सप्तकोसीदेखि सिलिचुङसम्म

विकासको हिसाबले निकै पछाडि परेकाले भोजपुरलाई पूर्वको कर्णाली पनि भनिन्छ । लाखौं पर्यटक भित्र्याउन सक्ने सम्भावना भएको जिल्ला हो यो ।
विद्या राई

 
मुन्धुम पदमार्गले पूर्वी पहाडी जिल्ला भोजपुरलाई नयाँ पर्यटकीय गन्तव्यको पहिचान दिएको छ  । यो क्षेत्र छोटो समयमा घुमफिरको धेरैखाले स्वाद लिन चाहनेहरूका लागि उपयुक्त छ  ।

सप्तकोसीदेखि सिलिचुङसम्म

सप्तकोसीदेखि सिलिचुङसम्म अर्थात् हिमाल, पहाड र तराईको स्वाद एउटै पदमार्गमा अनुभव गर्न सकिन्छ । यो चखेवा, धोत्रे– मैयुङ–रावाधाप–साल्पा भन्ज्याङ–सिलिचुङ–हाँकुले–हाँसपोखरी हुँदै भोजपुर सदरमुकाममा टुंगिन्छ । यसमा १४ दिन लाग्छ ।

बाह्रैमास यात्रा गर्न सकिने यहाँ मौसमअनुसारको फरक अनुभव लिन सकिन्छ । वसन्त र शरद ऋतु सबैभन्दा उपयुक्त मानिन्छ । अल्ट्रा म्याराथन, हाइकिङ, माउन्टेन साइक्लिङ, घोडचढी, प्याराग्लाइडिङ, हनी हन्टिङलगायतमा साहस देखाउन सकिन्छ । खोटाङ र भोजपुरलाई राणाकालमा क्रमशः पूर्व ३ र ४ नं. क्षेत्र भनिन्थ्यो । जहाँ किराँत राई समुदायको बाहुल्य छ । डाँडाकाँडा, खोलानाला, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू किराँती मिथकसँग जोडिएकाले ‘मुन्धुम पदमार्ग’ नामकरण गरिएको हो । यसलाई सरकारले नेपालको घुम्नैपर्ने सय गन्तव्यमा समावेश गरेको छ ।

मुन्धुम पदमार्गमा पर्ने मुख्य पाँच गन्तव्य :

टेम्के–मैयुङ
भोजपुर र खोटाङको संगमस्थल टेम्के मध्य पहाडी राजमार्गसँग जोडिएको छ । टेम्के समुद्री सतहदेखि २९ सय मिटर उचाइमा पर्छ । टेम्के फेदैमा पर्ने चखेवा भन्ज्याङ २३ सय मिटरको उचाइमा अवस्थित छ । उत्तरतर्फ उकालो लागेपछि पुगिन्छ, मैयुङ (३१ सय मिटर उचाइ) । मैयुङमा हाँसपोखरी, ठूला, फराकिला चौर र हरियाली जंगल देख्न पाइन्छ । टेम्केबाट ८ हजार मिटरमाथिका सगरमाथा, ल्होत्से, सिसापाङ्मा, मकालु र चोयु गरी ५ वटा हिमाल हेर्न सकिन्छ । टेम्के–मैयुङ रेन्जबाट दोर्जे लाक्पा, गौरीशंकरलगायत थुप्रै हिमशृंखलाको दृश्यपान गर्न सकिन्छ । तिब्बत, भारतका दार्जिलिङ, कालिङपोङ, सिलिगुडी, भुटान, पूर्वी नेपालका १६ वटै जिल्लाहरू नियाल्न सकिन्छ । गुराँस फुल्ने सिजन माघ र फागुन महिनामा लालीगुराँस, चिमाललगायत प्रजाति ढकमक्कै फुल्छन् । यहाँ होटलहरूमा तोङ्बा, लाङ्सा र लोकल कुखुराको तीते खानेकुरामा विशेष मेनु मानिन्छन् ।

नयाँ वर्ष, मंसिरे बालाचतुर्दशी तथा चैतको रामनवमी मेलामा देश तथा विदेशका पर्यटक, तीर्थालुहरूको विशेष घुइँचो लाग्छ । सेप्टेम्बरदेखि अप्रिलसम्म टेम्के अवलोकनका लागि दैनिकजसो पर्यटक पुग्छन् । पर्यटकहरू प्रायः चखेवाका होटलमा बस्छन् । बिहानको सूर्योदय हेर्न ३ बजे नै उठेर झोलीतुम्बासहित उकालो चढ्छन् । केही पर्यटकहरू अघिल्लै दिन पुगेर टेन्टमा बस्छन् ।


साल्पा–सिलिचुङ


सिलिचुङ भोजपुरको सबैभन्दा अग्लो चुचुरो हो, जुन ४२ सय मिटर उचाइमा पर्छ । टेम्के–मैयुङ रेन्जदेखि देखिने हिमशृंखलाहरू यहाँबाट झनै स्पष्ट देख्न सकिन्छ । यसलाई प्राकृतिक भ्यु–टावर पनि भनिन्छ । सिलिचुङ फेदैमा साल्पा पोखरी छ । यो ३७ सय मिटर उचाइमा पर्छ । पोखरीको मूल र निकास छैन । सबै धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो यो । साल्पा–सिलिचुङ मकालु वरुण तथा सगरमाथा राष्ट्रिय निकुञ्जको सिमानामा पर्छ ।
प्रथम सगरमाथा आरोही एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा यही बाटो हुँदै गएकाले तेन्जिङ–हिलारी पदमार्गले चिनिन्छ । सगरमाथा आउने–जाने बाटो पर्ने भएकाले पदमार्गमा रुचि भएका विदेशी पर्यटकहरूको रोजाइमा पर्छ । दैनिक थुप्रै विदेशी पर्यटक आवतजावत गर्छन् । यहाँ सुनपाती, भैरुङपाती दुर्लभ वनस्पति र जडीबुटी पाइन्छ ।


टक्सार


काठमाडौंबाट ५० कोस पूर्वमा रहेको टक्सार ऐतिहासिक, धार्मिक र औद्योगिक महत्त्वको बजार हो । भोजपुर सदरमुकामदेखि २ किमि दक्षिणतिरको टक्सारले काठमाडौं उपत्यकाको झल्को दिन्छ । ढुंगा छापिएका साँघुरा गल्लीका झुरुप्प घरहरू इँटाले बनाइएका पुराना भए पनि आँखीझ्याल बुट्टेदार रंगरोगनले सानदार देखिन्छन् । उस्तैगरी मठमन्दिर, विहार र चैत्य पनि । देउराली टोलदेखि गणेस्थानसम्मको बस्तीमा वास्तुकला साँच्चिकै बेजोड छ । नेवारी खानपान, धर्म–संस्कृति रहनसहन पाटनकै जस्तो लाग्छ । जिल्लाको एकमात्र विमानस्थल टक्सारमै पर्छ । बीच बजारमा पौने ४ सय किलोको करुवा र स्थानीय भीमसेन परिसरमा अढाई सय वर्ष पुरानो एक र दुईपैसे डोली पैसाको स्मारक छन् । काम विशेषले भोजपुर सदरमुकाम पुगेकाहरू टक्सारसँगै सुन्तले, सिद्धकाली मन्दिर घुम्न छुटाउँदैनन् । सदरमुकामका बजारबाट भोजपुरे खुकुरी चिनोस्वरूप किनेर लैजाने चलन छ ।


दिङ्ला


भोजपुरको उत्तरी भेगमा पर्छ, दिङ्ला । यसका मुख्य दुई चिनारी छन्– बालागुरु षडानन्द र रुद्राक्ष । एक सय ४५ वर्षअघि बालागुरु षडानन्द अधिकारीले संस्कृत पाठशाला स्थापना गरी शिक्षादीक्षाको व्यवस्था गरेका थिए । दरबार हाईस्कुलपछिको देशकै दोस्रो पाठशाला भए पनि यो जनताका छोराछोरीले पढ्न पाउने पहिलो हो । दिङ्ला बजारमा बर्सेनि अर्बौंको रुद्राक्ष दाना किनबेच हुन्छ । यसका लागि चिनियाँहरू गाउँ–गाउँ पुग्छन् । षडानन्द–सीताराम गुठी, बालागुरु षडानन्द पार्क, मठमन्दिर, बगैंचा, हाटबजार, रुद्राक्ष अवलोकन गर्न स्थानीय तथा बाह्य पर्यटक आउँछन् । बालाचतुर्दशी मेला भर्दै सतबिज छर्न देश तथा विदेशबाट आउँछन् । सती प्रथाको विरोधमा योगमायासहित महिलाहरूले आत्मदाह गरेको मझुवाबेंसी जाने बाटो यहीं पर्छ । तेन्जिङ–हिलारी पदमार्ग दिङ्ला बजार हुँदै जान सकिन्छ ।


हतुवागढी


लामो समयसम्म किराँती राजाहरूले राज्य गरेको प्राचीन थलो हो हतुवागढी । भोजपुरको दक्षिणी भेगमा पर्ने यो दरबारको भग्नावशेष रहेको छ । यहाँ राजाको पालामा प्रयोग भएका ढुंगाका जाँताहरू देख्न सकिन्छ । अवलोकनका लागि दैनिक ३० जना बढी आगन्तुक आउँछन् । यहाँबाट सूर्योदय र सूर्यास्तको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । हिमशृंखलासँगै तराईका फाँट देखिन्छन् । हतुवागढी काखैमा घोडेटार बजार र भविष्यवक्ता पोखरी छन् । शिरैमा ‘घोडेटार भ्यु टावर’ छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक इतिहास र महत्त्व बोकेका पर्यटकीय स्थलहरू रानीबास, दिमालुङ, जोर आहाल, संखामचुली, सयवृक्ष, शिला सुत्केरी, महादेव मन्दिर, छरछरे झरनालगायत छन् । मौलिक किराँती पहिरन, उँभौली–उँधौली पर्व यथावत् छन् । प्रदेश नं. १ को सप्तकोसी हुँदै अरुण नदी खण्डमा जेट बोटको जलयात्रा गर्दै हतुवागढी पुग्न सकिन्छ ।

प्रकाशित : भाद्र १३, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?