हुवावेको हार्मनी

गुगलले आफ्नो सेवा प्रयोगमा लगाएको प्रतिबन्धको म्याद नजिकिँदै जाँदा हुवावेले आफ्नै अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ । कम्पनीको नयाँ अपरेटिङ सिस्टमले एन्ड्रोइडलाई विस्थापित गर्न सक्ला त ?
हेलो शुक्रबार

 घोषणा गरेअनुसार नै चिनियाँ कम्पनी हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टम गत साता सार्वजनिक गरेको छ  । उसले यसको नाम हार्मनी दिएको छ  ।

अमेरिकी कम्पनी गुगलले आफ्नो सरकारको नीति पछ्याउँदै हुवावेलाई आफ्नो सेवा प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । गुगलले हुवावेलाई दिएको तीन महिने म्याद आगामी साता सकिँदै छ । यो प्रतिबन्ध निरन्तर भए हुवावेले आगामी दिनमा उत्पादन गर्ने स्मार्टफोनमा गुगलको अपरेटिङसिस्टम एन्ड्रोइडसहित एन्ड्रोइडमा आधारित गुगलका सेवाहरू चल्ने छैनन् । यसअघि उत्पादन भएका स्मार्टफोनमा पनि यस्तै हुनेछ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेमाथि लगाइएको प्रतिबन्धमा केही खुकुलो पार्ने घोषणा गरे पनि यो कस्तो खालको हो भन्ने सार्वजनिक भइसकेको छैन । अहिले हुवावेको लागि अन्योलग्रस्त समय हो ।
गुगलले आफ्नो सेवा प्रयोग गर्न नदिने घोषणा गरेलगत्तै हुवावेले आफ्नो अपरेटिङ सिस्टम सार्वजनिक गर्ने घोषणा गरेको थियो । यही प्रतिबद्धताअनुसार हुवावेले गत शुक्रबार आफ्नो नयाँअपरेटिङ सिस्टम सार्वजनिक गरेको हो ।


हुवावेको अपरेटिङ सिस्टम एन्ड्रोइडको विकल्प हुने आकलन गरिएको भए पनि उसले यो सुरुमा स्मार्टफोनका लागि नभएर अन्य डिभाइसका लागि मात्रै भएको टिप्पणी गरेको छ । तर आवश्यक परे यसलाई स्मार्टफोनमा प्रयोग गर्न सकिने हुवावेको भनाइ छ । हुवावेले सार्वजनिक गरेको अपरेटिङ सिस्टम सुरुमा टीभी, स्मार्ट स्पिकरजस्ता डिभाइसमा प्रयोग हुनेछ ।गुगलले आफ्नो अपरेटिङ सिस्टम प्रयोग गर्न नदिए यही अपरेटिङ सिस्टमलाई स्मार्टफोनमा निरन्तरता दिने हुवावेको योजना छ । यो एन्ड्रोइडभन्दा पनि बढी फास्ट हुनेछ । तर यसका जानकारहरू हुवावेलाई नयाँ अपरेटिङ सिस्टम स्थापित गरी एन्ड्रोइडलाई विस्थापित गर्नु चुनौतीपूर्ण हुने टिप्पणी गर्छन् ।


एन्ड्रोइड अपरेटिङ सिस्टम मात्र नभएर इकोसिस्टम पनि हो । हरेक डेभलपरहरूले एप बनाउँदा एन्ड्रोइड र आईओएसका लागि तयार पार्छन् । हुवावेले त्यस्ता डेभलपरहरूलाई अब आफ्नो अपरेटिङ सिस्टमका लागि पनि एप विकास गर्न अरूलाई मनाउनुपर्ने हुन्छ । साथै, एन्ड्रोइडमा लोकप्रिय एपमध्ये अधिकांश गुगलकै एप पनि छ । जस्तो गुगलको जिमेल, सर्च, असिस्टेन्ड, म्यापजस्ता एपहरू एन्ड्रोइड प्रयोगकर्तामाझ लोकप्रिय र बढी प्रयोगमा रहने एपहरू हुन् ।


एन्ड्रोइड र आईओएसको वर्चस्वबीच नयाँ अपरेटिङसिस्टम लोकप्रिय बनाउन चुनौतीपूर्ण हुने ब्ल्याकबेरी र सामसङको उदाहरणबाट पुष्टि हुन्छ । ब्ल्याकबेरीले तयार पारेको आफ्नो अपरेटिङ सिस्टम ब्ल्याकबेरी टेनमा इन्स्टाग्राम जस्तो लोकप्रिय एप पनि सपोर्ट गर्दैन । चल्तीका एप नै उपलब्ध नभएपछि कसरी डिभाइसहरू प्रयोगकर्ताले किन्छन् ? हुवावेभन्दा बढी स्मार्टफोन बिक्री गर्ने सामसङको पनि आफ्नै अपरेटिङ सिस्टम छ । सामसङले तयार पारेको टिजेन नामक अपरेटिङसिस्टम उसले आफ्नो स्मार्टफोनमा प्रयोग गर्दैन । बरु आफ्नो स्मार्ट डिभाइसहरूमा मात्रै प्रयोग गर्छ । उसका सबै स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग भएका छन्।


यी उदाहरणहरू हेर्दा गुगलले आफ्नो सेवा प्रयोग गर्न नदिने नीतिलाई निरन्तरता दिए हुवावेको सामु दुई चुनौती हुनेछन् । एउटा एप निर्माताहरूलाई आफ्नो अपरेटिङ सिस्टमका लागि पनि एप तयार गर्न प्रोत्साहित गर्नु र अर्को प्रयोगकर्तालाई आफ्नो स्मार्टफोन एन्ड्रोइडमा आधारित स्मार्टफोन जत्तिकै उपयोगी छ भनेर विश्वस्त तुल्याउनु । गुगलले आफ्नो सेवा प्रयोग गर्न दिने निर्णय गरेमा विश्वको नम्बर १ स्मार्टफोन निर्माता बन्ने लक्ष्यको नजिक पुगेको हुवावेका लागि ठूलो राहत हुनेछ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्

स्लिम र स्वस्थ

हिजो टाइगर श्राफ फ्यान थिए, ऋतिक रोशनको । आज टाइगरको फ्यान भएका छन्, ऋतिक । उनको प्रशंसा गरेर थाक्दै थाक्दैनन् ।
अमृता अनमोल

 घरमा गृहिणीको काम धेरै हुन्छ  । तर भान्छा र घरभित्र मात्रै  ।

यस्तो काममा शारीरिक परिश्रम अलि कम हुन्छ । जसले शरीरलाई मोटाहउन सघाउँछ । पेट बढ्छ र भद्दा देखिन थाल्छ । यस्तो हुन नदिन बुटवलका गृहिणी फिटनेस सेन्टर धाउन थालेका छन् ।


फिटनेस सेन्टर धाउन थालेकामध्ये विवाहित र आमा गृहिणी धेरै छन् । सुक्खानगरकी मोनालिसा छेत्री बिहान ५ बजे बुटवल फिटनेस सेन्टर पुग्छिन् । झन्डै एक घण्टा त्यहाँ बिताउँछिन् । कहिले शारीरिक सुगठनका अभ्यास गर्छिन् । कहिले एरोविक गर्छिन् । उनी फिटनेस सेन्टर धाउन थालेको झन्डै एक वर्ष भयो । उनले एक वर्षमा १२ किलो वजन घटाएकी छन् ।


मोनालिसा शिक्षिका थिइन् । दोस्रो सन्तान जन्माएपछि उनले जागिर छाडिन् । डेढ वर्षयता घरमै बस्न थालिन् । यसपछि उनको शरीर मोटायो । ‘स्लिम हुन मात्रै होइन शरीर बलियो र स्वस्थ राख्न पनि व्यायाम चाहिँदो रहेछ,’ ३५ वर्षीया उनले भनिन्, ‘फिटनेस सेन्टरमा शारीरिक अभ्यास गरेपछि शरीर फूर्तिलो राख्न निकै सहज भएको छ ।’ शारीरिक व्यायाम घरमै पनि गर्न सकिन्छ । तर बालबच्चाको स्याहारसुसार, घरपरिवारको रेखदेख, पाहुनाको सत्कार, घरधन्दा लगायतका काम र स्थान अभावले धेरै महिलालाई घरमै अभ्यास गर्न सम्भव छैन । यस्ता सहरी क्षेत्रका धेरै महिलाले फिटनेस सेन्टरको सहारा लिइरहेका छन् । मिलन चोककी ३५ वर्षीया गोमा शर्मा ६ महिनायता फिटनेस सेन्टर धाइरहेकी छन् । उनी पहिले घरमै दैनिक एक घण्टा व्यायाम गर्थिन् । घरमा निरन्तरता दिन नसकेपछि उनी फिटनेस सेन्टर जान थालेकी हुन् ।


‘सानी छोरी जन्मिएको केही दिनमै कोलस्टोर बढी छ भन्ने थाहा पाएँ । डाक्टरले व्यायाम गरेर शरीर घटाउन सल्लाह दिए,’ गोमाले भनिन्, ‘त्यसपछि त तीन महिने सुत्केरीबाटै फिटनेस सेन्टर जान थालें ।’ उनी सी इनर्जी लेडिज फिटनेस सेन्टरमा शारीरिक व्यायाम गर्छिन् । साँझको डेढ घण्टा त्यहाँ बिताउँछिन् । योगा, एरोबिक, मोडर्न जिमलगायतका शारीरिक व्यायाम गर्छिन् । दैनिक रूपमा व्यायाम गर्न थालेपछि कोलस्टोर घट्दै गएको उनले बताइन् । ‘शरीर पनि कसिलो तर पातलो भएको छ,’ उनले भनिन्् ।


बुटवलमा १३ वटा फिटनेस सेन्टर छन् । यसमध्येका सात वटामा महिलासमेत जान थालेका छन् । शरीर आकर्षक, फूर्तिलो र स्वस्थ राख्न बाहिरी सौन्दर्यभन्दा शारीरिक तन्दुरुस्तीका लागि गरिने व्यायाम आवश्यक हुन्छ । यसैलाई बुझेका महिला फिटनेस सेन्टर धाइरहेका छन् । ‘डाइटिङ र मेकअपले मात्रै शरीर राम्रो, सुन्दर र स्वस्थ नहुँदोरहेछ,’ स्वास्थ्यकर्मी राधिका गौतमले भनिन्, ‘शरीरलाई आकर्षक, सन्तुलित र स्वस्थ राख्न शारीरिक व्यायामतिर लागेकी हुँ ।’ उनी दुई वर्षयता नियमित फिटनेस सेन्टर जान थालेकी हुन् ।


धेरैको आमा बनेपछि महिलाको आहारविहार र जीवनशैली फेरिन्छ । त्यसैमाथि गृहिणी महिला शारीरिक रूपमा धेरै मोटाउँछन् । त्यस्ता महिलालाई कोलस्टोर, प्रेसर, ग्यास्ट्रिक, अल्सर र पाचन प्रक्रियामा समस्या धेरै देखिने चिकित्सकहरू बताउँछन् । त्यस्ता धेरै महिला तौल घटाउने र स्वस्थ बन्ने दुवै चाहना बोकेर फिटनेस सेन्टर धाउँछन् । दैनिक रूपमा गरिने व्यायामले शरीर घटाउन, पाचन शक्ति बढाउन र स्वस्थ रहन सहयोग गर्दछ ।


सी इनर्जी लेडिज फिटनेस सेन्टर सञ्चालक रञ्जु गौचनले घरमा सबै प्रकारका व्यायाम गर्न नमिल्ने भएकाले फिटनेस सेन्टर धाउनु आवश्यक रहेको बताइन् । ‘शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि हरेक मान्छेलाई व्यायाम आवश्यक हुन्छ,’ उनले भनिन्, ‘काममा व्यस्त भइरहने तर शारीरिक अभ्यास कम हुने गृहिणीका लागि फिटनेस केन्द्रले आवश्यकता पूरा गरेका छन् ।’ नियमित खानामा कुनै घटबढ नगरी शरीरलाई पातलो र तन्दुरुस्त बनाउन सकिने भएकाले पनि गृहिणी धेरै आकर्षित भएको उनले बताइन् ।

hellosukrabar@gmail.com

प्रकाशित : श्रावण ३१, २०७६ ०६:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्