२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

न आवाज न धूवाँ

आवाज आउँदैन  । धूवाँ निकाल्दैन  । त्यसैले विद्युतीय सवारी साधन वातावरणमैत्री हुन्छन् । पेट्रोल/डिजेलको वैकल्पिक इन्धनका रूपमा विद्युत्लाई लिइएको छ । त्यसैले विद्युतीय सवारी साधनको उत्पादन धमाधम बढिरहेको छ । यसले नेपाललाई पनि छुन थालेको छ ।

न आवाज न धूवाँ

भृकुटीमण्डपमा मंगलबार सुरु भएको १४ औं नाडा अटो शोमा पनि मुख्य आकर्षण विद्युतीय कार, बाइक र स्कुटर नै बनेका छन् । आइतबारसम्म हुने उक्त शोमा राखिएका विद्युतीय सवारी साधनबारे विमल खतिवडा लेख्छन् :

बीवाईडीको ई–सिक्स
बीवाईडी ई–सिक्स मोडलको गाडी हो । यसको मूल्य ६६ लाख रुपैयाँ रहेको छ । यो एसयूभी कार नेपालमा चल्तीमा छ । यो ५ वटा सिट भएको सुविधाजनक गाडी हो । यसको ग्राउन्ड क्लियरेन्स कम्तीमा १ सय ५० मिलिमिटर (एमएम) छ । साइड र अगाडि १ सय ८० एमएम छ । ब्याट्रीको पावर ८० किलोवाट आवर रहेको छ । बीवाईडीकै यूएल सर्टिफाइड लिथियम आयन ब्याट्री यसमा प्रयोग गरिएको छ । बीवाईडी ब्याट्री टेक्नोलोजीबाटै सुरु भएको हो ।


यसको ब्याट्रीमा ५ वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी छ । यसको ८० प्रतिशत चार्ज ४५ मिनेटमा हुन्छ । चार्ज शून्यमा छ भने २ घण्टामा फुल चार्ज हुन्छ । एक पटक फुल चार्ज गर्दा चार सय किमि मज्जाले गुड्छ । यसमा इन्जिन हुँदैन, मोटर हुन्छ । यसमा मुख्य ६ सहित कुल १२ वटा इयर ब्याग छन् । त्यसैले यसलाई सुरक्षित मानिन्छ । सिट लेदरका छन् । काठमाडौंमा १२ वटा चार्जिङ स्टेसन रहेको बीवाईडीले लुम्बिनी, चितवन, काठमाडौं, हेटौंडामा पनि स्टेसन बनाएको छ ।

जिनियसको बाइक र स्कुटर


यो चिनियाँ ब्रान्डका मोटरसाइकल र स्कुटर नाडा शोमा छन् । स्कुटरमा १२ वाट र १५ सय वाटमा विकल्प छ । जसको मूल्य १ लाख ८९ हजारदेखि १ लाख ९६ हजारसम्म छ । मोटरसाइकल ३ हजार वाट र ५ हजार वाट क्षमताका छन् । ३ हजार वाटको मूल्य २ लाख ७८ हजार र ५ हजार वाटको मूल्य ३ लाख ७८ हजार राखिएको छ । ब्याट्री, मोटर कन्ट्रोलर सबैका लागि दुई वर्षको वारेन्टी छ । ब्याट्रीको आयु कम्तीमा ४ वर्ष छ । शून्यबाट फुल चार्ज गर्नलाई ५ देखि ७ घण्टा लाग्छ । फुल चार्ज गर्न ३ युनिट विद्युत् खपत हुन्छ । एकपटक चार्ज गर्दा स्कुटर ७० देखि ८० किमि कुद्छ र मोटरसाइकलमा १ सयदेखि १ सय २० किमिसम्म । सुरक्षित दाबी गरिएको मोटरसाइकल युवा लक्षित रहेको कम्पनीको दाबी छ । स्कुटर युवा तथा परिपक्व पुस्तामा केन्द्रित छ । यसको लुक्स ग्ल्यामरस र सिट सुविधायुक्त बताइन्छ ।

मियामा स्कुटर


जापानी प्रविधिबाट चीनमा तयार पारिएको मियामाको ६ वटा ब्राण्ड छन् । मूल्य १ लाख ४९ हजारदेखि १ लाख ९८ हजारसम्म पर्छ । ग्राउन्ड क्लियरेन्स १ सय ७० एमएम छ । ब्याट्रीको पावर ३२ एमपीएर, ४० एमपीएर, ५८ एमपीएरसम्म छ । सबैमा लिड एसिड र लिथियम छन् ।
लिड एसिडमा १ वर्ष र लिथियम आयनमा ब्याट्री वारेन्टी २ वर्षको छ । लिथियम आयनवाला ५ देखि ७ वर्षसम्म चल्छ । लिड एसिडको ३ वर्षसम्म बताइन्छ । लिड एसिडको ब्याट्री चारदेखि ६ घण्टामा फुल चार्ज हुन्छ भने लिथियम आयनको ३ देखि साढे ३ घण्टासम्म लाग्छ । एक पटक चार्ज गर्दा १ सय किमि, १ सय २५ र २ सय किमिसम्म गुड्छ । फुल चार्ज गर्दा विद्युत् एक युनिटमात्र लाग्छ । पछाडि दुईवटा सक भएकाले यो सुरक्षित दाबी गरिन्छ ।

कन्भर्टेड ईभी र ईएम थ्री


नेपाली ब्रान्ड दिगोको ‘इएम थ्री’ नाडा अटो शोबाटै बजारमा ल्याइएको हो । ई–एट पनि आउँदै छ । पुरानो पेट्रोलवाला गाडीलाई आर एन्ड डी गरेर इन्जिनलाई मोटरमा परिवर्तन गरिएको ब्याट्रीबाट पावर दिइएको गाडी पनि मेलामा राखिएको छ । जसलाई दिगो कन्भर्टेड इभी हो । जुन कन्भर्जन गाडी हो । मेलाको आकर्षण इएम थ्री हो । यसको प्राविधिक सहकार्य चीनमा गरिएको हो । ईएम थ्रीको मूल्य छुटसहित २८ लाख तोकिएको छ । यो फास्ट चार्जिङ गाडी हो ।


ईएम थ्रीको ग्राउन्ड क्लियरेन्स १ सय ८२ एमएम रहेको छ । ब्याट्रीको पावर १ सय ५० किलोवाट छ भने वारेन्टी ५ वर्षको छ । एक घण्टामा ८० प्रतिशत चार्ज हुन्छ । अर्थिङ भएको लाइनमा ६–७ घण्टा लाग्छ । फुल चार्ज भएपछि २५० किमिसम्म कुद्छ । ड्युल फ्रन्ट इयर ब्याग भएकाले सुरक्षित मानिन्छ । ओरालोमा ब्रेक हान्दा ब्याट्री चार्ज हुन्छ । रिभर्स क्यामेरा पनि भएको यो स्टाइलिस्ट छ । टच एलईडी स्क्रिन छ । पावरफुल एसी छ । यसको डिजाइन भ्यानजस्तो लाग्छ । सुविधायुक्त रूपमा ५ सिट छन् । अटो लक सिस्टम छ ।

न्युका ४ स्कुटर


यो चिनियाँ ब्रान्डमा चार किसिमका छन् । एनजीटी मंगलबार ल्याइएको हो । यसको मूल्य ४ लाख २५ हजार छ । यसमा २ वटा ब्याट्री छन् । प्रतिघण्टा १ सय ३० किमिसम्म हाँक्न सकिन्छ । अर्को एन सिरिजको छ । जसको २ लाख ५४ हजार र २ लाख ६० हजार पर्छ । कलरअनुसार मूल्य फरक छ ।न्युको अर्को मोडल एम हो । जसको २ लाख ३५ हजार पर्छ । ग्राउन्ड क्लियरेन्स एनजीटीको १ सय ६५ एमएम, एन सिरिजको १ सय ४५ एमएम र एमको १४० एमएम छ । एम र एनजीटीमा ६० भोल्टको ब्याट्री लाग्छ । यसको वारेन्टी २ वर्षको छ । एन सिरिजको ब्याट्री चार्ज गर्न ६ घण्टा लाग्छ । एनजीटी साढे ३ घण्टासम्म फुल चार्ज हुन्छ । एनजीटी फुल चार्जपछि १३० किमि जति गुड्छ । एम ७० किमि जति गुड्छ, यसमा जीपीएस ट्र्याकिङ सिस्टम छ । एम सिंगल सिटर हो । अरू २ वटामा २ जना बस्न मिल्छ ।

कियाको निरोइभी


कोरियाली कम्पनी किया मोटर्सले किया निरोइभीलाई जुलाई १५ मा ल्याएको हो । यसको ६६ लाख ९० हजार पर्छ । ग्राउन्ड क्लियरेन्स १ सय ६० एमएम छ । ब्याट्री पावर ६४ किलोवाट छ । ब्याट्रीको वारेन्टी ७ वर्ष छ । कियासँग मात्र भएको डीसी चार्जरमा एक घण्टा १० मिनेटमा फुल चार्ज हुन्छ । एसी चार्जरमा ९ घण्टा लाग्छ । पूरा चार्ज भएको खण्डमा गाडी ४ सय ५५ किमिसम्म कुद्छ । यसलाई सुरक्षित कार मानिन्छ । सात वटा एयरब्याग, एभीएस, ईभीडी, इलेक्ट्रोनिक ट्याक्सन कन्ट्रोल छ । यसको डिजाइन आधुनिक मानिन्छ । सीओभी सेभको यसमा लेदरको सिट छ । अरूको तुलनामा यसमा फिचर्स धेरै भएको कम्पनीको दाबी छ ।

हुन्डार्ईको कोना इभी


यो कोरियाली कम्पनीको दुई वटा विद्युतीय कार छन् । कोना इभी ३९.२ किलोवाट र लङ रेन्ज ६४ किलोवाटको छ । ३९.२ किलोवाटवालाको ५५ लाख ९६ हजार पर्छ । ६४ किलोवाट भएको कारको ६५ लाख ९५ हजार रहेको छ । ३९.२ किलोवाटको कार फुल चार्ज हुँदा ३१२ किमिसम्म कुद्छ । लङ रेन्जवाला ६४ किलोवाटको कार ४८२ किमिसम्म कुद्छ । दुवै कारको ग्राउन्ड क्लियरेन्स १५८ मिलिमिटर छ । ब्याट्री वारेन्टी ८ वर्ष दिइएको छ । ३९.२ किलोवाटको कार ६ घण्टा र अर्को ८ देखि १० घण्टामा फुल चार्ज हुन्छ । यसमा भेन्टिलेटर भएको लेदर सिट छ । यो मोटरबाट चल्छ । यसको नेपालमा १८ स्थानमा चार्जिङ स्टेसन छ ।

प्रकाशित : भाद्र १३, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?