केही दिनअघि एक भारतीय फिल्म समीक्षकले लेखे, ‘पछिल्ला दिनमा अजय देवगन र अक्षय कुमारले खेलेका फिल्म भन्नासाथ मलाई झुर कमेडी वा फाल्तुको राष्ट्रवादी फिल्म भन्ने लाग्छ । ’
उनले यो भनाइलाई यसरी पूरा गरे, ‘तर, आयुष्मान खुरानाले खेलेको फिल्म भन्नासाथ पक्कै राम्रो होला भन्ने लाग्छ । यो समयमा आयुष्मान राम्रो फिल्मको ग्यारेन्टी भएका छन् ।’
यो भनाइ काफी छ– आयुष्मानबारे बुझाउन । हुन पनि उनले फिल्म नै त्यस्तै खेलेका छन् । एकसे एक । गत दुई वर्षकै फिल्म हेरौं– आर्टिकल १५, बधाई हो, अन्धाधुन, शुभ मंगल सावधान, बरेलीकी बर्फी । सब हिट । सब शानदार । सबै फरक विषयका । जवान छोराका बाबुआमाले फेरि बच्चा जन्माउने भएपछि त्यो जवान छोराको जीवनमा के कस्तो असर पर्ला ? यस विषयमा थियो, ‘बधाई हो ।’ दलितमाथि भइरहेका अत्याचारको बयान गर्ने ‘आर्टिकल १५’, दृष्टिविहीनको अभिनय गरिरहेको एउटा संगीतकार/गायकको संघर्ष गाथा ‘अन्धाधुन’, एउटा यौन समस्याले ग्रसित युवाको मनोविज्ञानमा आधारित ‘शुभ मंगल सावधान’ र सानो सहरको एउटा कविको प्रेमकथा ‘बरेलीकी बर्फी’ । सबै आम मानिसका कथा तर खास तरिकाले बनाइएका ।
आयुष्मानले आफ्नो पहिलो फिल्म ‘विक्की डोनर’ बाट नै आफ्नो फरक बाटोको संकेत गरेका थिए । धेरै अभिनेताले अस्वीकार गरेको वीर्यदाताको भूमिकामा उनले आफूलाई अब्बल सावित गरेका थिए । टीभी एंकरका रूपमा करिअर सुरु गरेका आयुष्मानले यसै फिल्मबाट आफूलाई राम्रो गायक पनि सावित गरेका थिए । त्यसलगत्तै भूमि पेडनेकरसँग उनको ‘दम लगा के हैसा’ ले पनि आयुष्मानलाई ‘डेरिङ’ अभिनेता बनाइदिएको थियो । एउटा कलाकारका लागि आफैंलाई चुनौती हुने भूमिकाहरूमा देखिनु आवश्यक हुन्छ । जुन फिल्ममा पनि उस्तै देखिन थाले भने ती कलाकारको समय र प्रतिभा सकिएको मानिन्छ ।
आयुष्मानले आफूलाई त्यसबाट जोगाइरहेका छन् । विक्की कौशल र राजकुमार रावजस्ता नयाँ छिमलका अभिनेतासँग कुममा कुम मिलाएर उनले बलिउडमा एउटा बीचको बाटो बनाइरहेका छन् । राजकुमारसँग उनले ‘बरेलीकी बर्फी’ मा अभिनय गरे भने विक्कीसँग उनले यस वर्ष संयुक्त रूपमा उत्कृष्ट अभिनेताको नेसनल अवार्ड पाए । आयुष्मानले ‘अन्धाधुन’ र विक्कीले ‘उरी’ का लागि यो पुरस्कार पाएका थिए । आयुष्मानका दुई वर्षमा आउने फिल्मको सूची पनि उत्तिकै तगडा छ । उनी सबभन्दा पहिले ‘ड्रिम गर्ल’ मा देखिने छन् । यो फिल्ममा उनी युवतीको भेष र आवाजमा धेरै पुरुषलाई प्रेम पासमा पार्ने छलीको भूमिकामा छन् । त्यसलगत्तै उनको नयाँ फिल्म ‘बाला’ मा देखिने छन् । गत वर्षको हिट फिल्म ‘स्त्री’ का निर्देशक अमर कौशिकको यो ब्ल्याक कमेडीमा उनी कपाल खुइलिँदै गएर समस्यामा परेका युवाको भूमिकामा देखिने छन् । सोमबार मात्रै यसको पहिलो टिजर सार्वजनिक गरिएको छ ।
स्त्रीलगत्तै उनी अमिताभ बच्चनसँग ‘गुलाबो सिताबो’ मा देखिने छन् । सन् २०२० को अप्रिलमा रिलिज हुने यो फिल्मका निर्देशक सुजित सरकार हुन् । यी तिनै सुजित हुन् जसले आयुष्मानको पहिलो फिल्म ‘विक्की डोनर’ तथा ‘पिकु’ र ‘पिंक’ को निर्देशन गरेका थिए । यो फिल्ममा बच्चन र खुराना पपेट पात्रका रूपमा देखिने छन् । त्यसपछि आउनेछ गत वर्षको हिट ‘शुभ मंगल सावधान’ को सिक्वेल ‘शुभ मंगल ज्यादा सावधान’ । यसमा भने उनी गे युवाका रूपमा देखिने छन् । ‘बाला’ जस्तै यसमा पनि उनको साथ भूमि पेडनेकर हुनेछिन् । आयुष्मानका आउने फिल्मको छोटो कथा र निर्देशकहरू हेर्दा यी सबै गम्भीर किसिमका फिल्म देखिन्छन् । विषय गम्भीर भए पनि आयुष्मानका प्रायः फिल्मको प्रस्तुति हास्य रहने भएकाले यिनले बक्स अफिसमा राम्रो व्यापार पनि गर्ने गरेका छन् । तीन खान, अक्षय कुमार र अजय देवगनका फिल्मको बजेट नै निकै धेरै हुने भएकाले सानो प्रोजेक्टमा यिनलाई लिनै मुस्किल पर्छ । यस्तोमा गतिलो विषयवस्तु भएका फिल्म आयुष्मान, विक्की वा राजकुमारकै पोल्टामा पर्ने गरेका छन् । ठूलो बजेटका धुमधडाकावाला फिल्ममा मात्रै देखिन थालेकाले ठूला स्टारहरूले आमदर्शकमा आफ्नो छाप बिस्तारै गुमाउँदै गएका छन् । यसैले बेलाबेला ऋत्विक रोशनजस्ता स्टार ‘सुपर ३०’ जस्ता फिल्ममा आउँछन् । अजय देवगन ‘रेड’ र अक्षय कुमार ‘स्पेसल २६’ मा ।
राष्ट्रवादको गफ र खोक्रा कमेडीको बीचमा मनोरञ्जक सिनेमालाई जोगाउने काम अहिले बलिउडमा आयुष्मानजस्ता अभिनेताले नै गरिरहेका छन् । जसका फिल्ममा आजको समाज र आजका युवाको समस्या पनि हुन्छ, साथमा मनोरञ्जक पनि हुन्छन् । यसैले त समीक्षकहरूले नयाँ आउने अभिनेताहरूलाई भन्न थालेका छन्– आयुष्मान भवः ।