३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अवार्डको अन्तर

भारतको राष्ट्रिय फिल्म अवार्डको शान बेग्लै छ, तर हामीकहाँ विवादै–विवाद । किन होला ?
कान्तिपुर संवाददाता

 
सत्य तीतो भए पनि भन्नै पर्छ  । नेपालमा कथा र कथा वाचनमात्र होइन, फिल्म अवार्डको रूपरेखा पनि भारतबाटै आयात गरिएको छ  ।

अवार्डको अन्तर

अलि नम्र भाषामा प्रभावित भन्न सकिएला । तर हाम्रो शैली पूर्ण मौलिकचाहिँ बन्न सकेको छैन । हाम्रो र राष्ट्रिय फिल्म अवार्डको चरित्रलाई दाँज्दा प्रस्टै भइन्छ । त्यहाँ पनि राष्ट्रपति भवनमै अवार्ड समारोह हुन्छ । तर एउटा खास भिन्नता भने छ, भारतको राष्ट्रिय अवार्डको साख उच्च छ, जसले पाउँछन्, जीवनभरको सपना पूरा भएको महसुस गर्छन् । हाम्रो अवार्डमा त गन्जागोल मात्र छ । अवार्ड विजेताहरू मिडियासामु दुखेसो पोख्न बाध्य हुन्छन्, ‘अवार्ड पाएँ तर मन खल्लो छ ।’


हालै मात्र भारतको राष्ट्रिय अवार्ड ६६ औं संस्करणको घोषणा भयो । हामीकहाँ चाहिँ गत असार २७ मा तीन वर्षको अवार्ड ‘होलसेल’ मा बाँडियो । राष्ट्रपतिले ‘समय नदिएकाले’ अवार्ड अलपत्र परेको थियो । त्यता र यता अवार्ड पाउने फिल्म र फिल्मकर्मीलाई नियाल्ने हो भने हाम्रो अवार्डको साख खस्कनुको कारण छर्लङ्ग हुन्छ । भारतमा राष्ट्रिय अवार्डको विरोध सुनिएन किनभने अक्सर विधामा उचित पात्रलाई चयन गरिएको थियो । हाम्रो अवार्डको उल्लीबिल्ली भयो । किनभने, जसले पाए, प्रायः राष्ट्रिय अवार्डको हकदार थिएनन् ।‘उरीः द सर्जिकल स्ट्राइक’ बाट विक्की कौशलले उत्कृष्ट अभिनेताको अवार्ड जिते । यो अवार्ड विक्कीले ‘अन्धाधुन’ स्टार आयुष्मान खुरानसँग सेयर गर्नुपर्‍यो । फिल्म प्रदर्शनपश्चात् यी दुवैलाई राष्ट्रिय अवार्डको प्रतिस्पर्धी मानिएको थियो । उरी हमलामाथि बनेको फिल्ममा विक्की भारतीय सैनिक बनेका छन् । यस फिल्मले सकारात्मक समीक्षा त पायो नै, ३ सय ४५ करोड भारु कलेक्सन गरेर कीर्तिमान पनि राख्यो ।


कमेडी क्राइम थ्रिलर ‘अन्धाधुन’ मा आयुष्मानको भूमिका छ, दृष्टिविहीन गायकको । जो अनेक परिबन्दमा फस्दै जान्छ । ३२ करोड लगानीको यस फिल्मको व्यापार ४ सय ५३ करोड पुग्यो । यसले चीनमा त तहल्का मच्चायो । कथा भन्ने रोचक शैलीले खुब प्रशंसा पायो, त्यसमा आयुष्मानको कुशल अभिनय त छँदै थियो । उत्कृष्ट अभिनेत्रीको अवार्डचाहिँ किर्थी सुरेशले पाइन्, तेलगु र तामिल भाषाको फिल्म ‘महानती’ बाट । यसमा उनलाई विख्यात अभिनेत्री तथा गायिका सावित्री गनेसनका रूपमा देख्न पाइन्छ । उत्कृष्ट सहअभिनेत्रीचाहिँ सुरेखा सिक्रीले चुमिन्, ‘बधाई हो’ बाट । नेसनल स्कुल अफ ड्रामाबाट पासआउट सुरेखाको उमेर ७४ वर्ष पुगेको छ ।नेपालमा त उत्कृष्ट अवार्ड पाएको फिल्म ‘गोपी’ समेत विवादरहित भएन । न उत्कृष्ट अभिनेताको अवार्ड चुमेका विपिन कार्की नै खुसी देखिए । विपिनले ‘हरि’ मा जादुयी अभिनय गरेका थिए तर अवार्ड पाए, ‘प्रसाद’ बाट । यस वर्षको हाम्रो अवार्डको सबैभन्दा लज्जा नै ‘हरि’ लाई पूरापुर निषेध गरिनु हो । परम्परागत कथ्य संरचनाको धङधङीबाट माथि उठेर यस फिल्मले अति यथार्थवादलाई आत्मसात् गर्‍यो । मौलिक दृश्यभाषा निर्माण गर्न खोज्यो । खासमा राष्ट्रिय अवार्ड यस्तै प्रयोगात्मक र साहसिक सिनेमालाई दिइनुपर्ने तर कथित ‘जुरी’ मण्डलले सिनेमामाथि अपमान गरे । देश संघीय प्रणालीमा गइसक्यो, नेपालीबाहेक तामाङ, गुरुङजस्ता भाषामा पनि फिल्म बन्छन् तर अहिलेसम्मको मूल विधाहरूमा भाषिक सिनेमाले प्रवेश पाएका छैनन् । ‘आदिवासी, जनजाति र विभिन्न मातृभाषी’ को नाममा एउटा विधामा झारो टार्ने ढंगले समेटिएको छ ।


जबकि भारतमा उत्कृष्ट अवार्ड जित्न हिन्दी भाषामै बनेको हुनुपर्छ भन्ने छैन । यसपटक गुजराती सिनेमा ‘हेलारु’ सर्वोकृष्ट ठहरियो । हिन्दी भाषीमा चाहिँ ‘अन्धाधुन’ । तर समस्या अवार्ड घोषणामा मात्र छैन । भारतमा अवार्ड पाएका सिनेमालाई सरकारले विदेशी बजारमा प्रचार गर्छ । आफ्नै रोहवरमा फेस्टिभलमा पठाउँछ । पर्यटक तान्ने र सांस्कृतिक प्रवर्द्धनको माध्यम बनाउँछ । यसबाट क्षेत्रीय र भाषिक सिनेमाले अन्तर्राष्ट्रिय लगानी पाउँछन् । बजेटसँगै फिल्मको गुणात्मक पक्ष अभिवृद्धि हुँदै जान्छ । भारतबाहेक अन्त पनि यस्तै अभ्यास छ । तर नेपालमा अवार्ड दियो, सकियो । राज्यले थप दायित्व बहन गर्दैन ।


यसरी एकातिर उपयुक्त फिल्म र फिल्मकर्मीले अवार्ड पाउँदैनन्, अर्कातिर अवार्ड विजेता फिल्मलाई अन्तर्राष्ट्रिय बजार/महोत्सवमा ‘एक्स्पोजर’ दिलाउन राज्यको प्रभावकारी भूमिका हुन्न । कस्तो विडम्बना !

[email protected]

प्रकाशित : श्रावण ३१, २०७६ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?