ब्रान्डको रोजाइ

कान्तिपुर संवाददाता

फिल्म हिट नभएर के भो, प्रियंका कार्कीलाई भ्याइनभ्याई छ  । देश–विदेशमा हुने स्टेज शो, म्युजिक भिडियोमात्र होइन, फिल्मको समेत कमी छैन  ।

अझ पछिल्लो समय त आफैं म्युजिक भिडियो र सिरिज निर्देशनमा होमिएकी छन् । निकट भविष्यमै फिल्म निर्देशनमा लागिनन् भने पनि अनौठो नमाने हुन्छ । यी अनेक कामसँगै प्रियंका ब्रान्ड एम्बेस्डरका रुपमा उत्तिकै व्यस्त छिन् । उनी जत्ति ब्रान्डसँग जोडिएकी अर्की हिरोइन फिल्म वृत्तमा छैनन् ।


ब्युटी प्याजेन्ट, मोडलिङ हुँदै फिल्मी करिअर थालकी गरेकी हुन्, प्रियंकाले । त्यसैले पनि हुनुपर्छ, सुरुवातबाटै उनी व्यावसायिक कम्पनीको रोजाइमा परिन् । फिल्म अभिनयले तीव्रता लिएसँगै उनको माग अझ बढ्न थाल्यो । उनी अभिनीत सिनेमाले बक्सअफिसमा सुखद प्रदर्शन नगर्दा पनि ‘ब्रान्ड भ्यालु’ मा असर परेको देखिदैन । यसको मुख्य कारण हो, सामाजिक सञ्जालमा प्रियंकाको लोकप्रियता र सक्रियता । फेसबुक, इन्स्टाग्राममा हरपल अपडेट हुन र फ्यानसँग अन्तरक्रिया गर्न रुचाउँछिन् उनी । बेलाबखत विवादमा पनि पर्छिन् तर उनको गतिमा सुस्तता आएको छैन ।


प्रियंकाको अफिसियल फेसबुक पेजलाई २१ लाख बढीले लाइक गरेका छन् भने इन्स्टाग्राममा ८ लाख ५४ हजार फलोअर्स छन् । फिल्म खेल्दा पारिश्रमिकमा लचिलो हुने प्रियंका सद्भावना दूतका रूपमा एउटा ब्रान्डबाट बर्सेनि ६ देखि ८ लाख रुपैयाँ लिने गर्छिन् ।
प्रियंका आबद्ध ब्रान्ड अवधि
कोकाकोला ४ वर्ष
रस्लान ३ वर्ष
बाल्ट्रा ३ वर्ष
सुबिसु एन्ड क्लियर टीभी २ वर्ष
ब्रिटानिया २ वर्ष
लुम्बिनी एकाडेमी १ वर्ष
न्युट्रिड्रम १ वर्ष
नबिल बैंक १ वर्ष
भाइबर १ वर्ष
औरा ब्युटी सप १ वर्ष

स्वस्तिमाको आकर्षण


व्यावसायिक सम्झौता (इन्डोर्समेन्ट) मा प्रियंकालाई पछ्याइरहेकी छन्, स्वस्तिमा खड्काले । अघिल्लो वर्ष प्रदर्शित बुलबुलबाट सार्क फिल्म फेस्टिभलमा स्पेसल जुरी अवार्डमात्र होइन, उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड पनि जितेकी उनको जय भोले र नाईं नभन्नु ल ५ हिट भयो । हालै हजार जुनीसम्म
फ्लप भए पनि उनको क्रेजमा खासै असर परेको छैन । अब प्रतीक्षा छ, घामट शेरेको । स्वस्तिमाको बढ्दो लोकप्रियता देखेरै हुनुपर्छ, व्यावसायिक उत्पादनको प्रवर्द्धनमा उनको माग बढेको छ ।
स्वस्तिमाको सूत्र छ, स्क्रिप्ट र टिम अब्बल भयो भने पारिश्रमिकमा खुकुलो हुने । कलाकार भएको नाताले आफ्नो दर नतोक्ने तर्क राख्छिन् । जसको पूर्ति गर्ने प्रयास गर्छिन्, व्यावसायिक सम्झौता। ‘फिल्म मेरा लागि पैसा कमाउने माध्यम मात्र होइन,’ उनले भनिन्, ‘फिल्म स्तरीय हुन्छ भने न्यून पारिश्रमिक लिन्छु । तर ब्रान्ड एम्बासडरमा चाहिँ रकम डिमान्ड गर्छु ।’
व्यावसायिक कम्पनीहरूले कलाकारको ब्रान्ड भ्यालुअनुसार दूत बनाउने गर्छन् । नेपाली कम्पनीको तुलनामा बहुराष्ट्रिय कम्पनीले आकर्षक पारिश्रमिक दिन्छ । कलाकारका रूपमा टिक्न र सशक्त सिनेमा चयन गर्न पनि ब्रान्डसँग जोडिनु सकारात्मक हुने स्वस्तिमाको अनुभव छ । आधा दर्जन फिल्म खेलिसकेकी यी अभिनेत्री भन्छिन्, ‘चल्तीका ब्रान्डसँग काम गर्दा कलाकारको साख वृद्धि हुन्छ ।’
ब्रान्डले दूतका रूपमा अनुबन्ध गर्दा सामाजिक सञ्जालमा कलाकारको सक्रियतालाई पनि विशेष महत्त्व दिन्छन् । यसले पनि स्वस्तिमा रोजाइमा पर्छिन् । उनलाई इन्स्टाग्राममा ६ लाख ६७ ले पछ्याएका छन् भने फेसबुकमा १ लाख २० हजार बढी । उनले एउटा ब्रान्डबाट औसतमा ५ लाख रुपैयाँ लिने गर्छिन् । इन्डोर्समेन्ट सम्झौतासँगै कलाकारले फोटोसुट, टीभीसी र कम्पनीको विभिन्न कार्यक्रममा सहभागी हुनुपर्छ ।
स्वस्तिमा आबद्ध ब्रान्ड अवधि
टिभिस बाइक १ वर्ष
बोता मःम १ वर्ष
पाल्सोनिक टेलिभिजन २ वर्ष
सानिमा लाइफ इन्स्योरेन्स २ वर्ष
ओप्पो मोबाइल १ वर्ष
डिस होम १ वर्ष

प्रकाशित : भाद्र २७, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्

अद्भुत कैलाश

कान्तिपुर संवाददाता

 पवित्र तीर्थस्थल कैलाश जाने तयारी सात महिना अघिबाटै थालेकी थिएँ  । त्यसैको अभ्यासमा मुक्तिनाथ र पुनहिलसम्म पुगें  ।

पवित्र तीर्थस्थल कैलाश जाने तयारी सात महिना अघिबाटै थालेकी थिएँ । त्यसैको अभ्यासमा मुक्तिनाथ र पुनहिलसम्म पुगें । फेब्रुअरीदेखि दैनिक ४–५ किमि हिँड्ने/दौडनेसँगै एक घण्टा योग गरेकी थिएँ । यस्तो अभ्यास पहिला कहिल्यै गरेकी थिइनँ । तैपनि पवित्र तीर्थस्थल कैलाश यात्रामा त्यस्तो धेरै अपेक्षा गरेकी थिइनँ । इसा फाउन्डेसनद्वारा गत जनवरीमा आयोजित सत्संगमा कुरा हुँदा कैलाशप्रति मोहित भएकी थिएँ । एकपल्ट सुन्दै जान मन लाग्यो । हिम्मत गरें । आफन्तहरूले ‘ओहो ! कैलाश जाने’ भने ।


सद्गुरु जग्गी वासुदेवले एकदमै ऊर्जा महसुस गर्न सकिने स्थान भनेपछि कैलाश मोह बढेको हो । सद्गुरुसँग सत्संगमा सहभागी भएपछि कृष्ण मन्दिर (पाटन), पशुपतिनाथ र बौद्धको दर्शन गर्‍यौं । संयोगले पशुपतिनाथमा चारै ढोका खुलेका बेला पुगियो । अनि भोलिपल्ट काठमाडौंलाई बिदाइ गर्दै लाग्यौं ल्हासातिर । डेढ घण्टाको विमान यात्रासँगै कैलाश दर्शनको आरम्भ भयो ।घरमा दलाई लामाको पोतला दरबारतिर लागेदेखि सम्पर्क नहुन सक्छ भनेकी थिएँ । त्यसैले बेलाबेला सम्पर्क गर्दा अचम्भित भएँ । चाइनिज सिम प्रयोग गरिएन, अरू नचल्ने । मानसरोवर र कैलाश पुग्नुअघिका होटलहरूमा वाईफाई थियो तर एउटा म्यासेज पठाउन ५ मिनेटमा पनि मुस्किल पर्‍यो । एकदमै सुस्त । फोटो त पठाउनै नसकिने । मानसरोवर पुगेपछि ५–६ दिन त सम्पर्कविहीन नै भइयो ।
रुट कस्तो होला ? कैलाश पुग्न सकिन्छ/सकिँदैन ? डर लाग्यो । लेक (हाई अल्टिच्युट सिकनेस) लाग्ने डर छँदै थियो । मलाई मुक्तिनाथ (समुद्री सतहबाट ३८०० मिटर उचाइमा) जाँदै टाउको दुखेको थियो । त्यसैले कैलाश (६,६३८ मिटर) को नजिक पुग्ने भनेपछि त्यसै डर लाग्ने भयो । हाम्रो अन्तिम गन्तव्य कैलाशको काख देरापोख थियो । त्यसैले नर्भस त थियो नै, सँगै उत्तिकै उत्सुक पनि ।


मेरो शरीरले त्यो उचाइसम्म पुग्न सक्छ/सक्दैन भन्नेमा शंका थियो । तर, गाइडहरूको सल्लाहले सहज बनायो । हामी ७१ जनाको समूह तीन वटा बसमा थियौं । साथमा एउटा एम्बुलेन्स । अक्सिजन सिलिन्डर त बसमै अनिवार्य थियो । धेरैलाई चिसो र खोकीले सतायो । धेरै यात्रु विदेशी थिए । सास फेर्नै गाह्रो भयो भनिरहेका थिए । आफैं डराउने (एन्जाइटी अट्याक) ले धेरैलाई सतायो । हरेक बिहान ब्रेकफास्ट एकातिर मेडिकल परीक्षण अर्कोतिर हुन्थ्यो । हामीसँग एक जना डाक्टर थियो । ल्हासा, सिगात्से, सागा, मानसरोवर र कैलाशमा स्वास्थ्य परीक्षणका लागि बेस स्टेसन नै थियो । सबैको हरेक दिन दुईपल्ट स्वास्थ्य परीक्षण गरिन्थ्यो । त्यसैले केही भइहाल्यो भने समस्या हुँदैन भन्नेमा ढुक्क थिएँ । पाँचौं दिन मानसरोवर पुग्यौं । अत्यन्तै आकर्षक लाग्यो । मानसरोवरको सौन्दर्यलाई महसुस गर्न सकिन्छ तर शब्दमा बयानै गर्न सकिँदैन । शताब्दीयौंदेखि उस्तै कसरी रहेको होला ? अनेक प्रश्न उब्जिए । नीलो र स्वच्छ पानी । हेर्दाहेर्दै रङ फेरिने । उस्तै सफा आकाश । केही नसोची हेरिरहन मात्रै मन लाग्छ । एक छेउबाट अर्कोतिर किनारा नदेखिँदा आफू कति सानो प्राणी भन्ने लाग्यो । तालमै स्नान गर्न दुई वर्षअघि बन्देज लगाइए पनि पानी बाहिर निकालेर नुहाउन पाइने रहेछ ।
मानसरोवरमा दुई रात बसेपछि देरापोख पुगियो । कैलाश पुगेर आध्यात्मिक रूपमा केही सिकिन्छ भन्ने थियो । अन्ततः लक्ष्यमा पुगियो भन्दा नै भावनात्मक भएकी थिएँ । ‘वाह आइपुगें’ भन्ने भयो । पुगेको दिन कैलाश पर्वतलाई बादलले छोपेको थियो । बेलुका पानी पर्न थाल्यो । बिहान हिउँ । पहिलोपल्ट हिउँसँग साक्षात्कार गरें । हामी कैलाश दर्शनका लागि पर्ख र हेरको अवस्थामा थियौं । बिस्तारै हिउँ रोकियो । कैलाश देखिन थाल्यो । सबैले ध्यान गर्‍यौं । अत्यन्तै मोहित पार्ने स्थान रहेछ । कैलाशमा केही न केही छ, यत्तिकै सबैले ढोगेको होइन रहेछ भन्ने लाग्यो ।


सुरुमा अलिकति मात्रै कैलाश हेर्न पाउँदा पनि दंग थियौं । तेस्रो दिनको कैलाश दर्शन सानदार रह्यो । नीलो आकाशमा सेतो कैलाश अर्कै लाग्यो । स्वच्छन्द कैलाश । शिरमा दूध खन्याएजस्तो । घामको प्रकाशले बलिरहेजस्तै देखिने कैलाशको रूपको त बयानै गर्ने शब्द नै भेट्दिनँ । उक्त दृश्यको अनुभवलाई कसैले भनेर वा फोटो, भिडियो हेरेर रमाइलो मान्न सकिँदैन । अहिले बसले कैलाशको काखैमा पुर्‍याउँछ । समस्या लेक लाग्छ कि भन्ने मात्रै हो । पहिला कसरी जान्थे होलान् ? सम्झँदा पनि आश्चर्य लाग्छ ।गन्तव्यमा पुगेपछि आँट गरे सक्ने रहेछ भन्ने भयो र आफैंप्रति विश्वास बढ्यो । यो यात्राले सकारात्मक ऊर्जा दिएको छ । आफ्नो काम नगर्दा रिसाउने बानीलाई कम गर्दै शून्यमा झार्ने अभ्यासमा लागेकी छु । जीवन शरीरमात्र होइन, यसको परिधि फराकिलो रहेछ । ठूलो होउ, जागिर खाउ, पैसा कमाउ मात्रै जीवन होइन रहेछ ।


कैलाशबाट बगेको सेतो र स्वच्छ कलकलाउँदो पानीको स्वादै अर्कै थियो । साँच्चै प्राकृतिक लाग्ने । बाटोमा देखिने धेरै तालहरू पनि उस्तै आकर्षक । चाइनिज र तिब्बतियन भाषामा लेखिएका नामलाई भने बुझ्न सकिएन । दार्चेन यमद्वार, सागा, सिगात्से हुँदै ल्हासा फर्कियौं । सैनिक क्षेत्र भएकाले सागामा फोटो खिच्न नपाइने रहेछ । ल्हासादेखि सिगात्सेसम्म सडकका दुईतिरै रूख रोपिएको रहेछ । उचाइतिर जाँदा भने बुट्यान हुँदै सुनसान नै देखिन्छ । बालुवाका ढिस्काहरू पनि देखिए । त्यो दुई साताको यात्रामा हरेक दिन केही न केही सिक्ने अवसर पाएँ । गाइडहरू एकदमै रमाइलो गर्थे । स्थानीय मानिसहरूसँग सम्पर्क भएको भए त्यहाँको जीवन शैलीबारे पनि जान्न पाइन्थ्यो, अनुभव बाँड्न पाइथ्यो । दुई लेनको सडकमा गाडी गुडिरहेको छ तर मान्छे देख्नै नपाइने रहेछ । कतै फाट्टफुट्ट घर देखिए । मान्छे कतै कतै एक–दुई जना मात्रै । सुनसान नै थियो बाटो । यस्तो ठाउँमा एकअर्काको सहयोगबिना बसाइ वा यात्रा सम्भव हुँदैन ।


तिब्बतका पहाडहरू एकदमै आकर्षक रहेछ । पूरै चट्टानमा कला भरिएजस्तै । एकदमै भिन्न लाग्यो । तिब्बतियन अक्षरमा ढुंगामा कुँदिएका बौद्ध मन्त्र र लुङ्दरहरूले सुनसान ठाउँलाई पनि रंगीन बनाइदिएको थियो । भेडा र याकको बथान भेटिइरह्यो । तिब्बतका काग कति ठूला ? चकित परे । एक मर्मोट (गिनीपिगको एक प्रजाति) लाई चकलेट दिँदा प्वालबाट अरू लस्करै निस्किँदा खुबै रमाइलो लागेको थियो । त्यहाँका सार्वजनिक चर्पी भने बस्नै नसकिने रहेछ । त्यसैले प्राकृतिक चर्पी नै उपयुक्त ठान्यौं ।


कैलाशतर्फ लाग्दा सबै उत्साहित थियौं । डर पनि थियो । हामी सबै कैलाशलाई हेरेर चकित भयौं । उभिन गाह्रो भएकाहरू घोडा चढेरै भए पनि पुगे । दार्चेनबाट करिब तीन घण्टाको ट्रेकिङ एकदमै रमाइलो भयो । स्वदेशमा डेंगुले सताइरहेको बेला चीनको स्वशासित क्षेत्र तिब्बतमा त्यतिको उचाइमा पनि लामखुट्टे देख्दा भने ट्वाँ परें । खुला आकाशमुनिको सीधा बाटो जति हिँडे पनि नपुगिने र नथाकिने खालको थियो । यात्राले नयाँ सोच त दिन्छ नै । साथै आध्यात्मिक रूपले पनि ऊर्जा भरेर आएका छौं ।

दिप्ती सिलवाल
deeptisilwal78@gmail.com

प्रकाशित : भाद्र २७, २०७६ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्