१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ब्रान्ड मोह

व्यावसायिक उत्पादनका वस्तुहरूको बेलाबेला हुने प्रदर्शनमा उत्पादित सामग्रीबारे जानकारी दिने जिम्मेवारी प्रायः महिलालाई दिइन्छ । यस्ता प्रदर्शनीमा प्रवर्द्धकका रूपमा व्यावसायिक मोडलसँगै पार्ट–टाइमरका रूपमा विद्यार्थीलाई प्रयोग गरेको पाइन्छ ।
विमल खतिवडा

भृकुटीमण्डपमा गत साता भएको नाडा अटो शोमा स्कुटर, बाइक, कारलगयात सवारी साधन जति आकर्षक थिए, त्यसलाई सँगै उभिएका मोडल/प्रोमोटरहरू पनि दर्शकका लागि उत्तिकै आकर्षण बनेका थिए  । देशको सबभन्दा ठूलो अटो मेलामा विभिन्न कम्पनीका ९५ ब्रान्डको सहभागिता थियो  ।

ब्रान्ड मोह

ती सबैमा आकर्षक जीउडाल भएका युवतीहरूले प्रवर्द्धक (प्रोमोटर) को काम गरिरहेका थिए । उनीहरूको काम सवारी साधनबारे इच्छुक दर्शकलाई जानकारी दिएर ब्रान्डतर्फ आकर्षित गर्ने हो ।
मेलामा राजधानीस्थित शंखमूलकी २३ वर्षीया विस्मा रिजाल सबैको आकर्षण बनिन् । उनले एमभी अगुस्टाको ७३ लाख ९० हजार रुपैयाँ पर्ने ब्रुटाले ८०० आरआर एलएच ४४ बाइकको प्रवर्द्धन गरेकी थिइन् । नाडा अटो शोमा तेस्रोपल्ट सहभागी उनले भनिन्, ‘मैले मोडलिङ त गरेको छैन । तर, राइडिङमा एकदमै रुचि छ ।

त्यसैले यो मेलामा बाइकमै बस्न आएकी हुँ ।’ कक्षा १२ मा अध्ययनरत छँदै उनले बाइक चढ्न सुरु गरेकी थिइन् । उनी अचेल सीबीआर बाइक हाँक्छिन् । एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजमा बीबीए अन्तिम वर्षमा अध्ययनरत उनले भनिन्, ‘ठूला मेलामा प्रवर्द्धकका रूपमा कामक गर्दा आत्मविश्वास बढ्छ । मानिसहरू चिनिन्छ । पकेट मनी पनि राम्रै पाइन्छ ।’ मेलामा आएका दर्शकहरूले बाइकमा उनीसहित बनाइएका भिडियो टिकटकमा खुबै हिट भयो ।


विस्माले मोडलका रूपमा काम गरेकी छैनन्, यही मेलामा ब्रान्डका प्रवर्द्धकमात्र हुन् । सिन्धुलीकी १९ वर्षीया सन्ध्या कोइराला दुई वर्षयता मोडलिङमा सक्रिय छिन् । शंकरदेव क्याम्पसमा स्नातक तहमा अध्ययनरत उनले भनिन्, ‘यस्तो कार्यक्रम (नाडा अटो शो) मा पढाइ प्रभावित नहुने गरी उपस्थित हुने गरेको छु । पहिलोपल्ट नाडामा सहभागी भए पनि यो सोचेभन्दा राम्रो रहेछ ।’ चिनजानकै माध्यमबाट मेलामा आएकी उनले ६ दिन प्रवर्द्धकको काम गरेको पारिश्रमिक २० हजार रुपैयाँ पाइन् । कम्पनीहरूले ब्रान्डको प्रवर्द्धन गर्नेहरूलाई राम्रै पारिश्रमिक दिने बताइन्छ । प्रवर्द्धकको काम मेलामा आउनेहरूलाई सवारी साधनबारे जानकारी दिने हुन्छ ।


‘मोडलिङमा लागेको एक वर्ष हुन लाग्यो । आफ्नै रुचिको विषय भएकाले मेलासम्म आइपुगें । यहाँ धेरै जना भेटिए, धेरैसँग चिनजान भयो,’ बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म ६ दिन मेलामा खटिएकी ऋतिका शर्माले भनिन् । महाराजगन्जकी १९ वर्षीया उनले मोडल हन्ट नेपाल २०१८ मा मोस्ट स्टाइलिसको अवार्ड जितेकी थिइन् । नेसनल कलेज, धुम्बाराहीमा स्नातक तहमा अध्ययनरत उनी पनि नाडा अटो शोमा पहिलोपल्ट सहभागी भएकी हुन् । गौरीघाटकी १७ वर्षीया विभुषी उपाध्यायले बाल्यकालबाटै विज्ञापनमा अभिनय गर्न थालेकी थिइन् । ‘सानै छँदा दूध र चाउचाउको विज्ञापनमा अभिनय गरेकी थिएँ,’ उनले भनिन्, ‘दुई वर्षयता मोडलिङमै सक्रिय छु ।’ उनी मोडल हन्ट नेपाल २०१९ मा पनि सहभागी हुँदैछिन् । त्यसैको तालिममा व्यस्त भइरहेका बेला उनीसहित चार प्रतिस्पर्धीलाई प्रवर्द्धक बन्ने प्रस्ताव आएको थियो । हालै १२ कक्षा सकाएकी उनको चाहना मोडलिङ गर्ने हो ।


चाबहिलकी २२ वर्षीया रुविना कार्की नोबेल कलेजमा पब्लिक हेल्थकी विद्यार्थी हुन् । ‘मोडलिङ मन पर्छ,’ उनले भनिन्, ‘यो क्षेत्र बेलाबेला सुनिएजस्तो नराम्रो छैन भन्ने अनुभव गरेकी छु ।’ मेलामा कारको प्रवर्द्धन गरेकी उनले पढाइलाई प्राथमिकता दिएर मोडलिङमा पनि अघि बढ्ने बताइन् । ‘दिनभर गाडीसँगै उभिँदा थाकिन्थ्यो, तर त्यस्तो गाह्रो लागेन । हाम्रा लागि यो राम्रो अवसर हो,’ उनले भनिन् ।


फेसन डिजाइन पढिरहेकी हात्तीवन, ललितपुरकी १९ वर्षीया क्रान्ति चन्दको पनि प्रवर्द्धकको यो पहिलो अनुभव हो । ‘मेलामा बसेर गाडीहरूको नयाँ–नयाँ ब्रान्डबारे बुझ्न पाउँदा खुसी लाग्यो,’ नमुना कलेज अफ फेसन टेक्नोलोजीमा अध्ययनरत उनले सुनाइन्, ‘नयाँ केही गरौं भनेर यो काम गरेकी हुँ । यसमा हल्का रुचि पनि हो । ब्रान्डको प्रवर्द्धन गर्नु राम्रो काम हो जस्तो लागेको छ ।’ यसमा परिवारको साथ रहेको पनि उनले बताइन् ।सीजी मोटोकर्पका कार्यकारी निर्देशक करणकुमार चौधरी अटो क्षेत्रलाई ग्ल्यामरस बनाउन मोडलहरू प्रयोग गरिएको बताउँछन् । ‘नेपालमा मात्र होइन, विदेशमा पनि यस्तो गरिन्छ,’ उनले भने, ‘मेलामा प्रदर्शनमा राखिने उत्पादन वा ब्रान्डलाई प्रवर्द्धन गर्न सजिलो होस् भनेर मोडल प्रयोग गरिएको हो । यो चलन नेपालमा पनि पुरानै भइसकेको छ ।’ ‘पहिला विदेशी मोडलसमेत ल्याउने गरिन्थ्यो । यसपालि नेपाली मात्रै छन्,’ मोडल एजेन्सी एमसी स्टुडियोका कार्यकारी निर्देशक विकास सिंहले भने, ‘यस्तो काममा मोडलहरूलाई राम्रै पारिश्रमिक दिइन्छ । उनीहरूका लागि करिअर बनाउने अवसर हुन् यस्ता मेला ।’

प्रकाशित : भाद्र २०, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?