२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रुबी भ्यालीकी रुबी

कुनै बेला म्युजिक भिडियो र फिल्ममा अभिनय गर्न व्यस्त रहेकी बिना लामा अहिले रुबी भ्याली गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेकी छन् ।

गणेश हिमालको काखैमा छ रुबी भ्याली  । उत्तरी धादिङको यही सुन्दर थलोमा केही वर्षअघि एउटा फिल्म बन्यो– ‘सिङ्ला माने’  ।

रुबी भ्यालीकी रुबी

तामाङ फिल्मकी नायिका थिइन् बिना लामा । यही हिमाली थलोको तिप्लिङ ठूलोगाउँमा जन्मे हुर्केकी यिनले यसअघि नै एक दर्जन म्युजिक भिडियो खेलिसकेकी थिइन् । उनको परिचय बदलिएको छ । स्थानीय निर्वाचनमा रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष चुनिएपछि उनी कलाकार ‘कम’ र सामाजिक अभियन्ता ‘बढी’ बनेकी छन् ।


‘तैपनि गाउँ बाहिरकाले भने कलाकारकै रूपमा बढी चिन्छन्’ हालैको दिन काठमाडौंमा भेटिएकी बिनाले भनिन्, ‘दुईखाले परिचय पनि रमाइलो नै हुँदोरहेछ ।’ फिल्ममा आउनुको पछिल्तिर पनि आफ्नै गाउँठाउँको सन्दर्भ जोडिएको उनले बताइन् । रुबी, क्रिस्टललगायतका बहुमूल्य रत्न पाइने रुबी भ्याली भौगोलिक हिसाबले विकट भए पनि सांस्कृतिक हिसाबले निकै सम्पन्न छ । तामाङ समुदायमा प्रचलित लोकभाका म्हेन्दोमाया र दोरादेखि घोडा नाच, लामा नाच, झाँक्री नाचले धनी आफ्नो थातथलोलाई उनी बाहिरी दुनियाँमा चिनाउन चाहन्थिन् । म्हाने र तान्त्रिक महांकाल जात्रादेखि गुरुङ समुदायको घाटु पनि प्रचलित छ रुबी भ्यालीमा । ‘गाउँ चिनाउन फिल्म रोजें,’ उनले भनिन् ।


‘सिङ्ला माने’ फिल्म खिचिएको सिङ्ला क्षेत्र ३७ सय फिटभन्दा माथिको मैदानी भाग हो । यहाँ मंसिरदेखि लगभग पाँच महिना हिउँले ढाक्छ । केही दिन अघि मात्रै यहाँ लोकभाका र नृत्यसहित ‘म्हेन्दोमाया’ मेला भयो । थुप्रैले यहाँ म्युजिक भिडियो छायांकन पनि गरेका छन् । ‘फिल्म र म्युजिक भिडियो पेसाभन्दा खासमा सौख हो मेरा लागि,’ बिनाले भनिन्, ‘युवा पिँढीमा समाज र संस्कृति प्रवर्द्धनमा यसले सघाउने रहेछ । त्यही भएर गाउँपालिका उपाध्याक्ष भए पनि यो क्षेत्र चटक्कै छोड्न मन छैन ।’


उमेरले उनी २९ वर्षमा हिँड्दै छिन् । स्कुले जीवन सकाएर काठमाडौं सीपीएस गोदावरीमा प्लस टु पढ्दै गर्दा नै कला र समाज सेवाको दुवै बाटो समातेकी थिइन् उनले । कादम्बरी मेमोरियल कलेज स्नातक पढिरहेकै बेला उनी निःसहाय सेवा सदन र सपना प्रधान मल्लको ‘फोरम फर वुमन, ल एन्ड डेभलपमेन्ट’ ले गर्ने विभिन्न सामाजिक अभियानसित जोडिएकी थिइन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सकाएकी उनी जब गाउँ पसिन्, गाउँलेहरूले ‘यति धेरै बुझेको र पढेको युवाले राजनीति पनि बुझ्नुपर्छ’ भन्दै सुझाए । राप्रपा गाउँ कमिटीको कोषाध्यक्ष चुनिइन्, त्यही वर्ष क्षेत्रीय कमिटीको पनि कोषाध्यक्ष बनिन् । जिल्ला सदस्य नबनिकनै उनी सिधै महाधिवेशन प्रतिनिधि बनिन् । ‘सुरु–सुरुमा त राजनीतिले मान्छेलाई सपार्दैन, नलाग्नु भन्ने आफन्त पनि थिए,’ उनले आफ्नो अनुभव सुनाइन्, ‘तर युवाले नबुझे राजनीति कसले बुझ्छ जस्तो लाग्यो । अनि उपाध्यक्ष उठें, जितें ।’


यस अभियानमा उनलाई बुबा राम लामा र आमा नानीरानी घलेको पनि साथ मिल्यो । पतिको पनि राम्रो सहयोग छ । मामातिरको हजुरबुबा त प्रधानपञ्च नै थिए कुनै समय । ‘समाज र गाउँको विकासका लागि राजनीतिक परिवारकै हुनुपर्छ भन्ने छैन,’ उनले भनिन्, ‘सबै युवाले आफ्नो समाज र समुदायको समस्या नजिकबाट बुझ्न जरुरी छ किनभने भोलिको समाज त युवाकै हो ।’ रुबी भ्यालीको समस्याचाहिँ भौगोलिक विकटता नै हो । पश्चिमी तामाङ सभ्यताको उद्गम थलो ‘ल्हाप्साङ कर्पो’ क्षेत्रमा पर्ने रुबी भ्याली पुग्न सदरमुकाम धादिङबेंसीबाट तीन दिन लाग्छ । रसुवाको स्याफ्रुबेंसी, स्योमदाङ हुँदै जाँदा पनि उत्ति नै समय लाग्छ । वैशाखसम्म हिउँले ढाक्ने रुबी भ्यालीको पर्यटकीय, सांस्कृतिक र भौतिक विकासका लागि गाउँपालिकाले तीव्र रूपमा काम गरिरहेको उनले बताइन् । गाउँपालिका अध्यक्ष चेरुङ तामाङको नेतृत्वलाई उनले सघाइरहेकी छन् ।


अहिले सोमदाङ हुँदै ३३ किमिको बाटो पाङसाङ पास हुँदै अघि बढेको छ । केही वर्षअघि घुम्न गएको एक ताइवानी जोडी हिउँमा फसेको र प्रेमिका मृत्यु भएको यही पाङसाङको घाँटीमा हो । धादिङबेंसी खनियाबास हुँदै पनि बाटो खुलेको छ अहिले । ‘स्वास्थ्य, शिक्षा र पर्यटन–संस्कृति प्रवर्द्धनसँगै बाटो निर्माणलाई प्राथमिकतामा राखेका छौं,’ बिनासँगै भेटिएका गाउँपालिका अध्यक्ष चेरुङले भने, ‘छिट्टै रुबी भ्यालीमा सहजै पर्यटन पुग्न सक्ने स्थिति बन्नेछ ।’
बिनासँग भने फिल्म र म्युजिक भिडियोको सौख उत्तिकै छ । गणेश हिमाल, पाल्दोर हिमाल, तातोपानी कुण्ड, कोलोदह, सेतोदह, गणेश कुण्ड, दोङदेन कुण्डजस्ता पर्यटकीय थलो रहेको रुबी भ्यालीलाई फिल्ममार्फत अझ बढी प्रवर्द्धन गर्ने धोको छ । रुबी भ्याली हुँदै गोर्खा आरुघाट, स्योमदाङ हुँदै ख्लारी केरुङ र सिङ्ला हुँदै नुवाकोट किस्पाङको ट्रेकिङ रुट अझ बढी व्यवस्थित गरेर जतिसक्दो धेरै रुबी पयर्टन भित्र्याउने सपना छ ।
–फूलमान वल

प्रकाशित : भाद्र २७, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?