अद्भुत कैलाश

दिप्ती सिलवाल

पवित्र तीर्थस्थल कैलाश जाने तयारी सात महिना अघिबाटै थालेकी थिएँ  । त्यसैको अभ्यासमा मुक्तिनाथ र पुनहिलसम्म पुगें  ।

पवित्र तीर्थस्थल कैलाश जाने तयारी सात महिना अघिबाटै थालेकी थिएँ । त्यसैको अभ्यासमा मुक्तिनाथ र पुनहिलसम्म पुगें । फेब्रुअरीदेखि दैनिक ४–५ किमि हिँड्ने/दौडनेसँगै एक घण्टा योग गरेकी थिएँ । यस्तो अभ्यास पहिला कहिल्यै गरेकी थिइनँ । तैपनि पवित्र तीर्थस्थल कैलाश यात्रामा त्यस्तो धेरै अपेक्षा गरेकी थिइनँ । इसा फाउन्डेसनद्वारा गत जनवरीमा आयोजित सत्संगमा कुरा हुँदा कैलाशप्रति मोहित भएकी थिएँ । एकपल्ट सुन्दै जान मन लाग्यो । हिम्मत गरें । आफन्तहरूले ‘ओहो ! कैलाश जाने’ भने ।

सद्गुरु जग्गी वासुदेवले एकदमै ऊर्जा महसुस गर्न सकिने स्थान भनेपछि कैलाश मोह बढेको हो । सद्गुरुसँग सत्संगमा सहभागी भएपछि कृष्ण मन्दिर (पाटन), पशुपतिनाथ र बौद्धको दर्शन गर्‍यौं । संयोगले पशुपतिनाथमा चारै ढोका खुलेका बेला पुगियो । अनि भोलिपल्ट काठमाडौंलाई बिदाइ गर्दै लाग्यौं ल्हासातिर । डेढ घण्टाको विमान यात्रासँगै कैलाश दर्शनको आरम्भ भयो ।घरमा दलाई लामाको पोतला दरबारतिर लागेदेखि सम्पर्क नहुन सक्छ भनेकी थिएँ ।

त्यसैले बेलाबेला सम्पर्क गर्दा अचम्भित भएँ । चाइनिज सिम प्रयोग गरिएन, अरू नचल्ने । मानसरोवर र कैलाश पुग्नुअघिका होटलहरूमा वाईफाई थियो तर एउटा म्यासेज पठाउन ५ मिनेटमा पनि मुस्किल पर्‍यो । एकदमै सुस्त । फोटो त पठाउनै नसकिने । मानसरोवर पुगेपछि ५–६ दिन त सम्पर्कविहीन नै भइयो ।

रुट कस्तो होला ? कैलाश पुग्न सकिन्छ/सकिँदैन ? डर लाग्यो । लेक (हाई अल्टिच्युट सिकनेस) लाग्ने डर छँदै थियो । मलाई मुक्तिनाथ (समुद्री सतहबाट ३८०० मिटर उचाइमा) जाँदै टाउको दुखेको थियो । त्यसैले कैलाश (६,६३८ मिटर) को नजिक पुग्ने भनेपछि त्यसै डर लाग्ने भयो । हाम्रो अन्तिम गन्तव्य कैलाशको काख देरापोख थियो । त्यसैले नर्भस त थियो नै, सँगै उत्तिकै उत्सुक पनि ।

मेरो शरीरले त्यो उचाइसम्म पुग्न सक्छ/सक्दैन भन्नेमा शंका थियो । तर, गाइडहरूको सल्लाहले सहज बनायो । हामी ७१ जनाको समूह तीन वटा बसमा थियौं । साथमा एउटा एम्बुलेन्स । अक्सिजन सिलिन्डर त बसमै अनिवार्य थियो । धेरैलाई चिसो र खोकीले सतायो । धेरै यात्रु विदेशी थिए । सास फेर्नै गाह्रो भयो भनिरहेका थिए । आफैं डराउने (एन्जाइटी अट्याक) ले धेरैलाई सतायो । हरेक बिहान ब्रेकफास्ट एकातिर मेडिकल परीक्षण अर्कोतिर हुन्थ्यो । हामीसँग एक जना डाक्टर थियो । ल्हासा, सिगात्से, सागा, मानसरोवर र कैलाशमा स्वास्थ्य परीक्षणका लागि बेस स्टेसन नै थियो । सबैको हरेक दिन दुईपल्ट स्वास्थ्य परीक्षण गरिन्थ्यो । त्यसैले केही भइहाल्यो भने समस्या हुँदैन भन्नेमा ढुक्क थिएँ । पाँचौं दिन मानसरोवर पुग्यौं । अत्यन्तै आकर्षक लाग्यो ।

मानसरोवरको सौन्दर्यलाई महसुस गर्न सकिन्छ तर शब्दमा बयानै गर्न सकिँदैन । शताब्दीयौंदेखि उस्तै कसरी रहेको होला ? अनेक प्रश्न उब्जिए । नीलो र स्वच्छ पानी । हेर्दाहेर्दै रङ फेरिने । उस्तै सफा आकाश । केही नसोची हेरिरहन मात्रै मन लाग्छ । एक छेउबाट अर्कोतिर किनारा नदेखिँदा आफू कति सानो प्राणी भन्ने लाग्यो । तालमै स्नान गर्न दुई वर्षअघि बन्देज लगाइए पनि पानी बाहिर निकालेर नुहाउन पाइने रहेछ ।

मानसरोवरमा दुई रात बसेपछि देरापोख पुगियो । कैलाश पुगेर आध्यात्मिक रूपमा केही सिकिन्छ भन्ने थियो । अन्ततः लक्ष्यमा पुगियो भन्दा नै भावनात्मक भएकी थिएँ । ‘वाह आइपुगें’ भन्ने भयो । पुगेको दिन कैलाश पर्वतलाई बादलले छोपेको थियो । बेलुका पानी पर्न थाल्यो । बिहान हिउँ । पहिलोपल्ट हिउँसँग साक्षात्कार गरें । हामी कैलाश दर्शनका लागि पर्ख र हेरको अवस्थामा थियौं । बिस्तारै हिउँ रोकियो । कैलाश देखिन थाल्यो । सबैले ध्यान गर्‍यौं । अत्यन्तै मोहित पार्ने स्थान रहेछ । कैलाशमा केही न केही छ, यत्तिकै सबैले ढोगेको होइन रहेछ भन्ने लाग्यो ।

सुरुमा अलिकति मात्रै कैलाश हेर्न पाउँदा पनि दंग थियौं । तेस्रो दिनको कैलाश दर्शन सानदार रह्यो । नीलो आकाशमा सेतो कैलाश अर्कै लाग्यो । स्वच्छन्द कैलाश । शिरमा दूध खन्याएजस्तो । घामको प्रकाशले बलिरहेजस्तै देखिने कैलाशको रूपको त बयानै गर्ने शब्द नै भेट्दिनँ । उक्त दृश्यको अनुभवलाई कसैले भनेर वा फोटो, भिडियो हेरेर रमाइलो मान्न सकिँदैन । अहिले बसले कैलाशको काखैमा पुर्‍याउँछ । समस्या लेक लाग्छ कि भन्ने मात्रै हो । पहिला कसरी जान्थे होलान् ? सम्झँदा पनि आश्चर्य लाग्छ ।गन्तव्यमा पुगेपछि आँट गरे सक्ने रहेछ भन्ने भयो र आफैंप्रति विश्वास बढ्यो । यो यात्राले सकारात्मक ऊर्जा दिएको छ । आफ्नो काम नगर्दा रिसाउने बानीलाई कम गर्दै शून्यमा झार्ने अभ्यासमा लागेकी छु । जीवन शरीरमात्र होइन, यसको परिधि फराकिलो रहेछ । ठूलो होउ, जागिर खाउ, पैसा कमाउ मात्रै जीवन होइन रहेछ ।

कैलाशबाट बगेको सेतो र स्वच्छ कलकलाउँदो पानीको स्वादै अर्कै थियो । साँच्चै प्राकृतिक लाग्ने । बाटोमा देखिने धेरै तालहरू पनि उस्तै आकर्षक । चाइनिज र तिब्बतियन भाषामा लेखिएका नामलाई भने बुझ्न सकिएन । दार्चेन यमद्वार, सागा, सिगात्से हुँदै ल्हासा फर्कियौं । सैनिक क्षेत्र भएकाले सागामा फोटो खिच्न नपाइने रहेछ । ल्हासादेखि सिगात्सेसम्म सडकका दुईतिरै रूख रोपिएको रहेछ ।

उचाइतिर जाँदा भने बुट्यान हुँदै सुनसान नै देखिन्छ । बालुवाका ढिस्काहरू पनि देखिए । त्यो दुई साताको यात्रामा हरेक दिन केही न केही सिक्ने अवसर पाएँ । गाइडहरू एकदमै रमाइलो गर्थे । स्थानीय मानिसहरूसँग सम्पर्क भएको भए त्यहाँको जीवन शैलीबारे पनि जान्न पाइन्थ्यो, अनुभव बाँड्न पाइथ्यो । दुई लेनको सडकमा गाडी गुडिरहेको छ तर मान्छे देख्नै नपाइने रहेछ । कतै फाट्टफुट्ट घर देखिए । मान्छे कतै कतै एक–दुई जना मात्रै । सुनसान नै थियो बाटो । यस्तो ठाउँमा एकअर्काको सहयोगबिना बसाइ वा यात्रा सम्भव हुँदैन ।


तिब्बतका पहाडहरू एकदमै आकर्षक रहेछ । पूरै चट्टानमा कला भरिएजस्तै । एकदमै भिन्न लाग्यो । तिब्बतियन अक्षरमा ढुंगामा कुँदिएका बौद्ध मन्त्र र लुङ्दरहरूले सुनसान ठाउँलाई पनि रंगीन बनाइदिएको थियो । भेडा र याकको बथान भेटिइरह्यो । तिब्बतका काग कति ठूला ? चकित परे । एक मर्मोट (गिनीपिगको एक प्रजाति) लाई चकलेट दिँदा प्वालबाट अरू लस्करै निस्किँदा खुबै रमाइलो लागेको थियो । त्यहाँका सार्वजनिक चर्पी भने बस्नै नसकिने रहेछ । त्यसैले प्राकृतिक चर्पी नै उपयुक्त ठान्यौं ।

कैलाशतर्फ लाग्दा सबै उत्साहित थियौं । डर पनि थियो । हामी सबै कैलाशलाई हेरेर चकित भयौं । उभिन गाह्रो भएकाहरू घोडा चढेरै भए पनि पुगे । दार्चेनबाट करिब तीन घण्टाको ट्रेकिङ एकदमै रमाइलो भयो । स्वदेशमा डेंगुले सताइरहेको बेला चीनको स्वशासित क्षेत्र तिब्बतमा त्यतिको उचाइमा पनि लामखुट्टे देख्दा भने ट्वाँ परें । खुला आकाशमुनिको सीधा बाटो जति हिँडे पनि नपुगिने र नथाकिने खालको थियो । यात्राले नयाँ सोच त दिन्छ नै । साथै आध्यात्मिक रूपले पनि ऊर्जा भरेर आएका छौं ।

deeptisilwal78@gmail.com

प्रकाशित : भाद्र २७, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्

लयबिनाको आवाज

'बाहुबली' को दुई भागको फिल्मले धेरै कीर्तिमान बनाएको थियो । त्यसमा प्रभासको अभिनयको खुबै चर्चा भयो । गत साता रिलिज भएको उनी अभिनीत फिल्म 'साहो' कस्तो छ त ? यज्ञश लेख्छन् :
कान्तिपुर संवाददाता

 समाचारहरूमा जनाइएअनुसार ‘साहो’ को बजेट हो– ३५० करोड भारु  । नेपालीमा झन्डै ५ अर्ब ६० करोड रुपैयाँ  ।

औसत नेपाली फिल्मको बजेट डेढ करोड मान्ने हो भने यो एउटा फिल्मको बजेटमा ३ सय ७३ वटा फिल्म बन्छन् । यस वर्ष बन्ने फिल्मको हिसाब (५० देखि ६०) को हिसाबले भन्ने हो भने झन्डै ६–७ वर्षको पूरै नेपाली फिल्मको बजेट । हलिउड फिल्मको हिसाबमा जाने हो भने त त्यो निकै धेरै हुन्छ । हालैको बलिउड फिल्म ‘मिसन मंगल’ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन्– ‘हामीले जुन खर्चमा मंगल ग्रहमा यान पठायौं, त्योभन्दा बढी त हलिउडको एउटा फिल्मको बजेट हुन्छ ।’


‘साहो’ को बजेटको चर्चा गर्नुका दुई खास कारण छन् । एक– यो भारतको दोस्रो ठूलो बजेटको फिल्म हो । गत वर्ष आएको रजनीकान्तले अभिनय गरेको शंकरको फिल्म ‘२.०’ को बजेट ४ सय ५० करोड भारु थियो । दोस्रो– यसका मुख्य कलाकार प्रभास हुन् । ‘बाहुबली’ का दुई भागको अपार सफलतापछि प्रभासले अभिनय गरेको फिल्म । दुई वर्षपछि ठूलो पर्दामा फर्किंदा महेन्द्र र अमरेन्द्र बाहुबलीको टक्करमा पुग्ने गरी उनलाई भव्य फिल्मको आवश्यकता थियो । त्यसैले रचियो यसको कथा । अति भव्य । चमकदार । भव्य सेटिङ । उत्तिकै खर्च । ठूलो स्टार । तर, फिल्म ? फिल्मचाहिँ बेकार । यो उपाधिमा अहिलेसम्म सलमान खानको ‘रेस ३’ ले जमाएको कब्जालाई ‘साहो’ ले तोडिदिन्छ । यति ठूलो खर्च गरेर बनाइएको सायद सबभन्दा झुर फिल्ममध्येमा ‘साहो’ को गणना हुनेछ । संसारमा झुर फिल्म बनाउनेहरूको कुनै कमी छैन । तर, यति धेरै पैसा र यति ठूलो स्टार पाएर पनि यस्तो फिल्म बनाउनचाहिँ विशेष किसिमको पटकथा र निर्देशक चाहिन्छ । दक्षिण भारतका निर्देशक सुजितले त्यो काम गरिदिएका छन् ।


फिल्मको भयंकर प्रचार (यसका लागि प्रभास र श्रद्धा कपुरले टीभीका प्रायः कुनै पनि रियालिटी शो छोडेका थिएनन्), प्रभासको स्टारडम र एक्सन ट्रेलरको भरमा फिल्मले पहिलो चार–पाँच दिनमै संसारभरि ठूलो व्यापार पनि गरेको छ । जति आक्रामक यसको व्यापार छ, त्यति नै आक्रामक यसको आलोचना पनि । यसकारण ‘साहो’ ले धेरै दिनसम्म व्यापारको यही गति कायम गर्नेमा शंका छ । अब आऊँ, फिल्ममाथि । एउटा काल्पनिक सहर छ– वाजी । त्यसमा एउटा ‘कर्पोरेट अन्डरवर्ल्ड’ छ । यसको बोर्डको प्रमुखको हत्यापछि को प्रमुख बन्ने भन्ने खेल ‘साहो’ को कथा हो । यसमा अनेक खेलाडी छन् । पुरानो मालिकको छोरा, हत्या भएका मुखियाका छोरा, उसको कारिन्दाका छोरा, बोर्डका पुराना सदस्य आदि... आदि... । तर, कथा वाजीको मात्र छैन । यसमा मुम्बई पनि छ । अनि छन्– चोर र पुलिस । जो पछि वाजीको कथामा जोडिन्छन् । यी सबैको बीचमा छ, कम्पनीको २ लाख करोड रुपैयाँ । र, त्यो पैसा निकाल्ने साँचो– ब्ल्याकबक्स ।


यतिसम्म कुरा बुझियो भने कथाको मेसो पाइन्छ । यो फिल्मलाई एक्सन थ्रिलर भनिएको छ, जसमा पाँच वटा त रोमान्टिक गीत छन् । एउटा गीतमा त हिरो ट्यांकमाथि चढेरै नाच्छन् । फिल्मको बजेट देखाउन हो वा हिरोगिरी देखाउन गीतको अन्त्यमा ट्यांकले दुइटा कारलाई फाल्तुमा कच्याककुचुक्क पार्छ । न ती गाडीको कुनै प्रसंग छ, न सान्दर्भिकता । सुन्नै गाह्रो पर्ने गरी चर्को ब्याकग्राउन्ड म्युजिक । बेलाबेला यो म्युजिक नआउँदा पनि शान्ति भएजस्तो लाग्ने । जति धेरै जेलिएका टुक्राटाक्री र उपकथा छन्, त्यति नै धेरै पात्र । पात्र के भन्नु– फिल्ममा कि त माफिया छन् कि पुलिस । फिल्मको विशेषता लोकेसनजस्तै फाइटरहरू पनि फरक छन् । रोहित सेट्टीका फिल्ममा देखिनेजस्ता लोकल गुन्डा यसका फाइटर होइनन् । ती पनि खास छन् । तर, भनिन्छ नि– सुनकै थालीमा पस्किए पनि पकवान मीठो छैन भने त्यसले स्वाद दिँदैन । ‘साहो’ पनि त्यस्तै हो । झन्डै तीन घण्टा लामो यो ‘बोर’ लाई झेल्न राम्रै हिम्मत चाहिन्छ ।
फिल्ममा श्रद्धा कपुर पुलिस अफिसरको भूमिकामा छन् । जसलाई पुलिस बनाए पनि अबला बनाउन भने छोडिएको छैन । निल नितिन मुकेश, चंकी पाण्डे, महेश मान्ज्रेकर र दक्षिणका अर्का स्टार अरुण विजय पनि प्रमुख भूमिकामा छन् । यी सबैको मुख्य कामचाहिँ फरक गेटअपमा आउने र चिच्याउने नै छ । एउटा अचम्मको आर्थिक र कानुनी सल्लाहकारको भूमिकामा मन्दिरा बेदी पनि छन् ।


फिल्ममा भयंकर लामा एक्सन सिक्वेन्स छन् । जसको कोरियोग्राफी राम्रो छ । तर, आकाशमै उडेर फाइट खेल्न थालेपछि भने यो पनि खेरै जान्छ । असान्दर्भिक गीतहरू र नचाहिँदा ट्वीस्टहरूले फिल्मलाई खत्तम पारेका छन् । ‘बाहुबली’ योभन्दा भव्य थियो तर त्यसको कल्पनाशीलता पनि उत्तिकै भव्य थियो । ‘साहो’ खाली आवरणमा भव्य छ, सारमा खोक्रो । तमिल र तेलगुका धुमधडाकावाला एक्सन फिल्मलाई नै फरक लोकेसनमा लगेर खिचिएजस्तो । ‘खाली भाँडा धेरै बजेजस्तो’ यसको आवाज त चर्को छ तर त्यसको कुनै लय छैन ।

प्रकाशित : भाद्र २०, २०७६ ११:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्