अन्त्यमा दयाहाङ र विजयले बिहे गराइदिएर बुद्धिलाई अन्तै पठाइदिन्छन् । त्यसैले तेस्रो सिक्वेलमा उनीहरूलाई एकसाथ देख्न पाइएला ? विजय भन्छन्, ‘हामी दूरीले टाढा भए पनि भावनात्मक रूपमा उत्तिकै नजिक हुन्छौं । पातलो भए पनि भेटचाहिँ भइरहन्छ । दर्शकले हामीलाई अझ परिपक्व रूपमा पाउनुहुन्छ ।’


‘कबड्डी’ सिरिजबाहेक ‘मिस्टर झोले’ मा यो ग्याङले एकसाथ काम गरेको छ । यसमा पनि दयाहाङ र बुद्धि साथी नै हुन्छन्, विजयचाहिँ फिरन्ते गुन्डा । उनीहरूको अर्को फिल्म दयारानी प्रदर्शनको संघारमा छ । यसबाहेक मण्डलाकै ‘र...माइलो’ नाटकमा सँगै काम गरेका छन् । व्यस्तता र लोकप्रियतालाई नियाल्दा दयाहाङ अगाडि छन् । बुद्धिलाई पनि फिल्ममा भ्याइनभ्याई छ । विजय नाटक र फिल्ममा समान रूपमा सक्रिय छन् । उनीहरूलाई एकअर्काको अभिनय कस्तो लाग्ला ?


दयाहाङलाई विजय ‘भर्सटायल एक्टर’ लाग्दोरहेछ । उनको अभिनयप्रतिको अनुशासन, ऊर्जा र इमानदारिताबाट प्रभावित छन् । बुद्धिचाहिँ एकदम मेहनती र हरेक चरित्रलाई न्याय दिन सक्ने सामर्थ्य राख्ने कलाकार लाग्दोरहेछ । विजयको नजरमा दयाहाङ जटिल चरित्रलाई सरल बनाउन सक्छन् । आफूमात्र होइन, को–एक्टरले पनि राम्रो काम गर्नुपर्छ भन्ने सोच राख्छन् र त्यस्तै वातावरण बनाइदिन्छन् । बुद्धिमा चरित्रलाई चिन्ने र सोही अनुरूप आफूलाई ढाल्न सक्ने क्षमता छ । त्यस्तै, सामान्य पात्रलाई विशेष बनाउने दयाहाङको कुशलता र सिक्न खोज्ने विजयको बानीबाट बुद्धि प्रभावित रहेछन् ।


विजय र दयाहाङलाई एउटै चिन्ता के रहेछ भने बजारले थिचेका कारण बुद्धि ‘हैट’ चरित्रमा खुम्चिएका छन्, जबकि उनी गम्भीर प्रकृतिका भूमिकालाई पनि जीवन्तता दिन सक्छन् । यस्तै हो त ? बुद्धि भनिहाल्छन्, ‘हो नि, मलाई पनि यस्तै लाग्छ । सधैं उस्तै खालको भूमिकाको अफर आउँछ । चाहेर पनि बाहिर निस्कन सकेको छैन । तर नयाँ काम गर्न सधैं भोको छु ।’

प्रकाशित : आश्विन ३, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्

प्रविधिको कमाल

कान्तिपुर संवाददाता

कृषिमा पछिल्लो समय नयाँ प्रविधि भित्र्याउने लहड नै चलेको छ  । नयाँ प्रविधिले कृषिजन्य उत्पादनलाई समय, स्वास्थ्य र व्यवसायको हिसाबले पनि प्रभावकारी बनाइरहेको छ, जनशक्ति अभावलाई कम गरेको छ  ।

तरकारी उत्पादनमा नयाँ प्रविधिले बजार लिइरहेको छ । खेतीयोग्य जमिनको अभाव र कृषिमा आधुनिकीकरणको प्रभावले नयाँ प्रविधिको प्रयोग काठमाडौंमा बढेको छ । घरका छतमा तथा बारीमा हावा र पानीको माध्यमबाट भइरहेको उत्पादन र प्रविधिबारे विमल खतिवडा लेख्छन् :

हावाको भरमा खेती


कलंकीका सिजर रानाले कम लागतमा कसरी धेरै फूल फुलाउन सकिन्छ भन्नेबारे तीन महिना लगाएर अनुसन्धान गरे । गोदावरीमा ६ रोपनी जग्गामध्ये दुई रोपनीमा सयपत्री फूल लगाएका उनी आफ्नो अनुसन्धान सफल भएकामा दंग छन् । उनले तीन साथी मिलेर दुई वर्षअघि नै मल र माटोबिना पनि हावाको भरमा तरकारी फलाइसकेका थिए । उनीसँगै विप्लव सिंह र सुविन श्रेष्ठ (हाल अमेरिका) छन् ।


सिजरले बोस्टन युनिभर्सिटी, अमेरिकाबाट एमबीए गरेका छन् । तीनै जनाले एउटै विषय पढेको उनले बताए । कम्पनीको नाम एरोरुट्स प्रालि राखेका छन् । एरोरुट्स भनेको एरोपोनिक्स प्रविधिमा आधारित खेती हो । ३५ वर्षीय सिजरका अनुसार एरोपोनिक्स भनेको नासाले पायोनियर गरेको प्रविधि हो । ‘हामीले जर्नलहरू पढेर नेपालमा यो प्रविधिको सुरुवात गरेका हौं,’ उनी भन्छन्, ‘यो प्रविधिमा सफल भएका छौं ।’ उनका अनुसार अहिले काठमाडौंका करिब ५० घरमा यो प्रविधि जडान गरिएको छ ।


‘माटोमा भन्दा एरोपोनिक्स प्रविधिअन्तर्गत औसतमा ९९ प्रतिशत कम पानीमा तरकारी फलाउन सकिन्छ,’ उनले भने, ‘माटोमा एक किलो गोलभेंडा फलाउन चार सय लिटर पानी चाहिन्छ, एरोपोनिक्समा चार लिटर भए पुग्छ ।’ हाइड्रोपोनिक्स र एरोपोनिक्स प्रविधिको एउटा समानता दुवैमा माटो नचाहिने हो । माटोबिनै खेती गर्न सकिन्छ भन्ने उदाहरण हुन् यी दुई प्रविधि ।


‘माटोमा भएको ९९.९९ प्रतिशत कुरा बिरुवालाई केही काम छैन, माटोले बिरुवालई समातेर राख्ने काम मात्रै गर्छ,’ सिजर भन्छन्, ‘एरोपोनिक्समा माटोबाट पाउने कुरा हामी प्रत्यक्ष रूपमा त्यसको जरामा दिन्छौं ।’ हाइड्रोपोनिक्समा माटोको सट्टा जरा पानीमा हुन्छ । एरोपोनिक्समा हुस्सु जस्तो देखिने झरनाबाट खसेको पानी जस्तै हुन्छ । यसमा जरा डुबेर बसेको हुन्छ । हावाको माध्यमबाट पानीको ‘मिस्ट’ निकालेर फूल पनि उत्पादन भइरहेको छ ।


‘हामी पानी धेरै प्रयोग गर्दैनौं, हावा र पानीलाई मिसाउँछौं,’ उनले सुनाए, ‘त्यसैले यसको नाम एरोपोनिक राखिएको हो ।’ हाइड्रोपोनिक्सले सामान्य कृषिको १० प्रतिशत पानी प्रयोग गर्छ । एरोपोनिक्सले सामान्य कृषिको १ प्रतिशत मात्र पानी प्रयोग गर्छ । यसमा सुरुको लगानी महँगो पर्छ । एरोपोनिक्स गर्ने मेसिन किन्नुपर्छ । लेबर कम लाग्छ । धेरै ठाउँ चाहिँदैन ।


‘कृषि भनेपछि हाम्रो बुझाइ दिनभर घाममा धपिएर काम गर्नुपर्छ भन्ने छ,’ उनले भने, ‘हामी परिवर्तन गर्ने प्रयासमा छौं । यसका लागि फार्मको डिजाइनअनुसार स्थान चाहिन्छ ।’ उनले अहिले प्रविधि मात्र उपलब्ध गराइरहेको बताए । ‘हामी कृषि पृष्ठभूमिबाट आएका होइनौं तर अहिले तरकारीमा विषादीको मात्रा बढी भयो,’ उनले थपे, ‘त्यसैले विषादीरहित तरकारी खुवाउने हाम्रो उद्देश्य हो ।’ यस प्रविधिको अनुसन्धान सिजरकै घरको छतमा गरिएको थियो ।


एरोपोनिक्स प्रविधि जडान गरेको ७५ हजार रुपैयाँ लाग्ने बताइएको छ । त्यो मूल्यमा उनीहरूले सेवासँगै एक वर्षसम्म मलको खर्च पनि बेहोर्छ । मेसिनको मात्रै ५० हजार पर्ने सिजरले बताए । ‘हामी आफैंले सेवा दिनेभन्दा पनि जसले चाहन्छ, उसैलाई प्रशिक्षण दिने गर्न थालेका छौं,’ उत्पादनका लागि घाम आउने ठाउँमा राख्न आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘यो प्रविधिमा तरकारी खेती गर्दा सातामा १५–२० मिनेट काम गरे पुग्छ । घाम आउने ठाउँमा राखे पुग्छ, अरू सबै कुरा सबै सिस्टमले दिन्छ ।’


यो प्रविधिका लागि प्लास्टिकका ड्रम तथा ट्यांकी उपयुक्त हुन्छन् । यो सिस्टममा ६० वटा प्वाल हुन्छन् । यसमा ३० वटा तरकारी उत्पादन गर्न मिल्छ । बोडी, सिमी, लौका, करेला, भान्टा, फर्सीलगायतका तरकारी फलाउन सकिन्छ । ठूलो ठाउँमा खेती राम्रो हुन्छ । यो प्रविधिमा मोटर, कन्ट्रोलर र टाइमरबाहेक अरू सामग्री नेपालमै पाइन्छन् । व्यवस्थित तरिकाले सञ्चालन गरेमा यो प्रविधिलाई १० वर्षसम्म टिकाउन सकिन्छ । माटोमा फल्नेभन्दा एयरपोनिक्स प्रविधिमा खेती करिब ४० प्रतिशत चाँडै तरकारी उत्पादन हुने भएकाले पनि यो प्रविधि प्रभावकारी हुने सिजरले बताए ।


पानीमै तरकारी

पुतलीसडकका गणेश अग्रवालले डेढ वर्षयता हाइड्रोपोनिक्स प्रविधिमार्फत तरकारी उत्पादन गरिरहेका छन् । तीन जनाले ‘ट्रु फार्म’ कम्पनी स्थापना गरी पानीको माध्यमबाट खेती गर्ने काम हरिसिद्धिमा सुरु गरेका हुन् । श्रीराम कलेज अफ दिल्लीबाट स्नातक गरेका उनी अचेल तरकारीको रेखदेखमै व्यस्त हुन्छन् ।‘एक साथी चार वर्ष यूके बसे । त्यहाँ उनलाई सलाद खाने बानी परेछ । उनले काठमाडौं आउँदा राम्रो सलाद पाएनन्,’ हाइड्रोपोनिक्स प्रविधिप्रतिको आकर्षणबारे गणेशले भने, ‘साथीले यूकेमा हाइड्रोपोनिक्स प्रविधिबाट तरकारी फलाएको देखेको रहेछ । उनकै सल्लाहमा यहाँ काम थालियो ।’ उनका अनुसार यो प्रविधिमा लगानी ठूलै पर्ने भए पनि धेरै जनशक्ति नचाहिने भएकाले उत्पादनमा सस्तो पर्छ । खेतीयोग्य जमिनको अभाव भएका क्षेत्रमा यो प्रविधि लोकप्रिय रहेको छ । उनको फार्मले ५ रोपनी जग्गा भाडामा लिएर खेती सुरु गरेको हो ।


उनले उत्पादन भएको तरकारीलाई होलसेल पसलमा पठाउने गर्छन् । पाँचतारे होटल र रेस्टुराँमा पनि नियमित तरकारी पठाउने ट्रु फार्मको उत्पादनको माग उच्च रहेको छ । पाँच जनाले रोजगारी पाएको यो फार्मले अफ–सिजनमा पनि सलाद उत्पादन गर्छ ।यो प्रविधिमा बिरुवालाई आवश्यक तत्त्वहरू एउटा ‘प्युरिफाइड फर्म’ मा पाइपको माध्यमबाट पठाइन्छ, जुन एनएफटीमा रि–सर्कुलेट हुन्छ । तरकारीमा पाइपमार्फत पानी घुमिरहन्छ । बाह्रैमास पालुंगो, धनियाँ, चाइनिज साग, रायो साग, पुदिनालगायत उत्पादन गरिन्छ । ‘क्यान्सर रोगीको संख्या अत्यधिक बढेको छ । त्यो तरकारीमा विषादीको मात्रा बढी भएर पनि हो । त्यसैले हाम्रो उद्देश्य स्वस्थ तरकारी खाउँ र खुवाऔं भन्ने हो,’ ४० वर्षीय गणेशले भने । यसमा दुई करोड रुपैयाँ लगानी भइसकेको उनले बताए ।


हाइड्रोपोनिक्समा माटोमा हुने खेतीमा भन्दा ८० प्रतिशत कम पानी प्रयोग हुन्छ । उत्पादन पनि ४० देखि ५० प्रतिशत छिटो हुन्छ । ‘माटो प्रयोग नगर्ने भएकाले बिरुवालाई बढाउन एउटा माध्यम चाहिन्छ, त्यसमा हामीले कोकोपिट र पर्लाइट प्रयोग गर्छौं,’ उनले भने । नयाँ पुस्ताका लागि नयाँ प्रविधि आवश्यक रहेको पनि उनले बताए । चाँडै दुई–तीन वटा फार्म थप्ने योजना बनाएको उल्लेख गर्दै उनले भने, ‘तरकारीको बजार राम्रो छ । घरमै पनि तरकारी उत्पादन गरेर खान सकिन्छ ।’

प्रकाशित : आश्विन ३, २०७६ ११:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्