३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बलियो ज्यान स्वस्थ शरीर

 
प्रतिस्पर्धामा ओर्लने नेपालकै पहिलो महिला बडिविल्डर हुन्, निर्मला महर्जन  । लाजिम्पाटमा जन्मे–हुर्केकी उनी सानैदेखि खेलकुदमा सहभागी हुन चाहन्थिन्  ।

बलियो ज्यान स्वस्थ शरीर

स्कुल पढ्दा कराँते, तेक्वान्दो र भलिबल खेल्न उनलाई मन पर्थ्यो । उनको घर नजिकै फिटनेस सेन्टर (व्यायाम मन्दिर, ज्याठा) थियो तर प्रायः केटाहरूलाई मात्र देख्थिन् त्यहाँ । उनलाई त्यहाँ हेर्दाहेर्दै आफैंलाई जिम गर्ने रहर जाग्यो । स्कुलबाट घर आउजाउ गर्दा हरेक दिन १०–१५ मिनेट उभिएर नहेरी घर नफर्किने भइन् । फिटनेस गर्ने इच्छा बढ्दै गयो । एक दिन त्यहाँका गुरु (प्रशिक्षक) ले बोलाएर भनेको उनले सम्झिइन्, ‘केटीले पनि फिटनेस गर्न मिल्छ । सिकेर अरूलाई सिकाउन पनि मिल्छ ।’


निर्मलालाई इच्छा थियो तर परिवारसँग अनुमतिबिना उनले आँट गरिनन् । उनले बुबासमक्ष कुरा राखिन्, ठाडै अस्वीकार गरिदिए । भने, पढाइ बिग्रन्छ, केटीको काम फलाम उचाल्ने होइन । उनी निराश भइन् । केही दिनपछि फेरि उनको गुरुसँग जम्काभेट भयो । ‘गुरुले फिटनेस नराम्रो होइन,
आफ्नो शरीर स्वस्थ राख्ने हो भनेर सम्झाउनुभयो,’ उनले भनिन् । र, २१ वर्षअघि फिटनेस गर्न थालेकी उनले सन् २००५ मा फिटनेस ट्रेनरका रूपमा काम नै गर्न थालिन् ।बडिविल्डिङमा प्रवेश गरेपछि निर्मलाको यात्रा सहज भएन । उनीअघि महिलाहरू यस क्षेत्रमा थिएनन् । सन् २००५ मा पहिलोपल्ट मिस्टर हिमालयमा एक्लै आफ्नो कला प्रदर्शन गर्दा उनले टु–पिस लगाएकी थिइन् । त्यसबेला महिलाका लागि बेग्लै फिटनेस सेन्टर थिएन, टु–पिस लगाउनु त कल्पनाबाहिरको कुरा थियो । उनी फिटनेसमै दत्तचित्त भएर लागिरहेकी छन् । उनी अचेल एरोबिक्स, जुम्बा पनि सिकाउँछिन् । पर्सनल ट्रेनरको काम पनि गर्छिन् ।


उनी पहिलोपटक सन् २०१५ मा बैंककमा भएको विश्व च्याम्पियनसिपमा सहभागी भएकी थिइन् । त्यसपछि भुटान (२०१६) र ओमान (२०१७) मा भएको एसियन चाम्पियनसिपमा पनि प्रतिस्पर्धा गरिन् । उनी ओमानमा एथलेटिक्स फिजिक्सतर्फ चौथो भएकी थिइन् ।


दिनचर्या र खानपान
निर्मलाको दैनिकी बिहान ५ बजे सुरु हुन्छ । हल्का ब्रेकफास्ट लिन्छिन् । दुई वटा अण्डा, एक कप ब्ल्याक कफी र दुई–तीन वटा कुकिज खान्छिन् । त्यसपछि फिटनेस सेन्टरमै व्यस्त हुन्छिन् । यसबीच उनलाई चना, अण्डा, चिउरा चाहिन्छ । चिउरा उनको प्रिय हो, झोलामा चिउरा कहिल्यै छुट्दैन ।


उनी दिउँसो १ बजे घरमा पाकेको दालभात खान्छिन् । १ घण्टा आराम गरेपछि ब्ल्याक कफीसँगै आलमण्ड ५–६ टुक्रा लिन्छिन् । खाजामा अण्डा नभए घरमा जे पाकेको छ, त्यही मन पर्छ । उनी बेलुकी ८ बजेसम्म फिटनेस सेन्टरमै व्यस्त हुन्छिन् । भोक लागेको अवस्थामा साथै राखिएको प्रोटिन पाउडर उपयोग गर्छिन् । बेलुकी सामान्य खाना खान्छिन् । उनलाई कम चिल्लो मन पर्छ । शरीर सधैं फिट र स्वस्थ रहनुपर्ने भएकाले उनी आफ्नो स्वास्थ्यप्रति सचेत छिन् ।

बिजु महर्जन
twitter : @bij_eta

प्रकाशित : भाद्र २०, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?