२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

ढोकामै किताब

विमल खतिवडा

पसल धाएर खोजी–खोजी किताब किन्ने बूढानीलकण्ठ, काठमाडौंका सुवास पाण्डे त्यसरी किताब पसल धाउन छाडेको डेढ वर्ष बढी भयो  । यसमा उनी दंग छन्  ।

ढोकामै किताब

व्यवसाय र राजनीतिक विषय समेटिएका पुस्तक पढ्न रुचाउने उनी अनलाइनमा जुन पुस्तक अर्डर गर्छन्, अचेल त्यो पुस्तक ढोकामै आइपुग्छन् ।


‘अहिले कुन किताब कहाँबाट ल्याउने भन्ने झन्झट भएन,’ सुवास भन्छन्, ‘अनलाइनमार्फत अर्डर गर्दा किताब घरसम्म ल्याइदिएको अतिरिक्त शुल्क पनि लाग्दैन । पसल पुगेर किताब ल्याउने समयको पनि बचत भएको छ ।’ उनी किताब बिक्री गर्ने अनलाइनहरूको फेसबुक पेजमार्फत अर्डर गर्छन् । ‘अर्डर तुरुन्तै स्वीकृत हुन्छ ।


खोजेको समयभित्रै किताब पाइरहेको छु,’ उनले सुनाए ।पछिल्लो समय किताबको ‘अनलाइन सपिङ’ गर्ने पाठकको संख्या बढिरहेको छ । पाठकको मागसँगै पुस्तक बिक्री गर्ने अनलाइन खुल्ने क्रम पनि बढेको छ । पाठकको मागअनुसार घरघरमा पुस्तक पुर्‍याउनेमध्येकै एक हो, किताब यात्रा । यसले ०७४ पुसबाट थापागाउँमा कार्यालय खोली पाठकले खोजेका पुस्तक पुर्‍याउँदै आएको छ । ऋषिराम अधिकारी, विकेश भट्टराई र किर्तेशकिशोर घिमिरेले किताब यात्रा सञ्चालनमा ल्याएका हुन् ।


देशका विभिन्न जिल्ला तथा विदेशमा अनलाइन अर्डर भएअनुसार पुस्तक पुर्‍याउने गरिन्छ । बढी अर्डर किताब यात्राकै वेबसाइटमा आउने बताइन्छ । त्यस्तै फेसबुक र इन्स्टाग्राममा पनि अर्डर आउने गरेको छ । उपत्यकामा अर्डर गरेको केही समयभित्रै पाठकको हातमा पुस्तक पुर्‍याउने गरेको किताब यात्राका अध्यक्ष ऋषिराम सुनाउँछन् । राजधानीबाहिर भने बढीमा तीन दिनसम्ममा अर्डर गर्नेले पुस्तक पाउँछन् । ‘पठन संस्कृतिको अवधारणाअनुसार अनलाइन अर्डरका आधारमा हामीले पुस्तक बिक्री सुरु गरेका हौं,’ उनी भन्छन्, ‘हाम्रो उद्देश्य हरेक कर्पोरेट अफिसमा एउटा लाइब्रेरी हुनुपर्छ भन्ने हो ।’


गत साता भएको आईसीटी अवार्ड २०१९ अन्तर्गत किताब यात्राले पब्लिक च्वाइस अवार्ड पनि जित्यो । ‘पाठकले सहज रूपमा पुस्तक पढ्न पाउनुपर्छ भन्ने हो,’ ऋषिराम भन्छन्, ‘हामीले विदेशमा हुने युवालाई गुडविल एम्बेसडरका रूपमा लिने गरेका छौं ।’ उनका अनुसार किताब यात्राले पठन संस्कृति किन आवश्यक छ भन्नेबारे बेलाबेला अन्तरक्रिया कार्यक्रम पनि गरिरहेको छ । अनलाइन बजार बढिरहेको यस बेला किताब बिक्री गर्ने किताब यात्रा मात्रै होइन, थुप्रै कम्पनीहरू खुलेका छन् ।


‘थुप्रै डटकम’ ले सञ्चालनमा आएको सात महिनाभित्रै राम्रो चर्चा बटुलेको छ । यसलाई दिपेश आचार्य र राजु गोतामेले सञ्चालनमा ल्याएको हो । ‘पाठकले सस्तोमा घरमै बसेर पुस्तक पढ्न पाऊन् भनेर हामीले अनलाइन अर्डरको भरमा किताब उपलब्ध गराउन थालिएको हो,’ दिपेश भन्छन्, ‘काठमाडौं उपत्यकामा घरमै किताब पुर्‍याएको शुल्क लिँदैनौं । उपत्यकाबाहिर भने कुरियरको सहयोग लिने गरेका छौं ।’ उनका अनुसार पढ्न मन भएका बेला किताब पाठकले पाउने गरी यस्तो अनलाइन सपिङको सुरुवात गरिएको हो ।


‘राम्रो प्रतिक्रिया पाइरहेका छौं । अनलाइनमा आएको अर्डरअनुसार एक–दुई घण्टाभित्रै किताब पुर्‍याउने गरेका छौं,’ दिपेश भन्छन् । थुप्रै डटकमले उसको वेबसाइट, फेसबुक र ट्वीटरमा अर्डर गरेपछि किताब उपलब्ध गराउने गरेको छ । प्रकाशकसँगको सहकार्यमा विदेशमा पनि किताब उपलब्ध गराइरहेको दिपेशले बताए ।


थुप्रै डटकमले नारा नै ‘आर्ट एन्ड लिटरेचर फर नेपाल’ राखेको छ । ‘नेपालको कला र साहित्यलाई नै प्रवर्द्धन गर्ने, किताब पढ्ने संस्कृतिलाई बढाउने भन्ने हाम्रो उद्देश्य हो,’ दिपेश भन्छन्, ‘हामीले सांग्रिला पब्लिकेसन्सको सहयोगमा शिल्पी थिएटरमा भएको योगमाया नाटकको टिकट पनि बेच्यौं । हामी नेपालयको पलेंटीको टिकेटिङ पार्टनर पनि हौं ।’ अनलाइनमार्फत पुस्तक अर्डर गर्ने युवा पुस्ता बढी छन् । उनका अनुसार यस कम्पनीमा आठ जनाले रोजगारी पाएका छन् । सरकारले किताब आयातमा लगाएको करले बजारलाई पनि असर गरेको छ । ‘पहिला यसरी किताब बिक्री गर्ने धेरै नै थिए,’ उनी भन्छन्, ‘किताब आयातमा १० प्रतिशत कर सरकारले लगाउन थालेपछि अंग्रेजी किताब बेच्ने घटेका छन् ।’ सानातिनासहित अनलाइनमार्फत किताब बिक्री गर्ने कम्पनी २० वटा जति रहेको उनले बताए ।


किताब पब्लिसर्सकी चिफ अपरेटिङ अफिसर कल्पना ढकाल अनलाइनबाट किताब बिक्री गर्ने कार्य नेपालमा नयाँ प्रयास भएको बताउँछिन् । ‘अहिले किताबकै बजार खस्केकाले होला, त्यति धेरै माग आएको जस्तो लाग्दैन,’ उनी भन्छिन्, ‘प्रयास नयाँ हो, विस्तारै राम्रो हुँदै गएको छ ।’ सहर बजारमा अनलाइन सपिङ फस्टाइरहेको छ । ‘फेसबुक, ट्वीटरको पहुँचमा हुनेहरूका लागि यो सहज छ,’ उनी भन्छिन्, ‘यसले पुस्तकको बजारीकरण गर्न केही सहज गरेको छ । ठूलो माध्यम भइसकेको छैन तर पछि पक्कै बढ्दै जानेछ ।’


पैरवी बुक हाउसका मनीष शिवाकोटी प्रविधिको विकाससँगै आफैंले पनि अनलाइनमार्फत अर्डर लिएर किताब बिक्री गरिरहेको बताउँछन् । ‘जमाना प्रविधिको हो । यो (अनलाइन बजार) नै प्रयोग गर्न आएन भने त पछाडि परिन्छ भन्ने लाग्छ,’ उनी भन्छन्, ‘अनलाइनमा आएको अर्डरअनुसार हामीले पुस्तक पुर्‍याइदिने गरेका छौं ।’ उनले अनलाइन सेवा सुरु गरेको ६ महिना भएको बताए । रत्न पुस्तक भण्डारका प्रोप्राइटर गोविन्द श्रेष्ठ भन्छन्, ‘हामीले पनि अनलाइनमार्फत किताब बिक्री गरिरहेका छौं । तर, त्यसले पसलमा आउने ग्राहकको संख्यामा असर गरेको छैन ।’


आफ्ना रुचिका पुस्तक खोजीखोजी पढ्ने गरिन्छ । अनलाइनमा अर्डरमार्फत घरघरमा पुस्तक आउन थालेपछि सामाजिक सञ्जाललाई फलो गर्नेहरूले यसको फाइदा लिइरहेका छन् । अनलाइनमार्फत बिक्री गर्नेहरूले आफ्नो पोर्टलमा किताबको मूल्यसहित पुस्तकको कभर अपलोड गरेका हुन्छन् । आफूलाई मन लागेको किताबको मूल्य हेरेर अर्डर गर्न सकिन्छ । पुराना पुस्तक बिक्री गर्ने अनलाइनमध्ये बुकवर्म पनि हो । हिमाल बुक्स, सस्तो बुकलगायतले पनि अनलाइनमार्फत किताब बिक्री गरिरहेका छन् ।


अनलाइनमार्फत अर्डर लिएर किताब पुर्‍याउने माध्यम एकदमै प्रभावकारी भएको लेखक ब्रजेश खनालले अनुभव गरेका छन् । ‘पहिला किताब किन्न पसलसम्मै पुग्नुपर्थ्यो । अहिले पनि पसलमा गएर किताब किन्न पाइन्छ । तर काठमाडौंको जाम त्यही हो । सबै आ–आफ्नो काममा व्यस्त हुन्छन् । पुस्तक पसलसम्म पुग्ने समय जामलाई मध्यनजर गर्दै छुट्याउनुपर्ने हुन्छ । तर घरमै पुस्तक आइपुग्दा समयको बचत भएको छ । जाममा पनि परिँदैन । अर्डर गर्नासाथ घरमै पुस्तक आइपुग्छ,’ उनले भने, ‘अनलाइनमा अर्डर गरेपछि उनीहरूले एउटा पसलमा नपाए अर्को पसलमा खोजेर भए पनि घरमा ल्याइदिन्छन् । पढ्नेले खोजेको किताब पाउँछन् । पाठक र व्यवसायी दुवैलाई राम्रो । जमाना अब अनलाइन सपिङकै हो ।’

twitter : @Bimal

प्रकाशित : भाद्र ६, २०७६ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?