कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

फोहोर मलाई

विद्या राई

काठमाडौं — सडक–बजारमा विभिन्न खालका डस्टविनहरू देखिन्छन् । कुहिने, नकुहिने र पुनःप्रयोग गर्न मिल्ने फोहोर छुट्टाछुट्टै राख्न मिल्ने, प्लास्टिक, डोको, धातुका डस्टविनहरू पाइन्छन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न सडक, चोक, सार्वजनानिक स्थल, पर्यटकीय स्थलहरुमा नि:शुल्क डस्टविनको वितरण पनि अभियानकै रुपमा चलाइएका छन् । यसमध्ये राजधानीमा चल्तीमा रहेका पाँच डस्टविन :

फोहोर मलाई

सोलार डस्टबिन

मानिसले प्रयोग गरेका प्लास्टिकजन्य तथा नकुहिने फोहोर जथाभावी फाल्दा सार्वजनिक स्थलहरूमा बढेको प्रदूषणलाई नियन्त्रण गर्न काठमाडौं महानगरले सोलार डस्टबिन ल्याएको छ  ।

पहिलो चरणमा पैदल यात्रुहरू बाटो काट्ने स्थान र सार्वजनिक सवारी रोकिने स्थानहरूमा राखिएको छ । नकुहिने फोहोरहरू जथाभावी फ्याँकिँदा ढल जाम हुनेसम्मको अवस्था बन्ने भएकाले महानगरले साझेदारी संस्था कृष्ण सप्लायर्ससँग समन्वय गरेर राखेको महानगरका अधिकृत ध्रुवकुमार काफ्लेले बताए ।


करिब एक वर्षयता महानगरले पहिलो चरणमा ६० वटा सोलार डस्टबिन राखेको छ । महानगरका सार्वजनिक यातायात चल्ने ठूला सडकहरू बानेश्वर—कलंकी, कान्तिपथ, त्रिपुरेश्वर—महाराजगन्ज, सिंहदरबार—बालुवाटार, चक्रपथमा राखिएको छ । दोस्रो चरणदेखि आवश्यकताका आधारमा सडक, सार्वजनिक स्थल तथा पर्यटकीय स्थानहरूमा राख्ने योजना महानगरको छ । सोलार डस्टबिनमा तापक्रम नाप्ने, प्रदूषण नाप्ने, मोबाइल चार्ज गर्ने सुविधा छ । यसैलाई स्मार्ट डस्टबिन पनि भनिने गरिएको छ । डस्टबिनमा फोहोर भरिएपछि साझेदार कम्पनीले महानगरको टेकुसम्म फोहोर उठाएर लैजान्छन् ।


डोको डस्टबिन


शंखमूलमा स्थानीयको सहयोगमा सरसफाइ अभियान चलाउँदै आएको क्लिन काष्ठमण्डपले बाँसको चोयाले बुनेको डोको डस्टबिन निःशुल्क वितरण गरेको छ । सडक, चोक र सार्वजनिक स्थानहरूमा जथाभावी फ्याँकिएको फोहोरले टोल दुर्गन्धित र अशोभनीय देखिने भएपछि सरसफाइ अभियान चलाउँदै आएको क्लिन काष्ठमण्डपले निःशुल्क डस्टबिन राखेको अभियन्ता केपी खनालले बताए । फोहोर भरिएपछि क्लिन काष्ठमण्डप आफैंले उठाएर विसर्जन गर्दै आएको छ । शंखमूलमा ६० वटा जति डोको र केही प्लास्टिकका डस्टबिन राखिएको छ । यसैगरी यही टोलीले अन्य टोलहरूमा हरियो रंगको प्लास्टिकको मझौला साइजको डस्टबिन राखेको छ । आलोकनगर टोलमा ६० वटा, कोटेश्वरमा नेपाल युवाको सहयोगमा ६० वटा, सामाखुसीमा २० वटा डस्टबिन राखेको छ । वातावरणमैत्री भएकाले हरियो रंगको डस्टबिन राखिएको खनालले बताए ।

प्लास्टिक डस्टबिन


सामाजिक कार्यमा सक्रिय रोट्र्याक्ट क्लबले काठमाडौं, ललितपुरका विभिन्न सार्वजनिक स्थलमा निःशुल्क प्लास्टिकको डस्टबिन राखेको छ । सार्वजनिक स्थल, पर्यटकीय तथा सडकहरूमा सरसफाइ अभियानअन्तर्गत भोला, करेन्ट, पान मसलासँगको सहकार्यमा राखेको हो । उपत्यकामा सुर्ती, चुरोट, चाउचाउ, बिस्कुट लगायतका प्लास्टिकजन्य फोहोरहरू जथाभावी फाल्नेहरूका लागि डस्टबिन राखेको रोट्र्याक्ट क्लब अफ रुद्रमतीका अध्यक्ष दीपक न्यौपानेले बताए ।


उनको संस्थाले ‘जथाभावी फोहोर नफालौं सभ्य बनौं’ भन्ने नाराका साथ केही महिनादेखि अभियान सुरु गरेको हो । कुपन्डोल, चक्रपथ, सुकेधारा, टंगाल, बबरमहल, माइतीघरका सडकमा बिजुलीका पोलहरूमा ५ सय डस्टबिन राखिएका छन् । सुर्तीको प्रयोगले जथाभावी प्लास्टिक भएकाले व्यवस्थापन गर्न लगाउन सुर्तीजन्य उत्पादक कम्पनीलाई सरकारले आदेश दिएका कारण रोट्र्याक्ट क्लबले सहकार्य गरेको हो । उसले फोहोर भरिएपछि महानगरको फोहोर उठाउने गाडीमा हालिदिन स्थानीयलाई आग्रह गर्छ ।


टिन डस्टबिन


मैतीदेवी क्षेत्र विकास समाजले मैतीदेवी क्षेत्रका बिजुलीका पोलहरूमा टिनका डस्टबिन राखेको छ । ‘फोहोर बाटोमा नफालौं, सभ्य नागरिकको परिचय दिऔं’ भन्ने नारासहित यात्रुहरूलाई लक्षित गरी सडक, चोक, मन्दिर लगायतका सार्वजनिक स्थलका बिजुलीको पोलमा टिनका स–साना डस्टबिन राखिएका छन् । यसैगरी फोहोरका साना टुक्रा फ्याल्न मिल्ने टिनका डस्टबिन रिलाएबल डेभलपमेन्ट बैंकको सहयोगमा राखिएका पोलहरूमा देख्न सकिन्छ ।

डोको रिसाइकल
डोको रिसाइकलले दुई वर्षयता पुनः प्रशोधन गर्न सकिने प्लास्टिक, सिसा तथा धातुजन्य फोहोरबाट डस्टबिनहरू बनाउने काम गर्छ । उसले डस्टबिन उत्पादन गर्ने काम गर्छ तर सार्वजनिक स्थलमा निःशुल्क राख्दैन । रिसाइकलको मुख्य लक्ष्य भनेकै पुनः प्रशोधन गर्न सकिने फोहोरको पुनः प्रयोग गरी फोहोर कम गर्नु रहेको वरिष्ठ सम्पर्क अधिकृत अर्पण आचार्यले बताए ।


रिसाइकलले धातु, फाइबर सिसा र प्लास्टिक तथा केजका डस्टबिन बनाउँछ । सरकारी तथा गैरसरकरी, सामाजिक संस्थाहरू, होटल, कार्यालयहरू, स्थानीयहरूले किनेर लैजाने र डस्टबिनका रूपमा प्रयोग गर्छन् । यसमा तीन हजारजति सेवाग्राही छन् । फाइबर, धातु, टिन, सिसा, प्लास्टिकका काम नलाग्ने फोहोरहरू किनेर ल्याई रिसाइकल गर्छन् । आफ्ना सेवाग्राहीका घरमा १०/१५ केजी फोहोर भए घरैमा गएर किन्छन् पनि ।

[email protected]

प्रकाशित : भाद्र ६, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?