हँसाउने हिरो

बालकलाकारका रूपमा सलोन बस्नेतले रुवाए, हिरो भएपछि हँसाउँदै छन् । यस्तो परिवर्तन कसरी आयो ?
हेलो शुक्रबार

 प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा स्कुले विद्यार्थीको पर्फमेन्स थियो  । प्रतियोगिताको मुख्य निर्णायकचाहिँ हिरो भुवन केसी  ।

एउटा सानो बालकले अभिनय, संवाद र नृत्यसहितको प्रस्तुति दिएपछि भुवनले आफूलाई रोक्न सकेनन् । स्टेजमा उक्लिए । फुच्चेलाई बोके र घोषणा गरे, ‘म नेपालीबाबु फिल्म बनाउँदै छु । यही बाबुलाई हिरो बनाउँछु ।’ बनाए पनि ।


उनी अर्थात् सलोन बस्नेत । निर्देशक शोभित बस्नेतका छोरा । त्यतिबेला सलोन पाँच वर्षका थिए । दुई दशकअघिको त्यो पल यसरी सम्झन्छन्, ‘मलाई भुवन अंकलले चिन्नुभएको थियो/थिएन, थाहा भएन तर स्टेजमा उहाँले बोकेको सम्झँदा अझै रोमाञ्चित हुन्छु ।’ नेपालीबाबु सुपरहिट भयो । बाल कलाकारमा सलोन निर्विकल्प जस्तै बने । त्यहाँबाट सुरु भएको उनको अभिनय यात्रा रोकिएको छैन । हाँस्दै भन्छन्, ‘बच्चैबाट सुरु भयो, बूढो भइन्जेलसम्म रोकिन्न । अभिनयबाहेक अरू गर्न पनि मन लाग्दैन ।’


रोचक कुराचाहिँ के भने, बाल कलाकारका रूपमा सलोनले धेरैलाई रुवाए । गम्भीर प्रकृतिका भूमिकामा देखा पर्थे । तर वयस्क भएपछि पहिचान पूरापुर फेरियो, उनको कामै हँसाउने भएको छ । प्रायः हिरोको साथी बन्छन्, जसले फिल्ममा ‘फ्रेस’ महसुस गराउँछ । सलोन भन्छन्, ‘बच्चामा रुवाको–रुवाइ गर्थें, अहिले हँसाको हँसाइ । म त कलाकार परें, जे भन्छन्, त्यही गर्छु ।’ कमेडीकै कारण हुनुपर्छ, कतिपय फिल्ममा मुख्य हिरोभन्दा सलोनकै बढी चर्चा हुन्छ ।
५ देखि १४ वर्षको उमेरसम्म सलोनले लगातार ३५ फिल्म खेले । कुनै फिल्ममा सानो छँदाका राजेश हमाल हुन्थे, कुनैमा राजेशको छोरो । त्यतिबेला चलेका प्रायः सबै हिरोसँग काम गरेका छन् उनले । सेटमा बुबा शोभितसँगै जान्थे, निर्देशकले भनेको संवाद टपक्क टिप्ने र दृश्यको भावअनुसार अभिनय गर्ने क्षमताले उनलाई प्रिय बनाउँदै लग्यो । ‘हामी तीन भाइ’ पछिचाहिँ फिल्म खेल्न चटक्कै छोडे । कारण यस्तो रहेछ, ‘मेरो उमेर नै अधकल्चो भयो । न बच्चाको भूमिकामा सुहाउने, न हिरोको । एसएलसी पनि आउँदै थियो । त्यसैले एक्सन–कट्भन्दा पढाइमा ध्यान दिन थाले ।’ आठ वर्ष यत्तिकै बित्यो । पढाइसँगै बुबाको फिल्ममा सहायक निर्देशक भए ।


उनी फेरि अभिनय सुरु गर्नुपर्छ भन्नेमा निश्चिन्त थिए तर कहाँबाट कसरी मेलोमेसो मिलेन । त्यही बेला भेट भयो, निर्माता सुनील रावलसँग । नयाँ फिल्म होस्टेलका लागि सलोनलाई प्रस्ताव गरे । यही फिल्मबाट भुवन केसीका छोरा अनमोल केसी डेब्यु गर्दै थिए । सलोन सम्झन्छन्, ‘मलाईचाहिँ जंगे नामक चरित्रले तान्यो किनभने त्यो पात्र मसँग नजिक थियो ।’ चरित्रलाई आत्मसात् गरेरै हुनुपर्छ, होस्टेलमा सलोन रुचाइए । त्यसपछि भटाभट फिल्म पाए । एउटा साथी, आभास, लभ सब, गाजलु, ए मेरो हजुर २, यात्रा, ए मेरो हजुर ३ लगायत ।


अहिले हलमा सलोन अभिनीत हजार जुनीसम्म चलिरहेको छ । तर यी सबै फिल्ममा सलोनको रोल उस्तै छ । हिरोको साथी अनि हँसाउने । भिन्न भूमिकाले कलाकारलाई जीवन्त बनाउँछ भनिन्छ । तर सलोनचाहिँ ‘टाइपकास्ट’ भइसके, त्यो पनि करिअरको सुरुवातमै । उनी आफैंलाई कस्तो लाग्ला ?
सलोनका अनुसार आफ्नो चाहभन्दा दर्शक र फिल्ममेकरको माग हो यो । भन्छन्, ‘दर्शकले मलाई कमेडी रोलमै रुचाइरहनु भएको छ, फिल्ममेकरले त्यस्तै रोलमा अफर गर्नुहुन्छ । मलाई पनि मज्जा लाग्छ ।’ यद्यपि हास्यप्रधान भए पनि हरेक फिल्ममा केही न केही नयाँ गरिरहेका हुन्छन्, पात्रलाई रोचक बनाउन खोज्छन् । तर समस्या उही, नोटिस हुन्न । उनी थप्छन्, ‘बोल्ने शैली, हुलिया, मनोवृत्तिमा बदलाब ल्याइरहेको हुन्छु तर कमेडी नछुट्ने भएकाले हेर्नेलाई उस्तै–उस्तै लागेको हुनुपर्छ ।’


त्यसो त, उनले फिल्ममा अलि गम्भीर भूमिका नखेलेका होइनन् तर धेरैले ख्यालै गरेनन् । उनकै शब्दमा, भर्सटाइल काम गर्न समय बाँकी छ । त्यसैले अहिले जस्तो चरित्रको अफर आइरहेको छ, त्यसलाई नै अब्बल बनाउन प्रयासरत छन् । सलोनका फ्यानको अर्को गुनासो हो, सहायकमात्र होइन, मुख्य भूमिकामा पनि अभिनय गर्नुपर्‍यो । सलोन आफैंलाई कहिलेकाहीँ यस्तो महसुस नहुने होइन । भन्छन्, ‘तर भूमिका लामो हुनु नै सबथोक होइन । आफूले पाएको भूमिकालाई जीवन्त बनाउनु नै कलाकारको दायित्व हो । मेरो प्रयास त्यही रहन्छ ।’ नयाँ फिल्म लक्का–जवानलाई लिएर उनी उत्साही छन् । कारण– हँसाउने मात्र होइन, हिरोइनसँग रोमान्स पनि गर्दैछन् ।

सलोनका प्रिय

निर्देशक
१ हेमराज बीसी
२ निश्चल बस्नेत
३ विकास आचार्य
४ झरना थापा
५ दिनेश राउत


अभिनेता
१ सौगात मल्ल
२ आर्यन सिग्देल
३ अनमोल केसी
४ दयाहाङ राई
५ विपिन कार्की


अभिनेत्री
१ नम्रता श्रेष्ठ
२ रेखा थापा
३ साम्राज्ञी राज्यलक्ष्मी शाह
४ स्वस्तिमा खड्का
५ केकी अधिकारी

hellosukrabar@gmail.com

प्रकाशित : भाद्र ६, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

संन्यासको संघार

'लिफ्टर पोजिसनमा मेरो ठाउँ लिने खेलाडीको अभाव रहेकैले अहिलेसम्म राष्ट्रिय टोलीमा टिकिरहेको छु । तर धेरै समय रहन्न होला ।'
कुशल तिमल्सिना

 आफ्नो टिमको प्रदर्शनको सूत्रधार मात्र होइन, विपक्षीको कमजोरीमा प्रहार गर्ने मार्गनिर्देशकका रूपमा पनि भलिबल खेलमा लिफ्टर ‘मुटु’ जस्तै पोजिसन हो  ।

यही पोजिसनमा रहेर नेपाली टोलीको मेन्टरका रूपमा पछिल्लो करिब नौ वर्ष जिम्मेवारी बहन गरिरहेका खेलाडी हुन्, इम रानामगर । पाँच वर्षयता उनमा कप्तानको अतिरिक्त जिम्मेवारी पनि छ ।


नेपाली भलिबल टिमका सबैभन्दा पाका र अनुभवी खेलाडी हुन्, इम । राष्ट्रिय टोलीको महत्त्वपूर्ण सदस्य रहेका उनले करिअरको सुरुआती समयमा स्पाइकर भएर खेले । चार वर्ष नेपाली बीच भलिबलमा एकछत्र राज गरेका उनले कुहिनो र काँधको समस्या आएपछि पोजिसन परिवर्तन गरेका हुन् । वास्तवमा लिफ्टर पोजिसनमा उनले राष्ट्रियदेखि नेपाल पुलिस क्लबको टिममा महत्त्वपूर्ण योगदान दिएका छन् ।


स्पाइकर र लिफ्टरको भूमिकाको अन्तर कस्तो रह्यो त ? पाँचौं सेन्ट्रल जोन भलिबलमा व्यस्त भएका बेला इमले भने, ‘खासमा स्पाइक पोजिसनमा खेल्नेलाई धेरैले चिन्दारहेछन् । फुटबलमा स्ट्राइकर भनेजस्तै । तर, भलिबलमा लिफ्टरको महत्त्व बुझ्नेले मात्र थाहा पाउँछन् । रिसिभ राम्रो भयो भने लिफ्टरले राम्रो बल पाउँछ, लिफ्टरले राम्रो बल दियो भने स्पाइकरले राम्रो सट प्रहार गर्न सक्छ ।’ कास्कीका इमले २०५८ सालमा वीरेन्द्र शिल्ड प्रतियोगिता खेलेका थिए । स्थानीय र क्लबस्तरमा उत्कृष्ट स्पाइकरका रूपमा चिनिन थालेपछि २०६२ सालमा नेपाल पुलिस क्लबमा अनुबन्धित भए । त्यसपछि नै हो उनको करिअरले छलाङ मारेको । पुलिस क्लबमा आबद्ध भएको अर्को वर्ष राष्ट्रिय टोलीको क्याम्पमा परेका उनलाई उमेर र अनुभवको कारण देखाउँदै अन्तिम टोलीमा छनोट गरिएन ।


त्यसपछि बीच भलिबलमा लागेका इम
नेपाल पुलिस क्लबलाई तीनपल्ट राष्ट्रिय च्याम्पियन बनाउँदा सबै संस्करणमा उत्कृष्ट खेलाडीका रूपमा दरिए । बीच भलिबलमा स्थापित उनले भलिबलको राष्ट्रिय टोलीबाट भने सन् २०१० मा बंगलादेशमा भएको ११ औं दक्षिण एसियाली खेलकुद (साग) मार्फत डेब्यु गरेका थिए ।‘राष्ट्रिय टिममा नपरेपछि प्रेम भण्डारी र मेरो जोडीले पुलिस क्लबका लागि बीच भलिबलमा धेरै सफलता दिलायौं । पछि सञ्जय अर्यालसँग पनि मैले बीच भलिबल खेलें । सबै प्रतियोगितामा म उत्कृष्ट खेलाडी बनेको छु,’ ३३ वर्षीय इमले थपे, ‘पुलिस क्लबबाट २३ औं राष्ट्रिय प्रतियोगितादेखि अहिलेसम्म खेल्दै आएको छु ।


नौ वर्षको अन्तर्राष्ट्रिय करिअरमा इमले सबै प्रतियोगितामा सहभागिता जनाएका छन् । सेन्ट्रल जोन भलिबल इतिहासमा उनी पहिलो संस्करणदेखि हालसम्म कप्तानी गरेका छन् । सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुद र त्यसअघि २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा पनि नेपाली टोलीको कप्तानी उनैले गरेका थिए । २०७१ सालयता उनी कप्तानको जिम्मेवारीमा नियमित छन् । माल्दिभ्समा भएको सेन्ट्रल जोन भलिबलको तेस्रो संस्करणमा नेपालले कांस्य पदक जितेको थियो । नेपाली भलिबलको चार दशकको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय पदक जिताउने कप्तान पनि हुन् उनी । माल्दिभ्समा भएको प्रतियोगितामा घरेलु टोलीलाई पराजित गरी नेपालले पदक जितेको हो ।


करिब दुई दशकको भलिबल करिअरको उत्तरार्द्धमा छन्, इम । त्यो कुरा उनले पनि बुझेका छन् । उनी आफ्नो पोजिसनमा आफूलाई प्रतिस्थापन गर्न सक्ने क्षमतावान् युवा खेलाडीको आगमन कुरेर बसेका छन् । ‘उमेरले पनि अब बिदा लिने समय आएजस्तो लाग्छ । तर लिफ्टर पोजिसनमा मेरो ठाउँ लिने खेलाडीको अभाव रहेकैले अहिलेसम्म राष्ट्रिय टोलीमा टिकिरहेको छु । तर धेरै समय रहन्न होला,’ कप्तान इमले संन्यासको संकेत गरे ।


यति लामो करिअरको अन्त्यका लागि उनले घरेलु कोर्टमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुदलाई उपयुक्त विकल्प मानेका छन् । ‘नेपालमै ठूलो अन्तर्राष्ट्रिय खेलकुद हुँदै छ । मेरो चाहना एकपल्ट दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेर अन्तर्राष्ट्रिय करिअरलाई टुंग्याउने नै हो,’ इमले भने, ‘तर क्लबस्तरमा भने अझै केही समय खेल्न सक्छु ।’

twitter : @KushalTmalsin4

प्रकाशित : भाद्र ६, २०७६ ११:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्